उनको र मेरो परिचय छ । उनी कथाकार र प्राध्यापक पनि हुन् । निकै ओटा पुस्तक प्रकाशित गराएका छन् । उनी साहित्यमा विेशेष रुचि भएका मान्छे हुन् । हाम्रो प्रायः भलाकुसारीका रुपमा गफगाफ भइरहन्छ । म उनका साथ एक भेटघाटको सिलसिलामा थिएँ । “हैन ‘अपहत्ते’ कथाको अन्तमा सफल अवतरणको उपाय खोजिएको थियो नि मित्र । कुन रुपमा भयो त अवतरण ?” मैले कथाकारसँग सोधें ।

उनले फटाफटी भन्न थाले–“हो, ‘अपहत्ते’ कथामा सफल अवतरणको अपेक्षा गरेको थिएँ । त्यसभन्दा अघिकै ‘मोबायलको सन्देशबाट उब्जेको रडाको’ कथा पनि तपाईंले पढेकै हुनुपर्ने हो । त्यसैबाट क्रमिक रुपमा आएको ‘अपहत्ते’ कथामा यो घटनाको वा शृङ्खलाको र यसको सफल वा विफल जे भनौं अवतरणको कुरा उठाइएको हो । वास्तवमा कुनै प्रयत्न नै गर्नु परेन अवतरणका लागि । कुनै घटना वा दुर्घटना पनि भएन अवतरणका लागि । त्यो आफैं भएको छ । छाती निकै हलुको भएको छ । एउटा विपत्ति आफैं टरेर कतै गएको छ । मलाई अहिले निकै सन्चो पनि भएको छ । मनको भार पनि यसै हलुको भएको छ । एउटा अनिष्टको उल्का आफैं पर पर कतै सरेर गएको छ अनि मलाई भने त्यो छ महिने अपहत्ते र एसएमएसको प्रकरण नमिठो सपना जस्तोका रुपमा मात्र रहेको छ ।” म सुनिरहें उनको धारावाहिक कथन, उनको कथन कवितामय थियो ।

“अवतरण नहुँदा ता निकै तनावमा भएको कुरा थियो नि !” सोधें ।

“हो, अवतरण नहुन्जेल बडो कष्टमा थिएँ म । मलाई आपत्तिको भुँवरी खनिने समय आइसकेको बोध भइसकेको थियो । अपहत्ते गर्नेको फोनले मलाई गर्नुसम्म गरेको थियो । म कठोर तनावमा थिएँ । आफूले रहर गरेर आफैंभित्र पालेको तनावद्वारा उठेको भुँवरीबाट तनावको लहरलाई भोगिरहेको थिएँ । दुविधाको भुत्भुते मेरो मनभरि खनिएको थियो । म भित्रभित्रै हतास हुन लागिरहेको थिएँ, डराइसकेको थिएँ, हराइसकेको थिएँ । यता म यस समस्याको अवतरण भइदिए पनि हुने थियो भन्ने आसमा थिएँ अर्कोतिर म मुक्त पनि थिइनँ यस समस्याबाट । कहिल्यै नदेखेको मान्छेले मेरै नाम लिएर साँच्चै पो अपहत्ते गर्ने हो कि भन्ने दुविधाले मन अमिलो भएको थियो । न देखेको छु न जानेको छु यसै परपरैबाट मेरा लागि अपहत्ते पो गर्ने हो कि ! परपरैबाट हत्याको पाप पो लाग्ने हो कि भन्ने पनि लाग्न थालेको थियो । कति हो कति उसले सरापेको । कति हो कति उसले यौनको इच्छा गरेको । राति बार बजे साउतीको आवाजमा मलाई उसले यौनको भोकले सताएको इच्छा जाहेर गरेको कति हो कति । सधैं यौनेच्छा, सधैं यौनभोक र सधैं लोग्नेमानिसको अँगालोको आकाङ्क्षा । परपरबाट मलाई पाप पो लाग्ला कि भन्ने पनि बोध हुन थालेको थियो । उसले मलाई आमन्त्रण गरेको कति हो कति । उसले मलाई चाहेको कति हो कति !” कथाकारले एकोहोरोसँग भने ।

अँझै अघि भन्दै गए–“उसले ठाउँ र ठेगाना दिएर मलाई बोलाएको कति हो कति ! तर मैले पनि असमर्थता जनाउँदै गएँ । आफूले आफ्नो अवस्था जनाउँदै गएँ । छोराछोरीको बाबु भएको जनाउँदा पो उसले मलाई गरेको माया र उसको टेलिफोन कम होला कि भनेर मैले मेरो वास्तविकता बडो सत्यताका साथ जनाएँ तर कहाँ होस् ऊ त झन् चारओटा छोराछोरीकी आमा भएको पो जनाई । लोग्नेले उसलाई जवानमै छाडेर अर्की आइमाई लिएर दिल्लीतिर वा बम्बैतिर कतै गएको जनाई । थाहा पाउँदै गएँ ।

कथाकारलेभन्दा भन्दा लामो सास लिएर फेरि क्रमलाई यथावत् राखे—“नजानिदो गरी म पनि उसको प्रतीक्षामा पो बस्न थालिसकेको रहेछु । कताकता मेरो मन पनि उसको फोन नआएको दिन बडो बिरसिलो हुन थालिसकेको रहेछ । म पनि भित्रभित्रै उसको फोन आएन भने आकुुल व्याकुल हुन थालिसकेको रहेछु । अनि के भुत्राको सफल अवतरण ? उताबाट टेलिफोन आउन ढिलो भए म आफैं फोन गर्न थालेको रहेछु । मलाई विश्वास भइरहन्थ्यो र वास्तवमा सही पनि थियो– उसले मलाई कुनै पनि बेला फोन गरिरहन्छे । यसैले उसको फोन आएको सुइँको कसैले पायो भने मलाई फसाद पर्ला भनेर मैले बचाउका लागि कुनै कोसिस गर्नै पर्थ्यो । नत्र घरमा बबन्डर मच्चिन सक्थ्यो । राति बारबजेपछिका फोनहरूमा उसको आवाज साउतीको मात्र हुन्थ्यो । यसबाट मलाई अनुमान हुन्थ्यो सम्भवतः ऊ कसैसँग सुतिसकेकी छे छेउछाउमा सुतेकाहरूले थाहा पाउलान् भनेर साउतीमा कुरा गर्थी । लामो सास फेर्थी । अँअँ मात्र गर्थी । मिस कलको ओइरो लाग्थ्यो । रातभरि नसुतेको कुरा बिहान सन्देशबाट थाहा पाइन्थ्यो ।” कथाकारले पनि लामै सास फेरे । आफैं पनि ता उति सुत्ता रहेनछन् नि !

“अब तपाईंलाई समस्या छैन भने खुलेरै भने पनि भयो नि । आखिर तपार्इंको म मित्र नै परें ! अवतरण पनि भइहालेछ !” म पनि उनको कथालाई निकै चाख मानेर सुनिरहेको थिएँ । आधुनिक युगले ल्याएका कुराहरूले भुराभुरी मात्र बिग्रन्छन् भन्थे कहाँ भुराभुरी मात्र हो रहेछ र भन्ने पनि सोच्तै थिएँ । उता कथाकार मनको भारी बिसाउँदै गए–

“अनन्त सन्देशमध्ये एउटा सन्देश आयो एक दिन । सन्देशमा उसले भनेकी थिई–“अमर मेरो राजा आइलभ यु । मलाई कहिले लिन आउने हो ? नआए म बाँच्न सक्ने अवस्थामा छैन । कसरी हो मेरो राजा हजुरले मलाई बचाउनु पर्यो । बुटौलमा आउँछु हजुरले पनि त्यहीं आउनू । चारै ओटा छोराछोरीलाई छाडेर म हजुरको काखमा सुत्न आउँछु । मैले क्रिस्चियन धर्म लिएकी थिएँ, त्यो पनि छोडें । अर्काको धर्म के लिनु !”

“ए तपाईंका लागि धर्म पनि छोडिछे उसले हो कि । तपाईंले धर्म परिवर्तन गर भनेर भन्नुभएको ता थिएन ?” सोधें ।

“तँ क्रिस्चियन, म हिन्दू हामी दुईको धर्म मिल्दैन भनेर एक दिन भनेकोसम्म थिएँ । तर धर्म फेर भनेर भनेको चाहिं थिइनँ ।” उनले भने । साथै प्रसङ्गमै अघि जाँदै भने–“अब मलाई पर्यो फसाद ! कताबाट मैले उसलाई लिन जानू ? ऊ मेरी को हो र लिन जानु ? उसको म को हुँ र लिन जानु ? तर यता कुरा अर्को पनि यथार्थ नै थियो । हो, यत्रो चार पाँच महिनासम्मको फोनबाट भएको मायाप्रेममा मैले कुनै दुर्घटनाको कारण बन्नु पनि ता हुन्नथ्यो नि । यस कुराको कसरी मैले अन्त गर्ने होला ? यस कुरामा म कसरी फसेछु हँ ? के दिनमा मैले यसरी फोन गरें हँ । मनभरि कुरै कुराको बबन्डर चथ्ल्यो । अनि अब फसाद पर्ला भनेर दिउसो भरि कसै गरेर फोन बन्द गर्दथें । मन मानोस् त मरिजानु । फोन अन गरुँ कि ? फोन अन गरेर हेर्नु पो पर्यो त्यसको सन्देश केही आएको छ कि भन्ने लागिरहने । मन थाम्न सक्तिनथें । अनि फोन खोलेर हेर्दथें । फोनमा ता अनेकौं सन्देशका लहर पो लागेका हुन्छन् ।

“अँ है अँ । भन्नुहोस् न त सन्देशहरूको सार ।” मैले बिचैमा उनलाई फेरि सोधें । उनी भन्दै गए–

“एकपछि अर्को गर्दै एसएमएस पढ्थें । कुनैमा लेखिएको हुन्थ्यो–

‘अधर्मी पापी हिजडा । किन फोन बन्द गरेको ?’

‘मलाई लिन नआउनी हो भनी भोलि म पत्रपत्रिकाहरूमा अमरले मलाई पाँच महिनाको पेट बोकाएको छ, (दुई दिन अघिचाहिँ राति नै मिन्स भएर पेट दुखिरहेको छ भनेकी थिई) अनि मलाई छाडेर गयो भनेर छपाइदिन्छु अनि खाउला खुदो । तिम्रो जागिर पनि जाला नि ।’

‘म आतुर भइसकें । मलाई नलानी हो भनी तपाईंको परिचय र नम्बर पुलिसलाई दिन्छु । मलाई भुँडी बोकायो भनिदिन्छु । अनि ठिक पार्ला ।’

‘ठुली छोरी दिदीलाई जिम्मा दिएँ, साना सबैलाई उनीहरूका हजुरबाहरूले हेर्छन् । भगवान पशुपतिनाथको कसम मलाई अब तिमी बाहेक अरु कोही चाहिन्न । मलाई लिन बुटौल बसस्टपमा आऊ है । आएर फोन गर है ।’

“ए, लौ है । तपाईंले पढेका सन्देशहरूले ता उसको र तपाईंको फोनमा भएको प्रेम ता पल्लै छेउमा पुगेको देखाउँछ त ! यस्तो अवस्थामा कुनै महिलालाई पुर्याउनमा तपार्इंको पनि जिम्मेवारी देखिन्छ है ।” मैले भने ।

मेरो कुराको वास्तै नगरी उनी भन्दै गए–“यस्ता धेरै सन्देशहरू थिए । मलाई कस्तो कस्तो लागिरहेको थियो । बरु अब यसै भएन उसै भएन । यसलाई कुनै बहाना पारेर भेट्नै पो जाऊँ कि भन्ने मैले पनि एक मनले सोचें । अहँ, हुन्न, तेरो इज्जत, तेरो परिवार, तेरो समाज र तेरो अवस्थाले तँलाई यो सब हुन दिँदैन साथी, भन्दै मेरो अर्को मन मेरा अघि उभियो चोर औंलो ठड्याएर । म आफैं हिस्रिक्क परें । पहिलो मनले गरेको इच्छामाथि दोस्रा मनले तुषारो खन्याइदियो । म रनभुल्लमा परें !”

“आँट गरेको भए हुने नि !” मैले बिचैमा भनें । फेरि पनि मेरा कुरा नसुनी उनी धाराप्रबाह रुपमा भन्दै गए बिचरालाई कतिखेर मनको भारी बिसाऊँ भएको रहेछ ।

“त्यसरी सोच्तासोच्तै मेरा अघिल्तिर समाज उभियो । स्वास्नी उभिई, छोराछोरी उभिए, इष्टमित्र र इज्जत पनि उभियो । अनि म हल्ल न चल्ल भएँ । मेरो त्यो सोचाइका बेला उसको फोनै आयो । घरमा अनुकूल थिएन । फोन उठाउन मिलेन । अनि मैले काटिदिएँ । केही छिनपछि एउटा सन्देश आयो । “अब तिमी मलाई लिन नआउनी हो भनी आत्महत्ते गरेर मोर्छु । तेसको पाप तिमीलाई लाग्छ । तिमी लाछी नै रैछौ । एउटी आइमाई सम्पूर्ण कुरा छाडेर ज्यान दिन तयार छे तिमी भनी यस्तो पानी मरुवा ! छि छि !!”

मैले यसमा कुनै प्रतिक्रिया जनाइँन । साँच्चै नै पानी मरुवा नै भएको अनुभूति भयो मलाई । त्यसपछि ता उसले झन् आक्रोशित हुँदै सन्देशहरू प्रेसित गरिरही । सन्देश मेटाइरहें. । कति हो कति कुनै हिसाबै भएन । लामा लामा सन्देशहरूको ओइरो लागिरह्यो । मलाई पढ्ने फुर्सुद पनि हुन छाड्यो । अचानक केही दिनपछि एसएमएसहरूको ओइरो लाग्न छाड्यो । फोन पनि बन्द हुन थाल्यो । तीन दिनसम्म उसको फोन नै अफ भयो । यसबाट मलाई भने निकै समस्या भयो । एक मन ता अब यसबाट मुक्ति पाइएछ भन्ने पनि भयो तर मनले मानेको पनि थिएन । दुई तीन दिनपछि बल्ल उसको फोन आयो । उसले सारा बन्दोबस्त मिलाउन लागेकिरहिछे । यसैले उसको फोन आएनछ । यस बिचमा उसले सारा कुराको बन्दोस्त मिलाउनका लागि गाउँ गएकिरहिछे । छोराछोरी जिम्मा लगाउन गाउँतिर जानु परेछ अचानक । गाउँमा नेटवर्क नभएको कारणले उसले मलाई खबर गर्न भ्याइनछे । यी सबै कुराहरू उसले एकैछिनमा लेखेर पठाई । अनि फोन पनि गरी । मलाई पनि उसको आवाज कहिले सुनूँ भएको रहेछ, त्यसैले उससँग खुलेर कुरा गरें । तर उसलाई लिन भने मौकामा मात्र आउने भनेर ढाँटढुट गरें, तर उसले तीन दिनको म्याद दिई । तीन दिनभित्र उसलाई मैले नल्याए उसले अर्कै बाटो रोज्ने र नयाँ कुनै केटा खोजेर उसैसँग जाने कुरा पनि उसले मेरा सामु स्पष्ट रुपमा राखी । होला तानि । मैले पनि उति वास्ता गरिनँ ।

रातभरि म्यासेज आइरहे । एउटा म्यासेजमा भने उसले पुरुषेन्द्रिएको हदैसम्मको खाँचो परेको लेखी । हेरेर मलाई पनि रमाइलो नै लाग्यो । चारचार ओटा छोराछोरीकी आमा तिमी के भएकी हँ भनेर मैले पनि लेखिटोपलें । उसले फेरि अलिक शिष्ट भाषामा सानो सन्देश लेखी–“हजुर मलाई ता हजुरको …….कतिखेर पाऊँ भनेर सासै जान लागेयो । कालु । के भनौं म । म डणिसकें । या डणे !”

