अतृप्त यौन इच्छा


आगाको छेउमा नौनी राख्दा पग्लिन्छ । एउटा युवतीको नजिक एउटा य्वक बस्यो भने निश्चय नै ऊ आकर्षित बन्छ । हाम्रा धर्म ग्रन्थहरूलाई अध्ययन गर्यो भने मानव जाति जति ज्ञानी होस् सन्तमहन्त किन नहोस् काम वासनाबाट टाढा हुन त्यति सहज हुँदैन भन्ने सन्देश पाउँछौं । पशुपंछी, बोट बिरुवा जे जति छन् ती सबैको सन्तान उत्पादन कुनै न कुनै प्रकारको यौन सम्पर्कबाट मात्र भएको पाइन्छ । मानिस बाहेकको पशुपंछी वनस्पति आदिको एउटा निश्चित ऋृतुकाल हुन्छ । तर मानिस यस्तो प्राणी हो जस्को गर्भ धारणको निश्चित समय त होला तर स्त्री पुरुषको सम्पर्क सदाबहार हुन्छभन्दा अत्युक्ति नहोला ।

काम–वासनामा ग्रसित मानिस यति अतृप्त हुन्छ कि उसको कामनालाई धन दौलत तथा स्त्रीले पनि पूर्ण गर्न सक्दैनन् । आजका विविध बलत्कारका घटनाहरूले अग्रसरता प्राप्त गर्नु भनेको यौनकै अतृप्तता हो । आज मात्र हैन हाम्र धार्मिक ग्रन्थलाई अध्ययन गर्दा पनि यौन अतृप्तताकै कारणले तथा यौन आकर्षणकै कारणले गर्दा धेरै घटना घटेका पाइन्छन् । यस विषयमा हाम्रा इन्द्रियहरू यति बलिया छन् कि ठुला ठुला ऋषि–मुनि तथा विद्वानहरुलाई पनि विचलित पार्दछन् र सहजै बसमा ल्याउँछन् । त्यसो हुँदा जुनसुकै स्त्रीबाट टाढा रहनु पदर्छ भन्ने धारणालाई पूराणले पनि अर्थ्याएको पाइन्छ । किनकि विलासी संसारबाट मानिसले मुक्ति पाउन साह्रै कठिन छ । यस विषयमा पौराणिक कालका एकजना राजाको कथा निकै रोचक छ ।

नहुष भन्ने राजाका छ भाइ छोराहरू थिए । जेठा यति थिए भने ययाती माहिला थिए यसरी नै संयाती, आयति, वियति र कृति ययातिका भाइहरू थिए । राजा नहुषले राज्य सञ्चालनको भार यतिलाई दिन चाहन्थे । यतिले राज्य सञ्चालन गर्ने काम लिन मानेन् । यतिलाई राज्य सञ्चालनमा हुने विविध खाले कुकर्महरू, भोगविलासका कर्महरूलाई उनले घृणा गर्दथे । उनले आफ्नै बाबु नहुषले शक्तिको आडमा इन्द्रकी पत्नी शचीसँग सहवास गर्ने कुप्रयास गरे । यसको नतिजा ब्राह्मणहरूको श्रापले गर्दा सर्प (अजिङ्गर) भएर इन्द्र पदबाट झर्न परेको घटनालाई भुल्न सकेका थिएनन् । साथै राज्य सञ्चालन कर्ताले हरेक किसिमका दाउपेच, राज्यसञ्चालनमा गरिने विविध व्यवस्थापनमा राजाले मानव जीवनको अमूल्यरत्न आत्मस्वरूपलाई नै भूलेको हुन्छ भन्ने उनको धारणा थियो ।यस्तो शुद्ध भावनामा रहेका यतिलाई राज्य प्रलोभनले छोएन र उनी राज्य सत्ताबाट अलगिए । यसरी यति राज्यसत्तामा नरहने भए पछि ययातीले राजा बन्ने मौका पाए र आफ्ना चार भाइलाई चार दिसामा नियुत्त गरेर देवयानी र शर्मिष्ठासँग विलासिताको जीवन बिताउन थाले । ययातीले देवयानी र शर्मिष्ठालाई प्राप्त गर्ने मौका पनि यसरी जुरेको थियो ।

शर्मिष्ठा दैत्य राज बृषपर्वाकी छोरी थिइन् । एक दिन उनी गुरुशंकराचार्यकी पुत्री देवयानीका साथ साथै अन्य साथीहरूसँग सुन्दर वगैंचामा टहलिरहेका थिए । त्यो वगैंचामा एउटा सुन्दर जलाशय थियो ।सबै युवतीहरू जलाशयको डिलमा कपडा राखेर नाङ्गै पौडी खेल्न थाले । यसै समयमा महादेव र पार्वती साँढेमा चढेर यही मार्ग हुँदै आएको देखेपछि शर्माउँदै आएर हतारिँदै कपडा लगाउने थाले । हतारमा लुगा लगाउँदा देवयानी र शर्मिष्ठाका कपडा साटिए ।देवयानीमा ब्राह्मण पुत्री भएकोमा अहमता थियो । देवयानीले आफ्नो अहम्तालाई प्रदर्शन गर्दै शर्मिष्ठालाई तथानाम गाली गरिन् । शर्मिष्ठा पनि दानव राजाकी पुत्री उनी पनि के कम । उनले पनि देवयानीलाई तथानाम गाली गरिन् । यतिसम्म कि देवयानीलाई भिखारीको संज्ञा दिन्दै कुकुर र कागले घरघरमा कलो चियाए झै दरबार र जजमानको दैलो चियाउनेमा यत्रो फूर्ति भन्दै समातेर इनारमा फालिदिइन् र शर्मिष्ठा आफ्नो दरबारतिर लागिन् ।

केही क्षणमा राजा ययाति शिकार खेल्दै जाँदा त्यही इनारमा पुगे र पानी खान खोज्दा देवयानीलाई नाङ्गो रूपमा इनार भित्र देखे । राजाले आफ्नो ओढ्ने पडा (उपर्ना) देवयानीलाई दिएर लगाउन लगाई इनारबाट हातले समातेर निकाले । ययाततीलाई आफ्नो घटनाक्रमलाई देवयानीले सबै सुनाइन् र राजाले समातेको हात सधैं राजाको नै बनोस् भन्दै विवाहको प्रस्ताव राखिन् । राजाले यो प्रस्तावमा एउटी ब्राह्मण कन्याको विवाह क्षेत्रीयसँग कसरी हुन सक्छ र भनी प्रश्न राख्दा । देवयानीले बृहस्पतिका छोरा कचले उनलाई दिएको श्रापमा उङ्को विवाह कुनै पनि ब्राह्मण कुमारसँग हुन नसक्ने भएकोले अर्को कुनै जातसँग विवाह गर्नु पर्ने उनको बाध्यता हो भनी राजासँग प्रस्ताव राखेपछि ययातिले विवाहको प्रस्ताव स्वीकारे ।

देवयानी पनि ऋषि (बाबु)सँग गएर भएका घटना सबै सुनाइन् । शुक्रचार्यलाई यस घटनाले निकै दुखित बनायो । शुक्रचार्य पनि साह्रै विरक्त भए । उनले यो ठाउँ छाडेर छोरीलाई लिएर अन्यत्र जाने तयारीमा जुटे । बृषपर्वा पनि छोरी र गुरुपुत्री बीच भएको यो झगडामा दुखित भए । शक्तिशाली गुरूले आफ्नो राज्य छाड्दा अनिष्ट हुनसक्ने धारणा राजाको मनमा पलायो । राजा शुक्रचार्यसँग गएर राज्यलाई त्यागेर यहाँबाट अन्यत्र नजानको लागि आग्रह गरे । ऋषिले पनि छोरी देवयानीले मागेको कुरा पूर्ण गरिदिएमा राज्य नछाड्ने धारण राखे । देवयानीले पनि राजाको कुरा सुनेपछि ‘मैले जो कोहीसँग विवाह गरे पनि शर्मिष्ठाले आफ्ना सहेली सहित मेरो सेवामा दाखिला होउन्’ भन्ने शर्त राखिन् । राजा बृषपर्वाले देवयानीको यो मागलाई स्वीकार गर्न तयार हुनको लागि छोरीलाई सम्झाए । आफ्नो बाबुको राज्यमा नै अनिष्ट हुने कुराले गर्दा देवयानीको सेवारत हुने कुरा शर्मिष्ठालाई स्वीकार्य भयो ।

देवयानी र ययातिको धुमधामले विवाह भयो । शर्मिष्ठा देवयानीको सेवागर्न गइन् । एक त्र्राह्मण पुत्री रानी बनेर जानु र राजाकी छोरी उसकी दासी भएर सेवा गर्नु पर्ने यस्तो अवस्थामा एक दिन शर्मिष्ठाको मनमा विचार पलायो । उनले राजासँग ऋतुदान सम्बन्धमा न्याय माग्ने अठोट लिइन् र ‘राजान मलाई न्याय चाहियो । मलाई ऋतुदान दि’ भन्ने आफ्नो धारणा राखिन् । राजा धर्म संकटमा परे । देवयानीसँग विवाह हुँदा ऋषिले शर्मिष्ठासँग आँखा नलगाउनु यदि आँखा लगाइयो भने राम्रो हुने छैन भनी राजालाई सचेत गराएका थिए । आज आएर शर्मिष्ठाले न्याएको खोजी गरिन् । यो पनि तत्कालीन समयानुकुल शर्मिष्ठाले ऋतुदानको माग गर्नु धर्म अनुकुल र न्याय अनुकुल भएकोले ऋतुदान दिने निर्णयमा राजा पुगे । शर्मिष्ठाले ऋतुदान पाइन् । उनीबाट पनि सन्तान जन्मन थाले ।

घटनाक्रम बढ्दै जाँदा देवयानीलाई यो कुरा पत्तालाग्यो । उनी निकै आक्रोशित भइन् । राजा ययातिले निकै सम्झाए तर देवयानीले कुनै कुरा सुनिनन् । उनी आफ्ना बाबु भएको ठाउँमा जान लागिन् । राजा ययातिले धेरै सम्झाए तर उनले कुनै कुरा सुन्न चाहिनन् । सारा कुरा देवयानीले आफ्नो बाबुलाई भनिन् । ऋषि पनि साह्रै रिसाएर राजालाई बूढो भैजा भनी श्राप दिए ।

ऋषिले श्राप त दिए तर यो श्रापले राजामात्र नभएर रानी देवयानी पनि पीडित हुने भइन् । यो कुरा न त ऋषिलाई नै ज्ञात भयो न त आवेशमा भएकी देवयानीलाई नै । राजालाई भने अँझै भोगविलासमा रम्ने धोका पुगेको थिएन । राजाले ऋषिसँग यो श्रापले राजामात्र नभएर देवयानीलाई पनि अपठ्यारो पर्ने भएकोले श्राप फिर्ता लिन आग्रह गरे । राजाको धेरै आग्रहपछि श्राप त फिर्ता लिएनन् बरु राजालाई ‘जाऊ, कसैले बैंस दिन्छ भने साटेर लेऊ र रमणा गर ’भनेर वरदान दिएर पठाए ।

यो वरदान कसरी सम्भव हुन्छ त भन्दै राजा सोचमा डुबे र घरतिर लागे । राजाले छोराहरूबाट जवानी साट्न चाहे र सर्वप्रथम जेठा छोरा यदुसँग विषय सुखसँग उनी अँझै तृप्त नभएकोले उनको बुढौती केही क्षणको लागि यदुको जवानी साट्नको लागि आफ्नो धारणा राखे । तर यदुले सिधै उमेर नपुगी आएको बुढ्याइँलाई साटेर बाँच्न नचाहेको जवाफ दिन्दै भने कि बैराग्य आउनको लागि पनि मानिसले विषय सुख प्राप्त गर्नु पर्छ । त्यसो हुँदा बैंश साट्न नसक्ने जवाफ दिए ।

यसरीनै राजाले तुर्बसु, द्रुह्यमु र अनुलाई पनि आफ्नो जिज्ञासा राखे । यी सबै छोराले राजाको बूढौलीसँग जवानी साट्न चाहेनन् । अन्तिममा राजाले सबैभन्दा सानो छोरा पुरुलाई आफ्नो यथार्थता प्रष्ट्याए । पुरु विद्वान थिए, उनलाई धर्मतत्वको बारेमा थाहा थियो । पुरुलाई यो शरीर भनेको नाशवान हो, यदि पिताको दया रहेमा छोराले परमपद प्राप्त गर्न सक्छ भन्ने ज्ञान थियो । पुरुले यो पनि जान्दथे कि पुत्रको शरीर पिताबाटै प्राप्त भएको हो । आदि विचारहरुलाई पुरुले केलाए । पुरुले श्रीमद्भागवतमा पिताको आज्ञा पालकको सम्बन्धमा पुत्रको वर्गीकरण गरेको कुरालाई स्मरण गरे । श्रीमद्भागवतमा भनिएको छ –‘उत्तम पुत्र त त्यो हुन्छ जसले पिताले भन्नु अगावै बुझेर काम गर्दछ । पिताले भनेपछि भनेको कुरालाई कार्यन्वयन गर्ने पुत्र मध्यम हुन्छ । पिताको आज्ञा पाए पछि वाध्यताले पालन गर्ने पुत्र अधम हो । पिताको कुरालाई कुनै प्रकारले पनि मान्दैन भने त्यस व्यक्तिलाई छोरो भन्नु नै भूल हो । त्यो त पिताको मलमूत्र हो ।’यी वाँणीलाई पुरुले केलाए, विश्लेषण गरे र अनि बाबुको आज्ञापालन गर्नु छोराको दायित्व हो भन्दै आफ्नो जवानी बाबुको बूढ्यौलीसँग साट्न सहस्र स्वीकारे । ययातिले छोराको जवानीलाई प्रयोग गरेर विषयभोगमा रम्म थाले । ययातिले, सातै द्वीपहरूमा एकक्षत्र राज गर्दै, एकहजार वर्षसम्म विषयभोगमा रम्दा पनि उनमा विषय भोगबाट तृप्ति हुन सकेन ।

मानिसले सबै कामहरूलाई पाखा लगाएर कुनै एक चीजमा प्राप्त गर्न चाहन्छ भने धेरैहद्सम्म प्राप्त हुन सक्छ जो विषय भोग ययातिले छोराबाट वैंस प्राप्त गर्न सफल भए । जुन चीजमा मानिस धेरै लिप्त हुन्छ अन्त्यमा त्यही कर्मबाट मानिसमा वैराग्य उत्पन्न हुन्छ । राजा ययातिलाई अन्तिम समयमा विषयभोगबाट वैराग्य उत्पन्न भयो । उनलाई आफ्नै आत्मा लुकेको भान भयो । उनले देवयानीसँग कसरी भेट भयो ।अनि के के घटना घटे सबै घटनालाई आफूलाई बोको र देवयानीलाई बाख्रीको रूप दिएर एउटा व्यङ्ग कथा सुनाए र आफ्नो विषयानन्दबाट अलगिने अठोट लिएर छोराको जवानी फिर्ता गरेर म्परमात्ममा समर्पण गर्न भनी राज्य त्याग गरे र वनतिर लागे । यसरी नै देवयानीले पनि विषय सुखलाई त्यागेर श्रीकृष्णको भक्तिमा लागिन् ।

(यो कथा श्रीमद्भागवत कथामा आधारित छ बाबुलाई वैंस साट्ने छोरो कथालाई परिमार्जन गरेर लेखिएको कथा हो ।)

-सदानन्द अभागी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *