Skip to content


पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाए
उसलाई साम्राज्यवादी भन्यौं ।
राणाहरूले देशको अस्तित्व बचाए,
उनीहरूलाई एकातन्त्री भन्यौं ।
पञ्चहरूलाई तानाशाही भन्यौं
र ल्यायौ बहुदलवाद,
त्यो पनि फुस्स भयो ।

पटक पटक हामी,
सात साल, पैतालिस साल
बैसठ्ठी/त्रिसठ्ठी सालमा सडकमा आयौं,
बिद्रोहको बिगुल फुक्यौं
दशवर्ष हतियार उठायौं
हजारौंको बलिदान दियौं
त्यसैले अहिले,
हाम्रो देशमा गणतन्त्र आएको छ ।

आज, गणतन्त्र पायौं,
तर सँगै,
बेरोजगार अभाव र महँगीको बम्पर उपहार परेको छ ।
हत्यारालाई राजनैतिक आवरणले छोप्छौं
हिंसा हुँदा मौनताले प्रोत्साहन दिन्छौं
लुटपाट गर्नेलाई प्रशासनिक संरक्षण हुन्छ
अनि,
भ्रष्टचार गर्नु नेता देखि कर्मचारीसम्मको
नैसर्गिक अधिकार जस्तो भएको छ ।
किनकि,
हाम्रो देशमा गणतन्त्र आएको छ ।

पत्रकार देशको चौथो अंग?
वा हुन पशुपतिको नाममा छोडिएको साँढे?
मनपरी सिङ उधिन्दै हिंड्छन्,
को कति बेला सिकार बन्छन् ?
थाहा छैन ।
सत्यलाई छोप्नु
असत्यलाई उचाल्नु
मालिकको सेवा गर्नु
उनीहरूको कर्तव्य हो त?
यस्तै हुन्छ चौथो अंगको जिम्मेवारी?
उनीहरू बिरुद्ध कसैले बोल्न,लेख्न, सक्दैन,
किनकि,
हाम्रो देशमा गणतन्त्र आएको छ ।

अदालतहरूमा हात्तीको प्रवेशपछि
न्याय निसाब उसैले गर्छ,
सरकारी कार्यालयहरू,
राष्ट्रिय र अन्तर्राष्ट्रिय गैससको आदेशमा खुल्छन्/बन्द हुन्छन्
विकास कछुवागतिमा घिस्रिरहेछ
उत्साह बिहीन/उद्धेश्य बिहीन ।
प्रशासन र देश प्रभुको इशारामा चल्छ,
सरकार मुकदर्शक भएर रमिता हेर्छ,
फेरि पनि
हामीले कुनै गुनासो गर्नु हुन्न/गरेपनि सुनिन्न ।
किनकि,
हाम्रो देशमा गणतन्त्र आएको छ ।

विद्यालय र कलेजहरूले,
राजनीतिक प्रशिक्षण दिन्छन्,
बेरोजगार उत्पादन गर्छन्,

सरकारलाई बोझ हुन्छ ।
हातमा पासपोर्ट थमाई दिन्छ,
आफ्नै पैसाले लिलामी दरमा बेचिन्छन् युवा,
अनि पुग्छन्,
साउदीको भेडी गोठमा
कतारको निर्माण कार्यमा
दुबईको गगनचुम्बी महलका सिसा पुछ्न
मलेसियाको जंगलमा लामखुट्टेसँगसँगै रुन
कोरिया,जापान,इजरायल, युरोप,अमेरिका
खेतीमा होस् वा कलकारखाना
होटलमा वेटर होस् वा स्टेवार्ड,
पुग्न बाँकी कतै छैनन् ।
ती मध्ये,
भाग्यमानीहरू बाकसमा फर्किन्छन्
अभागीहरू सयौं ठक्कर खाइरहन्छन्
सरकार रेमिटेन्स भित्रिएकोमा मख्ख पर्छ ।
बिचरा,
ती प्रवासीहरूसँग हाँस्ने, रुने कुनै अधिकार छैन
किनकि,
हाम्रो देशमा गणतन्त्र आएको छ ।

सोचौं!!
के यही थियो त हाम्रो चाहना?
यस्तै बेथिति नै हो त गणतन्त्र भनेको?
हामीले गर्न सक्ने केही छैन त ?
हामी सामु प्रश्नै प्रश्न मात्र छन् ।
के कुनै समाधान छैनन्?
पक्कै पनि छन्,
यी सबै बेथितिको समाधान
केवल हामीले मात्र गर्न सक्छौं,
हामी जनता आफै जागरुक हुनु पर्छ !
हरेक ठाउँमा खबरदारी गर्नु पर्छ,
राम्रो कामको थालनी आफैबाट सुरु गर्नु पर्छ,
आत्मनिर्भर बन्नु पर्छ ।
मुख्य कुरा स्वशासित (आफूले आफैलाई शासन गर्नु) हुनु पर्छ ।

आउनुहोस् !
हामी सबै मिलेर देशको बारेमा सोचौं,
विकासको बारेमा सोचौं
शान्तिको बारेमा सोचौं
हामी सबैको समान अधिकार छ,
किनकि,
हाम्रो देशमा गणतन्त्र आएको छ ।

गुप्तेश्वर-३, रामेछाप
हाल:Al ain, UAE

Leave a Reply

Your email address will not be published. Required fields are marked *