Skip to content

एउटा असुर थियो दम्बोद्भव । उसले सुर्यदेवको अत्यन्तै ठूलो तप ग¥यो । सुर्यदेव प्रसत्र भएर प्रकट भएर वरदान माग भन्दा उसले ‘अमरत्व’ को वरदान माग्यो । सुर्यदेवले यो सम्भव छैन भने । तब उसले माग्यो कि उसलाई एक हजार दिव्य कवचको सुरक्षा प्राप्त होस् । यीमध्ये एउटा पनि कवच मात्र उसले तोड्न सकोस् जसले एक हजार वर्ष तपस्या गरेको होस् । जसै कोही यसरी कवच तोड्न सक्छ उसको पनि तत्कालै मृत्यु होस् ।

यो कुराले सुर्यदेव एकदम चिन्तित भए । उनले असुरले यो वरदान दुरुपयोग गर्नेछ भत्रे थाहापाइसकेका थिए कि या तर उसको तपस्याका अगाडि विवश भएर उनले यो वरदान दिनु नै प¥यो । यसरी कवचहरूबाट सुरक्षित भइसकेपछि त्यही भयो जुन सुर्यदेवलाई डर थियो । दम्वोद्भव आफ्ना सहस्र कवचको शक्तिले आफूले आफूलाई अमर मानेर जे पायो त्यही अत्याचार गर्न सुरु गर्न थाल्यो र ऊ ‘सहस्रकवच’ नामले जानिन थाल्यो ।

उता सतीका पिता दक्षप्रजापतिले आफ्नी पुत्री ‘मूर्ति’ को विवाह ब्रह्माजीका मानसपुत्र ‘धर्म’सँग गरे । मूर्तिले सहस्रकवचबारे सुनेकी थिइन् र उनले विष्णुसँग प्रार्थना गरे कि त्यसलाई समाप्त पार्न भगवान् विष्णुले पदार्पण गर्नुप¥यो । विष्णुजीले उनलाई आश्वासन दिए कि उनले पदार्पण गर्नेछन् ।

समयक्रममा मूर्तिले जुम्ल्याहा पुत्रहरू जन्माइन् । दुवै दुइटै शरीर भएर पनि एक थिए । दुई शरीरका एक आत्मा । विष्णुजीले यसरी एकै पटक दुई शरीरमा नर र नारायण रूपमा पदार्पण गरे । दुवै दाजुभाइ ठूला भए । एकपटक दम्बोद्भव त्यही वनमा आयो । तब उसले यस्ता तेजस्वी मनुष्य आएको देख्यो र भयभीत भयो ।

ती व्यक्तिले भने म ‘नर’ हुँ र म तिमीसँग युद्ध गर्न आएको हुँ । भयभीत भएर पनि दम्बोद्भवले हाँसेर भन्यो — “तिमीलाई मेरो बारेमा के नै थाहा छ र ? मेरो कवच उसैले तोड्न सक्छ जसले हजार वर्ष तपस्या गरेको हुनुपर्छ ।” नरले हाँसेर भने कि म र मेरो भाइ नारायण एकै हौं । उनले मेरो वदला तप गरिरहेका छन् र म उनको बदला युद्ध गर्न आइरहेको छु ।

युद्ध सुरु भयो । सहस्रकवचलाई आश्चर्य भइरह्यो कि साँच्चै नै नारायणको तपले नरको शक्ति बढ्दै गइरहेको थियो । जसै हजार वर्षको समय पुर्ण भयो नरले सहस्रकवचको एउटा कवच तोडे । तर सुर्यदेवको वरदानअनुसार जसै कवच टुट्यो नर मृत भएर त्यहीँ गिरे । सहस्रकवचले सोच्यो कि भइहाल्यो एउटा कवच गएर के भयो मलाई मार्ने व्यक्ति त म¥यो ।

तब उसले देख्यो कि नर उसकहाँ दौडेर आइरहेका थिए र ऊ चकित भयो । अहिल्यै भरखरै उसको अगाडि नर मरेको उसले देखेको थियो तर तत्कालै उसका अगाडि दौडेर आइरहेका थिए । तर फेरि उसले देख्यो कि नर मृत भएर लडिरहेका थिए । त्यो त हुबहु नर जस्तो प्रतीत भइरहेको थियो । ती त उनकै जुम्ल्याहा नारायण थिए । जो दम्बोद्भवतिर होइन कि आफ्ना जुम्ल्याहा नरतिर दौडिरहेका थिए । दम्बोद्भवले अट्टहास गरेर नारायणसँग भन्यो — “तिमीले आफ्ना भाइलाई सम्झाउनुपर्ने थियो । उनले आफ्नो प्राण व्यर्थैमा गुमाए ।”

नारायण शान्तिपूर्वक हाँसे । उनले नरकहाँ सँगै बसेर कुनै मन्त्र पढे र चमत्कारिक रूपले नर उठे । तब दम्वोद्भवले यो बुझ्यो कि हजार वर्षसम्म शिवजीको तपस्या गर्नाले नारायणलाई मृत्युञ्जयको सिद्धि प्राप्ति भएको हो जसले उनका भाइलाई पुनर्जीवन दिन सकेका हुन् । त्यसपछि नारायणले दम्वोद्भवलाई ललकारे र नर तपस्या गरिरहे । हजार वर्षको युद्ध र तपस्यापछि फेरि एउटा कवच टुट्यो र नारायणको मृत्यु भयो । फेरि नरले आएर नारायणलाई पुनर्जीवन दिए । यसरी यो चक्र फेरिफेरि चलिरह्यो । यसप्रकार ९९९ पटक युद्ध भयो । एउटा भाइले युद्ध गर्दा अर्को भाइले तपस्या गरिरहे । हरेक पटकको मृत्युमा अर्को भाइले उनलाई पुनर्जीवन दिन्थे ।

जब ९९९ कवच टुट्यो सहस्रकवचले थाहा पायो कि अब उसको मृत्यु हुनेछ । तब उसले युद्ध त्यागेर सुर्यलोक गएर सुर्यदेवको शरणागत भएर रह्यो । नरनारायणले उसको पिछा गरेर त्यहाँ पुगे र सुर्यदेवलाई उसलाई सुम्पन आग्रह गरे । तर आफ्ना भक्तलाई सुम्पन सुर्यदेव राजी भएनन् । तब नारायणले आफ्ना कमन्डलुको जलले सुर्यदेवलाई श्राप दिए कि तपाईंले यस असुरलाई उसको कर्मफलबाट बचाउने प्रयास गरिरहनुभएको छ । जसका लागि तपाईं पनि अब पापको भागीदारी हुनुप¥यो । त्यसैले तपाईं पनि यो पाप भोग्न यसैका साथ जन्मनुपर्नेछ । यसैबेला त्रेतायुग समाप्त भयो । द्वापरयुग सुरु भयो ।
जब कुन्ती कुमारी थिइन् तब दुर्वासा ऋषि उनका पिताका महलमा आए , तब कुन्तीले पूरै एक वर्षसम्म ऋषिलाई एकदम राम्रोसँग सेवा र सत्कार गरेकी थिइन् । कुन्तीको सेवाबाट खुसी भएर उनले आफ्नो दिव्य दृष्टिबाट यो देखे कि पाण्डुबाट उनलाई सन्तान प्राप्त हुन सक्दैन र उनलाई यो वरदान दिए कि उनले कुनै पनि देवताको स्मरण गरेर उक्त देवतामार्फत सन्तान प्राप्त गर्न सक्नेछिन् । एक दिन उत्सुकतावश कुमारी बेला कुन्तीले वरदान जाँच गर्न सुर्यदेवलाई आह्वान गरकी थिइन् । यसबाट सुर्यदेव प्रकट भए र उनलाई एउटा पुत्र दिए । जो सुर्यसमान तेज भएका थिए । सो बालक जन्मँदा नै कवच र कुण्डलसहितका थिए तर त्यो बेला कुन्ती अविवाहित थिइन् । त्यसैले लोकलाजका डरले आफ्नो पुत्रलाई बाकसमा राखेर गङ्गामा बहाइदिइन् ।

त्यो समय माता कुन्तीले आफ्नो तर आमरूपमा धेरैलाई यो ज्ञात छैन कि वास्तवमा यी कर्ण मात्र सुर्यपुत्र होइनन् कि उनका भित्र सुर्य र दम्बोद्भव दुइटै समाहित थिए । जसै नर र नारायण दुई शरीरमा एउटा आत्मा छ त्यस्तै कर्णका शरीरमा दुइटा आत्मा ‘सुर्य तथा सहस्र कवच’ को वास छ । अर्कोतर्फ नर र नारायणको रूप धरेर अर्जुन र कृष्णका रूपमा आए । कर्णको भित्र जुन सुर्यको अंश छ त्यसले उनलाई तेजस्वी र वीर बनाए भने जुन उनका भित्र दम्बोद्भव छ त्यसको कर्मफलबाट उनले अनेकौं अन्याय प्राप्त गरे र द्रौपदीको अपमान तथा यस्तै अनेकौं अपमान गर्न प्रेरित बनायो । यदि अर्जुनले कवच तोडेका भए तुरुन्तै उनको मृत्यु हुने थियो । त्यसैले इन्द्रदेवले त्योभन्दा पहिले कर्णसँग कवच मागेका थिए ।

कर्ण महाभारतका सबैभन्दा मुख्य पात्रमध्ये एक हुन् । कर्णको वास्तविक आमा कुन्ती थिइन् । कर्णको जन्म कुन्तीको पाण्डुसँग विवाह हुनुभन्दा अगाडि भएको थियो । कर्ण दुर्योधनका सबैभन्दा मिल्ने साथी थिए र महाभारतको युद्धमा उनी आफ्ना भाइहरूसँग लडे । उनी सुर्यपुत्र थिए । कर्णलाई एक आदर्श दानवीर मानिन्छ किनकि कर्णले कहिल्यै कसैलाई पनि दान दिन आनाकानी गरेनन् भलै उनको प्राण नै सङ्कटमा परोस् । कर्णको छवि अहिले पनि हाम्रो समाजमा एउटा यस्तो महायोद्धाको छ जसले जीवनभर प्रतिकूल परिस्थितिसँग लडिरहे । प्रायः व्यक्तिहरू यो मान्दछन् कि कर्णलाई कहिल्यै पनि त्यो कुरा प्राप्त भएन जसको उनी असली हकदार थिए । तर्कसङ्गत रूपमा भत्रुपर्दा हस्तिनापुरको सिंहासनको वास्तविक अधिकारी कर्ण नै थिए किनकि उनी कुरु राजवंशकै थिए र युधिष्ठिर तथा दुर्योधनभन्दा जेठा थिए । तर उनको पहिचान उनको मृत्युसम्म अज्ञात नै भयो । कर्णको छवि द्रौपदीलाई अपमान गर्ने र अभिमन्यु वधका कारण धूमिल भएको थियो तर कुल मिलाएर कर्णलाई दानवीर र महायोद्धा मानिन्छ ।

महाभारत समयको कथा हो । अधीरथ र राधा नामका एक वृद्ध जोडी गङ्गा किनारमा रहन्थे । अधीरथ सारथि थिए । सारथि अर्थात् रथ हाँक्ने व्यक्ति । उनी यही कर्म गर्दथे । उनी वृद्ध हुँदै गइरहेका थिए । तर उनका कुनै सन्तान थिएन । यसका कारण उनी एकदमै दुःखी भएर बस्थे । बिहान सधैं देवताको प्रार्थना गर्थे — “हे सुर्य भगवान् ! तपाईं समस्त संसारमा प्रकाश दिनुहुन्छ । सबै ठाउँ उज्यालो छर्नुहुन्छ । म सन्तान नभएर धेरै दुःखी छु । मलाई सन्तान दिनुहोस् । मेरो जीवनमा पनि प्रकाश भरिदिनुहोस् ।” यसरी प्रार्थना गर्दा उनको आँखाबाट बलिन्द्र धारा अस्रु सरिता बहन्थ्यो ।

एक दिन गङ्गाको किनारमा उनले सुर्यदेवसँग यही प्रार्थना गरिरहेका थिए । उनले सोचिरहेका थिए कि भगवान्ले उनको प्रार्थना सुनिरहेका छैनन् । उनको आँखा आँसुले भिजिरहेको थियो । उनी फर्कनै लागेका थिए कि उनले गङ्गाको बहावमा कुनै वस्तु बहेर आएको देखे । अधीरथ अगाडि बढे । नदीमा एउटा टोकरी बहेर आइरहेको थियो । अधीरथले टोकरी नजिक आइरहेको देखे । त्यसमा नरम बिछ्यौनामा एउटा प्यारो सुन्दर शिशु थियो । उनी सुर्य जस्तै तेजस्वी थिए । उनका हातहरूमा कवच र कानहरूमा सुनका कुण्डल थिए । त्यो बच्चालाई देखेर उनले हर्षका आँसु बहाए । उनको मनमा दया उर्लिएर आयो । यत्ति राम्रो बालक नदीमा कसरी आयो ? तुरुन्तै उनले उक्त शिशुलाई उठाए । त्यो शिशु उनलाई त्यही ठाउँमा प्राप्त भयो जहाँ उभिएर आँसु बहाएर उनले सधैँ प्रार्थना गर्थे । उनको आँखामा खुसीको आँसु छल्किरहेको थियो । उनले सोच्न थाले ‘के भगवान्ले उनको प्रार्थना सुनेका हुन् ? त्यो प्यारो शिशु कस्तो होला ? जोसुकै होऊन् । अब यो मात्र उसैको हुनेछ ।’ अधीरथ शिशुलाई बोकेर घरमा आए । अधीरथकी पत्नी राधा सन्तान नभएर दुःखी थिइन् । जब उनले शिशु देखिन् उनको आफ्नो हर्षको सीमा रहेन । पतिपत्नी दुवैले शिशुलाई एकदमै प्रेमसँग पालनपोषण गरे । महाराज धृतराष्ट्रका सारथि अधीरथ र उनकी पत्नी राधाले उनलाई आफ्नो गक्षले भ्याएसम्म सुखसयलका साथ असीम प्रेमले लालनपालन गर्न थाले । उनीहरूले उनलाई ‘वासुसेना’ नाम राखे । आफूलाई पाल्ने माताको नामबाट उनको नाम ‘राधेय’ पनि भयो ।

