मोबायलको सन्देशबाट उब्जेको रडाको


केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आफूले समेत घरमा मोबालय, टेलिभिजन आदिको जोहो गर्नै पर्यो । अचेल ता उनले कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्नु पर्ने भयो भने टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाहाड पर्वहरुमा मोबायलबाट आफ्ना साथीहरु, संस्थाहरू र इष्टमित्रहरुलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् । उनकोमा पनि त्यस्ता सन्देशहरू आउने गर्दछन् । उनलाई रमाइलै लाग्ने गरेको छ । तर…
तर यिनै छोटा सन्देशकै कारणबाट उनी पछिल्ला केही दिनदेखि निकै नै व्याकुल छन् । उनी अर्थात् समाजका एक सामान्य प्रतिष्ठित व्यक्ति रुपकमान । उनलाई लब्धप्रतिष्ठितै भने पनि हुन्छ । त्यसो नभने पनि हुन्छ । उनी कुनै प्रतिकृया देखाउँदैनन् । सामाजिक सेवा गर्छन्, साहित्य, कला र राजनीतिमा पनि अलिकति चासो राख्छन् । यसै कारण उनले निकै व्यस्त हुनु परेको छ । यस व्यस्तताको कारणले नै उनलाई मोबायल चाहियो । पहिले ता उनलाई मोबायलको आवश्यकता नै नपर्ने अठोट थियो तर केही पछि भने उनलाई यो नभई नहुने अवस्था आइपुग्यो । अनि उनले पनि जोडे एउटा मोबायल परिवारका अरु सदस्यहरुका साथ । मोबायल के जोडे तनाब पनि जोडिएको अनुभूति भएको छ केही दिनदेखि उनलाई ।
मोबायल मात्र होइन उनले अहिले आफ्नै बुद्धिको कारणले मनभरिको पीडा पनि जोडेका छन्, छटपटी र तनाव पनि आफूभित्र हुलेका छन्, दोधारको भुँवरी पनि जोडेका छन्, एउटा तुफान पनि पालेका छन् ।
कहिलेकाहीं उनको मोबालयमा पनि अरुकै जस्तो गरी कुनै अज्ञात नम्बरबाट फोन आउँछ । उनी उठाउँछन् । उताबाट कसैकसैको आवाज पनि आउँछ, उनका साथ केही नबुझेझैं गरी सोध्छ पनि, उनी केही उत्तर पनि दिन्छन् । अपरिचितका हुन्छन्, केही कलहरू झुक्किएर आएका होलान् भन्ने लाग्छ उनलाई । उनी पनि ता झुक्किन्छन् । धेरैजसो आफन्तहरुबाट र उनका सामाजिक कार्यकर्ताहरुबाट नै उनलाई फोन आउँछ । यस अर्थमा उनलाई यसबाट फाइदै पनि भएको छ । तर कति कलहरू उनका अपरिचितहरुबाट पनि आएका छन् ।
यसै क्रममा उनको मोबायलमा एक दिन एउटा अज्ञात नम्बरबाट फोन आयो । आवाज महिलाको थियो । अलिक छिचरो थियो । उनले विनयपूर्वक ‘तपाईंले गल्ती नम्बरमा फोन गर्नुभो, सही नम्बरमा फोन गर्नुहोस् न है’ भनेर फोन काटिदिए । फेरि एकै छिनमा त्यही नम्बरबाट अर्कोपटक फोन आयो । त्यसपटक पनि उनले अघिकै कुरामा थपेर भने– ‘तपाईंले अघि पनि यसै नम्बरमा फोन गर्नुभो, गल्ती नम्बरमा फोन गर्नुभो क्यारे, सही नम्बरमा फोन गर्नुहोस् न है बहिनी’ ।
‘मैले खोजेको सही नम्बर नै यही हो । मैले खोजेको मान्छे नै तपाईं हो ।’ उताबाट महिलाको आवाज आयो । रुपकमानलाई यस भनाइले अलिकति झट्का लाग्यो, अलिकति धक्का पनि लाग्यो । उनले तैपनि संयमित हुँदै भने— ‘‘के तपार्इँ मलाई जिस्क्याउन खोज्दै हुनुहुन्छ ?’
‘आमा हो, कति मिठो बोली, गाली पनि यस्ता मिठा शब्द र बोलीबाट हुने भए ता जीवन सफल हुने थियो । आफ्नो ता कर्मै खोटो !” उताबाट महिलाको आवाज अँझै अघि पुगेर कुरा गर्न हतारिएको बुझिन्थ्यो । अनि रुपकमानले यो फोनलाई धन्यवाद भन्दै काटे । यो फोन आउने घटना यति नै भएको थियो त्यति बेला । तत्कालका लागि यसभन्दा बढी फोनबार्ताबाट कुनै घटना भएको थिएन । यसबाट उनलाई ठुलो तनाव केही पनि भएन । आ ! आइरहन्छन् नि नकच्चरीहरुका फोनहरू । उनले सोचेका थिए । तर भोलिपल्ट यसै नम्बरबाट निकै पटक मिसड कल आयो । उनले वास्तै गरेनन् । फोनलाई साइलेन्ट मोडमा राखे । साँझ पख नेपालीमै लेखिएको सन्देश उही नम्बरबाट उनको मोबायलमा आयो, सन्देश निकै लामो थियो— ‘मेरो प्रिय साथी, मिठो पप्पी । फोनमा भेट भएपछिको यो मेरो पहिलो पप्पी हो मेरो प्रियका लागि । दिउसो किन फोन नउठाएको ? मैले के त्यस्तो पाप गरेकी छु र फोन नउठाएको ? फोन उठाउँदैमा म तपाईंको सर्वस्व लुटेर लान्न के रे । आफूलाई भने कति माया लाग्छ उसलाई भने कुनै वास्तै छैन । कस्तो निष्ठुरी !’
रुपकमानले हतार हतार मोबायलको सन्देश पढे अनि कसैले देख्यो कि भन्दै यताउता हेर्दै उक्त सन्देश मेटिदिए । उनको मनमा त्रास र अज्ञात भएको बादल एकाएक उठ्यो । कतै उनका छोराले थाहा पाएन ? कतै उनकी पत्नीले ता थाहा पाइनन् ? कतै उनकी छोरीले ता थाहा पाइन ? उनको मनमा सन्देहको गहिरो खाडल खनियो । छोराछोरी र पत्नीले उनका मोबायलमा आएको यो एसएमएस पढे भने के भन्लान् ? आफ्नो प्रौढ बाबुको चरित्रलाई लिएर छोराछोरीले के सोच्लान् ? हे भगवान ! पत्नीको प्रतिक्रिया के होला ? उनको निश्चल मनमा निकै चर्को तरङ्ग पैदा भयो ।
राति कुन बेला हो फेरि एउटा सन्देश आएको थाहा भयो उनलाई । एउटा बहाना पारी उनले सन्देश पढे ‘गुडनाइट राजा !’ लेखिएको रहेछ । यसपछि ता उनलाई अलिक छटपटी पनि भयो । तिर्खा सिर्खा नलागे पनि अलिकति पानी खाए, थाहा नपाउने गरी सन्देश मेटाए अनि मोबायलको स्वीच अफ पनि गरेर सुत्ने उपक्रममा लागे । निद्रा आएन निकै बेर । मनभरि सोचाइका लहर चलिरहे । कतिबेला हो निधाएछन् ।
यस्तो सन्देशको आगमनको क्रम दुई हप्ता जति लगातार हुँदै गयो । सुरुका दिनहरुमा यस्ता कल र सन्देशबाट उनी अलिक आतङ्कित हुने गरेका थिए । तर आज भोलि उनले यसलाई पचाइसकेका छन् अनि केही मात्रामा ता आकर्षित पनि भएका छन् । नयाँ नयाँ प्रविधिबाट मानिस आकर्षित हुन्छ नै । हो, वास्तवमा रुपकमानको मोबायलमा आउन थालेका यस्ता सन्देशहरुसँगै जोडिएर आउने मायाका लवजहरुबाट रुपकमान पनि केही आकर्षित भइसकेका छन् । अँझ भन्नुपर्छ उनी यस्ता कलहरू र सन्देशहरुबाट मोहित पनि भएका छन् । अनि सोच्छन् यस्तो फाइदा रैछ यसमा अनि केटाकेटीहरू के छोडून् त मोबायल ? कुनामा पसेर घन्टौं च्याट त्यसै ता गरेका होइन रहेछन् बा ! उनले सोचे ।
एक दिन ता उनैले पनि सधैं सन्देश पठाउने महिलालाई लेखे– ‘तिमी मलाई बढी दुःख नदेऊ न ।” उनले पठाएको सन्देश यही थियो जो अनुरोधात्मक र अनूनयात्मक थियो । त्यसपछि उनी पनि लुकीछिपी सन्देश पठाउन र मिसड कल गर्नेको यात्रामा प्रवेश गरेका छन् । त्यसबाट बाहिर निस्कने इच्छा भएर पनि उनले निस्कन सकेका छैनन् । उनी आफू गलत काम गरिरहेको कुराको बोध गर्दागर्दै पनि यस बाटाबाट सफा बाटामा आउने बाटो पहिल्यााइरहेका छैनन् । उनी सोच्छन् यसबाट पार पाउने उपायबारे । कसैलाई भनुँ त आफ्नै इज्जत जाने डर । झन् उनी पनि कुरा गर्नका लागि कल गर्न थालिसके । नभनून् त मनमा त्यस्तो पिर कति बोक्ने तिनले ! उनी आफैं सोच्छन्—मैले आफैं पनि अलिकति बाटो बिराएकै हुँ । यो कुरा सार्वजनिक भयो भने मैले नै बाटो बिराएर यस्तो भएको कुरा बुझ्छ समाजले पनि । कसैलाई नभनुँ त मनभरि पीडाको भुँवरी चलेको छ । के गर्छस् तँ ए रुपकमान ?
हुँदाहुँदा उनी पनि मिसड कल र सन्देश नआउँदा खल्लो खल्लो अनुभव गर्न थालेका रहेछन् । अलिकति व्यग्र पनि हुन थालेका छन् । अलिकति प्रतीक्षा गर्न पनि थालेका छन् । हो न हो मोबायलमा केही आयो कि भनेर समयसमयमा हेरिरहन्छन् ।
एक दिन बिहानदेखि बेलुकैसम्म सन्देश आएन । मिसडकल पनि आएन । सधैं आउने गर्थ्यो मिसड कल, सधैं आउँथ्यो सन्देश, सधैं आउँथे मिठामिठा कुराहरु, मायाका मिठा मिठा कथनहरु, अनि साना साना मुक्तक जस्ता मिठा मिठा कविता वा गजलका टुक्राहरू । छैनन् त आज ! के भयो हँ आज ? बिरामी पो परी कि ? वा कुनै घटना दुर्घटनामा पो परी कि ? के भयो हँ त्यसलाई ? उनको मनमा बडो गहिरो शङ्का पर्यो । कति बेला आउने हो फोन ? कति बेला आउने हो सन्देश ? उनी अधिर भएर पर्खन थाले । प्रतीक्षाको घडीलाई थाम्न नसकेर उल्टै उनैले कल गरे । उताको फोन स्वीच अफ थियो । एक मन ता बल्ल बल्ल त्यसबाट मुक्त हुन लागिएछ भनेर खुसी पनि भए तर उनको अर्को मनले के मानोस् ! उनको अर्को मन अँझ अधीर भयो । उनलाई भित्र भित्र चौ चौ भइरहेको थियो । किन होला आज एक पटक पनि सन्देश प्रवाहित भएन, के परेछ कुन्नि ? किन फोन पनि अफ गरेकी होली त्यस मोरीले ? खुबै माया गर्छु भन्थी, त्यही हो त माया ? उनको मन यही सोचेर उनैलाई समेत चञ्चल पारिरहेको थियो । उनका मनभरि यो बाहेकका अरु कुराहरू पनि खेलिरहेका थिए । मन तरङ्गित थियो । छाती केही भारी पनि भएको थियो । केही ऐंठन भएको जस्तो भान उनलाई भइरहेको थियो ।
केही पछि आफैं उनले तर्कसहित निर्णय गरे— फोनै बन्द गरेपछिलाई अब के कुरा रह्यो र ? के परेर फोन बन्द भएको होला ? बरु सोध्न पाए पनि हुन्थ्यो । केही कुरा गर्नै पाए पनि हुन्थ्यो । आखिरी कुरै ता हुन्, के लछार्पाटो लाग्ला केही कुराहरू गर्दैमा । बिहे गरेका मान्छेले चैं कुनै आइमाईसँग कुरै गर्न नहुने भन्ने के छ हँ ? उनको मन अलिकति कडो भएझैँ भएर फोनै गर्न तम्सियो । तर कडो भएको त्यो मनको कठिनता पानीको फोको झैं तत्काल फुटेर बिलायो उनको व्यावहारिक स्थितिबोधका अघि । परिवारले यो सबै कुरा थाहा पायो भने उनको के हविगत होला ? यही कुरा सोचेर उनको त्यो मन तरलित भयो । फोन नआए पनि हुने, सन्देशहरू नआए पनि हुने भन्ने भाव मनमा कताकता लुकेर हराएको बेला र अधैर्यताका साथ प्रतीक्षा पनि गरिरहेको बेला जे त पर्ला भन्ने कडो निर्णय गरेर एक पटक फोनै गरे । फेरि पनि फोन बन्द छ । यो मनै पनि तरलित भएर त्यसका मोबायलमा पुगे पनि ता हुने नि ! हँ के भयो त्यसलाई आज ? ए बाबा हो ? फोनै बन्द गर्नु पर्ने कारण के परेछ हँ ? उनले सोचे । अँझै सोचे— मजस्तै लुकी लुकी फोन गर्थी क्यारे । परिवारबाट पक्डाउ परी होली ! आज चैं भेटिछेस् । ठिक परेछ मोरीलाई । यस्तो सोच्तासोच्तै रुपकमानको मन फेरि फर्कियो अर्कातिर अनि सोचे– कति गाली खाई होला बिचरीले ? हो कुरा यो चैं पक्का हुनु पर्छ, कुन नाठालाई फोन गर्छेस् ए…. भनेर उसले झपार खाएको हुनु पर्छ ।
सोचाइ यस्तै भए पनि यसै सोचाइका साथ उनले निकै पटक फोन गरे । तर पनि उनले चाहे जसरी फोन गएन । अनि सोचे बढार्नै परेन, हावाले आफैं उडाएर लगेछ । एक किसिम राम्रै पो भयो । कता कता सन्तोकको सास फेरे र आफ्नो काममा लागे ।
राति फोन नबज्ने पारेर सुत्न बाध्य हुनु परेकोलले उनले फोनलाई साइलेन्ट मोडमा राखे । अनि आरामका साथ सुत्ने चेष्टा गरे । तर कता कता आशाको त्यान्द्रो चुँडिएको थिएन । एक प्रकार प्रतीक्षारत पनि थिए । त्यसरी प्रतीक्षा गरिरहेकै बेला बल्ल एउटा म्यासेज र एउटा मिसड कल आयो उनका मोबायलमा । बल्ल बल्ल उनको प्रतीक्षाको महाभारत सकियो । अनि उनले कुनै बहाना पारेर ट्यालेटतिर गई सन्देश पढे । सन्देशले दिउसो भरि नेटवर्क नभएर एक कल गर्न पनि नसकेकोमा क्षमा मागिएको रहेछ । उनलाई अहिले बल्ल ढुक्क भएको छ ।
बल्ल उनलाई निद्रा लागेको छ । अनि उनका मनमा के गरौं र कसो गरांैंको दोधारको जो ओइरो लागेको थियो त्यो क्रमशः हराएर गएको छ । मनभरि द्वन्द्वको चक्रवात नै आएको थियो त्यो पनि हटेर गएको छ । हेरौं रुपकमानका मोबायलको मिसड कल र सन्देश यात्राको लाइभ टेलिकास्टको अन्त कसरी हुने हो । उनीहरुको यो क्रम चालु भएकोले अन्त कसरी हुने हो भन्ने कुरा बुझ्न ता यसपछिको शृङ्खला दुई र तिनको अपहत्ते र अवतरण भन्ने कथाहरू पढ्नलाई हामीले पनि उनैले जस्तो गरी प्रतीक्षा गर्नै पर्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *