Skip to content

होम सुवेदी

गीत्यात्मक कविता

यो राम्री छे भन्ने कुनै हुन्न चासो,
नराम्री छे भन्ने पनि हुन्न चासो
यी राम्रा नराम्रा कुरै हुन् हराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

यो गोरी छे यसमा कुनै हुन्न चासो
त्यो काली होस् त्यसमा न गर्छन् गुनासो
त्यसैलाई नियाल्छन् र आफैं हराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

रामजनमको खास्टो बेपार

केही वर्षदेखि चटपटे व्यवसाय गरेर मेरो घरमा भाडा गरी लखनदेव बसेको छ । मलाई पनि भरअभर यो मान्छे काम लाग्छ । तरकारी पकाउन अल्छी लागेको दिन उसको चटपटेले तरकारीको छाक टार्ने गरेको छु । कहिलेकाहीं ता “मालिक रोटी भि यहीं खाइलिऊँ” भनेर रोटी नै खुवाउँछ । बडो मिजासिलो छ । ऊ बिहान अँध्यारैदेखि आलु उसिन्छ, खोर्सानीको भुजुरी तयार गर्छ, चना भुट्छ, टमाटर पखाल्छ, अरु केके तयारी गर्छ । अनि बिहानैदेखि लाग्छ बजारतिर आफ्नो व्यवसायमा । बेलुकासम्म पनि त्यो घर आउँदैन । रात पर्न लाग्दा मात्र बल्ल ऊ आउँछ र त्यस दिनको आमदानी गन्न थाल्छ । मलाई घरमा खुजुरा पैसाको अभाव यसबाट कैले पनि हुन पाएको छैन । यसका साथ मजासँग भारु भने भारु नेरु भने नेरु साट्न पाउँछु । एक पटक ता उसले कतिको हो डलरको नोट पनि ल्याएको थियो । यो सटहीको कारोबारमा पनि उसलाई अब चाख बसेको जस्तो थियो । मानौं यो मेरा लागि एउटा सटही काउन्टर पनि हो । त्यसको चटपटे बेपार फस्टाएको छ भन्ने कुरा उसले दिनभरिको बेपारबाट आएको आमदानी दुईहजारदेखि पच्चिस सयसम्मको कमाइ गरेको कुरा बुझेपछि मलाई थाहा भएको छ । ऊ नलुकाई भन्छ– ‘मालिक पढेन हामीले ता, यसैसे गुजारा कर्नु परेको छ ।’

कुरा मनमा आइरहे

कुरा धेरै….. मनै भरि अटाइ नअटाइ आ….इ………र‍‍ हे२

कुरा मनमा अटाइ नअटाइ आइरहे
पुरिएको घाउलाई तिनले बल्झाइरहे २
हिजो अस्ति हो वा आजै हो जम्का भेट भयो
भेट मात्रै हुनु के थ्यो मन यो तुल्बुलियो २

के नेपाल सानो छ पद्यानुवाद – ०६ (अन्तिम भाग)

निन्दा गर्नेहरु त्यस्ता हाँस्लान् मेरा विचारमा
तथापि म सधैं बस्छु दृढ मेरै विचारमा ।।
यस्ता बोक्रेहरुदेखि दया लाग्छ मलाई ता
बिचराहरुमा कस्तो बुद्धिको छ दरिद्रता ।।

अध्यात्म ज्ञानको गंगा यसैबाट छ उद्भव
सारा संसारकै लागि यै हो पोषक वैभव ।।
अरुले देशको ताज शिरमाथि चढाउलान्
हामी ता देशको ताज मुटुभित्रै सजाउँछौं ।।

के नेपाल सानो छ पद्यानुवाद – ०५

असन्तुष्टि यहाँ छैन माटोमा हुन्छ उब्जनी
यहाँकी धर्ती हुन् मेरी साँच्चैकी शश्यशालिनी ।।

गहिरो गरी हेर्नाले एकभित्र अनेकता
पाइन्छन् यही धर्तीमा देश सानै भए पनि ।।

के नेपाल सानो छ पद्यानुवाद – ०४

यहाँ के छैन हे मित्र यहाँ जे पनि मिल्दछ
छैन भन्नेहरु देखी म ता आश्चर्य लाग्दछ ।।

हाम्रै पर्णकुटीभित्र परमेश्वर बस्तछन्
आत्माका रुपमा हाम्रा गौरीशङ्कर मस्त छन् ।।

के नेपाल सानो छ पद्यानुवाद – ०३

यहीं निर्मल गङ्गाका छालको हुन्छ कल्कल
त्यही कल्कलमा मानौं गाएझैं लाग्छ कोकिल ।।

दुनियाँभरमा शान्त स्वच्छ शीलतका कथा
खोज्नेले फर्किए हुन्छ भेटिनेछन् यता उता ।।

के नेपाल सानो छ पद्यानुवाद – ०२

निलेका त्यसले लाखौं कृतिभन्दा कता कता
माथि धेरै गुणा लाग्छ हाम्रो आफ्नै शकुन्तला ।

अङ्ग्रेजीवाजले भन्छन् चस्मा ढल्काई व्यङ्ग्यले
नेपाली पढी के हुन्छ ? अङ्ग्रेजी पढ्नुपर्दछ ।

के नेपाल सानो छ पद्यानुवाद – ०१

‘नेपाल’ शब्दका साथ विशाल शान्त सुन्दर,
कुनै बेला म आफैंले लेखेंथे छ मनोहर ।

कसरी कसरी आयो यस्तो भाव म जान्दिनँ
त्यो विशेषणको शब्द किन लेखें म भन्दिनँ ।

साँढे

खुला साँढे
अहिले ढसमस्स छ साँढे
कसैले चलाउनु हुन्न ।
फुँ गरेर हान्न सक्छ
फुकेकाे खुला साँढेलाई
कसले बाँध्न सक्छ ?
गतिलाे साँढे देखेर
काेही याे उद्याेग नगर
यसलाई
गाडामा कसले छाँदन सक्छ ?

ताङ्सेको भिरबाट गोठालाहरूसँग एसएमएस

आज शनिवारको दिन । पहाडको पुरानो आफ्नै पैत्रिक गाउँमा म छु । पल्लो गाउँतिर जान मन लागेको छ । उहिलेको आफूले गाई हेरेको भिर, सैसला खेलेको ठाउँ पनि हेरिने, समय पनि बित्ने सोचेर म लागें आम्बोटेतिर । मैले गाई चराएको भिरको बाटोबाट म हिंडिरहेको थिएँ, जाँदा जाँदै मेरा मनमा कुरा झुत्तिन थाले ।
उता मेरा वर्तमानको वासथलोमा मेरा केही सरकारी कर्मचारीहरू पनि छन् । उनीहरूले १० देखि ४ वा ५ बजेभित्र ता सरकारको तलब खाएबापत काम गर्नु पर्ने हो । काम कम गर्नु र घुस अघिक खानु उनीहरूको अभ्यासको विषय हो । यदि त्यसरी घुस खान पाइएन भने उनीहरूले अफिसको समयमा गर्नु पर्ने काम कुराहरूलाई जानेसम्मका उपायहरू गरेर छिरोलेर बिगार्छन् र छाडिदिन्छन् ।

गणतन्त्र र गौथलीकाे बाबुको भूमिका

क. भूमिकाको भूमिका

मसँग भदौ ०६९ साल ११ गते दिउसो दाजु नकुल काजीले अचानक लामो फोनमा कुरा गर्दै अनुरोध गर्नुभो, यस कृतिबारेमा केही लेख्नका लागि । साथै मैले लेखिएको उक्त सामग्री चाँडै चाहिएको कुरा पनि गर्नुभो । अलिक कस्तोकस्तो लाग्यो यो चाँडो भन्ने शब्दको सुनाइमा । अरु सबै काम छाडेर सेवाको यस काममा लाग्नुपर्ने भो मैले । तर मलाई सस्तोमस्तो कुरा लेखेर ढाँटढुँट गर्नु उचित लाग्दैन, यसमा ता झन् त्यसो गर्नु नै थिएन । कुरा गर्दा ‘समय छोटो राख्नुभो’सम्म भनेको थिएँ । कुरा त्यति हो ।

