निन्दा गर्नेहरु त्यस्ता हाँस्लान् मेरा विचारमा
तथापि म सधैं बस्छु दृढ मेरै विचारमा ।।
यस्ता बोक्रेहरुदेखि दया लाग्छ मलाई ता
बिचराहरुमा कस्तो बुद्धिको छ दरिद्रता ।।
अध्यात्म ज्ञानको गंगा यसैबाट छ उद्भव
सारा संसारकै लागि यै हो पोषक वैभव ।।
अरुले देशको ताज शिरमाथि चढाउलान्
हामी ता देशको ताज मुटुभित्रै सजाउँछौं ।।
जे छ जस्तो छ नेपाल आँखाकै नानी ठान्छु म
अर्काका देशको गान सपना सरी मान्छु म ।।
तारामण्डलकै अर्द्धगोलाको भित्र बाहिर
अर्को के दुनियाँ होला भन्लान् केही अबुझले ।।
साँच्चैको यो कुरा ठान्छन् साधारण मनुष्यले
आफूमाथि जति देख्छन् त्यत्ति नै पूर्ण मान्दछन् ।।
तिनले जे कुरा देख्छन् त्यसैमा पूर्ण ठान्दछन्
अनन्ताकाशको अंश मात्रै हो भनी के बुझुन् ?
जे जान्यो जे बुझ्यो जस्ले उसको त्यही पूर्ण हो
उस्लाई अरु के खाँचो पूर्णात् पूर्णमिदम् जगत् ।।
मलाई छैन क्यै खाँचो बाहिरी विश्व बुझ्नमा
बुझ्दैमा पनि त्यो विश्व लाभ के पाउनू छ र ?
अनन्त विश्व देख्नेका आँखाले हेर्नु हो भने
विशाल सूर्यको गोला कनिका सरी लाग्दछ ।।
तर यो पृथिवी वासी हामी मान्छौं सरासर
तिनै ईश्वर हुन् हाम्रा तिनै हुन् जगदीश्वर ।।
हाम्रो अज्ञानको कालो सूर्यले नास गर्दछन्
हाम्रो जीवनका दाता तिनै हुन् ज्ञान छर्दछन् ।
आगाको गोल हो सूर्य कसैको यै प्रचार छ
सूर्य हुन् देवता हाम्रा हाम्रो यस्तै विचार छ ।।
छैन जिन्दगीको अर्थ अर्कोको देशमा बसी
जिन्दगी गर्विलो हुन्छ आफ्नै देश पसेपछि ।।
चलचित्र सरी हुन्छ अर्काको देशको रङ
कुनै नाटक झैं लाग्छ अथवा लाग्छ त्यो भ्रम ।।
विदेश स्वर्ग जस्तै होस् स्वप्न संसार मात्र हो
जहाँ जन्म्यो जहाँ हुर्क्र्यो त्यही नै देश स्वर्ग हो ।।
देशप्रेमीहरु भित्र साँगुरो पन देख्तछन्
त्यहाँ वाक्क हुँदै कोही बेर्थैमा केही लेख्तछन् ।।
रवीन्द्रनाथको देखासेखी गर्ने कठैबरा,
सिकारु केही लेखन्ते भुल्दछन् विश्वप्रेम यो—
तिनमा देशको प्रेम तिनैभित्रै टुसाउँछ
पछि मात्र तिनै भित्र विश्वप्रेम सुसाउँछ ।।
एकातर्फ यी चाहन्छन् विश्वप्रेम खुलाउँन
भुल्दछन् यी उता अर्का तर्फ त्यो विश्वप्रेम ता—
स्वदेशैभित्र जन्मन्छ झाँगिदै अघि बढ्दछ
निजी संस्कृतिका साथै भाषाको बढ्छ इज्जत
सबै जाति सबै वर्ग जहाँ हुन्छ समुच्चय
मान्नुहोस् त्यहीं नै हुन्छ राष्ट्रप्रेम समुन्नत ।।
राष्ट्रको प्रेम सक्तैन गर्न जो विश्व प्रेम ता
त्यसले गर्न के सक्ला के बुझ्ला यो महानता ?
देशप्रेम नगर्नेले के गर्लान् विश्वप्रेम यो
ताती गर्न नसक्नेले त्यो ता कुद्नु समान भो ।।
देशभक्ति विना कोही विश्वप्रेम भयो भने
मान्नुहोस् त्यो बनेको हो बालुवा माथिको घर ।।
नेपाली पन छाडेर माथि माथि उड्यौं भने
विपनाको कुरै छाडौं सपना पनि बेर्थ भो ।।
कलाले सजिएको होस् आत्माको होस् प्रकाशन
कल्पना लोकका भाव पोखियून् शब्दशब्दमा ।।
त्यही नै हुन्छ साहित्य त्यसैमा हुन्छ भावना
कल्पना लोकको जादु त्यसैको गर्छु साधना ।।
सच्चा नेपाली जो छैन त्यस्ले के लेख्न सक्तछ ?
भित्री साहित्यको मर्म त्यस्ले के बुझ्न सक्तछ ?
ममा नेपालका लाखौं दृश्यका वस्तु झुल्छन्
मानौं जिवन्त भै मेरा काव्यभित्रै ती फुल्दछन् ।।
जे देखें जे बुझें मैले जे जाने ती सबै कुरा
आत्मानुभवमा ढाल्छु मेरो साहित्य बन्दछ ।।
अनेकौं भावका भुल्का सम्झनाको स्वरुपमा
कला कौशलको रङ्ग लिई हुन्छन् प्रकाशन ।।
लेख्ने ता कोही अर्कै छ म ता वारिस मात्र हुँ
खालि यो देशका लागि एक माध्यम पात्र हुँ ।।
मेरै मातृभूमि लेख्छिन् के नै पो लेख्न सक्छु म
म हुँ नेपालकै छोरो मात्र माध्यम बन्छु म ।।
जाति कल्याणका लागि अथवा विश्वसत्यको
नयाँ सम्बन्धको रुपरेखा कोर्न म लेख्तिनँ ।।
जोडले फेरि भन्दै छु म ता माध्यम मात्र हुँ
मुटुमा देशको भक्ति भाव बोक्ने म छात्र हुँ ।।
मेरै नेपाल हो लेख्ने आत्माभित्र बसी बसी
मेरै नेपाल हो बोल्ने वाणीभित्र पसी पसी ।।
यसो गर्नु त्यसो गर्नू भनी अर्जापिने कुरा
जे अरायो त्यही गर्ने म ता मात्र निमित्त हुँ ।।
यहाँका शब्दमा मानौं देश प्रेमी विचार छन्
मेरो भाव त्यहाँ छैन नेपालैका विचार छन् ।।
म हुँ नेपालको माटो हावा पानी बतास हुँ
यहीं जन्मे यहीं हुर्कें देशकै म त सास हुँ ।।
ममा जे आउँछन् भाव भावना वा तरङ्ग ती
आमा नेपालै हुन्छन् नाना भाव र सङ्गति ।
लेख्दा नेपाल नै लेख्छिन् बोल्नेमा पनि हुन् उनै
धारणा भाव वा सोच मेरा छैनन् यहाँ कुनै ।।
देखे जति सबै लेख्ने त्यो सामथ्र्य ममा कहाँ ?
आमा नेपाल नै लेख्छिन् म ता माध्यम हुँ यहाँ ।
जे लेखें जे बुझें मैले त्यस्को माध्यम मात्र हुँ
श्रव्यदृश्य सबै पोख्ने म ता साधन मात्र हुँ ।।
बटुली केही सामग्री जोहोसम्म गरें यहाँ
तिनैं सामग्रीका केही प्रभावै मात्र छन् यहाँ ।
तिनै वस्तुहरुद्वारा नौला नौला अनेकन
भावनाहरु उर्लन्छन् व्यक्त गर्नै म सक्तिनँ ।।
त्यस्ता अमृतका तत्व मभित्रै छङ्छगाउँछन्
नयाँ सन्देशका झिल्का आफूभित्रै पलाउँछन् ।
तिनै सन्दैश बोकेर सेवाको मार्गमा अब
अग्रगामी भई चल्छु सेवाको मार्गमा अब ।।
इति
सकियो अब । यो पालो माग्ने आयो क्षमा अब
हे महाकवि यो मेरो धृष्टता माथि माफ होस् ।
बीचैमा म हराएर भासिएँ भासिएँ भयो
सकिएन सबै झिक्न व्यर्थै थालेंछु झै भयो ।
पद्यमा बाँध्न सक्थें कि भन्ने सोच अघि थियो ।
धृष्टता गर्नु व्यर्थै हो भने झैं हुन पो गयो ।
जे थियो भावना तिम्रो लथालिङ्गै भयो यहाँ ।
कहाँ त्यो भावना तिम्रो मजस्तो क्षुद्रको कहाँ ?
नमन ।
होम सुवेदी २०७१ मार्ग १४ जन्मदिन
