Skip to content

गणतन्त्र र गौथलीकाे बाबुको भूमिका


क. भूमिकाको भूमिका

मसँग भदौ ०६९ साल ११ गते दिउसो दाजु नकुल काजीले अचानक लामो फोनमा कुरा गर्दै अनुरोध गर्नुभो, यस कृतिबारेमा केही लेख्नका लागि । साथै मैले लेखिएको उक्त सामग्री चाँडै चाहिएको कुरा पनि गर्नुभो । अलिक कस्तोकस्तो लाग्यो यो चाँडो भन्ने शब्दको सुनाइमा । अरु सबै काम छाडेर सेवाको यस काममा लाग्नुपर्ने भो मैले । तर मलाई सस्तोमस्तो कुरा लेखेर ढाँटढुँट गर्नु उचित लाग्दैन, यसमा ता झन् त्यसो गर्नु नै थिएन । कुरा गर्दा ‘समय छोटो राख्नुभो’सम्म भनेको थिएँ । कुरा त्यति हो । त्यसपछिको अवधिकरि मेरो मनमा समय छोटो राख्नुभो, दाइले प्यादा लगाउनुहोला भन्ने डर पनि अलिकति बसिहाल्यो । यसअघि उहाँको जीवनी र कृतिहरूमाथि छात्र उमानाथ भण्डारी र छात्रा चन्द्रकला भण्डारीले गरेका स्नातकोत्तर तहका शोधनिर्देशन, टंकण आदि मैले नै गरेको तथा ‘प्रतिनीधि झापाली हास्यव्यङ्ग्यकारहरू’ समेतको सम्पादन कार्य गरेको देखेर होला यस कृतिबारे केही लेखिदिन मसँग उहाँले सारै विनम्रतापूर्वकको अनुरोध गर्नुभएको । मैले यस्तै ठानें । अब म अनुरोध र विनम्रताका अघि हार खाएँ । मेरासमेत अगुवाको यत्रो अनुरोधका अघि मैले हार खानु राम्रो हो– अड्डी लिनुभन्दा । यही कुरा मैले सोचें अनि उहाँले पठाइदिएको कम्प्युटर गरेर छापिन मात्र बाँकिरहेको यो कृतिको अध्ययन गर्न र बूँदा टिप्न थालें घुँडा धसेर । अनि तिनै बूँदाहरू कप्तै उहाँलाई पनि अलिकति सजिलै पर्ने हुँदा आफैं कम्प्युटर गर्न थालें कम्मर कसेर । यहाँ आएपछि मेरो भूमिकालेखनको भूमिका यहीं सक्छु र उहाँलाई यहाँसम्म मात्र आदरवाची पदहरूको प्रयोग गर्दै अबउसो एक समीक्षक वा भूमिकाकारको भाषालाई समातेर अघि बढ्छु ।

ख. कृतिको भूमिका

अरु धेरै कृतिहरू छापिएका भए पनि पत्रकार, उपन्यासकार, कवि, समीक्षक तथा व्यङ्ग्यकार नकुल काजीको ‘गणतन्त्र र गौंथलीको बाऊ’ नामको यो कृति नै पुस्तकको आकारमा निस्केको पहिलो हास्य र व्यङ्ग्यको कृति हो । यसमा उनका २२ ओटा गद्यरचनाहरू छन् शीर्षकरहित अवस्थामा । तर शीर्षक दिएरै यही प्रकृतिका रचनाहरू ‘विवेचना’ र झापाका कतिपय छापाहरूमा पनि उनी लगातार लेख्ने गर्दै आएका हुन् । यस अर्थमा यी रचनाहरूको साइनो ‘विवेचना’ लगायतका झापाका दैनिकहरूसँग पनि गाँसिन सक्छ । यो कृति २२ कडी लामो सिरियल वा शृङ्खला भएको एक धाराबाहिक हो । २२ अध्याय लामो उपन्यास पनि हो यसो पनि भन्न सकिन्छ । बेग्लाबेग्लै राखेर अध्ययन गर्दा पनि हुने तर भित्रभने एकै कथासूत्रले उनीएका यस संग्रहभित्रका यी रचनाहरू कथात्मक निबन्ध वा निबन्धात्मक कथाहरूका रूपमा पनि छन् । यसमा वक्ता र श्रोताको आयोजना गरेर लेखिएको छ । लेखक तटस्थ छ ऊ बोद्धा हो, पाँडे र गौंथलीको बाऊ यसका मूल पात्रहरू हुन् । तिनको गतिविधिको द्रष्टा लेखक हो, नकुल काजी हुन् । कृतिभित्र नाटकीयता पनि छ । यसको सूत्रधार गौंथलीको बाऊ हो भने दर्शक वा श्रोता पाँडे हो । तर यो श्रोता विशुद्ध श्रोता मात्र नभई सचेत र सक्षम समीक्षक श्रोताको रूपमा यसमा उपस्थित छ । नकुलले उपस्थित गराएका छन् । यिनै पाँडे र गौंथलीका बाऊका माझको तारतम्यबाट वा सम्वादात्मकताबाट धाराबाहिक गतिशील हुन्छ । कडी अघि बढ्दै जान्छन्, उपन्यास बढ्दै जान्छ, निबन्ध बाँधिदै जान्छन् ।