अवतरण

उनको र मेरो परिचय छ । उनी कथाकार र प्राध्यापक पनि हुन् । निकै ओटा पुस्तक प्रकाशित गराएका छन् । उनी साहित्यमा विेशेष रुचि भएका मान्छे हुन् । हाम्रो प्रायः भलाकुसारीका रुपमा गफगाफ भइरहन्छ । म उनका साथ एक भेटघाटको सिलसिलामा थिएँ । “हैन ‘अपहत्ते’ कथाको अन्तमा सफल अवतरणको उपाय खोजिएको थियो नि मित्र । कुन रुपमा भयो त अवतरण ?” मैले कथाकारसँग सोधें ।

उनले फटाफटी भन्न थाले–“हो, ‘अपहत्ते’ कथामा सफल अवतरणको अपेक्षा गरेको थिएँ । त्यसभन्दा अघिकै ‘मोबायलको सन्देशबाट उब्जेको रडाको’ कथा पनि तपाईंले पढेकै हुनुपर्ने हो । त्यसैबाट क्रमिक रुपमा आएको ‘अपहत्ते’ कथामा यो घटनाको वा शृङ्खलाको र यसको सफल वा विफल जे भनौं अवतरणको कुरा उठाइएको हो । वास्तवमा कुनै प्रयत्न नै गर्नु परेन अवतरणका लागि । कुनै घटना वा दुर्घटना पनि भएन अवतरणका लागि । त्यो आफैं भएको छ । छाती निकै हलुको भएको छ । एउटा विपत्ति आफैं टरेर कतै गएको छ । मलाई अहिले निकै सन्चो पनि भएको छ । मनको भार पनि यसै हलुको भएको छ । एउटा अनिष्टको उल्का आफैं पर पर कतै सरेर गएको छ अनि मलाई भने त्यो छ महिने अपहत्ते र एसएमएसको प्रकरण नमिठो सपना जस्तोका रुपमा मात्र रहेको छ ।” म सुनिरहें उनको धारावाहिक कथन, उनको कथन कवितामय थियो ।

स्मृतिग्रन्थ प्रकाशन एन्ड कम्पनी लिमिटेड

कुरा अलिक हाँस उठ्तो हुन सक्ला । तर हाँसो उठ्तो भए पनि कुरा यथार्थै हो । त्यसै यथार्थ कुराबाट म यहाँका कुरा थाल्छु । केही वर्ष अघिको कुरा हो । मेरो चिनाजानीका मित्र जसलाई म अहिलेसम्म पनि दाजु भन्छु उहाँबाट मलाई फोन आयो । मैले उहाँको फोन उठाएँ । उताबाट कुरा आए— ‘भाइ, तपाईंले प्रधान सम्पादकका रुपमा बसिदिनुपर्ने भो, भ्याउदिनँ भन्न पाउनुहुन्न है ।”
“के छाप्न लाग्नु भो दाइ ?’

मोबायलको सन्देशबाट उब्जेको रडाको

केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो ।

गमलामा रोपिएको पिपलको बिरुवा

मेरा घरका गमलामा केही थरिका फूल फुलेका छन् र केही नयाँ बिरुवाहरू रोपिएका पनि छन् । गमलामा फूल रोप्ने मेरो सोख छैन । त्यसले मेरो दरिद्र जीवनमा कुनै फाइदा पुर्याउँदैन र त्यसलाई चाकर गरेर मलाई कुनै लाभ छैन भन्ने मेरो आफ्नो मान्यता छ । यस्ता फूलहरू फुलाउनु र यसमा खर्च गर्नुमा मेरो सोख उति नभए पनि यस्ता बिरुवा रोप्ने र हुर्काउने सौख मेरी सहधर्मिणीमा उहिल्यैदेखि आएको देखेको छु । मलाई भने यो कहिल्यै आएन । नआए पनि उसले रोपेका बिरुवा र फूलहरूमा म बाध्य हुन्छु, पानी हाल्न । म गन्गनाउँछु—“यी रोपिएका बिरुवाहरूबाट फूल नभई डलर फुल्ने भए म यिनैको सेवामा आफूलाई अर्पण गर्ने थिएँ !” उनी तिलमिलाउँछिन् । म उनको तिलमिलाइबाट आनन्दित हुने गरेको छु । यसरी गमलामा रोपिएका बिरुवाहरू कति हुर्किएका छन्, कति हुर्कंदैछन् र कति हुर्कने सुरमा छन् । कति फुलेका छन्, कति फूल्दै छन् र कति मौसम अनुसार फुल्दछन् ।

वर्ण के हुन् र ती किन घटी बढी हुन्छन् ?

भाषाका शब्दहरू वा वर्णहरू भनेका मानिसका अन्य भौतिक सम्पत्ति जस्तै भाषिक सम्पत्ति हुन्छन् । भौतिक सम्पत्तिको ढुकुटीमा घटीबढी हुँदै गएजस्तो भाषाको शब्द वा वर्णको ढुकुटीमा पनि घटीबढी हुन सक्छ । भन्डारको सम्पत्ति चलन गर्दै जाँदा थपिंदै वा घट्दै जानु स्वाभाविक पनि हो । नेपाली भाषा पनि यस अपवादबाट मुक्त छैन । यसमा पनि प्रयोग गर्दै जाँदा शब्दहरू वा वर्णहरू घटीबढी भएका छन् ।
वर्तमानमा लेखिएको केही कामचलाउ, केही तत्कालको लागि बिकाउ अनि केही चाहिं प्रसिद्ध व्याकरणका पुस्तकहरूमा नेपाली भाषामा रहेका स्वर, व्यञ्जन वर्णको परिचय र सङ्ख्या तोक्ने काम भए÷गरेको देखिन्छ । पाठ्यक्रमको प्रयोजनका लागि लेखिने सस्तामस्ता व्याकरणका पुस्तकहरूमा नेपाली वर्णहरूको परिचय पढाउनु पर्ने भए पनि सङ्ख्या तोक्नुबाहेक सङ्ख्यामा घटीबढी हुनुका पर्याप्त वा न्यूनतम कारणहरू समेत दिएको पाइन्न । सङ्ख्या तोक्ने क्रमका पछाडि तोकिनु पर्ने खास कारण उल्लेख नहुनाले प्रशस्त भ्रम फैलन सक्छ । तिनै समस्याहरूको साधारण खुलासा यो लेख हो ।

गाेष्ठी : देवकोटा स्मारक चन्द्रगढी

बाल कविता प्रतियोगिताको एउटा उच्च स्तरीय आयोजन

यस पालिको देवकोटा जयन्ती झापामा निकै नै स्मरणीय र उत्साहजनक रुपमा सम्पन्न भएको कुरा गर्न पाउँदा मलाई बडो हर्षको अनुभव भएको छ । भर्खरै मात्र झापामा साहित्यिक गतिविधिमा कमी आएको भन्ने आशयको प्रकाशित कान्तिपुरको खबरलाई सधैं नै झापाले लोप्पा खुवाएकै छ तापनि यस पालि झनै लोप्पा खुलाएको अनुभव भएको छ ।

डिल्लीराज नेपालको छन्दमालाभित्रका छन्दहरुमा केही तरङ्ग

आज छन्दमा कविता लेख्नु भनेको अत्यन्तै चुनौतीको काम हुन पुगेको छ । कवितालाई गजलले थिचेको बेला छ । लगभग गजलले कवितालाई विस्थापित गरेर सिध्याएको बेला छ आज । बालबच्चादेखि वृद्धवृद्धाहरु समेत गजल नै लेख्न लागेका छन्, गुनगुनाइरहेका छन् । स्वदेशबाट मात्र नभई विदेशबाट नेपाली जहाँ जहाँ छन् त्यहाँ आज गजल पुगेको छ । नेपाली गजलको इतिहासको सन्दर्भमा विषयवस्तुका आधारमा केही र अन्य पक्षहरुमध्ये रचनात्मक ऊर्बरताका आधारमा हेर्ने हो भने २०४६ सालपछिको अवधिलाई स्वर्णकालको रुपमा लिनु पर्ने स्थिति छ । यस अवधिमा सयौं कृतिहरु गजलका रचिएका छन् । सयौं शोधप्रबन्धहरु गजलकारहरुमाथि तयार गरिएका छन् । त्यसै गरेर सयौं समीक्षकहरुले गजलका बारेमा विषद विश्लेषण गरेर यसको निचोड र निष्कर्ष दिने काम गरेका छन् । यसैले आजको कविताको इतिहासको प्रवाह गजलमा केन्द्रित छ ।