हप्तौंदेखिको लगातार बर्षाले उर्लिएर आएको हेर्दै लाल सागर जस्तो देखिने कोशी नदी पार गरी एका बिहानै एउटा भिमकाय जंगली अर्ना भैंसी घनाबस्ती वीचको खेतमा धान माड्दै यता उता गरेको देखियो । गाउलेहरु कराउँन थाले, “लौ पारी जंगलबाट बडेमाको अर्ना आएर धान बाली नस्ट गर्न थाल्यो । यसलाई धपाउनु पर्छ । उनीहरुले बलियो यमानको देखिने जंगली अर्ना भाले हो कि पोथी हो भनेर छुट्याउन सकी रहेका थिएनन् । एक्लै दोक्लै नजीक जाँन कसैको आँट आउँदैनथ्यो । कोही अलिक परतिर गएर फर्किन्थे । एक हूल लक्का जवानहरुले सोचे । ओहो यसलाई त घुमाई घुमाई छेकेर आज म:म: र सुकुटी वनाएर तीन पानेसँग मजाले दिनु पर्छ । पुरानो जमानामा तिरो उठाउने थरीले सम्झ्यो, यदि भैंसी रहेछ भने ल्याएर पाल्नु पर्ला । भने सम्म दूध दिन्छ । पाडा-पाडी उन्नत जातका हुन्छन् । आफ्नो बंगुरको खोर छेउमा उभिएर हर्षराम घोरियो । अर्ना राँगो भए त गाउँभरिका भैसीको बीउ हुन्छ । गाउँका भैसीमा मिसाउन हुन्छ । एक्लै अर्नालाई आफ्नो बसमा पार्न कसैको आँट आएन ।
सबैले सल्लाह गरे, यदि मारेर मासु खाने भए पनि हिस्सा बराबरी, पालेर दूध खाने भए पनि हिस्सा बराबरी र बीउ राख्ने भए पनि हिस्सा बराबरी भन्ने कुरामा टुंगो लाग्यो । कसैले तीखा भाला बोके । कसैले बाँसका भाटहरू तिखारे । कसैले लामा लामा सिक्कल भिरे । कसैले प्लास्टिक र चोयाले बाटेका डोरी बोके । सबै अर्ना भैंसीतिर हतियार बोकेर कुदेका देखेपछि सिकुवामा चण्डीको किताब पढ्दै गरेका गुरागाईं बाजेले भने, “छोडी देओ बाबै ! पशु मारेर केही फाइदा हुदैन । बढी नोक्सान गरे त्यही दुई चार पाथी बाली नष्ट गर्ला । महिषासुर हो आफैं जान्छ ।” बाजेका कुरालाई खिल्ली उडाउँदै केटाहरुले भने, बाजे बेलुकी म:म खाना बसन ।” उनीहरु अगाडि बढे । परैदेखि हा हा र हि हि गर्दै एउटाले भालाको झट्टी अर्नातिर फ्याक्यो । गएर अर्नाको सोलो-डोलो परेको घाँटीमा अलि कति तछार्यो । अर्नाले दुई तीन ढुंगा खाएपछि यता र उता गर्दै बौलाउन थाल्यो ।
अर्ना नजिकैको एउटा केटोतिर झम्टिएर गयो र एकै चोटी तीखा भाला जस्ता सिंगले उनेर उसको पेटबाट पछाडि निकाल्यो । केटाले आमा भन्न पनि पाएन । अर्काले पाशामा पार्नलाई डोरी फेक्यो । अर्ना भैंसीको घाटीमा अल्झिएको डोरी समाउने कोशिसमा थियो । अर्ना जोडसँग अगाडि कुद्यो । केटो सोहोरिदै एउटा ठूलो ढुंगामा ठोकियो र खुत्रुक्कै गयो । अर्को केटोलाई भित्तामा हानेर थिलीफितिली पार्यो । निमेष भरमा अर्नाले त्राही त्राही पार्यो । बाँकी बचेका कोही सगल्तै कोही घाईते भएर आए । बर्षौदेखिको रिसइबी साँध्न आए जस्तो गरी क्षण भरमा नै तीन जनाको ज्यान लिएर अर्ना फेरि कोशीको भेलतिर तैरिएर कोशी टप्पुतिर हिड्यो … !
कथाकार : एल एन सुवेदी “हस्ती”
