वाचन सजिलोको लागि ( / ) अर्ध बिश्राम (/\) मध्ये बिश्राम
याद होला सबैलाई /दुष्ट राणा हटाएको /राष्ट्रघाती भनेका त्यै /राजशाही भगाएको /\आज नेता नयाँ आए /देश बाँड्दै लुटी खाए /क्रान्तिकारी भएकाछन् /दुख्छ मेरो त्यसैले मन्।
फेरिएको भए शासन /मुर्ख हामी हुनेथेनौं /खास नाताहरूलाई /मात्र जागिर दिनेथेनौ /\भाइचारा बिगार्दै छौ /छट्टु नेताहरू लाखौँ /रूपधारी भएकाछन् /दुख्छ मेरो त्यसैले मन्।
हाल यस्तो अचम्मै भो /गर्छु भन्छौ खबरदारी /हात धेरै मिलाएको /देख्छु दुश्मनसँगै पारी /\हेर्छ कस्ले उता पट्टी /हट्छ जंगे पिलर राति /स्वाभिमानी म नेपाली /भन्नु लाजै भएको छ
स्वाभिमानी थियो सुस्ता /छैन सरकारको चौकी /खै त सेना कतै छैनन् /प्रश्न सोध्यौं रिसायौ की? /\लुट्न आए लगे भाको /रात बित्दा बिदेशीको /खेतबारी भएकाछन् /दुख्छ मेरो त्यसैले मन्।
यो विकासे सधैं नारा /के लगाइरहेका छौ /काम कैल्यै पुरा हुन्नन् /म्याद थप्दै चुसेका छौ /\देशलाई हिजो जस्तै /आज खोक्रो गर्यौ चुस्दै /हेर आऊ सडक बाटो /हिंड्न मिल्ने कहाँ रैछन्
ताल हुन्छन् सडकमा नै /भेल बाढी कहाँ जाने /सास फेर्नै भयो गाह्रो /स्वच्छ हावा कहाँ खाने /\दुख्छ हाम्रै महाकाली /हेर रोको छ कर्णाली /भोकमारी भएकाछन् /दुख्छ मेरो त्यसैले मन्।
लाम हेर्नुस् भिसा खोज्दै /मेनपावर सयौं पुग्छन् /यो र त्योको मिठो सपना/ छन् दलाली त्यहीं ठग्छन् /\बाध्यताले भएँ टाढा /घाम सातैवटा लाग्दा /ज्यान खाडी तिरै जाला /झैं भएथ्यो कुनै बेला
भो कमाई भने सोच्छन् /गाउँ छोड्ने शहर पस्ने /पीर राम्रो पढाईको /पढ्नलाई उतै बस्ने /\छैन अर्को कसैको डर /खेत बाँझै पहाडे घर /सिस्नुघारी भएकाछन् /दुख्छ मेरो त्यसैले मन्।
आज साँच्चै उडेका छन् /होस मेरा महंगीले /माग बढ्दै गएको हो /खै त बुझ्दैन खाडीले /\पाँच काट्यो दशै काट्यो /फिर्छु भन्दै बिसै काट्यो /आज भन्छन् सबैले नै /क्यै गरेको अँझै छैनस्
के भनौं खै! हजारौंको /पेट सक्दो भरेकै हो /हात खोली नसोंची क्यै /जो छ स्वागत् गरेकै हो /\आज आफन्त मेरा सब /लाग्छ धेरै कुरा काट्ने /कर्मचारी भएका छन् /दुख्छ मेरो त्यसैले मन्।
दलवीर सिंह बराइली ‘घायल’
उमाकुण्ड-६, रामेछाप
हाल: अलऐन,यूएई
रुक्न: २१२२,१२२२ X ८ (फ़ाइलातुन,मुफ़ाईलुन X8)
बहर: असम शाजदह सालीम मुदाइफ
©घायल०१/०८/२०१८
