Skip to content

के नेपाल सानो छ पद्यानुवाद – ०१


‘नेपाल’ शब्दका साथ विशाल शान्त सुन्दर,
कुनै बेला म आफैंले लेखेंथे छ मनोहर ।

कसरी कसरी आयो यस्तो भाव म जान्दिनँ
त्यो विशेषणको शब्द किन लेखें म भन्दिनँ ।

के भनौं म यहाँ ऐले यसमा के छ साधना
मेरै नेपालका लागि आयो त्यो किन भावना ?

यो भूमण्डलको नक्सा पल्टाएर नियालिए
एक बिन्दु भनेजस्तो लाग्छ यो परिमाणमा ।
त्यहाँ देखिन्छ यो देश कण झैं एक बिन्दुमा
हराएसरी झंै लाग्छ थोपो सागर सिन्धुमा ।

कसैले यसको नाम सुनेका हुन सक्तछन्
नसुन्ने यसको नाम धेरै नै हुन सक्तछन् ।

शान्तिका राजको धानी, हरियो धर्तीको कण
सानो छ तर प्यारो छ खिचिन्छ यसमै मन ।

बढेर गर्न सर्वाङ्ग चाहँदैन प्रदर्शन
यो देखाउनमा भन्दा लुक्नमा रुचि राख्तछ ।

घम्साघम्सी र घच्चाले ढाकेको दुनियाँसँग
काढेर पसिना हिस्सा खोज्दैन यो कसैसँग ।

एकान्त शान्त यो देश शान्तिमा अलमस्त छ
समाधिस्थ हुने योगी यसैमा आई बस्तछ ।

ध्यानमा ज्ञानगङ्गामा अथवा हिमशैलमा
देश यो हुन्छ आह्लाद आफ्नो आफ्नै तरङ्गमा ।
नयाँ सिर्जनमा आस्था राखे तापनि देश यो
हाम्रो प्राचीन आस्थाको हाम्रै देश पुजारी हो ।

हिजैको सपना देख्छ ताजा स्वर्ण प्रभातको
आजका युगमा खेली लुकामारी गरे पनि ।

भन्लान् यो देश सानो छ, सानो छ तर स्वर्ग छ
हेर्दा अल्प छ यो देश हाम्रै आँखा समान छ ।

यहाँ जन्मनु हो पुण्य, कुरा हो अझ गर्वको
मुटुकै केन्द्र हो मानौं हाम्रा भारतवर्षको ।

महत्ता यसको बुझ्ने छैनन् भन्न म सक्तिनँ
तथापि यसको मर्म बुझ्लान् भन्न म सक्तिनँ ।

पर्वतस्तनका भित्र यसको गहिराइ छ,
पार्वतीको क्रीडा क्षेत्र थियो भन्ने भनाइ छ ।

ममा शङ्कोच यो छैन आफ्नो सत्य म जान्दछु ।
आफ्नो आकारमा सानो मेरो देश छ मान्दछु ।

साना हुन्छन् हीरा मोती, सानो हुन्छ अझै मणि
सानैमा प्रिय मानिन्छ मिष्टभाषी कुनै शिशु ।

आँखाको नानी झन् हुन्छ सानो सानै भए पनि
त्यो अमूल्य अझै हुन्छ अझै सानो भए पनि ।

सानोको गणना भित्र मान्छेको मुटु पर्दछ
त्यसैको केन्द्रको झल्का सानोमा अझ पर्दछ ।

सानोको के कुरा गर्ने सानो आफैं अनन्त हो
सानो ठान्नु ठूलो ठान्नु सोचकै परिणाम हो ।
त्यसैले म यसैभित्र अनन्ताकार देख्तछु
शान्त सुन्दरको देश ठानेर अझ लेख्तछु ।

पृथ्वीका शिरको बिन्दु परमानन्दको छटा
यो हो ओंकारको बिन्दु अथवा शिवको जटा ।

सानो भन्ने कुरा के हो अनि के हो ठुलो कुरा ?
मात्रै यो भ्रम हो हाम्रो सानो ठूलो हुने कुरा ।

यहाँ ताराहरुलाई ठूला हुन्छन् भनूँ भने
लाग्छन् जूनकीरी जस्ता व्योमका गहिराइमा ।

सूक्ष्मदर्शी लगाएर हेरेमा बालुवा कण
देखिन्छ त्यसको रुप अपूर्व र अजङ्गम ।

नयाँ विज्ञानले आज पारेको छ झिलीमिली
त्यसका जादूमा मान्छे स्वप्न देख्तछ झल्छली ।

सानो भन्नु ठूलो भन्नु दृष्टिको भेद मात्र हो ।
एक भौतिक हो त्यस्तै अर्को अध्यात्म ज्ञान हो ।

कसैले चीनका साथ यसको तुलना गरी
देश यो सानु हो भन्दा हाँसो उठ्छ मलाई ता ।

त्यस्ता क्षुद्र कुरा भित्र महत्ता कति हुन्छ र ?
मान्छे भन्दा ठूलो हात्ती हुन्छ भन्नु बराबर ।

कुनै खेत ठूलो हुन्छ माटाका परिमाणले
यस्तो भन्नु वृथा हुन्छ यस्तो मान्न म सक्तिनँ ।

ठूलो ता गुणले हुन्छ अथवा परिणामले
उब्जनी आदि पो हुन्छन् माटो जाँच्ने नयाँ कसी ।

बाहिरी रुप वा छाँट हेरी अन्तर तौलने–
मान्छेको धर्म के भन्ने त्यस्ता हुन् डेढ अक्कली ।
सङ्ग्रहालयका सारा किरो झैं भई पुस्तक
पढेथ्यो एक खैरेले एकएक गरी कन

रचनाकार – महाकवि देवकोटा,
पद्यबद्धता – होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *