असन्तुष्टि यहाँ छैन माटोमा हुन्छ उब्जनी
यहाँकी धर्ती हुन् मेरी साँच्चैकी शश्यशालिनी ।।
गहिरो गरी हेर्नाले एकभित्र अनेकता
पाइन्छन् यही धर्तीमा देश सानै भए पनि ।।
यसका माझ सौन्दर्य रंगदार अनेकन
हुन्छन् सौन्दर्यका आभा नवनित्य प्रतिक्षण ।।
पहाडी स्थलमा भिन्न भिन्न विश्व सजीव छ
पशुपक्षिहरु खेल्ने तिनैको घरबार छ ।।
मृग शावक उफ्रन्छन् अर्नाका हुल चर्दछन्
हामी मान्छेहरुलाई नौलो पाठ सिकाउँछन् ।।
झर्नामा गीत गुन्जन्छन् बारीमा मोती फल्दछन्
हावाको स्पर्शमा मानौं नाच्छन् सारा वनस्पति ।।
यहाँ पत्थरमा हुन्छ चाँदीकै रङ्ग टल्कने
वृक्षका पत्रमा हुन्छ नौलो सौन्दर्य झल्कने ।।
गुफाभित्रै बसे जस्ता लाग्छन् किन्नर किन्नरी
गौरी शङ्कर हुन् मानौं हाम्रा शङ्कर पार्वती ।।
भान हुन्छ सधैं हाम्रा पाखामा देव खेल्दछन्
हाम्रा सकट बाधाका क्षणलाई धकेल्दछन् ।।
हावाका सारमा झुल्दै कलिला लहराहरु
मानौं फर्फरिए छन् कि चन्द्रसूर्य ध्वजाहरु ।।
अनेकौं रङका रङ्ग दृश्य चित्र रची रची
कला कौशलको भान प्रकृति गर्दछिन् बसी ।।
हाम्रो उत्तरमा अग्ला हिमशैल खडा भई
रेखदेख सधैं गर्छन् अभिभावक झैं भई ।।
मलाई हुन्छ यो भान विशाल हिमशैलले
हाम्रा अन्तरको आत्मा लाई गर्छन् सुशिक्षित ।।
हाम्रा गौरव गासिन्छन् हिमाली उच्चतासँग
हाम्रो मस्तिष्क गाँसिन्छ यहाँको आढ्यतासँग ।।
कला साधक जन्मन्छन् नजिकै फूलबारीमा
महामानव जन्मन्छन् चिसो स्वच्छ पहाडमा ।।
देखी बालकका स्वच्छ अनुहार मनोहर
दुष्टको दुष्टता भाव फर्कंदै बन्छ निर्मल ।।
मुटुमै टाँसिनै गर्छन् यहाँका ललनाहरु
यहाँको स्नेह सम्मान यहाँका रमणीहरु ।।
डर त्रास यहाँ छैन यहाँ छैन कुभावना
बाघका डम्मरु लाई घाँसको हुन्न याचना ।।
चराका स्वरमा गुँज्छन् काव्यका स्वर माधुरी
माटोमा उम्रने गर्छ लोकगान थरी थरी ।।
आफ्नो जन्मभूमिजस्तो ठूलो केही रहेनछ
हाम्रो हृदयको केन्द्रबिन्दु सानो भएनछ ।।
जति फैलन्छ त्यो क्षेत्र मुटुमा देशप्रेमको
प्रवृत्ति प्रेमको हुन्छ फैलने अझ फैलने ।।
मुटुमा देशको प्रेम भित्रभित्रै पलाउँछ
प्रवृत्ति प्रेमको त्यै हो आफैं भित्र टुसाउँछ ।।
म मातृभूमिमै सिक्छु विश्वप्रेम निरन्तर
अन्यत्रबाट यो प्रेम सिकेर के सिकिन्छ र ?
मेरा मगजका गिर्खा गिर्खाले देश प्रेम यो
अनुभूत गरेका छन् साँच्चैको देशप्रेम त्यो ।।
आमा नेपाल यो मेरा मुटुका केन्द्रमा तिमी
चम्किएर सधैं बस्नू अनकन्टारमै पनि ।।
अनकन्टारको टाढा अज्ञातस्थल विश्वमा
कुनै गन्दर्भले विश्व गर्दा गर्दै परिक्रमा—
तँ को होस् भनी सोधेमा हुन्छ मेरो सगौरव
म नेपाली हुँ नेपाली मेरो यो हुन्छ उत्तर ।।
ओर्लंदाओर्लंदै गर्दा स्वर्गबाट कुनै दिन
“कता जान हिंडेका हौ छाड्दछौ स्वर्ग यो किन ?”
भनेर जब सोध्नेछन् स्वर्गका अप्सराहरु
तिनलाई म यो दिन्छु छाती खोलेर उत्तर
“म चाहन्न म चाहन्न स्वर्गको सुखसम्पदा
नेपालैको भलाईमा लागें है लौ उतै म ता ।।
मेरो गौरव हो मेरै देशको सुखसम्पदा
स्वर्गमा जोसुकै जाऊन् जान्छु नेपालमै म ता ।।”
अर्काको भूमिमा कस्ले ठाडो सिर लगाउला ?
आफ्नो गौरवको देश भित्रै प्रेम रसाउला ।
चाहे गौरव होस् देश रौरवै किन त्यो नहोस् !
यो मातृभूमिमा मेरो छल्कन्छ आर्यसम्यता
लाखौं वर्ष दिंदै आयो जस्ले अध्यात्म सम्पदा ।।
मेरो गौरव ता यै हो देशको सुखसम्पदा
दौडियून् स्वर्गमा कोही बस्छु नेपालमै म ता ।।
म कतै सुन्न चाहन्न अरुका देशको गीत
चाहे रौरव होस् मेरो देशैमा छु म मोहित ।।
हिराको मूल्य के हुन्छ मेरो हृदय जान्दछ
अमूल्य देशको मूल्य मेरो अन्तर मान्दछ ।।
मेरा भावहरु हल्का बोक्रेले के समाउलान्
निन्दाको बोलीमा खोक्तै हाँसीहाँसी उडाउलान् ।।
2014-12-02 07:43:37 +0545