भोलिपल्ट भने बेलुका मात्र एक सन्देश आयो त्यसपछि मलाई पिण्ड छुटेको छ अहिलेसम्म । हेरौं यसलाई नै म यस प्रकरणको पटाक्षेप भन्छु । त्यो पनि सुन्छौ ?” उनले सोधे ।

“सुन्छु, सुन्छु । भन्नुहोस् न त । तपाईंलाई पनि कथा भनेपछि मन केही भए पनि हलुको हुने । अनि मलाई पनि तपाईंको वृद्धकालीन रोमान्टिक कथा सुनेर मजा आउँने” मैले भने ।

अनि उनले अहिलेसम्मको अन्तिम भनेर आफ्नो मोबायलको इनबक्स खोलेर मलाई ‘लौ सुन’ भन्दै सन्देश पढे– “कालु, म आफूलाई समालन सकिनँ । बारह पणेको केटा २५ वर्षको केटासँग विवाहा गरें । मन्दिरमा गएर सिँदुर भरें । अब आजदेखि मेस र मिस नगर्नु है सानु । मैले भनेको मान्नु है कालु । बाइ । म तिमीलाई एउटा प्यारो मुटुको रुपमा मुटुमा सजाउँछु । छोरा छोरीलाई पनि छाडें । कालु बाध्धेताले यो भयो । मैले मेरो योनलाई थाम्न सकिनँ । मैले हजुरलाई पैले पनि भनेकी थिएँ । तपाईंले आँट गर्न नै सक्नु भएन । कालु मैले बिहे गरें साँच्चै हो कालु । भगवान पशुपतिनाथको कसम, तिम्रो कसम, मेरा चारैओटा छोराछोरीको कसम । साँचै हो कालु बाइ ।”

“यो सन्देश कहिलेको हो ?” उनले सन्देश पढिसकेपछि मैले सोधें ।

‘डिसेम्बर ३ तारिख दिउसो २ बजेर ३१ मिनेटमा आएको रहेछ’ भनेर उनले भने ।

“त्यसपछि सन्देश आएको छन् कि छैनन् ?”

“अँहँ, सन्देश पनि छैन । कुरा पनि छैनन् । फोन पनि बन्द छ ।” उनले एकैचोटि मैले नसोधेकै धेरै कुराको जवाफ दिए ।

“उसो भए अब लगभग कथाको पटाक्षेप भएको बुझें मैले । तपाईंलाई अब कस्तो छ ? उसको फोन आए हुन्थ्यो भन्ने छ कि छैन ?” सोधें ।

“अब चेत बाबा काशी भएको छु । अज्ञात नम्बरबाट फोन आयो भने उठाउन नै छाडेको छु । श्रीमतीलाई दिन्छु उठाउन ।”

“स्यावास । अब बुद्धि पुर्याउनुभएछ । मलाई ता कथाको पटाक्षेप भएकै जस्तो लाग्यो । यो रोग हो फेरि बल्झेला नि । होस गर्नुहोला ।”

“हो रहेछ साथी । भुराभुरी मात्र बिग्रन थाले भन्थें म आफैं । होइन रहेछ । हामीलाई पनि यसले फसादै पार्ने रहेछ । म नै झन्डै बिग्रिएको । तपार्इंलाई सुनाएपछि मलाई बल्ल हलुका भयो ।”

“अब पनि यसबारे सुनिदिनु पर्ने कुरा केही छन् ? हलुका हुन केही बाँकी छ ?”

“छैन मित्र ।”

“उसो भए यो कथाको अवतरण भएकै मानौं ?”

“मान्दा पनि भयो क्यारे ।”

“तर हेर्नुहोस् यता तपार्इंको मनबाट ता केही तुस हटेको छ र अवतरणै पनि भयो भनौं, तर उतातिरको के भयो थाहा छैन । यसैले उता राम्रोसँग अवतरण नभएको भए तपाईंलाई फेरि फोन र सन्देशहरू आउन सक्लान् होस पुर्याउनु होला ।” मैले सतर्क गराउँदै उनलाई भनें ।

“चेत बाबा काशी…..!!” भन्दै उनले आफ्ना दुवै कान समाए । अनि मैले उनका कथा सुनिदिएर उनको मनोवैज्ञानिक उपचार र अवतरण पनि भएको ठाने । धर्म थामिरहे भने निको होलान् भन्ने लाग्यो ।

First published: 2014-11-07 20:52:51 +0545

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *