अहमताको पराकाष्ठा


आज अध्ययन गर्दै जाँदा मेरो अघिल्तिर श्रीमद्भागवत र शिव पूराणका दुई पूराणहरू नजरमा परे । हुन त यी पहिलो पटक मेरो नजरमा परेका होइनन् । मैले कहिलेकाहीं अध्ययन गरेर त्यहाँबाट केही कथाहरू पनि पस्किसकेको छु । श्रीमद्भागवत रामप्रसाद जोशीबाट नेपाली भाषामा अनुवाद गरिएकोलाई पल्टाउन मन लाग्यो र पल्टाएँ । मेरा नजर सिधै उषा र अनिरुद्धको कथामा पर्यो ।

श्रीमद्भागवत पूराणमा मलाई यो कथा पढ्ने मन भित्रैबाट पलाएर आयो । शिव पूराण पनि पल्टाउन मन लाग्यो । शिव पूराण पल्टाउनको उद्देश्य भने उषा र अनिरुद्ध सम्बन्धमा केही लेखिएको छ कि भनेर जानकारी लिनु थियो । हेर्दै जाँदा उषाका वंशजको बारेमा केही पत्ता लाग्यो । कश्यप मुनिले दक्षप्रजापतिका १३ वटी छोरीलाई विवाहगरेका र १३ रानी मध्ये दिति जेठी श्रीमतीरहिछन् । यिनले दुई छोराको जन्म दिइन् । जेठाको नाम हिरण्य कशिपु र कान्छाको नाम हिरण्याक्ष थियो ।

हिरण्याक्षलाई विष्णु भगवानले बराह अवतारमा मार्नुभयो भने हिरण्य कशिपुलाई नृसिंहको अवतारलिएर मार्नुभयो । हिरण्य कशिपुका चारभई छोरामा प्रह्लाद कान्छ थिए ।प्रह्लाद विष्णुका भक्त थिए । उनको विरोचन नामको छोरा जन्म्यो । विरोचन पनि महादानी थिए । इन्द्रले विप्ररूप धारण गरेर विरोचनसँग उनको टाउकै माग्दा पनि सहस्र स्वीकार गर्दै टाउको नै दान दिए । विरोचनको छोराको नाम बली थियो बली शिवभक्त थिए र दानी थिए । विणुले वामानरूप धारण गरेर बलीबाट पुरा पृथ्वी नै दान लिएका थिए । उनको छोराको नाम थियो वाणासुर । वाणसुर शिवका भक्त हुन् ।

शिव पूराणमाम लेखिएको छ कि वाणसुर नामी, उदार, र बुद्धिमान सत्यप्रतिज्ञ कर्ता सहस्र दानकर्ता पनि थिए । उनले त्रिलोकाधिपतिलाई बलबाट जितेर सबैको राजधानी सोडितपुर बनाएका थिए । भनिन्छ उनको राज्यमा देवता बाहेक कोही पनि दुखित थिएन । देवताले दुःख पाउनु पर्ने कारण नै शत्रुता थियो । वाणसुरले शिवजीलाई भने निकै खुसी बनाएको थियो । ऊसँग हजार हात थिए । ऊसँग कोही लड्न अघि सर्न सक्दैनथे । एक दिन बाणासुरले हजार हातबाट ताली बजाउँदै ताण्डव नाच नाचेर शिवजीलाई निकै खुसी बनायो । देवताहरूमा वरदान दिनेमा शिवजीको नाम अग्रस्थानमा आउँछ । थोरै प्रार्थना तथा भक्ति गर्नेहरूलाई पनि ठुला ठुला वरदान दिने शिवजीले वाणसुरलाई वर माग भन्नुभयो । वाणसुरले पनि पुत्र र गण सहित मेरो र सोणितपुरको संरक्षणको लागि मसँगै बस्नुहोस भन्ने वर माग्यो । शिवजीले पनि तथास्तु भन्दै सोडितपुरमा आएर बस्न थाल्नुभयो ।

यो संसारमा जो कोही किन नहोस् ऊ धन–मत्त, बुद्धि–मत्त र बल–मत्त हुन्छ । वाणसुरमा सबै चिज थिए । बुद्धिले काम गर्न छाडो र ऊ बलकै कारणले गर्दा अति मत्त भयो । पुन उसले शिवजीलाई खुसी तुल्याउनको लागि ताण्डव नृत्य गर्यो । शिवजी खुसी हुनु भयो र शिवजीले उसका मनका धारणा सुन्ने इच्छा जाहेर गर्नुभयो । यतिवेलासम्म वाणसुरमा बलको अहमकारले ठुलो स्थान लिइसकेको थियो । उसले शिवजीसँग ‘आफ्ना हजार हात प्रयोगमा आउन सकेनन् । हजुर सिवाय अरु कुनै पुरष पनि मसँग लड्ने योग्य मानिस भेटिएन । त्यसो हुँदा यात त यी हात छिम्लिउन् या यी हातले हजारौं प्रकारका शत्रुका हात गिराउन सकियोस् । मेरो यही इच्छा छ ।’

अहमताको फल कहिल्यै राम्रो हुँदैन । शिवजीमा यस्तो वरदानको माग भएकोमा रिस उठ्यो । शिवजीले पनि वाणसुरलाई भन्नुभयो – ‘तँ महादानी बलीको पुत्र होस् । तँ अब सबै दानवभन्दा नीच मतिमा जाँदैछस् । शान्तिमय संसारको रचनाको अलवा तैले विध्वंशको बाटो अङ्गाल्दै छस् । तैले मसँग यस्तो वर माग्नु उचित होइन । तँ मेरो सबैभन्दा प्यारो भक्त हुँदा हुँदै पनि तेरा भुजा छिमलिन सकिने मानिस छ भन्न करै लाग्यो । त्यसो हुँदा तेरा भुजा छिमलिने समय आइसकेको छ । तेरो यस्तो योद्धासँग युद्ध हुने छ जस्ले एक एक गरेर तेरा भुजा छिमल्ने छ । यो युद्ध कहिले होला भन्लास तेरो शीरमा फहराएको मयुरध्वजा हावा नलागि कन खस्ने छ । यति वेला सोच्नुकी ठुलो युद्ध हुने छ र लड्नको लागि तयार हुनु ।’

शिवजीको यस्तो श्राप प्राप्त गरेको वाणसुरले निकै ठुलो वरदानको रूपमा लियो ।अहम्ताले भरिएको वाणसुरमा यसको नतिजा के निस्कने छ भन्ने उसलाई थाहै भएन । ऊ निकै खुसी भयो र शिवजीमा भव्य प्रार्थना गर्छ र फर्कन्छ । वाणसुर युद्धको लागि तयार हुन्छ । ‘मँसँग को योद्धा कुन देशबाट अउँछ र म त्योसँग लड्न पाउँछु भन्ने सोचमा ऊ पर्खिरहन्छ ।

यात पौराणिक कालमै होस् या आजको समयमा नै होस् कुनै देशको राजा होस् या कुनै मानिस नै किन नहोस् झगडा गर्न र लडाइँ गर्नको लागि तत्कालीन कारण चाहिन्छ । त्यो युद्ध गर्न पर्ने कारणमा वाणासुरकै छोरी उषा नै कारक बन्दछिन् । वाणासुरकी उषा नाम गरेकी छोरीले वैशाखको महिनामा माधवको पूजा गरेर मांगालिक शृङ्गारबाट सुसज्जित भएर आफ्नो गोप्य अन्तपुरमा सुतिरहेका समयमा उनमा स्वप्न दोष हुन्छ । कुमारी छँदैमा उनले एक दिन सपनामा परम सुन्दर अनिरुद्धसँग आफ्नो समागम भएको देख्छिन् ।

यो रोमान्समा उनी निकै आकर्षक हुन्छिन् र कराउँदै प्राणप्यारा तिमी कहाँ छौ भन्दै व्युझिइन् । पूराणमा भनिएको छ यो उषा र अनिरुद्धको मिलन पनि पार्वतीकै कृपाबाट भएको हो । स्वप्नका राजकुमारलाई कसरी भेट्ने भन्दै उनी प्रेममा विह्वल हुन्छिन् । उनका सखीहरूले उनलाई सम्झाउँछन् तर उनी कुनै हालतमा पनि सम्झिदिनन् । कुमारीत्व नष्ट भएको धारणा सखीसँग राख्छिन् । सखीहरूले स्वप्नदोषको कारणले क्मारित्व नष्ट हुँदैनभन्दा पनि उनको मनले शान्ति पाउँदैन । यो सपनाका सुन्दर व्यक्तिको बारेमा उषाले चित्रलेखालाई कसरी भेट्ने भनी बोलाउँछिन् । न नामको थाहा न ठेगानाको नै थाहा कसरी पत्ता लगाउने भनी चित्रलेखाले उषालाई सम्झाउँछिन् तर उषाले स्वप्नको चित्तचोरलाई चित्रलेखाले भेट नगराइदिए मृत्युवरण गर्ने भनेपछि चित्रलेखाले विभिन्न व्यक्तिको चित्र बनाइन् र उषालाई देखाइन् । उषाले अनिरुद्धको चित्र देखेर सपनामा देखिएका युवक यिनै हुन् भनेपछि चित्रलेखाले यी श्रकिृष्णका नाति हुन् भन्ने जानकारी हुन्छ । चित्तचोरको चित्रबाट पहिचान भएपछि सोडितपुरदेखि द्वारकामा गएर ल्याउनु पनि त्यति सहज नभएको कुरा चित्रलेखाले उषालाई भन्दछिन् । उषाले तिमी योगिनी भोगिनी भएकोले सम्मोहन अस्त्रवाट अनिरूद्धलाई मसँग पुर्याइदिनै पर्छ भनेपछि चित्रलेखा द्वारकापुरीमा पुग्छिन् र सुतिरहेका अनिरुद्धलाई योगसिद्धिको बलमा उनलाई बोकेर शोणितपुरमा लिएर आउँछिन् । गन्धर्व विवाह गरेर दुवै आनन्दमा रम्न थाल्छन् ।

उषा निकै खुसी भएर अनिरुद्धसँग विहार गर्नु र उषाले देखाएको प्रेममा परी अनिरुद्धले आफूले आफूलाइनै विर्सेका हुन्छन् । दुुईको यो समागमले गर्दा उनको शरीरले तथा चालचलनले यसलाई प्रष्ट पारिसकेको आभास हुन्छ । यो कुरा पालेले वाणासुरमा राजकुमारीलाई कसैले उपभोग गरिरहेको कुरा जाहेरी गर्छन । वाणासुर यो खबरले आश्चर्य चकितपर्छ ण्। छोरीको महलमा पुग्यो र अनिरुद्धले छोरीसँग पासा खेलिरहेको देख्यो । अनिरुद्धको बल दाँज्न दशहजार फौज पठायो । अनिरुद्धले पनि वाणासुरलाई सेना सहित आएको देखेर एउटा ठुलो परिघ लिएर उभिए । अनिरुद्धले वाणसुरका सेनालाई परास्त गर्दा वाणासुर रिसायो । ऊ आफै लड्न आयो र नागपासले बाँध्यो ।

उषा निकै रोइन् तर अरिुद्ध भने दृढ देखिन्थे । वाणसुर र रथ सहित अनिरुद्धले पल्टाई दिए पछि । वाणसुरले छल गरेर अनिरद्धलाई नाग पासले वाँध्यो र मार्न तयार भयो । अनिरुद्धलाई मार्न तयार भए पछि मन्त्री कुम्भाण्डले यसलाई मार्न नहुने मार्दा आफ्नै आत्मामा आघात पुग्छ । युद्धमा देखाएको पराक्रमको हिसावले हेर्दा यो विष्णु समान शक्तिशाली छ । हेर्दा यस्तो लाग्छ कि तपाईंसँग रिसाएर शंखचुडले यसलाई उत्तम तेजबाट बढाएको छ । सहासमा हेर्दा यसले शशीमौलिकीको समानता देखाएको छ । यसरी नागपासमा बाँधिएर पिंञ्जरामा बस्दा पनि पुरुसार्थमा नै डटेर रहेको छ र हामीलाई तृण समान सम्झिरहेको छ । राजा र मन्त्री बीच यसरी वार्तालाप भए पछि कुम्भाण्डले अनिरुद्धलाइै हार स्वीकार गर्न र क्षमा मागेपछि बन्धनबाट मुक्त भइन्छ भने । कुम्भाण्डका कुरा सुनेर अनिरुद्धले भन्दछन् कि तिमीहरूलाई क्षत्रीय धर्मको थाहा छैन । दीनता देखाएर युद्ध छाडी भाग्नुता मृत्युभन्दा पनि बढी कष्टदाइ हुन्छ । लडेर मर्नु नै उचित हुन्छ भन्दै वार्ता लाप हुँदा हुँदै आकाशबाणी हुन्छ ।

