केही वर्षदेखि चटपटे व्यवसाय गरेर मेरो घरमा भाडा गरी लखनदेव बसेको छ । मलाई पनि भरअभर यो मान्छे काम लाग्छ । तरकारी पकाउन अल्छी लागेको दिन उसको चटपटेले तरकारीको छाक टार्ने गरेको छु । कहिलेकाहीं ता “मालिक रोटी भि यहीं खाइलिऊँ” भनेर रोटी नै खुवाउँछ । बडो मिजासिलो छ । ऊ बिहान अँध्यारैदेखि आलु उसिन्छ, खोर्सानीको भुजुरी तयार गर्छ, चना भुट्छ, टमाटर पखाल्छ, अरु केके तयारी गर्छ । अनि बिहानैदेखि लाग्छ बजारतिर आफ्नो व्यवसायमा । बेलुकासम्म पनि त्यो घर आउँदैन । रात पर्न लाग्दा मात्र बल्ल ऊ आउँछ र त्यस दिनको आमदानी गन्न थाल्छ । मलाई घरमा खुजुरा पैसाको अभाव यसबाट कैले पनि हुन पाएको छैन । यसका साथ मजासँग भारु भने भारु नेरु भने नेरु साट्न पाउँछु । एक पटक ता उसले कतिको हो डलरको नोट पनि ल्याएको थियो । यो सटहीको कारोबारमा पनि उसलाई अब चाख बसेको जस्तो थियो । मानौं यो मेरा लागि एउटा सटही काउन्टर पनि हो । त्यसको चटपटे बेपार फस्टाएको छ भन्ने कुरा उसले दिनभरिको बेपारबाट आएको आमदानी दुईहजारदेखि पच्चिस सयसम्मको कमाइ गरेको कुरा बुझेपछि मलाई थाहा भएको छ । ऊ नलुकाई भन्छ– ‘मालिक पढेन हामीले ता, यसैसे गुजारा कर्नु परेको छ ।’
उसले छोरो पनि लिएर आएको छ यसपालि । उसको छोरो अलिक पढेलेखेको र चलाख बुझेको छु । त्यसले बाबुको बेपारभन्दा बेग्लै जुक्ति झिकेर बेपार गर्न थालेको छ । बाबुकै बेपारमा घरमा भएको बेला सधाउँछ पनि । आलु ताछ्तुछ पार्छ, लसुन छोडाउँछ, प्याज काटिदिन्छ । तर उसले यस उद्योगमा उति चित्त बुझाएको छैन । उसले ता एउटा नयाँ उद्योग नै खोल्ने सुर कसेको छ । छोरो बडो चलाख भएकाले निकै चाँडो प्रगति गर्ला भन्ने मैले ठानेको छु ।
चटपटे बेपारी लखनदेवका छोरोको नाम रामजनम हो । उसले हातमा तन्ना, खास्टो, झोलाहरू लिएर टोलटोल हिंड्ने डुलुवा बेपारमा हात हालेको छ । म आफ्नै घरभित्रबाट चलेको लखनदेवको यो बेपारको बारेमा राम्रो जानकार छु । तर उसको आमदानीको हिसाबकिताबका बारेमा भने मलाई उति जानकारी छैन । छोरोचाहिँ अलिक गोप्य व्यवहार गर्ने प्रकृतिको छ भन्ने बुझेको छु ।
“अङ्कल, अब यो घर सिङ्गै बाहालमा लाउनुहुन्छ ?” एकदिन अचानक लखनदेवको छोरोले मलाई मेरो घर सिङ्गै बहालमा लगाउनेबारे सोध्यो । यो त्यही लखनदेवको छोरो रामजनम हो जो छ सात महिना अघि जति मात्र तराईतिरबाट आएर हातमा झोला, बर्की, च्यादर, खास्टोहरू बोकेर दिउसो भरि रत्नपार्कतिर, असन र इन्द्रचोकतिर डुल्दथ्यो ।
“हँ, के कुरा गरेको ? किन चाहियो घर ?, कसलाई चाहियो यो सिङ्गो घर ?” मैले उसलाई सोधें एकैबाजि । “अनि मैले चाइँ के पाटीको बास बस्ने ?”
मेरोमा बसेको यस केटाले यसपालिदेखि मेरो घरमा उद्योग नै खोल्ने विचार गरेछ । मसँग सिङ्गै उसले घर भाडामा माग्दैछ कि कसो मैले आफैंभित्र सोचें ।
‘किन चाहियो तिमीलाई पूरै घर ?’ मैले फेरि सोधें ।
‘उद्योग खोल्नु पर्यो साहूजी ।’ उसले सहज रुपमा भन्यो ।
‘के उद्योग खोल्न लाग्यौ त मेरो सिङ्गो घर लिएर ? फेरि म कता बस्ने पूरै घर बहालमा लाएपछि ?’ मैले उसलाई फेरि सोधें । उसले मेरा घरमा खास्टो उद्योग खोल्ने इच्छा गर्यो । उससँग मैले खास्टो उद्योग खोल्ने कुराबारे अँझै रामरी बुझ्ने विचार गरेर सोधें । उसले निकै राम्रो युक्तिका साथ मलाई खास्टो उद्योग खोल्न आवश्यक भएको कुरा सुनायो । उसले हातमा बोकेर हिंड्ने खास्टोको बेपार राम्रो गरी चल्ने देखेर उद्योग खोल्न खोजेको रहेछ । मलाई पनि देशमा उद्योगधन्दा खोलिनु राम्रै कुरा लागेर आयो । उसले आजभोलि दिनदिनै खास्टो, फेटा र खादाको बेपार उर्लिएर गएको र खास्टो ता एकै दिनमा निकै राम्रो गरी बिक्री हुने कुरा गर्यो ।
‘ए बाबाहो, यो जाडोको याम ता होइन अनि कसरी खास्टोको उद्योग चल्छ त अहिले ?’ भनेर मैले उसलाई सोधेको उसले बडो राम्रो कुरा सुनायो ।
उसका अनुसार वास्तवमा अहिले नेपालमा खास्टो बेपार निकै चल्तीको बेपार हो । कसैले कसैलाई केही नगरीकन पनि खास्टो ओढाउने चलन बढेर गएको छ । ओल्लो टोलकाले पल्लो टोलकालाई ओल्लो घरकाले पल्ला घरेलाई माथिल्ला घरेले तल्लो घरेलाई खास्टो ओढायो, बस सम्मान परस्परमा खास्टो आदानप्रदानको कार्यक्रम गर्ने गर्यो । घरघरमा खुलेका टेलिभिजनका बोपरीलाई बोलायो । अनि साँझमा पर्दामा आफूले खास्टो ओेढेको र ओढाएको खबर जुँगामा ताउ लाउँदै हेर्यो । यो काम अहिले नेपालमा निकै राम्रो गरी चलेको छ भन्ने कुरा उसले बतायो । अनि यही उद्योग खोल्नु पर्ने उसले सल्लाह दियो ।
उसले गाउँगाउँमा र टोलटोलमा खास्टो खादा र च्यादरको माग औधी बढेकोले यस उद्योगबाट राम्रो उपार्जन हुने जनाएपछि मैले पनि कुरा ता ठिकै हो भन्ने ठानेर उसलाई मेरो पुरानो घरको तल्लो तलामा मात्र भए पनि उसको त्यो उद्योग खोल्ने सुविधा दिने भएँ । म माथिल्लो तलामा सपरिवार बस्ने भएँ । नभन्दै उसले कुन जुक्ति पुर्याएर हो, उद्योग खोलेरै छाड्यो । मेरा घरैको छिमेकमा उसले एउटा अर्को कोठो भाडामा लियो अनि त्यहाँ खास्टो गोदाम खोल्यो ।
ग्राहकको घुइँचो छ अहिले यो रामजनमको कोठामा । मलाई दिक्क लाग्न थालेको छ । कहिले मान्छेहरूको भीड कम होला र आराम गरौंला भनेर म पर्खिन्छु । यसलाई बिथ्थामा कोठो भाडामा दिएँछु भन्ने पनि लाग्न थालेको छ । राती, बिहान, दिउसो सधैं भीड छ । कतै सम्मानका लागि, कतै पुरस्कारका लागि, कतै उपहारका लागि खास्टो किन्न आउनेको भीड छ मेरो घरको रामजनमको दोकानमा । उसले आफूले नभ्याएर एउटा मुनिम पनि राखेको छ । पल्लो कोठामा तान हालेको छ । केही महिलाहरू तानमा काम गर्दै गरेको देखिन्छ । सबै व्यस्त, सबै काममा लागिरहेका ।
‘ए साहूजी, मलाई अलिक क्वालिटी भएको खास्टो चाहियो, तपाईंकोमा छ ? आज सत्र जनालाई ओढाउनु छ । पुग्छ के ?” कुनै ग्राहक सोध्दै हुन्छन् ।
‘ए साहूजी, खास्टो, खादा, अबिर, अगरबत्तीहरू समेत एकै ठाउँमा पाइने उपाय गर्नु पर्यो । उता पारिबाट सयपत्रीको माला पनि मगाउनुहोस् । हामीलाई दिनदिनै यी सबै कुरा चाहिने भएको छ ।” अर्को भन्दै हुन्छ ।
‘ए साहूजी, तपार्ईको थोक विक्रेता बन्ने बिचार छ । दिनुहुन्छ ?’ अर्को सोध्दै हुन्छ । यो सबै सुनेपछि मलाई लाग्न थालेको छ, नेपालमा अहिले खादा, खास्टो र फूलमाला, अबिरहरूको बेपार बढेर गएको बुझिन थालेको छ । वास्तवमा अहिले नेपालमा खास्टोको व्यापार र त्यसको प्रयोग धुमधाम बढेर गएको छ । यो रामजनमले मौकैमा यस बेपारमा हात हालेको छ । बाठो छ यो मान्छे । म सोचिरहेको हुन्छु । उहिले हाम्रा पालामा यसको चलन नै थिएन । कहाँबाट यो खास्टो, मजेत्रो, खादा, माला, अबिरको चलन आयो म छक्क परिरहेको हुन्छु ।
“भने जति माल दिनसम्म पनि नसक्ने भए के खास्टो बेपार गर्नुहुन्छ ?” अलिक ठुलो ग्राहक रामजनमका साथ रिसाउँदै हुन्छ । म सुनिरहेको हुन्छु । तर ऊ बडो बुद्धिमानीका साथ उत्तर दिइरहेको हुन्छ । ग्राहकलाई फस्र्याइरहेको हुन्छ ।
घरका एक्लै भएका बेला अचानक निकै खाइलाग्दा चारपाँच जना युवकहरू मेरो घरमा पसे । म अलिक झसङ्ग भएर झस्किएँ ।
एउटाले भन्यो “के खास्टोको उद्योग खोल्नुभएको हो ?”
मलाई भने मनभरि डर पलायो । एक्लै छु । मार्लान् कि ? पक्कै पनि यिनले मलाई अब बाँकी छाड्दैनन् । मलाई लाग्यो । चन्दाआतङ्कको लहर चलेका बेला यी पनि चन्दाकै लागि आएका हुन् कि भन्नेमा मलाई अलिकति लाग्यो ।
‘मेरो उद्योग होइन, रामजनमको ।’ हतार हतार भनिदिएँ ।
‘तपाईंको जन्म, विवाह, बाल्यकाल, छोराछोरी, राजनीतिक विचारहरूका बारेमा हामीलाई जानकरी दिनुपर्यो ।” एउटा झ्याम्लेले मलाई भन्यो । अब ता मेरो हंसले ठाउँ नै छोड्यो ।
‘अनि किन होला ?’ मैले डराई डराई सोधें ।
“तपाईंको सम्मान गर्नुपर्ने भा छ । हाम्रो पार्टीले तपाईंको सम्मान गर्ने निर्णय गरेको हुँदा त्यसका लागि तपाईंलाई निम्तो पनि दिऊँ तपाईंको बायो डाटा पनि लिऊँ भनेर आएका ।” अर्को झ्याम्लेले यसो भनेपछि मलाई डर अलिकति भाग्यो ।
‘अनि मैले त्यस्तो के सम्मान गर्नुपर्ने कुरा गरेको छु र भाइ ?” भनिटोपलें डराईडराई ।
“त्यो कुरा पार्टीले जान्ने कुरा हो । तपाईंलाई उछिनेर कुनै अर्का पार्टीले सम्मान गर्ला भनेर अलिक हतारहतार गर्नु परेकोले उति राम्रो ता नहोला । तपार्इं जस्ता अरु ५७ जनालाई सम्मान गर्नु परेको छ यो लटमा । तैपनि राम्रो हुन्छ, आत्तिनु पर्दैन । तपार्इंको हामी राम्रो गरी सम्मान गर्छौं डराउनु पर्दैन । बरु खास्टोको बेपार तपार्इंकैमा हुँदो रैछ । कस्तो खास्टो ओढाऊँ ? तपाईंलाई चैं रोज्जा भो रोज्नुहोस्।” अर्को मुन्द्रेले मलाई मुख बटार्दै भन्यो ।
“भैगो भाइ, तिमीहरूकै खुसी, जस्तो ओढाउँछौ ओढाओ” भन्दै मैले आप्mनो बायो डाटा समेत दिएर तिनलाई बिदा गरें अनि अलिक हलुका भएको बोध गरें । अब डर अलिक भागेको थियो ।
यसरी चलेको रहेछ खास्टो बेपार अनि किन रामजनमले खास्टो उद्योग नखोलोस् त । मैले मनमन सोचें । अनि गम्न थालें— ‘मुन्द्रे हुन् कि छुन्द्रे हुन् नि ! आखिर मेरो पनि सम्मान ता हुने भो नि अब ।” पूजा गर्न मन्दिर गएकी बूढी कहिले घर फर्केली र मनका कुरा भनौंला भनेर दङ्ग परिरहें । तेरा बाजेलाई याँ सम्मान गर्ने भइसके, पूजा गर्ने भइसके अब के तँ मन्दिरको पूजा गर्न तम्सन्छेस् हाउ । बरु मेरै पूजा गर् न” भनेर जिस्कूँभन्दा भन्दै बडो अधैर्यका साथ सम्मान गरेको दिन बेलुका टेलिभिजनमा मेरो पनि चित्र देखिने कुरा पर्खेर बस्न थालें । सोचेर मनमनै बडो प्रसन्नता पनि जागेर आयो । अर्कातिर मनको कुरा भन्न नपाएर कहिले आउली बूढी भनेर उसको आउने समयको प्रतीक्षामा म आतुर भइरहें ।
