Skip to content


स्वदेशभित्र लाख छन् यहाँ वनौषधीहरु
स्वदेशभित्र लाख छन् यहाँ महौषधीहरु
पलाँस छन् गुराँस छन् र आँप चाँप आरु छन्
इलामको उचाइमा प्रसिद्ध देवदारु छन् ।।१।।

यहाँ छ शुद्ध जिन्दगी भनेर यो जनाउँछु
निवास शान्तिको कुटी यतै कतै बनाउँछु
अजस्र सिर्जनाहरु बगाउँदै बगाउँदै
दशैं तिहारको खुसी यतै कतै मनाउँछु ।।२।।

फलेर पाक्तछन् यहाँ रसालु सुन्तलाहरु
चियाबगान भित्र छन् प्रिया शकुन्तलाहरु
अगम्य ध्यान योगमा पलेंटी नै कसे सरी
उचाइ नाप्तछन् यहाँ अनेक श्रृङ्खलाहरु ।।३।।

वसन्त राग गाउँदै यतै पसेर व्यस्त छन्
कुहू गरेर कोइली निबीड भित्र मस्त छन्
सुधा लिएर किन्नरी झरी यतै धरातिर
नजानिदो हिसाबले यहींं भुलेर बस्दछन् ।।४।।

यहाँ सबै मनुष्य छन् विशेष आत्मनिर्भर
मनुष्यकै कुटीहरु भए कि देव मन्दिर
यहाँ छ भूमि उर्बरा यहाँ छ स्वास्थ्य झर्झर
सुरम्य ठाउँ यो सरी जताततै कहाँ छ र ?।।५।।

रहन्न भेदभावको कुनै नयाँ छुचोपन
रहन्न द्वेषभावमा यहाँ कुनै मतिभ्रम
रहन्न उच नीचको कुनै यहाँ विभाजन
यहाँ रहन्छ जिन्दगी बडो प्रसिद्ध पावन ।।६।।

म आफू भित्र आफू नै हराउँदै गएँछु कि
विचार विम्ब सापटी चलाउँदै गएँछु कि
निमित्त मात्रका कथा सुनाउने हुँदा मन
नबोली मात्र ओठ फर्फराउँदै गएँछु कि ।।७।।

पहाड कन्दरा यहाँ गनी कहाँ सकिन्छ र
विशेषता बयान यो कनी कहाँ सकिन्छ र
गजुर्मुखी र अन्तुको नियाल्नमा भए मन
इलामभित्र आउनोस् भनेर के सकिन्छ र ।।८।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *