Skip to content

हाङपाल आङबुहाङ

तिमीसँगै हुँदा पनि गजल कोरें मैले

तिमीसँगै हुँदा पनि गजल कोरें मैले
छोडी गयौ रुँदा पनि गजल कोरें मैले

याद के हो थाहा हुन्न बिर्सिनेलाई मात्रै
सम्झनाले छुँदा पनि गजल कोरें मैले

हाइकु लेख्ने तरिका:

हाइकु लेख्ने तरिका:

१) तीन हरफमा रच्नु पर्दछ ।
२) पहिलो हरफ ५ अक्षरयुक्त शब्द/शब्दहरुको चयन गर्नु पर्दछ।
३) दोस्रो हरफ ७ अक्षरयुक्त शब्द/शब्दहरुको चयन गर्नु पर्दछ।
४) तेस्रो हरफ ५ अक्षरयुक्त शब्द/शब्दहरुको चयन गर्नु पर्दछ।
५) यसरी हाइकु जम्मा १७ अक्षरमा लेखिन्छ।
६) ऋतु (किगो) बोधक शब्दचयन गर्नु पर्दछ,।हाइकुमा प्रकृति स्पन्दन हुनु जरुरी छ।

एउटा हाइकु हेरौं:

आधा चन्द्रमा
चुहुने छानोबाट
मलाई हेर्छ

धन्यवाद !

तिमी नभएर शहर सहर जस्तै छैन

तिमी नभएर शहर शहर जस्तै छैन
तिमी नभएर प्रहर प्रहर जस्तै छैन

मन लाग्छ तिमीलाई नै हरपल हेरुँ
माया गर्दै अंगालोमा सधैँ सधैँ बेरुँ
तर….
तिमी नभएर रहर रहर जस्तै छैन
तिमी नभएर शहर शहर जस्तै छैन

सँधैभरी दु:खले पिरोलेको परें म

“गेडी”

सँधैभरी दु:खले पिरोलेको परें म
हुनेखानेहरुले छिरोलेको परें म
खोली बगर
दु:खी भन्दै हेला नगर

चाँगे – ५, ताप्लेजुङ
हाल: धरान – १०, सुनसरी

जिन्दगिभरि खोजेको थिइन सँधैभर जुनेली …

जिन्दगीभरि खोजेको थिइन सधैँभर जुनेली
नहुँदो रहेछ चाहे जति नि जीवनमा उजेली

कसैको चाह हुँदैन यहा वियोग हुनलाई
अतितको मिलन संझिदै एक्लै धरधरी रुनलाई
मनको ब्यथा नलुक्दो रैछ पुसेर परेली
नहुँदो रहेछ चाहे जति नि जीवनमा उजेली

जिन्दगीमा म जस्तो अन्धो नहुनु

जिन्दगीमा म जस्तो अन्धो नहुनु
ईश्वरलाई सरापेर कहिल्यै नरुनु

संसार हेर्ने चाहना कति धेरै छ
अन्धो भइ जन्म लिनु गल्ति मेरै छ
झन दुखाउँछ आँसुले ब्यथा नधुनु
ईश्वरलाई सरापेर कहिल्यै नरुनु

जय लिम्बुवान !

मेरो पसिनाले
विदेशी भूमिलाई भिजाएर
मेरो प्यारो लिम्बुवानलाई
मैले मरुभूमि बनाएको छुइन ।

तर पनि
मेरो अभावमा
बाँझिएको लिम्बुवानमा
हुर्किएका उत्तिस घारीहरू
सप्रिएका अलैंची बारीहरू
मलाई खोजिरहेका छन् ।

तिमी र म काठमाण्डौमा छुटेको साल धेरै भयो 

तिमी र म काठमाण्डौमा छुटेको साल धेरै भयो 
आँसुको मुल अनायसै फुटेको साल धेरै भयो 

बिदाइमा हात हल्लाई जहाज चढी उडी गयौ 
विछोड हुँदा ढुक्ढुकीले कुटेको साल धेरै भयो 

धर्ती भन्दा आकाश सानो बनाएर हुन्न साथी

धर्तीभन्दा आकाश सानो बनाएर हुन्न साथी
मलको भारी बालुवामा खनाएर हुन्न साथी

जिन्दगीको मुल बाटोमा नहराई हिड्नु पर्छ
आफ्नो बाटो पराईलाई छ्नाएर हुन्न साथी

जूनको दाग

जूनलाई
जूनको दागले
साह्रै सुहाएको छ ।

सायद
जूनले पनि
लाली पाउडर घसेर
आफ्नो दाग छुपाएको भए
सेतो पेटी कसेर
आफ्नो दाग लुकाएको भए
अँधेरीमा जूनलाई
यति राम्री देखिने थिएन होला !

तिमी रुँदा तिम्रो आसुँ हेर्न सक्दिन म

तिमी रुँदा तिम्रो आसुँ हेर्न सक्दिन म
सास पनि निर्ढुक्कले फेर्न सक्दिन म

यदि हामी हिंड्ने बाटो बेग्लै हुन्छ भने
ईश्वरकै कुरा पनि टेर्न सक्दिन म

आँफै भन्दा पनि धेरै तिम्रै माया लाग्छ
लहरिँदै अर्कै रुख बेर्न सक्दिन म

तिम्रो पनि हाँस्ने खेल्ने चाह कति होला
पिँजडा भै तिम्रो खुशी घेर्न सक्दिन म

जिन्दगानी ढलेपछि साथ छुटि दिन्छ
छुटे पनि तिम्रो याद केर्न सक्दिन म

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

“अलौकिक यात्रीहरु”

भरिलो जिन्दगीको खोजिमा
रसिलो जिन्दगीको खोजिमा
असिमित रहरहरुसँग
रहर मेट्ने आशामा
खुशी भेट्ने आशामा
धेरै यात्रीहरु
रहरका सिमाहरु छैनन् भनेर
खुसीको गन्तब्यहरु छैनन् भनेर
बुझेर पनि
जानेर पनि
भोगेर पनि
साँघुरो यथार्थको धरातलमा उभिएर
कल्पनाको फराकिलो क्षितिज हेर्दै
हलुङ्गो सास फेर्छन !
अनि
आकाशको तारापुन्जलाई समात्न खेजेर
सागरलाई अन्जुली भित्र समेट्न खोजेर
उक्लिन खोज्दा यात्रीहरु
यथार्थ भन्दा तल खस्न पुग्छन
तनावको दलदलमा फस्न पुग्छन
तर पनि
परिवर्तनसँगै
सत्यतालाई अङ्गाल्दैनन्
आँफैलाई सङ्गाल्दैनन्
सुन्दर फूल जीवनलाई
ब्यर्थैमा धिक्कार्छन

जन्मेपछि मर्नु पनि ठूलो कुरा रैछ

जन्मेपछि मर्नु पनि ठूलो कुरा रैछ
फुलेपछि झर्नु पनि ठूलो कुरा रैछ

जिन्दगीको गोरेटोमा हिड्डै जाँदा खेरी
खोल्सा खोल्सी तर्नु पनि ठूलो कुरा रैछ

मनमा शान्ति हुन्न रैछ गोप्य नाता गासेपछि

मनमा शान्ति हुन्न रैछ गोप्य नाता गासेपछि
चट्टै भुल्न सकिन्न है मन मुटुमा टासेपछि

आफन्तको आँखाहरु छल गरेर हिंड्नु पर्छ
स्नेहले थाहै नपाई मनको हाँगा लासेपछि

ज्युँदै जाँदा एक्लो हुन्छु जस्तो लाग्दैन थियो 

ज्युँदै जाँदा एक्लो हुन्छु जस्तो लाग्दैन थियो 
सम्झनामा तड्पी रुन्छु जस्तो लाग्दैन थियो  

एकोहोरिँदै यादहरू संगाली एकान्तमा 
वियोगान्त गीत सुन्छु जस्तो लाग्दैन थियो

हेर्दा हेर्दै झरिजाने फूल सम्झि नरुनु है

हेर्दा हेर्दै झरिजाने फूल सम्झि नरुनु है
तर्दा तर्दै मकिजाने पुल सम्झि नरुनु है

मरिलानु केही छैन दुइदिने चोला हाम्रो
हाँसी खुशी ज्युँनु जाती कुल सम्झि नरुनु है

यथार्थमा जहाँ पनि घोडा चढ्ने मान्छे लड्छ
अन्जानी मै भइदिने भुल सम्झि नरुनु है

सपना जस्तो सुन्दर बिपना कहिल्यै हुन्न
अधुरो ति रहरको हुल सम्झि नरुनु है

अजम्वरी कोही छैन सृष्टि पछि अन्त्य हुन्छ
बग्दा बग्दै सुकिजाने मुल सम्झि नरुनु है

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

नहुर्किन्जेल तिम्रो छाती लुस्नु लुस्थें आमा

नहुर्किन्जेल तिम्रो छाती लुस्नु लुस्थें आमा
अमृतको दुइटा धारा चुस्नु चुस्थें आमा

शीतल तिम्रो छहारीमा लहरिँदा खेरी
राल सिङ्गान् तिम्रै जिउमा पुस्नु पुस्थें आमा

मेरो बिजोक दुनियाले देखिरा’को छ है

मेरो बिजोक दुनियाले देखिरा’को छ है
तातो हावा घामले सधैं सेकिरा’को छ है

बन्धकीमा राखी आ’को घर उकास्नलाई
पसिनाको धारा काममा बगिरा’को छ है