आकाशवाणीबाट वाणसुरलाई तँ बलीको छोरो होस् अलिकति विचार गरत तँ शिवजीको भक्त भएर यसरी रिसाउने होइन । तलाई थाहा छ शिव सबै प्राणीका ईश्वर हुन्/परमेश्वर हुन् । संसार सबै उनैको अधिन छ । भगवान शिवले रजोगुण, तमो गुण,सत्त्वगुणको आश्रय लिएर ब्रह्मा, विष्णु र रुद्र रूपबाट लोकको सृष्टि, पालन पोषण र संहार गर्नुहुन्छ । शिवजी सर्व अन्तरयामी, सर्वेश्वर सबैका प्रेरक, सर्वश्रेष्ठ, विकार रहित, अविनाशी, नित्य, मायाधीस भएर पनि निर्गुण हुनुहुन्छ । यस पटक तिम्रो गर्वलाई शंकरले चकनाचुर पारिदिनुहुन्छ । त्यसो हुँदा तिमीले मनमा विचार गरेर स्वस्थ हौ । यति भनेर आकाशवाणी बन्द हुन्छ । वाणासुरले मार्ने विचार त छाड्यो तर नागपासबाट भने मुक्त गरेन । अनिरुद्धले दुर्गालाई स्मरण गर्दै नागपासबाट मुक्ति दिलाउनको लागि आउनको लागि आराधना गर्दछन् । अनिरुद्धको प्रर्थनाबाट खुसी भएर काली जेष्ठ कृष्ण चतुर्दशीको महारात्रिमा प्रकट हुन्छिन् र ती नागपासलाई ध्वस्त पार्दै आफ्नो मुड्कीको आघातबाट अलग्याई अनिरुद्धलाई बन्धन मुक्त गराएर, पुन अन्तपुरमा पुर्याएर काली अन्तर ध्यान हुनुहुन्छन र उषा अनिरुद्ध पूर्ववत विहार गर्न थाल्दछन् ।

अनिरुद्ध नाग सासले बाँधिएको खबर नारदबाट द्वारकाम पुग्छ कृष्णजीले पनि १२ अछौहिडी सेनालिएर सोठितपुरमा आक्रमण गर्नुभयो । यहाँ बाणका विविध सैनलाई हराउँदै जाँदा शिवसँग युद्ध हुन थालो । कृष्णजी शिवजीको साथमा गएर वाणसँग युद्ध गर्न हजुरले नै बोलाएर आएको हुँ तर हजुरसँगै कसरी लड्नु हजुर यस युद्धबाट अलगिनु पर्यो भनी सभक्ति प्रार्थना गर्दा शिवजीले वाणका भुजा काटिएको मैले देख्न नसक्ने भएकोले जृम्भणास्त्रबाट मलाईजृम्भ पारेर आफ्नो लक्ष पुरा गर्नु होस भनेपछि कृष्णले शिवलाई युद्धमा जृम्भास्त्र छाड्नुभयो । शिवजी लठ्ठिए पछि वाणासुर कृष्णको बीचमा लडाइँ सुर भयो । कृष्णले बाणका भुजा र शिरहरू फाँड्दै जाँदा शिवजी मोह निद्राले छोडेर उठ्नुभयो । वाणको शीर छेदनबाट रोक्नुभयो र सुदर्शन चक्रलाई फिर्ता लानु होस् भन्दै युद्ध बन्द गरेर वर–वधुलाई लिएर द्वारका फिर्ता हुनुहोस् भनेपछि युद्ध थामिन्छ र कृष्णजी उषा र अनिरुद्धलाई लिएर द्वारकापुरी फर्कनुहुन्छ । वाणसुरको अहम्ताले गर्दा उसका सारा शक्तिको नाशको साथै राज सुखभोग नै समाप्त भयो । उषाको यौवन मातले गर्दा आफ्नो वंशजकै नाश भयो । वास्तवमा अहमता कसै गरी पनि राम्रो हुँदैन ।

सदानन्द अभागी

यो कथा शिवपूराण र श्रीमद्भागवतमा लेखिएको उषा र अनिरुद्ध सम्बन्धी कथामा आधारित छ ।
सन्दर्भ सामाग्रीहरू–
संक्षिप्त शिवपूराण (सचित मोटा टाइप, केवल हिन्दी सं २०६६, तैतालीसवाँ पुनर्मुद्रण, गीता प्रेस गोरखपुर
श्रीमद्भागवत, नेपाली भाषामा, अनुवादक रामप्रसाद जोशी, दोस्रो संस्करण २०५७ प्रकाशिका श्रीमती नानी मैया जोशी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *