आफ्नै आत्मा तड्पिएर बेहाल छ यो छातिभित्र
माया पाए राख्ने ठाउँ बिशाल छ यो छातिभित्र ।
दुखी भन्छन् दुनियाँले उथल पुथल हुन्छ जीवन
मैले सँधै भोग्ने ठुलो भुचाल छ यो छातिभित्र ।
आज भोलि यो खाडीको घाम धेरै डराउँछ
जैले देखि थाहा पायो हिमाल छ यो छातिभित्र ।
परदेशमा दुःख गर्दा किन ठान्छौ पराय झैं?
हेर मेरो प्यारो देश नेपाल छ यो छातिभित्र ।
‘घायल’को दुःख पीडा सुन्न तयार छैनन् कोही
सुनाउँनै पर्छ भन्ने हड्ताल छ यो छातिभित्र ।
गुप्तेश्वर-३, रामेछाप
हालः अलऐन, संयुक्त अरब इमिरुट्स
©घायल २०१६