जब विषयवस्तुको कुरा आउँछ कुनै पनि साहित्यकार वा कवि कलाकार राजनीतिबाट विमुख हुनु सम्भव छैन । जुन देशको राजनीति जति स्वस्थ हुन्छ त्यस देशको कला साहित्य पनि त्यत्तिकै चोखो र कलात्मक हुन्छ । राजनीति जति घिनलाग्दो हुन्छ उति नै कलासाहित्यमा पनि त्यो विकृतिको प्रभाव पर्दछ । चाहे सम्वादको प्रयोगमा होस्, चाहे पात्रको स्वभाव, आनीबानी र बोलीवचनमा नै किन नहोस् । राजनीतिकहरू र कलासाहित्यका साधकमा फरक कति हुन्छ भने कतिपय राजनीतिकहरू देश, भाषा, कला, संस्कृति, पत्रकारिता आदिको क्षेत्रमा उन्नति र प्रगतिको दीर्घकालीन सोच राख्ने हुन्छन् भने कति कम पनि हुन्छन् तर कलाकार वा साहित्यकारहरूले त्यस्तो गलत राजनीति गर्नेहरूको राजनीतिक दुर्गन्धलाई अभिधात्मक वा लाक्षणिक रूपमा उजिल्याउने काम गरेका हुन्छन् । चोखिन सचेत गराइरहेका हुन्छन् । अनि तिनलाई सचेत गराएर उभिन्डो काम नगर्न परोक्ष प्रत्यक्ष सुझाइरहेका हुन्छन् । यही कुरा ‘गणतन्त्र र गौंथलीको बाऊ’मा नकुल काजीले गराएका छन् परोक्ष रूपमा ।

अब म यिनलाई निबन्ध नै भन्दछु । हो, सबै निबन्धमा गौंथलीको बाऊ कारकतत्वको रूपमा आएको छ, सूत्रधार भएको छ, प्रायः सबैजसो निबन्धमा उसको बाक्लो उपस्थिति छ र पाँडेका लागि विषयको उत्तेजकको काम पनि गर्छ । तर यसो भएर पनि पछिल्लो रचनामा भने यसको भूमिका केही कमजोर रहेको देखिन्छ । पाँडे र गौंथलीको बाऊका माझमा भएका सम्वादभित्र समसामयिक नेपालको राष्ट्रिय राजनीतिको दुर्गन्ध र त्यसबारेको बहस छ । स्थानीय राजनीति र प्रशासनिक उचनिचका घोचपेच वा सन्दर्भहरू छन् । विद्रूप र विकृतिका नानाओली कथनहरू छन् । भाँतीभाँतीका अतिवैयक्तिक कथनका ताँतीताँतीहरू छन् । पाँडेको चरित्रबाट कुनै पेशा नखुलस्त्याइएको भए पनि गौंथलीको बाऊ पत्रकार गर्ने वा पत्रकार हो भन्ने बुझिन्छ । गौंथलीका बाऊले कुनै कुनै रचनामा केही महिलाहरूलाई भित्र्याएको भए पनि धेरै रचनाहरूमा उनै पात्रहरूको एकोहोरो उपस्थिति छ । यी दुईबाहेक कृतिभित्र थोरै संख्यामा मात्र पात्रहरू थपिन्छन् । यसैले यो संग्रह एउटा शृङ्खलाको रूपमा पनि स्थापित हुन सक्छ । ‘उल्लीबिल्ली’का फाँइफुट्टीराज अर्थात् बलमनदको लेखनशैली यसको हो । एउटै फाँइफुट्टीराज अर्थात् बालमुकुन्ददेव पाण्डेले लगातार विभिन्न क्षेत्रका व्यक्तिहरूसँग अन्तर्वार्ता लिएको शैलीमा लेखिएको उक्त कृति झैं यो उनै दुई पात्रहरूको दुई आलापीय गतिविधिमा गतिशील हुँदै अघि आएको छ । हाम्रै माझको यही ०६८, ०६९सालको समय र नेपालका घटनावलीहरूका साथ यी रचनाहरू गतिशील छन् । यस माझमा देशमा संविधान सभा तुहिनु, देशलाई गाँडतन्त्रको नाममा कित्ता कटान गर्न खोज्नु, ६०१ जना भर्ना गरिएका बँधुवा साँढेहरूको उघ्राउने अवसर गुम्नु, अनेकौं भ्रष्टहरूले देशलाई हसुर्नु, कतिपय पत्रकार (तथाकथित)हरू मारिनु, नयाँ संविधानसभाको निर्वाचन गर्ने सुर कसेर हस्रक्क पर्नु, राष्ट्रको पहिलो पार्टी हुँ भन्नेहरूको नग्नचित्र देखिनु र यसै पार्टीले पालेकाहरूले कमिसन र चन्दाको आतङ्क मचाएर देशमा कुनै काम पनि हुन नदिनु आदि यसका कथ्यहरू हुन् । यसै गरी अघिदेखि नै चल्दै आएको राष्ट्रसेवकहरूले नागरिकता बेचबिखन गरेर हसुर्ने कार्य, सधैंजसो कालो व्यापार मात्र गर्ने व्यापारीहरू, जाँड बेगर बाँच्नै नसक्ने कतिपय भद्रजनहरू आदिका चरित्रबाहेक सामयिक र परम्परागत कुराहरूको बखान यी सामग्रीहरूमा भएको छ । यसबाट भन्न सकिन्छ, यसको कथ्य नेपालको सामयिक विषयवस्तुसँग छ र पेचिलो पनि छ । यसका साथै यो अवधिमा नेपालमा राजनीतिक क्षेत्रमा, व्यापारिक क्षेत्रमा, चौथो अङ्ग भनिने पत्रकार जगत्मा र प्रशासनिक परिवृत्तमा के कस्ता वितण्डाहरू चर्किए त्यसको र झापाका भद्रपुरे कुइँगन्धे राजनीति कसरी फन्को मार्यो तिनै तिनै घनचक्करसँग यसको साइनो छ । गौंथलीको बाऊ नेपालका अधिकांश पत्रकारहरूको सक्कल हो । पत्रकारहरू कस्तासम्म पनि हुँदा रहेछन्, उनीहरू कसरी काम गर्दछन्, उनीहरूको ल्याकत र औकात कतिसम्मको हुन्छ, उनीहरूले कस्ता कस्ता पत्रकारहरू साथमा लिन्छन्, उनीहरूको चरित्रको पाटो कस्तो हुन सक्छ र उनीहरूको खायोजियोको मेलो के कस्तोसम्मको हुन सक्छ त्यसको जिउँदो प्रमाण हो गांैथलीको बाऊका रूपमा यस कृतिभित्र उभ्याइएको यो पत्रकार गर्ने पात्र । पत्रकारिताको कपुरीसम्म नबुझेका, निरक्षरहरू भतुवाहरू पत्रकारिताको नाममा प्रशासनबाट पालिएका हुन्छन्, कालाबजारियाहरूका भरिया भएर पत्रकारिताको हत्या गरिरहेका छन्, रक्सी र वेश्यावृत्तिको प्रकोपले उनीहरू छँडुल्ला भएका हुन सक्छन् भन्नेसम्मको बोल पनि यस कृतिले दिएको छ, यसभित्रका रचनाहरूले दिएका छन् । नेपाली नागरिकताको क्रयविक्रयको काम गर्न भारतको सिक्किम, असमभन्दा पनि दर्भङ्गा, खगडिया, कटिहारतिर बढी धाउनेहरू अहिले पनि बडो गतिलो र राम्रो राष्ट्रसेवक भएर भुँडी ढल्काइरहेका छन्, अनि मुख्य सचिव हुने दाउ थापेर बसेका छन् । यस कृतिभित्र तिनै फाटाहा देशद्रोहीका आन्द्राभुँडी देखाइएको छ । देशठगाहा बेपारीको, घुसखोर फटाहा लुटाहा कर्महारीहरूको, विदेशीको अरौटभरौटमा राजनीति गर्ने गाँडुहरूको टुप्पी तान्ने काम नकुल काजीले यसमा गरेका छन् । संक्षेपमा यो सानो अंंशमा यसभित्रका सबै रचनाहरूको फेहरिस्त दिन सम्भव नभए पनि सोलोडोलोमा के कुरा बुझ्नुपर्छ भने यी रचनाहरूमा व्यङ्ग्यकार नकुल काजी अर्थात् व्यङ्ग्यनारान पाँडेले अधिक मात्रामा झापा जिल्लाका सदरमुकाम भद्रपुरको परिवृत्तका कुइँगतिविधि र थोरैमा देशकै दुर्गतिविधिको खोइरो खनेका छन् । राजनीतिक भङ्जाहा र पत्रकार उलाहाहरूको जुइँनो कति बलियो हुन्छ त्यसको परिदर्शन गराएका छन् । अन्ततः दायित्व बहन गर्नुपर्ने ठाउँबाट देश र जनताप्रतिको दायित्वको निर्बाह बिलाएको हराएको देखेर लेखक विस्मित छन् ।

वज्रपात, व्यङ्ग्यनारान पाँडे, सत्यवादी केशरी ऐेंसेलुझाँगे जस्ता निकैओटा छद्म वा उपनामहरूबाट व्यङ्ग्यरचनाहरू गर्न रिपु हुन् नकुल काजी । उनका रचनाहरूको ओइरो वर्षाको छाँगोझैं निरन्तर बगिरहेको छ । उनी उर्बर रचना क्षमता भएका रचनाकार हुन् । यो निरन्तरता कायम रहोस् ।

काजीवाट रचना भएका सामग्रीहरूको गुणवत्तालाई अलग्ग राखेर संख्याको आधारलाई मात्र लिने हो भने उनलाई झापामा मात्र नभई देशैभरिको पहिलो हास्यव्यङ्ग्यकारको कोटीमा राख्ता पनि हुन्छ । तर उनका रचनाहरूमा पाइने गरिमा, गुणवत्ता, सार्वभौमिकता, सार्वकालिकता वा दीर्घ जीवन्तताका आधारमा हेर्ने होभने उनलाई यस कोटीमा राख्न सकिन्न । यो उनले बिर्सनुहुन्न । अन्यथा नमान्ने भए म के भन्छु भने उनका सयौं रचनाहरूमध्येबाट छानेर सदावहार रचनाहरू मात्र छपाउन पाएको भए अँझ असल हुने थियो होला । तर यो उनको खुसीको विषय हो । लेखेर मात्र हुन्न, जीवन्तता दिन सक्नु पर्छ । यो मेरो कुरा हो, गाँठी कुरा हो । उनैको टिमका अरु केही यसै विषयतिर धामा गर्ने शिष्यहरू पनि छन् । तिनीहरूले पनि यो कुरा नबिर्सिए हुन्छ । उनले लेखेका हजारौं निबन्धहरूको महत्व तत्कालीन अवस्थामा लेखिंदै पनि गयो सकिंदै पनि गयो । लेखिएको बेला तिनमा जसलाई ऐंठ्याउन खोजिएको हो त्यसको खोइरो खनेकै हो, त्यसलाई बातो बसाउन सक्ने हैसियत तिनमा भएकै हो । भित्तो पुर्याउने शक्ति र सीमा तिनमा रहेकै हो । तर अरु बेला तिनको हैसियत यस रूपमा रहेको पाइन्न । अनि हास्य र व्यङ्ग्यको उत्पादन गर्ने निहुँमा ‘नाकको पँहेलो जिनिसलाई घुटुक्क निल्न’ लगाउने जस्तो अलिक तल्लो तहको कथनले हास्यभन्दा बढी घृणा उब्जाउन सक्छ । यसैले यतातिर सतर्क भएको राम्रो । नकुल दाइका रचनामा यस्तै केही तम्तम्याइलो स्थिति पनि यदाकदा हुन पुग्छ । यसले रचना अल्पजीवी हुने भय राख्छ । भैरव अर्यालका ‘जय भुँडी’, ‘कवि चम्रेलजी एक शब्दचित्र’ वा ‘एक्काइसौं शताब्दी अङ्गप्रत्यङ्गमा’ जस्ता रचनाहरू आज पनि उत्तिकै जीवन्त छन्, पछि पनि उत्तिकै रहन्छन् । यसै लेखकको ‘सोतीजीको सपना’ पनि यसको उदाहरण हुन सक्छ । के पुष्ट्याइँ गर्न खोजिएको हो यस भनाइबाट भने गुणयुक्त वस्तु थोरै लेख्नु बरु बुद्धिमत्ता हुन्छ गुणरहित धेरै लेख्नुभन्दा । यो कुरा यस भूमिकाकारले भनिरहनुपर्ने होइन नकुल दाइलाई । तातो विषयवस्तुले मुटुमा होचिहाल्यो, छोइहाल्यो वा पोलिहाल्यो र लेखिहाल्यो अनि छपाइहाल्यो गर्नाले लेखकको आवेश क्षणिक रूपमा शान्त ता होला तर त्यसरी उत्पादित वस्तुको स्थायीत्व रहन्न । कलात्मकताको कमी हुन सक्ने भय रहिरने हुनाले । त्यो पेनकिलर ट्याब्लेट जस्तो मात्र हुन्छ । नारायण गोपाल भनेका नारायण गोपाल नै हुन् आजभोलिका आन्द्रा बटारिने गरी हाब्रो थतर्काउने झ्याम्लेहरूका गीत (?) बर्खाको भ्यागुतो कराएका मात्र हुन् । पानी पर्न बिसायो कि भ्यागुतो चूपचाप गायब हुन्छ कता हो कता !

अन्तमा म वासुदेव त्रिपाठी हुन चाहन्न लेखकको कृतिलाई पिरोल्ने (११३ पृष्ठ लामो) भूमिका लेखेर । म भर्खरै छापिएको कृति गोपीकृष्णजीको ‘यात्रानुभूति’ को भूमिकाकार रोहिणीविलास लुइँटेल (२८ पृष्ठ लामो भूमिकाको लेखक) पनि हुन चाहन्न । नचाहेर पनि केही भन्नु नै छ । गौंथलीको बाऊको सम्वादमा नकुल काजीले जति बुद्धि खियाएर अत्यन्तै निजी र वैयक्तिक काइते ढाँचाको भाषालाई प्रयोग गरेका छन् त्यसबाट मानवीय व्यवहारमा साँचो शब्दको कुन मूल रूप स्थानीय वा वैयक्तिक भाषामा वा व्यक्तिबोलीमा चलन गर्दै जाँदा कस्तोसम्मको हुन सक्छ भन्ने देखाउँछ । यसबाट हास्य र व्यङ्ग्यको लेखन र भावको पोखाइमा केही सहयोग पनि मिल्छ । तर पढ्ने पाठक त्यस्ता शब्दहरूमध्ये यो शब्द कुन मूल शब्दको रूपका लागि प्रयोग भयो होला भनेर घोरियो भने लेखक कुन कुरा भन्दैछ त्यसको फुम पाठकलाइरहन्न । शब्दको बुझाइतिर मात्र पाठक लाग्छ । यो शब्द यही मूल रूपको व्यक्तिबोली हो भन्ने ठहर पहिले गरिनुपर्छ र मात्र पाठकले पढ्न बसे हुन्छ नत्र कुरा नबुझी वेद पढेझैं हुन बेर लाग्दैन । कुन मूल शब्दको रूप यो होला भन्नेतिर मात्र पाठकको ध्यान जान सक्छ र लेखकको पूर्ण भावबाट ऊ अनभिज्ञ नै हुन्छ । स्मरणीय छ चूडामणि रेग्मीको लेखनमा अनेकौं शब्दमध्ये ‘कार्यक्रम’, ‘अुपर्खुट्टि’ जस्ता अनेकौं शब्दहरू कुन शब्दका रूपहरू होलान् भनेर बुझ्न यही लेखकलाई पनि हम्मेहम्मे परेको थियो । यो ता लेखनको विन्यासको कुरा भयो वर्णविन्यासको कुरा भयो । नकुल काजीले वर्णविन्यासमा मानकतालाई च्यालेन्ज गरेका छैनन् यो सुखद पक्ष हो । तर नकुल काजी कनथको नितान्त निजी व्यक्तिबोलीका रूपलाई उपयोग गर्दछन् । यसैले कथनको ढाँचाका बहानामा शब्दहरू बिगार्दा यतिविधि बिगारेर पाठकलाई पाठकीय अधिकारबाट वञ्चित गर्नु राम्रो होइन भन्ने मेरो सोच छ । होला, कोही कोही यसै प्रकृतिको बोली पनि बोल्दा हुन् । त्यो बेग्लै कुरा हो । कथा वा निबन्धको मूल भावबाट भाषिक ऐंठनबाट पाठकलाई विदेह बनाउनु हुन्न भन्ने मेरो ठनाइ छ । यसैले यी सामग्रीहरूमा अति स्थानीयता र अति वैयक्तिकता भयो भन्ने पनि मेरो सोच छ । यो सम्वादबाहेकको लेखकीय भाषाका बारेमा ता नकुल काजीको तुलना र गणना कलात्मक र सुन्दर भाषा प्रयोग गर्ने प्रख्यात भाषाशिल्पीका रूपमा हुन सक्छ । जहाँसम्म परिवेशको कुरा छ स्थानीय परिवेशको चित्रण यसमा छ । भद्रपुर बढी छ, मेची बगर बढी छ । त्यसमा पनि यति सङ्कुचन असल होइन । मेची बगरको ब्ल्याकिया गतिविधिको हेक्काको खुलासा अन्यत्रका पाठकलाई गराउनुपर्ने आवश्यकता मैले देखें । यो स्थान पूर्वी नेपालको मेची अञ्चलको तराईमा पर्छ । यो नेपाल भारतको बोर्डर हो, यहाँ भन्सार छल्दै साना पोका बोकेर ओसारपसार गरेर खायोजियो गर्ने ब्ल्याकीहरू छन् । तिनलाई हप्काइदप्काइ गरेर पत्रकारिताको पगरी गुतेका पाँडेहरू जस्ता पत्रकारहरू पनि यहाँ छन् भन्ने सानो सूचना भद्रपुर वा झापाबाहेकका पाठकलाई दिनुपर्ने स्थिति छ । मेरा दृष्टिमा यी केही कमी कमजोरी लागे । आगामी दिनमा यस्ता कुरा उपयोगी लागे भने काजीले बुझ्नेछन् र प्रयोग पनि गर्दै जानेछन् भन्ने कामनाका साथ कम्प्युटरको कीबोर्डलाई र यी कतिपय उचनिचका कुराहरूलाई अहिले यहीं बिसाएँ !

होम सुवेदी
भद्रपुर, ५, झापा नेपाल
२०६९ भाद्र १२ गते साँझ

Leave a Reply

Your email address will not be published. Required fields are marked *