उनी सानैदेखि आफ्ना साथीहरूभन्दा जुनसुकै कुरामा अब्बल थिए । उनी साथीहरूभन्दा बुद्धिमानी, शक्तिशाली तथा दृढ निश्चयी थिए । उनलाई धनुवाण एकदमै मनपथ्र्यो । धनुर्विद्या तथा निशानबाजीमा उनी आफ्ना सबै साथीहरूभन्दा निपुण थिए । उनको यस्तो अद्भुत प्रतिभा देखेर सबैले आश्चर्यचकित भएर भन्थे —“यो यत्ति सानो छ तर कस्तो बुद्धिमान् । उसको निशाना त अचूक छ ।”

आफ्नो जन्मको रहस्योद्घाटन भइसकेर तथा अङ्ग देशको राजा बनाइदिएपछि कर्णले उनीहरूलाई नै मातापिता माने र आफ्नो मृत्युकालसम्म पुत्रधर्म निभाए । अङ्ग देशका राजा बनाइएपछि कर्णको नाम ‘अङ्गराज’ पनि भयो । कुमार अवस्थादेखि कर्णको रुचि आफ्ना पिता अधीरथले जसरी रथ चलाउन छोडेर युद्धकलामा धेरै थियो । कर्ण र उनका पिता अधीरथले आचार्य द्रोणलाई भेटे जो त्यस समयमा युद्धकलामा सर्वश्रेष्ठ आचार्यमध्ये एक थिए । द्रोणाचार्य त्यो समय कुरु राजकुमारहरूलाई युद्धकला सिकाउँथे । त्यसैले उनले कर्णलाई शिक्षा दिन मानेनन् किनकि कर्ण सारथिपुत्र थिए र द्रोणाचार्य क्षत्रीहरूलाई मात्र शिक्षा दिन मान्थे । द्रोणाचार्यले असहमति गरेपछि कर्ण कसरी धर्नुिर्वद्यामा निपुण हुने भत्रे कोसिस गरिरहे ।

कर्ण धनुर्विद्यामा सबैभन्दा जात्रे हुन चाहन्थे । त्यसका लागि उनी गुरुको खोजीमा थिए । एक दिन बटुवाहरूले परशुरामबारे कुरा गरिरहेको कर्णले सुने । उनले तत्कालै सोधे ः—“परशुराम को हुन् ?” उनलाई तुरुन्तै जवाफ प्राप्त भयो —“परशुराम जमदग्नि ऋषिका पुत्र हुन् । परशुराम ऋषि भएर पनि अद्वितीय योद्धा हुन् । उनले सारा पृथ्वीलाई २१ चक्कर लगाइसकेका छन् । कुनै पनि क्षत्रीले उनलाई हराउन सकेका छैनन् र सक्ने पनि छैन । उनको धनुषले सारा विश्व थर्कमान छ । धनुर्विद्यामा उनीसँग कसैले पनि प्रतिस्पर्धा गर्न सक्दैन, उनी भगवान् नै हुन् र अन्यायलाई अन्त्य गर्न पृथ्वीमा अवतरित भएका हुन् ।”

परशुरामको यस्तो प्रशंसा सुनेर कर्णको मनमा उनीप्रति सम्मान प्रकट भयो । उनी परशुरामका शिष्य भएर उनीसँग धनुर्विद्या सिक्न लालायित भए । तर उनको मनमा शङ्का थियो कि के परशुरामले उनलाई शिष्य बनाउलान् त ? कर्ण साहस गरेर परशुरामको आश्रममा पुगे । परशुरामले सोधे ः—“पुत्र ! तिमी को हौ ?” कर्णले उनलाई आफ्नो परिचय दिए र भने —“तपाईं अद्वितीय योद्धा हुनुहुन्छ र धनुर्विद्यामा तपार्इं जति जात्रे यो संसारमा कोही पनि छैन । तपाईंबाट धनुर्विद्याको शिक्षा लिन कसलाई मन नपर्ला ? म तपाईंसँग धनुर्विद्या सिक्न चाहन्छु । मलाई आफ्नो शिष्यका रूपमा स्वीकार्नुहोस् ।” कर्णको श्रद्धा र लगन देखेर परशुरामले उनलाई आफ्नो शिष्य बनाए । धनुर्विद्यामा कर्णको प्रतिभा देखेर उनी चकित भए । उनले कर्णलाई धनुर्विद्या प्रशिक्षण सुरु गरे ।

त्यो बेला ब्राह्मण र क्षत्रीले मात्र गुरुकहाँ धनुर्विद्या सिक्न सक्दथे । परशुराम क्षत्रीहरूलाई घृणा गर्दथे । अतः उनले ब्राह्मणहरूलाई मात्र शिक्षा दिन्थे । उनले सोचे कर्ण ब्राह्मण हुन् । कर्णले पनि आफू ब्राह्मण नभएको कुरा गोप्य नै राखे । कर्णले कुनै पनि बाधा–अड्चनमा परशुरामबाट प्रशिक्षण लिइरहे । उनको बुद्धि एकदम तीक्ष्ण थियो । परशुरामले उनलाई धनुर्विद्यामा पारङ्गत बनाए । आफ्ना गुरुलाई उनले श्रद्धापूर्वक सेवा गरे ।

एक दिन परशुराम केही थकित थिए । कर्णको काखमा शिर राखेर सुतिरहेका थिए । त्यही बेला कहीँबाट बिच्छी आएर कर्णको जाँघमा बस्यो र कर्णलाई टोक्न थाल्यो । कर्णले सोचे कि यदि उनी अलिकति पनि हलचल भए गुरुको निद्रा भङ्ग हुनेछ । बिच्छीले टोक्दा कर्णको जाँघबाट रगत बग्न थाल्यो । जब परशुरामको गालामा रगत लाग्यो उनी उठेर बसे र कर्णसँग सोधे ः—“पुत्र ! यति धेरै रगत कहाँबाट बग्यो ?” कर्णले उनलाई सारा कुरा बताए । परशुरामले फेरि सोधे ः—“तिमीले यस्तो दुःखलाई चुपचाप सह्यौ ?” कर्णले भने ः—“केही ठूलो दुःखाइ भएन ।”

यस कुराले परशुराम चकित भए । उनले कर्णलाई शिरदेखि पाउसम्म हेरे । उनले त्यत्ति बेलासम्म सम्झिरहेका थिए कि कर्ण ब्राह्मण पुत्र हुन् तर कोमल शरीरधारी ब्राह्मण यत्ति ठूलो असह्य वेदना सहन सक्दैन । परशुरामलाई शङ्का भयो कि कर्ण क्षत्री हो । उनी कठोर स्वरमा बोले —“कर्ण !” कर्णले भने —“आज्ञा गुरुदेव !” परशुरामले भने —“मलाई साँचो साँचो भन कि तिमी को हौ ? के तिमीले मसँग कुरा लुकाएका छौ ?”
“मैले के लुकाएँ म जान्दिनँ ।” कर्णले जवाफ दिए । परशुरामले फेरि सोधे —“के तिमी व्राह्मण पुत्र हौ ? मलाई सत्य बताऊ ।”

कर्णले जवाफ दिन सकेनन् । उनी शिर झुकाएर मौन उभिरहे । उनी त यही जान्दथे कि उनलाई पालनपोषण गर्ने अधीरथ नै उनका पिता हुन् । अधीरथ एक सारथि थिए । कर्ण एक सारथिका पुत्र थिए । उनी ब्राह्मण वा क्षत्री थिएनन् । कर्ण सोच्न थाले कि गुरुलाई के जवाफ दिने भनेर । उनी दुःखी हुन थाले । साथसाथै उनलाई डर लाग्न लागेको थियो । कर्णको मौनलाई हेरेर परशुरामले थाहा पाए कि उनको शङ्का ठीक हो । गुरुले रिसमा कर्णको नम्रता, साहस, गुरुभक्ति तथा धनुर्विद्या सिक्नमा उनको लगाव र प्रेम सबै भुले ।

उनले कर्णलाई श्राप दिए —“युवक ! के तिमीले आफ्ना गुरुलाई धोका दिएर त शिक्षा प्राप्त गरेनौ ? मैले तिमीलाई शक्तिशाली अस्त्र चलाउन सिकाएँ तर जब तिमीलाई यसको सबैभन्दा धेरै आवश्यक पर्छ त्यही बेला तिमीले यसलाई चलाउन भुल्नेछौ ।”
कर्णलाई यस्तो महसुस भयो मानौं उनले टेकेको जमिन भास्सिएको छ । उनले आफ्नो गुरुको मन दुखाएका थिए । यसकारण गुरुले श्राप पनि दिए । उनले थाहा पाउन सकेका थिएनन् कि उनले त्यसपछि के गर्नुपर्ने भनेर । यही अवस्थामा उनी परशुरामको आश्रम छोडेर गए ।

कर्ण यो कुरा जान्दैनथे कि उनी कुरु वंशका थिए । उनले आफ्ना गुरुसँग क्षमा मागे र भने कि उसको ठाउँमा अरू जो भए पनि यसै गर्थे होलान् । वास्तवमा कर्णलाई यसरी रिसको आवेगमा श्राप दिएकोमा गुरुलाई ग्लानि भयो तर उनले त्यो श्राप फिर्ता लिन सक्दैनथे । तब उनले कर्णलाई आफ्नो ‘विजय’ नामक धनुष दिए र उनलाई यो आशीर्वाद पनि दिए कि “उनलाई त्यो कुरा प्राप्त हुनेछ जुन उनले सर्वाधिक चाहना गरेको हुन्छ ।” यो पनि मानिन्थ्यो कि बिच्छीका रूपमा स्वयम् इन्द्र आएका थिए र कर्णलाई क्षत्री भनेर चिनाउन र उनको वास्तविकता उदिङ्ग्याउन चाहन्थे ।

यसरी परशुरामजीको आश्रमबाट शिक्षादीक्षा लिइसकेपछि कर्ण वनमा भट्किरहेका थिए । यही बेला उनले शब्दभेदी विद्या सिकिरहेका थिए । एक दिन उनले जब यो विद्याको अभ्यास गरिरहेका थिए तब उनले गाईको बाच्छोलाई अरू नै जङ्गली पशु ठानेर शब्दभेदी वाण चलाए र बाच्छो मारे । तब त्यो गाईको बाच्छोका स्वामी ब्राह्मणले कर्णलाई श्राप दिए कि “जुन किसिमले तिमीले यो बाच्छोलाई मा¥यौ त्यसरी नै तिमीले पनि मर्नुपर्नेछ र आफूलाई एकदम निरीह महसुस गर्नुपर्ने हुनेछ । अनि तिम्रो ध्यान पनि शत्रुतर्फ नगई अन्य कुनैतर्फ केन्द्रित हुनेछ र तिमीले युद्धमा हार्नुपर्नेछ ।”

कर्ण एक दिन कहीँ गइरहेका थिए तब बाटामा एउटी कन्या देखे । जसले बोकेको घडाबाट घिउ पोखिएकोले रोइरहेकी थिइन् । जब कर्णले ऊसँग यस्तो सन्त्रासको कारण जात्र खोजे त उनले बताइन् कि उनलाई डर छ कि उनकी सौतेनी आमा असावधान रूपमा रुष्ट हुनेछिन् । कृपालु कर्णले त्यही बेला उनलाई भने कि उसले नयाँ घिउ ल्याएर दिनेछ । जब कन्याले आग्रह गरिन् कि उनलाई त्यही माटोको घिउ चाहिन्छ र उनले नयाँ घिउ लिन मानिनन् । तब कन्याप्रति दयाभाव राखेर कर्णले घिउ भएको माटोको भाँडोलाई बेस्सरी मुठीमा लिए र निचोड्न थाले । ता कि माटोबाट निचोडिएर घिउ निक्लोस् । यो प्रक्रियामा उनले एउटी महिलाको पीडादायक आवाज सुने । जब उनले मुठी खोले त त्यहाँ धर्तीमातालाई देखे । पीडाले क्रोधित धर्तीमाताले कर्णको आलोचना गरिन् र भनिन् कि एउटी बाच्छीको घिउका लागि उनलाई यत्ति धेरै पीडा दिइयो । तब धर्तीमाताले कर्णलाई श्राप दिइन् कि एक दिन जीवनको कुनै समयको निर्णयक युद्धमा तिम्रो रथको पाङ्ग्रालाई त्यसरी नै समाउनुपर्नेछ जसरी अहिले मलाई मुठीमा पक्रेका छौ । जसका कारण तिमी शत्रुका अगाडि निरीह हुनेछौ ।
हस्तिनापुर नगरमा पाण्डव तथा कौरव राजकुमारहरूका लागि धनुर्विद्याको कौशलता प्रदर्शन आयोजना गरिएको थियो । राजकुमारहरूको शिक्षा पनि भरखरै भरखरै सकिएको समय थियो । जब कर्णलाई यो खबर प्राप्त भयो तब उनी पनि राजकुमारहरूको धनुर्विद्याको कौशलता हेर्नका लागि हस्तिनापुर गए । हस्तिनापुरको बाहिर एउटा ठूलो रङ्गशाला थियो । त्यहाँ पूरै व्यवस्था गरिएको थियो । मैदानको बीचमा विशाल घेरा बनाएको थियो । बाँकीको भागमा मैदान खचाखच भरिएको थियो । राजपरिवारका सदस्यहरू पनि मैदानमा उपस्थित थिए । राजकुमारहरूको कलाको प्रदर्शन सुरु भयो । राजकुमारहरूले घोडा सवारी, तरवारबाजी तथा रथ चलाउने अद्भुत कला देखाए । हात्तीमा बसेर युद्ध कसरी गरिन्छ ? यो पनि उनीहरूले त्यहाँ देखाए । अर्जुनले सुन्दर धनुर्विद्या प्रदर्शन गरे । एकसाथ थुप्रै वाणहरूको प्रदर्शन देखेर दर्शकहरूले जिव्रो टोके । उनीहरू सबैले “अर्जुन धनुर्विद्यामा सर्वश्रेष्ठ र अद्वितीय छन्” भनेर प्रशंसा गर्न थाले ।

त्यही समय द्वार नजिक कठोर स्वर आयो । सबैको ध्यान त्यतैतिर गयो । एउटा युवक अगाडि बढ्दै आइरहेका थिए । उनको तेज, उनको वलिष्ठ शरीर, लम्बाइ, चम्किलो कवच र कुण्डल देखेर सबै अचम्मित भए । रङ्गशालाका उपस्थित दर्शकहरू कानेखुसी गर्न थाले । ती युवक कर्ण थिए । उनी मैदानको गोलाकार स्थानमा आए र अर्जुनतर्फ फर्केर भत्र थाले ः—“पार्थ ! तिमी यो नसोच कि तिमीभन्दा श्रेष्ठ कोही छैन । धनुर्विद्यामा तिमीले भन्दा धेरै श्रेष्ठ कला प्रदर्शन देखाउने छु ।”

यति भनेर कर्णले आफ्नो कला प्रदर्शन गर्न थाले । उनले ‘पर्जन्य’ अस्त्र आकाशमा छोडे र वर्षा हुन थाल्यो । ‘वायव्य’ अस्त्र छोडेर कर्णले फेरि वर्षा बन्द गरे । ‘आग्नेय’ अस्त्र छोडेर उनले अग्नि उत्पत्र गरे । फेरि ‘वरुण’ अस्त्रले आगो निभाए । धातुले बनेको तेजसँग घुमेको सुँगुरको मुखमा उनले पाँचवटा वाण एकैसाथ प्रहार गरे । त्यसपछि ‘अन्तध्र्यान’ हतियार प्रहार गरेर उनी अदृश्य भए । एकैछिनमा उनी उक्त गोलाकार घेरा बाहिर देखा परे । फेरि गदा हातमा लिएर चलाउन थाले र गदा अस्त्रको प्रदर्शन गर्न थाले । जनताहरू कर्णको यस्तो शस्त्रकलाकोे निपुणता देखेर चकित भए ।
प्रदर्शन समाप्त हुनेबित्तिकै दुर्योधनले कर्णलाई अँगालो मारे र भने —“हे अद्वितीय योद्धा ! तिम्रो साहस र शस्त्रकला देखेर म अत्यन्त प्रसत्र भएँ । म र मेरो राज्य तिम्रै भयो । जे चाहन्छौ माग्न सक्छौ । म तिम्रो इच्छा तुरुन्तै पूरा गरिदिन्छु ।”

कर्णले भने —“महाराज ! मलाई केही चाहित्र । म मात्र तपाईंको मित्रता र अर्जुनसँग धनुर्विद्यामा प्रतिस्पर्धा गर्न चाहन्छु ।”

दुर्योधनले भने —“तिम्रो दुइटै इच्छा पूरा हुनेछ । आजदेखि म तिम्रो घनिष्ठ मित्र भएँ । तिमी मेरो बराबर भयौ । अब मलाई भविष्यमा कसैसँग डराउनु आवश्यक छैन ।”

अर्जुन नजिकै उभिएका थिए र उत्तेजित हुँदै भने —“कर्ण ! मैले तिमीलाई निमन्त्रणा गरेको थिइनँ तैपनि तिमी आयौ । हामीले तिमीलाई केही पनि बोल्नलाई भनेका थिएनौं तर तिमीले धेरै बोलिरहेका छौ । तिमीले एउटा शान्त सभालाई बाधा पु¥यायौ । म तुरुन्तै तिमीलाई मार्नेछु । हतिहार सम्हाल र युद्धका लागि तयार होऊ ।”
अर्जुनको यस्तो कुरा सुनेर कर्णले क्रोधित हुँदै भने —“अर्जुन यो क्षेत्र तिम्रो लागि सुरक्षित छैन । यो एउटा सार्वजनिक स्थल हो । जो कसैलाई धनुर्विद्या आउँछ , उसले यहाँ आएर प्रदर्शन गर्न सक्छ । तिमीलाई के आपत्ति छ ? तिमीले मेरो अपमान गरिरहेका छौ । के एउटा सच्चा योद्धाले बोल्ने तरिका यही हो ? आऊ युद्ध गर । म अहिल्यै यहाँ तत्कालै तिमीलाई आफ्नो वाणको शिकार बनाइदिन्छु ।”
कर्ण र अर्जुन युद्धका लागि तयार भए । राजकुमारहरूका गुरु द्रोणाचार्यले पनि यस युद्धको समर्थन गर्नुपर्ने भयो । मैदानमा बसिरहेका दर्शकहरूमा नानाथरीका कुराहरू हुन थाल्यो । पाण्डवहरूकी माता कुन्ती त अर्जुन र कर्णका बीच यस्तो लडाइँको खबर सुत्रेबित्तिकै मूच्र्छा परिन् । कृपाचार्यलाई द्वन्द्वयुद्धका नियमहरूबारे राम्रो ज्ञान थियो । उनी बीचमा गएर कर्णलाई भने — “हेर कर्ण ! अर्जुन जोसँग तिमी युद्ध गर्न चाहन्छौ, ऊ चन्द्रवंशका राजकुमार हुन् । उनी पाण्डु पुत्र हुन् । अतः उनीसँग प्रतिस्पर्धा गर्ने व्यक्ति सबै कुरामा ऊसँग बराबरीको हुनुपर्नेछ । तिमी कसका पुत्र हौ ? तिम्रो जात के हो ? तिमी कसका शिष्य हौ ? यी सबै जानकारी सभामा देऊ ।”

लाज तथा दुःखका कारण कर्णको शिर झुक्यो । उनले सोचे —“म सारथिको पुत्र हुँ । अतः यस्तो लाग्छ कि म नीच जातिको हुँ । मसँग यस्तो ध्यान दिइरहेका छन् कि म को हुँ ? यसले के फरक पर्छ ?”

तर त्यो समय परम्परा नै त्यस्तो थियो कि कर्ण केही गर्न सक्दैनथे । उनी मौन उभिरहे ।

जब दुर्योधनले यी सब देखे तब उनी क्रोधित भए र भत्र थाले —“कृपाचार्य ! तपाईं के गरिरहनुभएको छ ? तपाईं सोच्नुहुन्छ कि अर्जुन राजकुमार हो, कर्ण होइन । म अहिल्यै यसै बेला कर्णलाई राजा बनाउँछु । तब उनले अर्जुनलाई चुनौती दिन सक्छन् ? भत्रुस् ।” यत्ति भनेर दुर्योधनले कर्णलाई त्यहीं अङ्ग देशको राजा बनाए । त्यहाँका जनताहरू सबैले एकै स्वरमा समर्थन जनाए । कर्णले कृतज्ञता प्रकट गर्दै दुर्योधनलाई भने —“महाराज ! म तपाईंको यस मदतलाई कसरी चुकाउन सक्छु ?” दुर्योधनले भने — “कर्ण ! म तिम्रो मित्रताको कदर गर्छु । यो सदा कायम रहिरहोस् ।” यत्ति भनेर दुर्योधनले कर्णलाई अङ्कमाल गरे ।

अर्जुन र कर्ण त्यहाँ लड्नै लागेका थिए त्यहाँ अधीरथ आइपुगे । उनले केही छिन अगाडि आफ्ना पुत्रलाई राजा बनाएको खबर सुनेका थिए । कर्ण आफ्ना पिताका सम्मुख गए तथा उनलाई नमन गरे । अधीरथले आफ्ना पुत्रलाई अङ्कमाल गरेर आशीर्वाद दिँदै भने —“पुत्र ! तिम्रो कीर्ति बढ्दै जाओस् ।” भीमले यो देखिरहेका थिए र थाहा पाए कि कर्ण अधीरथका पुत्र हुन् भनेर ।

भीमले गर्जनका साथ भने —“हे कर्ण ! के तिमी सारथि अधीरथका पुत्र होइनौ ? तब तिमी चन्द्रवंशी अर्जुनसँग बराबरी कसरी हुन सक्छौ ? पवित्र अग्निका अगाडि उभिएर मात्र के हुन्छ र ? एउटा कुकुरले पवित्र प्रसाद प्राप्त गर्ने के अधिकार पाउन सक्छ ? तिमी अङ्ग देशको राजा बत्र लायक छैनौ । तिमी अर्जुनसँग युद्धमा मारिन पनि योग्य छैनौ ।”

जब दुर्योधनले यो कुरा सुने तब उनले उत्तेजित हुँदै भीमका अगाडि फर्किएर ठूलो स्वर कड्किएर भने — “तिम्रो वाणी एउटा क्षत्रीका लागि योग्य भएन । क्षत्रीहरू साहसका लागि एकदम महत्त्व दिन्छन् । कर्णको जातिको तुलना उसको वीरतासँग गर्ने कहाँसम्म ठीक हो ? इन्द्रको शक्तिशाली हतियार वज्रायुध महर्षि दधीचिका हड्डीले बनेको थियो । द्रोणाचार्य एउटा पवित्र कुम्भमा जन्मेका थिए । मानिन्छ कि महर्षि कृपाचार्यको जन्म पवित्र दूबोबाट भएको थियो । तब जन्मको सवाल नै कहाँ छ र ? कर्ण पवित्र कुण्डल र कवचका साथ जन्मेका हुन् । उनी सुर्यजस्तै तेजस्वी छन् । यस्ता व्यक्ति अङ्गदेशका राजा बत्र किन लायक भएनन् ? यदि कसैलाई कर्णको राज्याभिषेक मञ्जुर छैन भने कर्णसँग युद्ध गर र जितेर देखाऊ ।” दुर्योधनको घोषणाले जनताहरूमा हलचल भयो । साँझ हुन थाल्यो र अँध्यारो छाउन थाल्यो । सभा समाप्त भयो । सबै जना कर्णको वीरताको प्रशंसा गरेर आ–आफ्ना घर फर्के ।

दुर्योधन र कर्णबीच दिनकादिन मित्रता गहिरो हुँदै गयो । दुर्योधनले कहिल्यै पनि कर्णलाई आफूभन्दा कम ठानेनन् । उनी सधैं कर्णका साथ नै रहन्थे । उनी जुन कुरा पनि कर्णसँगै गर्थे । उनी आफ्ना जुनै पनि प्रत्येक कुरा कर्णलाई सुनाउँथे । जब उनका कर्मचारीहरू उनलाई प्रशंसा गर्दा पनि कर्णको पनि प्रशंसा गर्न भन्दथे र त्यसपछि मात्र उनलाई सन्तोष हुन्थ्यो । प्रतिदिन दुर्योधन कर्णलाई बहुमूल्य उपहार दिन्थे । उनले कर्णको उज्ज्वल चरित्र, शक्ति, इमानदारिता तथा उदारताको सम्मान गर्थे ।
कर्ण पनि दुर्योधनका कुनै पनि उपहारको बदला चुकाउन चुक्दैनथे । दुर्योधनलाई उनी आफ्नो प्राणभन्दा अधिक प्रेम गर्दथे । उनका लागि कर्ण ज्यान दिन सक्थे । जब कसैले कर्णलाई सारथि पुत्र भनेर हेला गथ्र्यो तब दुर्योधन नै उसलाई आफ्नो बराबरी बनाएर सम्मान गरेर देखाउँथे । त्यसर्थ कर्णले दुर्योधनलाई ठूलो इज्जत गर्ने गरेका थिए । दानवीर कर्ण अद्वितीय थिए । आफ्नो वचन पू्रा गर्नमा उनी प्राणको आहुति दिनसम्म चुक्दैनथे । सधैं सयौं निर्धन व्यक्तिहरू सहयोग पाउने आशाले कर्णकहाँ आउँथे । कर्ण उनीहरूलाई वस्त्र तथा धन दिन्थे र कसैलाई खाली हात फर्काउँदैनथे । यही गुणका कारण कर्ण ‘दानवीर’ कहलिए ।

कौरव र पाण्डवबीच राज्यका लागि सधैं विवाद भइरहन्थ्यो । जब यी दुई पक्षबीच झगडा हुन्थ्यो, कर्ण कौरवहरूमध्ये जेठा दुर्योधनका पक्षमा हुन्थे । उनी सधैं यो भत्रे गर्थे कि “दुर्योधनका लागि म युद्ध गर्छु । भविष्यमा यदि युद्ध भयो भने दुर्योधनका शत्रुहरूलाई म संहार गर्छु । पाण्डव उनका शत्रु हुन् । म पाण्डवहरूमा सबैभन्दा शक्तिशाली अर्जुनको वध गर्नेछु ।” कर्णका यस्ता वाचा सुनेर दुर्योधन खुसी हुन्थे । उनलाई विश्वास थियो कि भीष्मपितामह, द्रोणाचार्य तथा अरू योद्धाहरूले साथ छोडे पनि कर्णले उनलाई अवश्य मदत गर्नेछ । जब कुनै बेला दुर्योधन पाण्डवहरूको शक्ति देखेर चिन्तित हुन्थे कर्ण उनलाई भन्दथे कि “कृपया चिन्ता नगर्नुहोस् , हाम्रो तथा पाण्डवहरूका बीच युद्ध हुन दिनुहोस् तब हेर्नुहोला । म उनीहरूलाई कुल्चिदिन्छु ।”
कौरव तथा पाण्डव दाजुभाइहरूबीच राज्यका निम्ति युद्धको तयारी भयो । युद्ध रोक्नका लागि श्रीकृष्ण हस्तिनापुर गए । राजदरबारमा उनले दुर्योधनलाई युद्ध नगर्न सल्लाह दिए तर दुर्योधनले कृष्णजीको यो सल्लाह मानेनन् । हस्तिनापुरबाट फर्किएपछि कृष्णजीले कर्णलाई आफ्नो साथ रथमा बसाएर केही टाढा लगे । कर्ण अति लजाए । उनी सोच्न थाले कि कृष्ण एक महान् व्यक्ति हुन् । म जस्तो तुच्छ जातिका व्यक्तिको उनीसँग के तुलना ? कृष्णजीले किन आफूसँग मलाई रथमा बसाए ?

कृष्णजीले कर्णको बेचैनी थाहा पाए र हाँस्दै भने —“कर्ण ! तिमीले लजाउनुपर्ने कुनै आवश्यक छैन । तिमी यो सोच्छौ कि तिमी एक सारथि पुत्र हौ । यही हैन त ? सुन । अधीरथ तिम्रो आफ्नो पिता हैनन् । तिमी कुन्तीका पुत्र हौ । कुन्ती जब अविवाहित थिइन् उनले तिमीलाई जन्माएकी थिइन् । लोकलाजका डरले उनले तिमीलाई टोकरीमा सुताएर गङ्गामा बहाएकी थिइन् । अनि तिमीलाई अधीरथले फेला पारे । कर्ण तिमी सुर्यका कृपाले उत्पत्र भएका हौ । तिमी क्षत्री हौ तथा पाण्डवहरूमध्ये सबैभन्दा ज्येष्ठ हौ । कुन्ती मेरी फुपू हुन् । अतः तिमी मेरो पनि नातेदार हौ । मसँग आऊ । म तिमीलाई पाण्डवहरूकहाँ लैजान्छु । तिमी कौरव तथा पाण्डहरूमध्ये सबैभन्दा ज्येष्ठ छौ । तिमी सम्पुर्ण साम्राज्यका राजा बत्रेछौ । पाण्डहरू पनि यो कुरा थाहा पाएर खुसी हुनेछन् । किनकि तिमी उनीहरूका ज्येष्ठ दाजु हौ । दुर्योधन तथा धर्मराज युधिष्ठिर दुवैले तिमीलाई राजाका रूपमा स्वीकार्नेछन् । तब युद्ध हुने छैन तथा हजारौं निर्दोषहरूले मर्नु र मारिनुपर्ने छैन । तिमी एउटा महान् परिवारका सदस्य हौ, तर अहिलेसम्म तिमीलाई सबैले सारथि पुत्र मानिरहेका छन् । यो कति लज्जाको विषय हो । यत्ति अपमान काफी छ । तिमीले एक जना राजाले जस्तो रहनु आवश्यक छ तथा पाण्डवहरू, कौरवहरू अनि यादवहरूले तिम्रो आज्ञा पालन गर्नु आवश्यक छ । तर तिमी अहिले दुर्योधनको दयामा बाँचिरहेका छौ ।”

श्रीकृष्णका यस्ता कुरा सुनेर कर्ण आश्चर्यचकित भए । उनलाई खुसीका साथसाथै दुःख पनि भयो । उनको आँखा रसाउन थाल्यो । गला अवरुद्ध भयो । बोल्न पनि केही सकेनन् । भावनामा बहेर उनले भने —“कृष्ण ! तपाईं भत्रुहुन्छ कि मेरी माता कुन्ती हुन् । यो हुन सक्दछ । तर जन्म दिएर केही समयमै उनले मलाई त्यागिन् । अधीरथ तथा उनकी पत्नी राधाले मलाई मातापिताले जसरी पालनपोषण गरे । माता राधेले मलाई दूध पिलाइन् । अधीरथले मलाई पुत्रलाई भन्दा बढी प्रेम गरे । उनले मेरो धुमधामसँग विवाह पनि गरिदिए । अब त मेरा पुत्र तथा नातिहरू पनि छन् । यदि तपाईंले मलाई जेसुकै दिनुहोस् तर म आफ्ना मातापितालाई कसरी छोड्न सक्छु ? दुर्योधन र म दुई शरीर एक प्राण हौँ । जब सारा संसारले मलाई सानो तुच्छ जाति भनेर उपहास गरे । दुर्योधनले मलाई सम्मान दिए । मसँग केही थिएन । दुर्योधनले मलाई राजा बनाए । उनको मित्रता असीम छ । म उनको ऋण कसरी भुल्न सक्छु । मलाई भरोसा गरेर उनले पाण्डवहरूसँग युद्ध गर्ने घोषणा गरिसके । के म पाण्डवहरूसँग मिलेर दुर्योधनलाई विश्वासघात गरूँ ? हुत्र कृष्ण ! हुत्र । दुर्योधन मेरा स्वामी हुन् । मेरा लागि सब थोक हुन् । यदि म विजय भएँ भने म आफ्नो स्वामीको काम पूरा भएकोमा प्रसत्र हुनेछु । यदि म मरेर गएँ भने त यसमा म आफूलाई सौभाग्यशाली सम्झिनेछु । मलाई वीरगति प्राप्त हुनेछ । त्यसैले म आफ्नो निर्णयप्रति अडिग छु । अब हामीले एकअर्कासँग बिदा हुनु आवश्यक छ ।”

कर्णको वचन सुनेर कृष्णले मनमनै उनको प्रशंसा गरे र भने ः—“कर्ण ! आफ्ना स्वामीप्रतिको तिम्रो भक्ति अप्रतिम छ ।” त्यसपछि उनले कर्णसँग बिदा मागे ।
जब कौरवहरूमध्ये सबैभन्दा ज्येष्ठ दुर्योधनले कर्णलाई अङ्ंगराज घोषणा गरे जसबाट कर्ण अर्जुनसँग युद्ध गर्न योग्य हुन सकून् । जब कर्णले दुर्योधनसँग सोधे —“यसको बदलामा तिमी के चाहन्छौ ?” तब दुर्योधनले आफू केवल कर्णको मित्र बत्र चाहेको कुरा बताए । यो घटनापछि कर्ण र अर्जुन तीव्र प्रतिद्वन्द्वी भएर निस्के । पाण्डवहरू र कर्णबीच वैमनस्यता भयो ।

कर्ण दुर्योधनको सच्चा र निष्ठावान् मित्र थिए । पछि गएर दुर्योधनलाई खुसी पार्नका लागि उनले द्यूतक्रीडालाई पनि समर्थन जनाए, वास्तबमा उनी पहिलेदेखि नै द्यूतक्रीडाको विरोधी भएर पनि । यसैका कारण कर्णले शकुनीलाई मनपराउँदैनथे र सधैं दुर्योधनलाई परामर्श दिन्थे कि आफ्ना शत्रुलाई पराजित गर्न युद्धकौशल र बाहुबल नै प्रयोग गर्नुपर्छ न कि कुटिल चालबाजी चल्ने । जब लाक्षागृहमा पाण्डवलाई मार्न असफल भए तब दुर्योधनलाई कर्णले कायरता भनेर हप्काए र भने कि कायरताको चाल सधैं असफल नै हुन्छ । अनि सम्झाए कि कुनै पनि फल प्राप्त गर्ने हो भने वीरताबाट मात्र गर ।

चित्राङ्गदकी राजकुमारीसँग विवाह गर्नमा पनि कर्णले दुर्योधनलाई मदत गरेका थिए । आफ्नो स्वयंवरमा उनले दुर्योधनलाई अस्वीकार गरे र तब दुर्योधनले उनलाई बलपूर्वक लिएर गए । तब त्यहाँ उपस्थित राजाहरूले उनलाई पिछा गरे र कर्णले तिनीहरू सबैलाई एक्लैले हराए । पराजित राजाहरूमा जरासन्ध, शिशुपाल, दन्तवक्र, साल्व र रुक्मी आदि थिए । कर्णको प्रशंसास्वरूप जरासन्धले मगधको एक भाग पनि दिए । भीमले पनि कृष्णको सहायतामा जरासन्धलाई हराए तर त्योभन्दा धेरै अगाडि कर्ण एक्लैले उनलाई हराएका थिए । कर्णले नै जरासन्धको त्यस दुर्बलतालाई उजागर गरेका थिए कि उनको मृत्यु मात्र उनको धडलाई खुट्टाबाट चिरेर दुई टुक्रा पारेर हुन सक्छ ।

अङ्गराज बनिसकेपछि कर्णले यो घोषणा गरेका थिए कि दिनको समयमा जब उनले सुर्यको पूजा गर्दछन् त्यो समय यदि कसैले इच्छाएको कुरा मागे त्यसको नाइँनास्ति गर्ने छैन र माग्ने व्यक्ति खालीहात फर्कनुपर्ने छैन । कर्णको यस दानवीरताबाट महाभारतको युद्धमा इन्द्र तथा माताकुन्तीले फाइदा उठाए ।

कर्ण द्रौपदी स्वयंवरका विवाह प्रस्तावक थिए । अन्य प्रतिद्वन्द्वीहरूभन्दा फरक कर्णद्वारा धनुष मोड्ने र त्यसमाथि प्रत्याञ्चा चढाउन समर्थ भएका थिए तर जसै उनले लक्ष्य भेदन गर्न लागे तब श्रीकृष्णको इसारामा द्रौपदीले कर्णलाई सूतपुत्र भनेर धनु चलाउन रोकिदिइन् । पाण्डवहरू पनि त्यहाँ ब्राह्मण भेषमा उपस्थित थिए । अन्य राजकुमारहरू र राजाहरू असफल भइकेपछि अर्जुन अगाडि बढे र सफलतापूर्वक माछाको आँखामा भेदन गरे र द्रौपदीको हात जितेर लिए । जब अर्जुनको पहिचान उजागर भयो तब कर्णमा अर्जुनप्रति प्रतिद्वन्द्विताको भावना झनै बढ्यो ।

कर्ण कहिल्यै पनि शकुनीद्वारा पाण्डवहरूलाई छलकपटद्वारा हराउने कुरामा सहमत भएनन् । उनी सदा युद्धद्वारा हराउने पक्षमै थिए र सधैं दुर्योधनलाई युद्धको बाटो रोज्न आग्रह गरिरहन्थे । तर उनी दुर्योधनलाई खुसी तुल्याउन द्यूतक्रीडाको खेलमा सम्मिलित भए, जुन पछि गएर कुख्यात द्रौपदी चीरहरणको घटनासम्म फलिभूत भयो । जब शकुनीले छलकपटद्वारा द्यूतक्रीडामा युधिष्ठिरसँग सबै कुरा जिते तब पाण्डवहरूकी रानी द्रौपदीलाई दुःशासनद्वारा कपाल समातेर घिसारेर राजसभामा ल्याए र कर्णको उक्साहटमा दुर्योधन र उनका भाइहरूले द्रौपदीको वस्त्रहरण गर्ने दुष्प्रयास गरे । कर्णले द्रौपदीको अपमान यो भनेर गरे कि जुन स्त्रीको एकभन्दा बढी पति छ त्यो अरू कोही होइन त्यो त वेश्या हुन्छ । त्यही ठाउँमा भीमले यो प्रतिज्ञा लिए कि उनी एक्लैले युद्धमा दुर्योधन र उनका सबै भाइहरूको वध गर्नेछ र त्यसै समय अर्जुनले पनि कर्णलाई वध गर्ने प्रतिज्ञा गरे ।

पाण्डवहरूको वनवास भएपछि कर्णले दुर्योधनलाई पृथ्वीको सम्राट् बनाउने जिम्मा आफ्नो हातमा लिए । कर्णद्वारा देशभरमा सैन्य अभियान छेडे र त्यहाँका राजाहरूलाई हराएर यो वचन पनि लिए कि उनीहरूले हस्तिनापुरका महाराज दुर्योधनप्रति निष्ठावान् हुनुपर्छ नत्र युद्धमा मारिइनेछ । कर्ण सबै लडाइँहरूमा सफल भए । आफ्नो सैन्य अभियानमा कर्णले कैयौं युद्धहरू छेडे र असङ्ख्य राज्य र साम्राज्यहरूलाई आज्ञा पालन गर्न विवश बनाए । जसमा कम्बोज, शक, केकय, अरून्तय, गन्धार, माद्र, त्रिगत, तङ्गन, पाञ्चल, विदेह, सुहमस, वाङ्ग, अङ्ग, निशद, कलिङ्ग, वत्स, अशमक, ऋषिक र अन्य धेरै ठाउँ तथा म्लेच्छ अनि वनवासीहरू पनि ।

अर्जुनको बुबा तथा देवराज इन्द्रलाई यो कुरा थाहा हुन्छ कि कर्ण युद्धमा तबसम्म अपराजित र अमर रहन्छ जबसम्म ऊसँग कवच र कुण्डल हुनेछ जुन जन्मँदादेखि नै उनको शरीरमा थियो । त्यसैले जब कुरुक्षेत्रको युद्ध आयो तब इन्द्रले यो ठाने कि उनले त्यो कवच र कुण्डलसँग कर्णलाई युद्धमा जान दिने छैन । त्यसका लागि उनले यस्तो योजना बनाए कि जब मध्यान्हमा कर्ण सुर्यदेवको पूजा गर्नेछन् तब उनी एउटा भिक्षुक भएर कर्णको कवच र कुण्डल माग्नेछन् । सुर्यदेवले यो इन्द्रको योजनाबारे कर्णलाई सजग पनि पारे तर उनले सुर्यदेवलाई धन्यवाद दिएर भने कि त्यो समय यदि कोही उनको प्राण पनि माग्छन् भने पनि उनले इन्कार गर्ने छैनन् । तब सुर्यदेवले भने कि यदि उनी स्ववचनबद्ध छन् भने त्यसको बदलामा इन्द्रसँग अमोघास्त्र माग्नू ।
कृष्णजीलाई यो राम्ररी थाहा थियो कि जबसम्म कर्णसँग उनको कवच, कुण्डल हुनेछ तबसम्म उनलाई कसैले पनि मार्न सक्दैनन् । यस्तोमा अर्जुनको सुरक्षाको कुनै पक्कापक्की थिएन । उता देवराज इन्द्र पनि चिन्तित थिए किनकि अर्जुन उनका पुत्र थिए । भगवान् कृष्ण र देवराज इन्द्र दुवैलाई थाहा थियो कि जबसम्म कर्णसँग जन्मजात कवच र कुण्डल हुन्छ , उनी युद्धमा अजेय हुनेछन् । तब कृष्णले इन्द्रलाई उपाय वताए र अनि देवराज इन्द्र एक जना ब्राह्मणको भेषमा कर्णको द्वारमा पुगे । देवराज पनि सबैजनासँगै लाइनमा उभिएर सामेल भए । कर्णले सबैलाई पालैपालो केही न केही दान दिइरहेका थिए । तर जब पछि देवराज इन्द्रको पालो आयो त कर्णले सोधे —“विप्रवर ! आज्ञा पाऊँ । कुन वस्तुको अभिलाषा लिएर आउनुभयो ?”

विप्र बनेका इन्द्रले भने —“हे महाराज ! म धेरै टाढाबाट तपाईंको प्रसिद्धि सुनेर आएको हुँ । भनिन्छ कि तपाईं जस्तो दानी त यो संसारमा कोही छैनन् । त मलाई आशा मात्र होइन कि विश्वास छ कि मेरो इच्छित बस्तु तपाईंले मलाई अवश्य दिनुहुनेछ । तैपनि मनमा केही शङ्का उब्जेको छ । त्यसैले तपाईं सङ्कल्प गर्नुहोस् तब नै तपाईंसँग माग्नेछु । यदि यसो गर्नुहुत्र भने म खाली हातै फर्कनेछु । तब ब्राह्मण भेषका इन्द्रले फेरि विनम्रतासँग भने —“हैन हैन राजन् ! तपाईंको प्राणको कामना गर्न लागेको हैन । बरु मलाई यदि इच्छित वस्तु दिनुभए मात्रै आत्मशान्ति प्राप्त हुन्छ । तपाईंले यदि प्रण गर्नुहुन्छ भने मात्रै मैले माग्नेछु ।”

कर्णले विह्वल भएर हातमा जल लिएर प्रण गर्दै भने —“हे विप्रवर ! अब तुरुन्तै माग्नुहोस् ।”

तव ब्राह्मण भेषधारी इन्द्रले भने —“राजन् ! तपाईंको शरीरको कवच र कुण्डल मलाई चाहियो ।”

कर्णले इन्द्रको आँखा गहिरिएर हेरे र फेरि दानवीर कर्णले कुनै पनि समय नगुमाई आफ्नो कवच र कुण्डल आफ्नो शरीरबाट तरवारको सहायताले निकालेर उक्त ब्राह्मणलाई सुम्पिदिए । त्यस घटनापछि कर्णको नाम ‘वैकर्तन’ नामले पनि प्रख्यात भयो । किनकि उनले विना कुनै सङ्कुचित भावनाले आफ्ना कवच र कुण्डल आफ्नो शरीरबाट काटेर दान दिएका थिए ।

इन्द्र त्यहाँबाट कवच र कुण्डल लिएर दौडिए र टाढा रोकाएको रथमा चढेर भागे । त्यसैले कि कहीँ उनको भेद खोलिएर कर्णको विचार नबदलियुन् । केही कोस जाँदाजाँदै रथ तलतिर झ¥यो र जमिनमा धस्सियो । तब आकाशवाणी भयो —“देवराज इन्द्र ! तिमीले ठूलो पाप गरेका छौ । आफ्ना पुत्र अर्जुनको ज्यान वचाउनका लागि तिमीले छलपूर्वक कर्णको ज्यान खतरामा पा¥यौ । अब यो रथ यहीँ धस्सिरहनेछ र तिमी पनि यहीँ फसिरहनेछौ ।”

तब इन्द्रले आकाशवाणीसँगै सोधे —“यसबाट बच्ने उपाय के हो ?”

तब आकाशवाणीले भने —“अब तिमीले दान दिएको वस्तुको विकल्पमा त्यही बराबरीको वस्तु दिनुपर्नेछ ।”

इन्द्रले के गरुन् , उनले विवश भएर यसलाई स्विकारे । तब उनी फेरि दानवीर कर्णकहाँ गए । तर यस पटक ब्राह्मणको भेषमा होइन ।

कर्णले उनलाई आएको देखेर भने —“देवराज ! अरू के चाहिन्छ ? माग्नुहोस् ।”
इन्द्रले झर्किएर भने —“दानवीर कर्ण ! अब म याचक होइन । बरु तपाईंलाई केही दिन चाहन्छु । कवच र कुण्डल छोडेर माग्नुस् । तपार्इंलाई के चाहिन्छ ?”
कर्णले भने —“देवराज ! तपाईंले जति नै प्रयत्न गर्नुहोस् , मैले लिन जानेको छैन । म त मात्र दिन चाहन्छु । त्यसैले मलाई केही पनि चाहिँदैन ।”
तब इन्द्रले लजाएर विनम्रतापूर्वक भने —“महाराज कर्ण ! तपाईंले केही त माग्नै पर्नेछ । नत्र मेरो रथ त्यसै धस्सिरहनेछ र म फसिरहनेछु । यदि तपाईंले माग्नुभएमा ममाथि ठूलो कृपा हुनेछ । तपाईंले जे माग्नुभए पनि म दिन तयार छु ।”
कर्णले भने —“देवराज ! तपाईंले जतिसुकै प्रयत्न गर्नुहोस् , म मात्र दान दिन जान्दछु । लिन होइन । मैले जीवनमा कुनै दान लिएको छैन ।”
तब लाचार भएर इन्द्रले भने —“म वज्ररूपी शक्ति तपाईंलाई तपाईंको दानको बदलामा दिएर जाँदैछु । तपाईंले यसलाई जसको अगाडि चलाउनुहुन्छ त्यो व्यक्ति बच्न सक्दैन, भलै साक्षात् कालको अगाडि चलाए तापनि । तर यसको प्रयोग एकपटक मात्र गर्न पाउनुहुनेछ ।”

कर्णले केही भत्र अगाडि नै देवराज इन्द्र त्यो वज्र कर्णका अगाडि छोडेर भागे । कर्णले बोलाए तर सुन्यानसुन्यै गरी इन्द्र भागे । पछि कर्णले त्यो वज्रशक्तिलाई विवश भएर राख्नुप¥यो । तर जसै दुर्योधनलाई यो कुरा थाहा भयो कर्णले कवच र कुण्डल दान दिएका छन् भनेर, दुर्योधनलाई त रिँगटा लाग्न थाल्यो । उनलाई हस्तिनापुरको राज्य आफ्नो हातबाट गएको जस्तो लाग्न थाल्यो । जब उनले सुने कि त्यसको विकल्पमा वज्रशक्ति प्राप्त गरेका छन् । यस्तो थाहा पाएर फेरि उनमा शक्ति सञ्चार हुन थाल्यो ।

अर्को दिन जब कर्ण नदीको किनारमा उभिएर सुर्यदेवको आराधना गरिरहेका थिए त्यही बेला कुन्ती त्यहाँ आइन् । कृष्णले नै त्यहाँ कुन्तीलाई पठाएका थिए । उनले कुन्तीलाई यो भनेर पठाएका थिए कि उनले कर्णसँग यो वचन लिऊन् कि उनले पाण्डवलाई वध नगरून् । जब कर्णले कुन्तीलाई देखे आदरका साथ प्रणाम गरे । तब कुन्तीले भनिन् —“पुत्र ! तिमी मेरो पुत्र हौ । पाण्डव तिम्रा भाइहरू हुन् । तिमीलाई यसको ज्ञान छैन । तिमीमा ती पाँचवटा सबै गुण समाहित छन् जुन द्रौपदीले आफ्नो वरका लागि पूर्वजन्ममा श्री भगवान् महादेवसँग मागेकी थिइन् । आज यद्यपि पञ्चपाण्डवहरू बत्तीस लक्षणको संयुक्त रूप हुन् तर तिमी ती सबैका एउटै रूप हौ । वास्तवमा तिमी सत्य वचनको पालनामा युधिष्ठिरभन्दा धेरै बलिदानी दिएका कारण सत्य वचनको पालनामा युधिष्ठिर धर्मराज कहलिए तापनि उनीभन्दा सत्य वचन पालनामा धेरै श्रेष्ठ छौ । बलमा भीमभन्दा पुरुषार्थी छौ । त्यस्तै धनुर्विद्यामा तथा एकाग्रतामा अर्जुनभन्दा कैयौं गुणा श्रेष्ठ छौ । त्यस्तै सर्वसुन्दरमा नकुलभन्दा पनि तिमी राम्रा छौ । अनि सबैभन्दा धैर्यशील सहदेवभन्दा तिमी संयमित छौ । यो संसारलाई थाहा छ । कसैबाट लुकेको छैन । । यसरी पञ्च पाण्डव तिम्रो नशानशामा समाहित छ । तसर्थ कर्ण तिमी पञ्च पाण्डवका सम्पुर्ण उत्तम गुणहरूले युक्त भएका छौ । तर तिमीले आफ्ना भाइहरूलाई शत्रु सम्झिरहेका छौ । तिमीले उनीहरूलाई मार्ने प्रतिज्ञा ग¥यौ । कृपया यस्तो नगर । कौरवहरूको साथ छोडिदेऊ । आफ्ना भाइहरूकहाँ आऊ । के बच्चाको यो कर्तव्य होइन कि उसले आफ्ना मातापिताका इच्छा पूरा गरून् ।”

उनले फेरि कर्णलाई भनिन् कि त्यसैले कर्ण कुन्तीका पुत्र तथा ज्येष्ठ पाण्डव हुन् । त्यसैले आफूलाई ‘कौन्तेय’ (कुन्ती पुत्र) भनुन् न कि ‘राधेय’ (राधा पुत्र) । तर कर्णले भने —“ऊ चाहन्छ कि उसलाई सारा संसार ‘राधेय’का नामले जानुन् न कि ‘कौन्तेय’का नामले ।” कुन्तीले फेरि उनलाई भनिन् कि उनी पाण्डवको पक्षमा जानुपर्छ र यसो गरेमा उनले पाण्डवहरूका राजा हुन पाउनेछन् । तब कर्णले भने कि धेरै वर्ष अगाडि त्यो रङ्गभूमिमा यदि उनले यसरी ‘कौन्तेय’ भनेकी भए आज परिस्थिति अर्कै हुने थियो । तर अब कुनै पनि परिवर्तनका लागि धेरै ढिलो भइसकेको छ र अब यो सम्भव छैन । उनले अगाडि भने कि दुर्योधन उनका मित्र हुन् र ऊसँग विश्वास गर्दछन् अनि त्यो विश्वासलाई उनी धोका दिन चाहँदैनन् । तर माता कुन्तीलाई यो वचन दिए कि उनले अर्जुनबाहेक अरू कुनै पाण्डवहरूको वध गर्ने छैन । कर्ण र अर्जुन दुवैले नै एकअर्कालाई वध गर्ने कसम खाएका थिए र त्यसैले यी दुईमध्ये एकले मर्नु नै पर्ने निश्चित भएको थियो । उनले भने कि उनका पाँच पुत्र भने जीवित हुनेछन् चार पाण्डव र त्यसमा अर्जुन र कर्णमध्ये कुनै एक । कर्णले आफ्नी मातासँग निवेदन गरे कि उनले उनको सम्बन्ध र उनको जन्मको कुरा उनको मृत्युसम्म रहस्य नै राखून् । कुन्तीले कर्णसँग एउटा अर्को पनि वचन लिएकी थिइन् कि उनले नागास्त्रको उपयोग एक पटक मात्र गरून् । कर्णले यो पनि वचन दिए । कर्णले उत्तर दिए —“माता ! तपाईं मेरी माता हुनुहुन्छ । यो सत्य हो । तर अहिलेसम्म दुनियाँलाई यो थाहा छैन । जसले मलाई पालनपोषण गरे, उहाँहरू नै मेरा मातापिता हुन् । म उहाँहरूलाई कसरी छोड्न सक्छु ? यो युद्धको समय हो । यो समय दुर्योधनको नुन खाने व्यक्तिले मृत्युको चिन्ता नगरी उनका पक्षमा युद्ध गर्नुपर्नेछ । पछिल्लो १३ वर्षदेखि मैले दुर्योधनको उपभोग गरेँ । उनको मित्रताका कारण आज म यहाँसम्म पुगेँ । अहिलेसम्म मैले आफ्ना भाइहरूका बारेमा एक शब्द पनि भनेको छैन । मात्रुस् कि अब यदि युद्धको अवसरमा पाण्डवलाई साथ दिएँ भने सारा संसारले मलाई विश्वासघाती भत्रेछन् । त्यसैले मैले पाण्डवलाई साथ दिने कुरा असम्भव छ । तर माता तपाईंको इच्छा पूरा गर्न सक्छु । तपाईं चाहनुहुन्छ कि म पाण्डवको संहार नगरूँ । म अर्जुनबाहेक कुनै पनि पाण्डवलाई मार्ने छैन । प्रश्न यो छ कि म अर्जुनको संहार गर्छु वा अर्जुन मेरो । हामी दुईमध्ये कुनै एकको मृत्युपछि तपाईंका पाँच पुत्रहरू जिउँदा रहनेछन् । अब मैले छुट्टिनु आवश्यक छ ।” यत्ति भनेर कर्णले पुनः श्रद्धापूर्वक आफ्नी माता कुन्तीका चरण स्पर्श गरे र बिदा भए ।

दुर्योधनसँग शान्तिवार्ता विफल भइसकेपछि कृष्ण कर्णकहाँ गएका थिए जो दुर्योधनका सर्वश्रेष्ठ योद्धा थिए । उनले कर्णको वास्तविक परिचय वताएका थिए कि उनी सबैभन्दा ज्येष्ठ पाण्डव हुन् र उनलाई पाण्डवका पक्षमा आउन परामर्श दिएका थिए । कृष्णले उनलाई यो विश्वास दिलाएका थिए कि वास्तवमा उनी सर्वश्रेष्ठ पाण्डव हुन् । त्यसका लागि युधिष्ठिर उनका लागि राजसिंहासन छोड्नेछन् र उनी चक्रवर्ती सम्राट् बत्र पाउनेछन् । यत्ति भएर पनि कर्ण पाण्डवका पक्षमा युद्धमा आउन मानेका थिएनन् । किनकि उनी आफूलाई दुर्योधनका सबैभन्दा ठूला ऋणी ठान्थे र उनलाई यो वचन दिइसकेका थिए कि आफू नमरेसम्म दुर्योधनलाई साथ दिने र दुर्योधनका पक्षमा नमरुन्जेल युद्ध लड्नेछन् । उनले कृष्णलाई यो पनि भनेका थिए कि जबसम्म कृष्ण पाण्डवहरूका पक्षमा छन् , जो सत्यका पक्षमा छन् तबसम्म उनको हार निश्चित छ । तब कृष्ण उदास भएका थिए र कर्णको निष्ठा र मित्रतालाई प्रशंसा गरेर उनको यो निर्णय पनि स्वीकारेका थिए कि कर्णको मृत्युसम्म उनको यो वास्तविक पहिचान गुप्त नै राख्नेछ ।

कौरवहरू तथा पाण्डवहरूका सेनाहरू युद्धका लगि तयार भए । भीष्मपितामह कौरव सेनाका सर्वोच्च सेनापति बने । उनी आफ्ना सेना तथा पाण्डवहरूका सेनाका महत्त्वपुर्ण सेनानायकहरूका सूची बनाइरहेका थिए । त्यो समयमा योद्धाहरूलाई उनीहरूका शक्तिअनुसार अतिरथ तथा महारथ पदवी दिने गरिन्थ्यो । भीष्मपितामहले भने —“कर्ण अतिरथ त के पुर्णरथ पनि छैन । कर्णका गुरुले नै उनलाई श्राप दिएको छ । कर्णले सुर्यले उपहार दिएको कवच र कुण्डल पनि दान दिइसकेको छ । अतः ऊ पहिलेजस्तो शक्तिशाली रहेन । त्यसैले ऊ अर्धरथ हो ।” यत्ति भनेर भीष्मले कर्णलाई शूरवीर सेनापतिहरूभन्दा धेरै तल्लो स्थानमा राखे । भीष्मका अगाडि बसेका द्रोणाचार्यले पनि “हो ! हो !! कर्ण वास्तवमा अर्धरथ हो ।” भनेर अत्तो थापे ।

कर्णले यी सब कुरा सुनेर साह्रै दुःखी भए । उनी क्रोधित पनि भए । उनले भने —“पितामह ! तपाईं मलाई यत्ति धेरै किन घृणा गर्नुहुन्छ ? म निर्दोष छु । तैपनि तपाईंले यत्ति कठोर शब्दहरूले मेरो हृदयमा आघात पारिरहनुभएको छ । तपाईं सर्वोच्च सेनापति हुनुहुन्छ । के सेनामा फूट गर्नु उचित हो ? कसले यो भत्र सक्दछ कि सर्वोच्च सेनापतिका रूपमा तपाईंले आफ्नो दायित्वलाई जात्रुहुन्छ ? तपाईं एकदम वृद्ध भइसक्नुभएको छ । त्यसैले तपाईंले यस्ता कुराहरू गरिरहनुभएको छ ।”

यति भनेर दुर्योधनपट्टि फर्केर कर्णले भने —“मित्र ! पितामह भीष्म यो सोच्दछन् कि संसारमा उनी मात्र एक्ला योद्धा हुन् । म एक्लैले नै पाण्डव तथा उनका सेनाहरूलाई नष्ट पार्न सक्छु । तर यदि उनले मलाई लाञ्छित गर्छन् भने त म किन लडूँ ? यदि म शत्रुहरूलाई संहार नै गर्छु भने पनि सारा श्रेय सेनापतिलाई प्राप्त हुनेछ । मलाई यो मनपरेन । कुनै पनि स्थितिमा वृद्ध पितामह भीष्म युद्धमा हार्नेछन् । त्यसपछि म लड्नेछु र शत्रुहरूलाई संहार गर्नेछु ।”
यत्ति भनेर कर्ण युद्धक्षेत्रबाट बाहिरिए ।

युद्ध सुरु भयो । प्रधानसेनापति भीष्मको नेतृत्वमा कौरव सेनाहरूले पाण्डव सेनाहरूसँग १० दिनसम्म लडे । भीष्मपितामहले पाण्डवका हजारौं सैनिकहरूलाई मारेर लडाए । यहाँसम्म कि अर्जुनसम्म पनि आच्छुआच्छु भए । १० दिन युद्ध गरिसकेपछि भीष्मपितामह वाणले छलनी भएर लडे । वाण उनको शरीरमा घुस्यो । भीष्मले अपमान गरेका कारण कर्ण उनीसँग क्रोधित थिए । जब उनले भीष्मको वीरता देखे तब उनको सबै क्रोध बगेर गयो । कर्ण स्वभावैले अत्यन्त उदार थिए । आफ्ना शत्रुको साहसको उनी प्रशंसा गर्थे । उनी पितामह भीष्म घाइते भएको समाचार सुनेर युद्धक्षेत्र गएका थिए । भीष्म वाण श्ययामा सुतिरहेका थिए ।

कर्णले भीष्मपितामहको चरण स्पर्श गरे र आदरपूर्वक भने —“पितामह ! म कर्ण हुँ । म तपाईंलाई श्रद्धासुमन अर्पण गर्न आएको हुँ ।” यो सुनेर भीष्मको आँखाबाट आँसुको धारा बहन थाल्यो । उनले कर्णलाई अँगालोमा हाले र भने —“कर्ण ! तिमी सोच्छौ कि म तिमीलाई घृणा गर्छु । होइन पुत्र ! मेरो मनमा सत्य कुनै कटुता छैन । म जान्दछु तिमी वीर योद्धा हौ । तिमी ईश्वर जस्तै छौ । साहस र वीरतामा तिमी अद्वितीय छौ । युद्धकलामा तिमी अर्जुन र कृष्णको समकक्षमा छौ । तिमीले आफ्नो शक्तिमा सधैं गर्व ग¥यौ । म तिम्रो गर्वोक्तिलाई रोक्न तिमीसँग कठोरताले व्यवहार गथेँ ।”
भीष्मका यस्ता कुरा सुनेर कर्णको स्वर अड्किन थाल्यो र उनले भने —“पितामह ! मैले रिसको आवेगमा अज्ञानवश तपाईंसँग रुखो व्यवहार गरेँ ।”

भीष्मले भने —“तिमी कुन्ती पुत्र हौ । कौरवहरूका लागि युद्ध जित्न असम्भव छ । पाण्डवहरूसँग मिल । दुर्योधनलाई युद्ध रोक्ने सल्लाह देऊ । तिमीहरू सबैले एक भएर रहनु आवश्यक छ ।”

कर्णले विनम्रतापूर्वक भने —“म पाण्डवहरूलाई साथ दिन सक्दिनँ । सफलता वा असफलता भगवान्को हातमा छ । म अन्तिम साससम्म दुर्योधनका लागि लड्नेछु । उनी मलाई एकदम विश्वास गर्छन् ।”

यति भनेर कर्णले फेरि भीष्मपितामहलाई प्रणाम गरे र त्यहाँबाट बाहिरिए ।

तेह्रौं दिनको युद्धमा कौरव सेनाका सेनापति गुरु द्रोणाचार्यद्वारा युधिष्ठिरलाई बन्दी बनाउनका लागि चक्रव्यूहको रचना गरेका थिए । पाण्डव पक्षमा कृष्ण र अर्जुन मात्र त्यो चक्रव्यूहलाई तोड्न सक्षम थिए । तर त्यही दिन उनलाई त्रिगत नरेश–बन्धु युद्ध गर्दागर्दै चक्रव्यूहस्थलबाट धेरै टाढा पुगे । त्रिगत दुर्योधनले अधीनमा लिएर शासन गरेको एउटा राज्य थियो । अर्जुन पुत्र अभिमन्युलाई मात्र चक्रव्यूहमा प्रवेश गर्न आउँथ्यो, जसलाई उनले आफ्नी माताको गर्भमा सिकेका थिए । जुन विधिलाई गर्भावस्थामा अर्जुनले आफ्नी पत्नीलाई भनेका थिए र बीचमा उनी चक्रव्यूह तोडेर बाहिर आउने विधि वताएको समयमा निदाएकी थिइन् ।

तर जसै अभिमन्युले चक्रव्यूहमा प्रवेश गरे, सिन्धु नरेश जयद्रथले प्रवेश मार्ग बन्द गरेर अन्य पाण्डवहरूलाई भित्र प्रवेश गर्न रोके । तब शत्रु चक्रमा अभिमन्यु एक्लै परे । एक्लो भएर पनि उनी वीरतासँग लडिरहेका थिए । उनले एक्लैले नै कौरव सेनाका ठूला–ठूला योद्धाहरूलाई पराजित गरे जसमा स्वयम् कर्ण, द्रोणाचार्य र दुर्योधन पनि थिए । कर्ण र दुर्योधनले गुरु द्रोणाचार्यको निर्देशनमा अभिमन्युलाई वध गर्ने निर्णय लिए । कर्णले वाण चलाएर अभिमन्युको धनुष र रथको एउटा पाङ्ग्रा बिगारिदिए । जसका कारण उनी भूमिमा गिरे । त्यसैबेला कौरवहरूले उनमाथि आक्रमण गरे । अभिमन्यु रथको पाङ्ग्रा उचालेर वीरतासँग लड्न थाले तर अन्त्यमा उनले वीरगति प्राप्त गरे । युद्ध समाप्तिमा अर्जुनले जब यो कुरा थाहा पाए कि अभिमन्यु मारिनुमा जयद्रथको सबैभन्दा ठूलो हात थियो त उनले तत्कालै प्रतिज्ञा गरे कि अर्को दिनको सूर्यास्त हुनु अगाडि उनले जयद्रथलाई वध गर्नेछन् र यदि असफल भए अग्नि समाधि लिनेछन् ।

द्रोणाचार्य जसले कहिल्यै कर्णलाई अस्त्रकला सिक्न साथ दिएका थिएनन् तर कर्णले यस्ता वैमनस्यता सब त्यागेर सेनामा फुट नल्याउन द्रोणाचार्यलाई कौरवहरूका सेनापति बनाउन सिफारिस गरे र भने कि “सेनापति भनेका जो वरिष्ठ छ ऊ हुनुपर्छ ।” त्यसरी द्रोणाचार्य कौरवहरूका सेनापति भए । चौधौं दिनमा मशालको प्रकाशमा अभिलक्षक रूपले सूर्यास्तपछि पनि रातमा पनि भइरह्यो । भीम पुत्र घटोत्कच अर्धअसुर थिए । भीमका पुत्र घटोत्कचले रातमा पनि युद्ध गरे । उनी हिडिम्बा राक्षसीबाट जन्मेका थिए र अत्यन्त वीर तथा युद्ध शास्त्रमा निपुण थिए । कौरवका धेरैभन्दा धेरै सेनालाई उनले संहार गरे । उनको युद्ध कौशलताले कौरव सेनाहरू आच्छुआच्छु भए । असुरहरूको शक्ति रात्रिको समयमा झन् बढ्न थाल्छ । दुर्योधन र कर्णले वीरतापूर्वक उनीसँग सामना गरे र युद्ध गरिरहे । अन्त्यमा जब यो लाग्न लाग्यो कि त्यो रात घटोत्कचले सारा कौरवहरूलाई संहार गरिदिनेछन्” त दुर्योधनले कर्णसँग यो निवेदन गरे कि उनले जसरी भए पनि यो समस्याको समाधान गरून् । यो देखेर कर्णले उनको सामना गरे । उनीसँग ‘वैजयन्ती’ नामक अचूक अस्त्र थियो । यो अस्त्र उनलाई देवराज इन्द्रद्वारा कर्णको त्यो दानवीरताको सम्मानस्वरूप दिएका थिए । जब कर्णले कवच र कुण्डल इन्द्रलाई दान दिएका थिए । उनले त्यसलाई अर्जुन वध गर्न सुरक्षित राखेका थिए । त्यसैले कर्णले विवश भएर घटोत्कचलाई ‘शक्ति’ अस्त्र चलाउनुपर्ने भयो । कर्णले यो अस्त्रलाई एक पटक मात्र प्रयोग गर्न सक्थे र उनी यसमा वचनबद्ध थिए । यस प्रकार शक्ति अस्त्रको प्रयोग घटोत्कचलाई गरिसकेपछि उनले अर्जुनलाई वध गर्न साँचेर राखेका उक्त अस्त्र प्रहार गर्न पाएनन् । कर्णले यस अस्त्रलाई उपयोग गरेर घटोत्कचलाई दुई टुक्रा पारे, कौरव सेनामा नयाँ उत्साह सञ्चार भयो । मर्न अगाडि घटोत्कचले शरीर ठूलो–ठूलो पार्दै लगेर ढलेर कैयौं कौरव सेनाहरूलाई थिचेर मारे र यसरी घटोत्कचले वीरगति प्राप्त गरे । कर्णले यसरी वैजयन्ती अस्त्र प्रयोग गरेको खबरले कृष्ण र अर्जुनले राहतको सास फेरे ।

पाँच दिन युद्ध गरिसकेपछि द्रोणाचार्य मारिए । त्यसपछि कर्ण सर्वोच्च सेनापति भए । पहिलोे दिन उनले नकुललाई संहार गर्न लागेका थिए तर कुन्तीका वचन पालन गरेर उनले नकुललाई जीवनदान दिए । कर्ण अर्जुनलाई संहार गर्न उत्सुक थिए । युद्धकलामा हरक्षेत्रमा उनी अर्जुनभन्दा धेरै निपुण थिए । तर उनीसँग भगवान् कृष्णजस्ता सारथि थिएनन् । दुर्योधनलाई सन्देश पठाएर कर्णले शल्यलाई आफ्नो सारथि बनाए । यसले कर्णलाई नै हानि भयो । शल्य पाण्डवहरूका मामा थिए । तर उनले कौरव पक्षको साथ दिनुपरेको थियो । त्यसैले पाण्डवहरूलाई स्नेह गर्दथे । पाण्डवहरूले गुप्तरूपमा शल्यसँग प्रार्थना गरेका थिए कि उनी कर्णको सारथि बनेमा यस्तो कुरा गर्नेछन् कि कर्णको आफ्नो साहस घटोस् । हुन पनि शल्यले यस्तै गरे । सारथि बनेपछि उनले अर्जुनको धेरै प्रशंसा गरे । उनले अर्जुनलाई कर्णभन्दा धेरै शक्तिशाली सिद्ध साबित गर्ने प्रयास गरिरहे । यसले कर्णको उत्साह घट्छ भत्रे उनलाई लाग्थ्यो । यो कर्णको दुर्भाग्य थियो कि जुन सारथिले उनलाई मदत गर्नुपथ्र्यो, उही कर्णलाई हराउनमा उद्दत भइरहेका थिए । त्यत्ति मात्र होइन त्यो दिनको युद्धमा कर्णका दुई पुत्रहरूले वीरगति प्राप्त गरे ।

सत्रौं दिनभन्दा पहिलेसम्म कर्णको युद्ध अर्जुनबाहेक अरू सबै पाण्डवहरूसँग भयो । उनले महाबली भीमसहित यी पाण्डवहरूलाई रणभूमिमा पराजित गरे तर माता कुन्तीलाई दिएको वचनअनुसार उनले कसैलाई पनि वध गरेनन् । सत्रौं दिनको युद्धमा आखिरमा त्यो समय आयो जब अर्जुन र कर्ण एक–अर्काका सम्मुख परे । यो शानदार युद्धमा दुवै बराबर भइरहे । कर्णलाई उनका गुरु परशुरामले ‘विजय’ नामक धनुष उपहारस्वरूप दिएका थिए । जसको प्रतिरूप स्वयम् विश्वकर्माले बनाएका थिए । दुर्योधनको निवेदनअनुसार पाण्डवहरूका मामा शल्य कर्णका सारथि बत्रका लागि तयार भए । तर अर्जुनका सारथि स्वयम् कृष्ण थिए र कर्ण कुनै पनि कुरामा अर्जुनभन्दा कम नहुन् भनेर शल्यलाई सारथि बनाएका थिए । किनकि उनमा सारथिमा हुनुपर्ने सबै गुण थियो ।

यो युद्धमा अर्जुनको वाण कर्णको रथमा प¥यो र उनको रथ धेरै गज पछाडि पुग्यो । तर कर्णको वाण अर्जुनको रथमा जब लाग्यो तब उसको रथ केही (एक भित्ता जति) पछि हट्यो । यसमा श्रीकृष्णले कर्णको प्रशंसा गरे । यसबाट चकित भएर अर्जुनले श्रीकृष्णलाई यो प्रशंसाबारे जिज्ञासा राखे कि वास्तवमा मैले कर्णले भन्दा बढी रथ पछाडि पु¥याएको थिएँ । तब कृष्णले भने कि कर्णको रथमा कर्ण र शल्यको भार छ तर अर्जुनको रथमा त स्वयम् उनी र हनुमान् विराजमान छन् र कर्णले हाम्रो रथलाई केही पछि पु¥याए । यसपछि कर्णले अर्जुनको धनुषको प्रत्याञ्चालाई धेरै पटक काटे । तर तुरुन्तै अर्जुनले धनुषको प्रत्याञ्चा चढाउँथे । यसका लागि शल्यले अर्जुनको प्रशंसा गरे र कर्णलाई भने किन अर्जुनलाई सर्वश्रेष्ठ धनुर्धर भनेको हो भनेर ।

तैपनि कर्ण हतास भएनन् । त्यो दिन अर्जुन र कर्णबीच भीषण युद्ध भयो । कर्णको युद्ध कौशलताले कौरव र पाण्डव सेनाहरू दङ्ग परिरहे र उनको प्रशंसा गर्न थाले । कृष्णले भीम तथा अन्य योद्धा र अर्जुनसँग भत्र लागे —“यो के अर्जुन ! तिमी उत्साहसाथ युद्ध गरिरहेका छैनौ । कर्णले तिम्रो सबै हतियारहरू नष्ट गरिरहेका छन् । आफ्नो लडाइँमा प्राण देऊ ।”

अर्जुनले जतिसुकै प्रयास गरे तापनि फिक्का भइरहेको थियो र उनले ब्रह्मास्त्र प्रयोग गरे ।

यदि ब्रह्मास्त्र पनि शत्रुकहाँ छोडियो भने त्यसले सबैलाई मात्र नष्ट गर्दैन त्यस क्षेत्रमा १२ वर्षभन्दा बढी समय सुक्खा परिरहन्छ । यदि दुइटा ब्रह्मास्त्र एकआपसमा जुधेमा तब त प्रलय नै हुन्छ । यसले सम्पुर्ण पृथ्वीलाई विनाश गर्छ र अन्य भूमण्डल तथा सबै जीवनधारीहरू पुनः सृष्टि गर्नुपर्ने हुन्छ । महाभारतको युद्धमा दुइटा ब्रह्मास्त्र जुध्ने स्थिति तब आयो जब वेदव्यास ऋषिको आश्रममा अश्वत्थामा तथा अर्जुनले आ–आफ्ना ब्रह्मास्त्र चलाए । तब वेदव्यासजीले त्यस जुधाइलाई टारे किनकि उनले दुवै जनालाई ब्रह्मास्त्र फिर्ता लिन भने । अर्जुनलाई त ब्रह्मास्त्र फिर्ता लिन आउँथ्यो तर अश्वत्थामा यो कुरा जान्दैनथे र तब उक्त ब्रह्मास्त्रका कारण परिक्षित उत्तराको गर्भबाट मृत जन्मिए । तर कर्ण भने गुरु परशुरामका श्रापका कारण ब्रह्मास्त्र चलाउन भुलेका थिए । नत्र त उनी त्यो युद्धमा अर्जुनलाई वध गर्न अवश्य नै आफ्नो ब्रह्मास्त्र चलाउँथे र अर्जुन पनि आफ्नो बचाउका लागि आफ्नो ब्रह्मास्त्र चलाउँथे । अनि यसका कारण पृथ्वी विनाश हुने थियो । यस प्रकार गुरु परशुरामले कर्णलाई श्राप दिएर पृथ्वीको विनाश रोकेका थिए ।

धर्तीमाताको श्राप यो थियो कि कर्णको जीवनको सबभन्दा निर्णायक युद्धमा धरतीले उनको रथको पाङ्ग्रा पक्रनेछ । त्यो दिनको युद्धमा कर्णले अलग–अलग रथको उपयोग गरेका थिए । तर हरेक पटक उनको रथको पाङ्ग्रा धर्तीमा धस्सिन्थ्यो । त्यसकारण धेरै रथको प्रयोग गरे तापनि धर्तीमाताको श्रापबाट बच्न सकेका थिएनन् । नत्र कर्ण अर्जुनभन्दा धेरै बलवान् थिए र अर्जुनलाई तुरुन्तै हराउन सक्थे ।

यो देखेर कौरव सेनाहरू आतङ्कित भएर भाग्न थाले । तर कर्ण विचलित भएनन् । हाँसेर उनले अत्यन्त शक्तिशाली अस्त्र प्रयोग गरेर ब्रह्मास्त्रलाई रोके । त्यसपछि उनले सर्पवाण छोडे । जुन उनले अर्जुनलाई मार्नका लागि नै साँचेर राखेका थिए । सर्पवाणले सारा युद्धक्षेत्र प्रकाशवान् भयो । वाण तेजसँग अर्जुनतर्फ बढिरहेको थियो तर त्यही समय अर्जुनका सारथि कृष्णजीले आफ्नो खुट्टाले रथलाई दबाए । यसका कारण रथ एक भित्ता तल धस्सियो । यो वाणले अर्जुनको शिर बेरेर लानुपर्ने ठाउँमा अर्जुनको मुकुट बेरेर लग्यो ।

जब कर्ण युद्ध गरिरहेका थिए वाणको ठोक्रोमा एउटा विषालु सर्प आएर बस्यो । ठोक्रो अर्थात् जहाँ वाण राखिन्छ । यो पीठको पछाडि बाँधिएको हुन्छ । कर्णले जब एउटा वाण निकाल्न खोजे उनको हातमा वाणको ठाउँमा सर्प आयो ।

कर्णले सोधे — “तिमी को हौ ? कहाँबाट यहाँ आएका हौ । ”
तब सर्पले भन्यो —“हे दानवीर कर्ण ! म अर्जुनसँग बदला दिन तपाईंको ठोक्रोमा आएर बसेको हुँ ।
कर्णले सोधे —“किन नि ?”
त्यस्तोमा सर्पले भन्यो —“राजन् ! एकपटक अर्जुनले खान्डव वनमा आगो लगाएको थियो । आगोमा मेरी माता जलेर मरिन् । त्यो बेलादेखि मेरो मनमा अर्जुनप्रति विद्रोह छ । म ऊसँग प्रतिशोध लिने अवसरको खोजीमा थिएँ । यो अवसर आज मलाई प्राप्त भएको छ ।” केही बेर रोकेर सर्पले फेरि भन्यो ः—“तपाईंले वाणजस्तै गरेर मलाई वाणको ठाउँमा प्रहार गर्नुहोस् । म सिधै गएर अर्जुनलाई डसिदिन्छु र केही छिनमै उसको प्राणपखेरु उडेर जानेछ ।”
सर्पका कुरा सुनेर कर्णले सहजतासँग भने — “हे सर्पराज ! तिमीले गलत काम गर्न ग¥यौ । जब अर्जुनले खान्डव वनमा आगो लगाएका भए तापनि तिम्री मातालाई आगोले डढाउने उद्देश्य कहिल्यै थिएन होला । यस्तोमा म अर्जुनलाई दोषी मान्दिन । गलत तरिकाले युद्धमा विजय हासिल गर्नु मेरो लक्ष्य होइन । यस्तो गरेर म कायर बत्र चाहत्र । यस्तो मेरो संस्कारमा छैन । त्यसैले कृपा गरेर तपाईं यहाँबाट फर्केर जानुहोस् र अर्जुनलाई कुनै पनि हानि नगर्नुहोस् ।” त्यही नै बेला सर्प त्यहाँबाट उडेर गयो ।

सर्पवाण असफल भएपछि कर्णले अर्को एउटा घातक अस्त्र प्रयुक्त गर्न खोजे तर परशुरामको श्रापका कारण त्यसको उपयोग गर्ने ध्यान अन्तैतिर मोडियो । त्यही समय उनको रथको बायाँ पाङ्ग्रा जमिनमा धस्सियो । यसले गर्दा रथ रोकियो । कर्णको दुर्भाग्यको सुरुवात हुन थाल्यो । कर्णले अर्जुनका अगाडि फर्केर भने —“अर्जुन ! मेरो रथको पाङ्ग्रा जमिनमा धस्सिएको छ । मलाई अलिकति समय देऊ । म पाङ्ग्रालाई बाहिर निकाल्छु र त्यसपद्धि युद्ध गर्न सक्छौ । जब म रथबाट उत्रनेछु , तब मसँग वाण हुनेछैन । म युद्धको नियम पालन गर्न जतिसुकै ठूलो मूल्य चुकाउन पनि तयार छु । त्यसैले तिमी वाण नचलाऊ । एउटा योद्धाका लागि विनाहतियारका व्यक्तिलाई हतियार प्रयोग गर्नु उचित होइन ।”

कर्ण रथबाट उत्रेर रथको पाङ्ग्रा उठाउने प्रयास गरिरहेका थिए । तर दुर्भागयवश पाङ्ग्रा अलिकति पनि हल्लिएन । उनको रथको पाङ्ग्रा बारम्बार माटोमा धस्सिन थाल्यो र उनले पाङ्ग्रा बारम्बार निकाल्दै युद्ध गर्न थाले । यस्तोेमा फेरि जब उनको रथको पाङ्ग्रा फेरि धस्सिन थाल्यो तब उनले फेरि पनि निकाल्न खोजे । यसरी निकाल्ने समयमा उनमा त्रास र हडबडाहट हुन थाल्यो । उनको सारा ध्यान रथको पाङ्ग्रामा एकाग्र हुन थाल्यो र आफूलाई असहाय महसुस गर्न थाल्यो ।

यहाँ नेर उनी यत्ति इ्रमानदार थिए कि युद्धको नियममा यत्ति अडिग भए कि उनले रथको पाङग्रालाई नै अस्त्र बनाएरै पनि युद्ध जित्ने खुबी प्राप्त गरेका थिए । उनले रथ बाहिर युद्ध कहिल्र्यै गरेनन् । सम्पुर्ण महाभारतका पात्रहरु मध्ये सबैभन्दा इमानदार धर्म निभाउने उनै कर्ण थिए । युद्धका नियममा जो पनि उनीसँग झुक्न वाध्य थिए । यो सबैका लागि उत्प्रेरीत उनको जीवनपथ थियो । चाहे आफु जतिसुकै निरीह अवस्था होस् युद्धका नियम उनले आफैँलाई दाउमा राख्नु परे तापनि कीञ्चित तोडेनन् ।

युद्ध गतिरोधपुर्ण भइरहेको थियो तब कर्ण त्यहाँ अल्झे जब उनको रथको पाङ्ग्रा धस्सियो । (धरती माताको श्रापका कारण) उनी आफ्ना दैवीय अस्त्र प्रयोग गर्न पनि असमर्थ भए (जस्तो कि उनका गुरु परशुरामका श्रापका कारण) । तब कर्ण आफ्नो रथको पाङ्ग्रा निकालेर ओर्ले र अर्जुनसँग निवेदन गरे कि युद्धको नियम पालन गरेर केही छिनका लागि उनीमाथि वाण चलाउन बन्द गरुन् । तब श्रीकृष्णले अर्जुनलाई भने कि कर्णलाई कुनै अधिकार छैन कि उनले अब युद्धका नियमहरू र धर्मका कुरा गर्नलाई । जबकि स्वयम् उनले अभिमन्यु वध समय कुनै पनि युद्ध नियम र धर्मलाई पालन गरेका थिएनन् । उनले अगाडि भने कि त्यो बेला उनको धर्म कहाँ गयो ? जब उसले दिव्य जन्मा (द्रौपदीको जन्म हवनबाट भएको थियो) द्रौपदीलाई पूरै कुरु राजसभा समक्ष वेश्या भनेका थिए । द्यूतक्रीडा भवनमा उनको धर्म कहाँ गएको थियो ? त्यसैले उनलाई अब यो अधिकार छैन कि उनले कुनै धर्म या युद्ध नियमको कुरा गर्ने । र उनले अर्जुनलाई भने कि अहिले कर्ण असहाय छ (व्रह्माको श्राप फलीभूत भयो) त्यसैले उनलाई बध गरुन् । श्रीकृष्णले भने —“हे पार्थ ! यदि तिमीले यो निर्णायक मोडमा कर्णलाई वध गरेनौं भने सम्भवतः पाण्डवहरूले उनलाई कहिल्यै वध गर्न सक्ने छैनन् र यो युद्धमा जित्न पनि सक्ने छैनौ । ” अर्जुनले सायद कर्णको आग्रहमा युद्धको नियम मान्दथे होलान् तर योभन्दा पहिले कृष्णजीले अर्जुनलाई फेरि सम्झाए ः—“अर्जुन ! यो समय कर्णलाई मार्ने उचित समय हो । विना कुनै हिचकिचाहट वाण छोडिहाल ।”

यही मौकामा कृष्णको सल्लाह मानेर अर्जुनले ‘अञ्जलिका’ वाण चलाए । वीर कर्ण भूमिमा यसरी गिरे मानौं सुर्य नै आकाशमा गिरेको जस्तो । यस पश्चात् कर्णलाई मृत्युश्ययामा लगियो । जब कर्ण मृत्युश्ययामा थिए तब कृष्ण उनी कहाँ दानवीरताको परीक्षा लिनका लागि आए । कर्णले कृष्णलाई भने कि कर्णसँग दिनका लागि केही छैन । यस्तोमा श्रीकृष्णले कर्णसँग उनको सुनको दाँत मागे । कर्णले आफ्नो अगाडिको ढुङ्गा उठाए र त्यसले आफ्नो दाँत फोडेर सुनको दाँत निकाले । घिस्रँदै गएर एउटा वाण लिए अनि गङ्गाको स्मरण गरेर वाण भूमिमा रोपे । त्यत्तिकैमा त्यहाँ फोहोरा निस्क्यिो । कर्णले त्यस जलमा सुनको उक्त दाँत धोए र कृष्णजीलाई अर्पण गरे । कर्णले एकपटक फेरि आफू दानवीर हुनाको प्रमाण दिए । जसबाट कृष्ण अत्यन्तै प्रभावित भए । यस्तोमा कृष्णले कर्णलाई भने तिमी कृष्णसँग कुनै पनि वरदान माग्न सक्छौ ।
यस्तोमा कर्णले कृष्णलाई भने कि “निर्धन सूतपुत्र हुनाका कारण मलाई धेरै छल भयो । सूतपुत्र हुँदा गरिबहरूसँग सामीप्यता गर्न पाएँ । उहाँहरूको दुःख जात्र पाएँ । यो कुराको कहिल्यै कौरव तथा पाण्डवहरूलाई त के कोही पनि यस पृथ्वीका राजामहाराजाहरूलाई थाहा भएन । रह्यो तपाईंको कुरो, तपाईं पनि त्यस्तै त हुनुहुन्छ नि ! उनीहरूले धनीहरूका छलकपट धेरै भोगिरहेका छन् । दुर्योधनले मसँग मित्रताका बदला जति पनि यथेष्ट सम्पत्ति उपहार दिए ती सबै मैले निर्धनहरूलाई दिएँ । यसो गर्दा मनमा एक प्रकारको आनन्द आउँदो रहेछ । ती असहायहरूका पीडा कम गर्न पाउँदा धेरै आनन्द महसुस हुँदोरहेछ । यस संसारबाट दुःखको जालो हटाउने मेरो योजना थियो । पिछडिएका वर्गलाई राम्रो स्तरसम्म पु¥याउँदै पनि आएको थिएँ । अब यसको क्रमभङ्ग हुने भयो । मैले जस्तो सहायता तपाईंले यस जन्ममा त गर्न सक्नुहुत्र होला तर हे कृष्णे ! मलाई मनमा एउटा यही पीर छ । त्यसका लागि तपार्इंले अर्को पटक भए पनि जब यस धर्तीमा आएर पिछडिएका वर्गका व्यक्तिहरूको जीवन सुधार्नका लागि प्रयत्न गर्नुहोला ।”

यो सुनिसकेपछि श्रीकृष्णले अरू दुई वरदान माग्नसक्ने जिद्दीसहित आग्रह गरे । कर्णले अर्को जन्ममा श्रीकृष्णले उनैको राज्यमा जन्म लिऊन् ताकि कर्णले जस्तै दुःखीयारीहरूको दुःख बुझ्न सकून् । त्यस्तै तेस्रो वरदानमा उनले कृष्णसँग भने कि उनको अन्तिम संस्कार यस्तो स्थानमा गरियोस् जहाँ पाप हुँदैन । पूरै पृथ्वीमा त्यस्तो पाप नभएको कुनै स्थान थिएन । त्यसैले श्रीकृष्णले कर्णको अन्तिम संस्कार आफ्नो नै हातमा एउटा आध्यात्मिक तरिकाले गरे । कर्णले प्राण त्याग्नु अगाडि एउटा ज्योति कर्णको शरीरबाट निक्ल्यो र श्रीकृष्णको हत्केलाबाट प्रज्वलित भएर गई सुर्यमा समाहित भयो । यसप्रकार दानवीर कर्णले प्राणको आहुति दिए र सच्चाइ र निष्ठाको गतिलो उदाहरण दिए । आफ्नो जन्मको रहस्योद्घाटन भइसकेर पनि तथा अङ्ग देशको राजा बनाइए तापनि कर्णले अधीरथ र राधालाई नै मातापिता माने र आफ्नो मृत्युकालसम्म पुत्रधर्म निभाए । महाभारतकालका युगपुरुष थिए कर्ण । उनी सबैभन्दा श्रेष्ठ भएर पनि सबैभन्दा चेपुवामा पर्ने व्यक्ति पनि थिए । उनी हरेक कुरामा निपुण थिए । कर्तव्यपरायणता, इमानदारिताका त उनी खानी नै थिए ।

अर्जुन र कर्णमा समानता र विषमता दुवै थियो । अर्जुनलाई सुरुदेखि नै सुख, सम्पत्ति र मातृप्रेम प्राप्त भयो । अर्जुनसँग हरेक कुरा थियो जसले उनलाई विजयी बनाउन सक्थ्यो । यत्ति यी सब हतोत्साह पार्ने अस्त्रले पनि कर्णलाई कुनै क्लेश मात्र पनि विचलित पारेको थिएन । कर्णले हरेक कुरा आफ्नै पौरखबाट प्राप्त गरिरहे । यसरी कर्ण एक्लैले आफैँले यी सबै अस्त्रज्ञानलगायत सम्पुर्ण ज्ञानका कुराहरू प्राप्त गरेका थिए । आफ्नो कर्तव्यपरायणताका कारण उनलाई थुप्रै अभिशाप भयो तर उनले खुसीसाथ हाँसीहाँसी, दान दिएको सम्झी सबै स्विकारे । कर्ण यी सब जान्दथे । कर्णलाई दानभन्दा प्यारो अरु कुनै कुरा थिएन र कहिल्यै पनि उनलाई दान गर्न कुनै पनि कुराले विचलित पारेन । त्यसैले त यी सब कुरालाई दानप्रियताका माध्यमले कर्णले हाँसी–हाँसी स्वीकारे । यसरी उनी इमानदारिता र कर्तव्यनिष्ठताका कारण संसारका सर्वश्रेष्ठ दानवीर कहलिए । कर्ण नाम अनुसार कर्ण बने र सबै दान याचकका कुरा सुने । उनी यस धर्तीका अरु ठुलाठुला प्रख्यात विख्यातहरुले भन्दा सुन्ने व्यक्तिहरुमा परे महान व्यक्तित्वले युक्त कर्ण इतिहासमा नाम अनुसारका सबैका कुरा सुन्ने कर्ण बनी प्रख्यात भए ।

यस्तो श्रीकृष्णको आध्यात्मिक संस्कारपछि पनि भौतिक रूपका कर्णको बाँकी अन्त्येष्टि संस्कार भइरहेको थियो । तब माता कुन्तीले आफ्ना पुत्रहरूलाई निवेदन गरिन् कि कर्णलाई गर्नुपर्ने सबै मृत्यु संस्कार गर । जब उनीहरूले कर्ण सूतपुत्र भनेर विरोध गरे तब कुन्तीले कर्णको जन्मको रहस्य खोलिन् । तब सबै पाण्डव भाइहरूलाई दाइलाई हत्या गरेको पापको झट्का लाग्यो । युधिष्ठिर विशेष रूपले आफ्नी मातासँग रुष्ट भए र उनलाई र सम्पुर्ण नारीहरूलाई श्राप दिए कि आजको समयदेखि स्त्रीहरूले कुनै पनि भेद लुकाउन नसकून् । युधिष्ठिर र दुर्योधन दुवै जना कर्णको अन्तिम संस्कार गर्न चाहन्थे । युधिष्ठिरको दावी थियो कि उनी कर्णका भाइ हुन् त्यसैले त्यसमा उनको अधिकार छ । दुर्योधनकोे दावी यो थियो कि युधिष्ठिर र अन्य पाण्डवहरूले कर्णलाई कहिल्यै दाइको व्यवहार गरेनन् त्यसैले यो समय अधिकार देखाउनुको कुनै औचित्य छैन । तब श्रीकृष्णले मध्यस्थता गरेर युधिष्ठिरलाई सम्झाए कि दुर्योधनको मित्रताको बन्धन अधिक सुदृढ छ त्यसैले दुर्योधनलाई कर्णको मृत संस्कार गर्न दिइनुपर्छ । त्यसपछि दुर्योधनले आफ्नो जीवनकालभरि कर्णको बाँकी अन्तिम संस्कारहरू गरे ।

द्रौपदीले सूतपुत्र भनेर अस्वीकार गरिसकेपछि कर्णले आफ्ना पिता अधीरथको आग्रहमा रुषाली र सुप्रियासँग बिहे गरेका थिए र उनीहरूबाट कर्णका नौ जना छोराहरू थिए । वृशसेन, वृशकेतु, चित्रसेन, सत्यसेन, सुशेन, शत्रुञ्जय, द्विपात, प्रसेन तथा बनसेन, कर्णका सबै पुत्रहरूले महाभारतको युद्धमा होमिएका थिए । जसमा आठ जनाले वीरगति प्राप्त गरेका थिए । प्रसेनको मृत्यु सात्यकीको हातबाट भएको थियो । शत्रुञ्जय, वृशसेन र द्विपातले अर्जुनको हातबाट वीरगति प्राप्त गरेका थिए । बनसेनको भीमसेन, तथा चित्रसेन, सत्यसेन तथा सुशेनको नकुलको हातबाट वीरगति प्राप्त भएको थियो । वृशकेतु एक जना मात्र यस्तो पुत्र थियो जो महाभारतको युद्धपछि पनि जीवित भए । कर्णको मृत्युपछि उनकी पत्नी रुषाली उनको चितामा सती गएकी थिइन् । महाभारतको युद्धपछि जब पाण्डवहरूलाई यो कुरा निश्चय भयो कि कर्ण उनीहरूकै ज्येष्ठ दाजु नै हुन् तब उनीहरूले कर्णका जीवित पुत्र वृशकेतुलाई इन्द्रप्रस्थको गद्दी सुम्पेका थिए । अर्जुनको संरक्षणमा वृशकेतुले कैयौं युद्ध लडी राज्य विस्तार गरेका थिए । त्यसपछि वृशकेतुका ज्येष्ठ–ज्येष्ठ सन्तानहरूले यस पृथ्वीमा अकण्टक राज्य चलाउँदै गए ।

नोट :— यो कथा मैले लेखेको पुस्तक “सत्य पौराणिक कथा” को अंश हो ।

बिजु सुवेदी “विजय”
भकतजनमार्ग, काठमाण्डौं

1 thought on “कर्ण”

  1. धन्यवाद
    सरल भाषामा विस्तृत कथा पढने मौका दिनु भएकोमा धन्यवाद लेखक ज्यू

Leave a Reply

Your email address will not be published. Required fields are marked *