थोत्रो चप्पल लाउँने अब उही नेता भएको छ रे
रुन्थ्यो देश भनेर जो अब उही नेता भएको छ रे ।।
ऐले कार चढेर हिंड्छ अथवा भैमा नहेरीकन
सिङ्गै देश चलाउने अब उही नेता भएको छ रे ।।
सामन्ती दुनियाँ बदल्नु छ यहाँ भन्थ्यो बडो गर्वले
आफ्नो देश र देशको सपथ जो खान्थ्यो बडो गर्वले
च्यातेथ्यो मतपत्र आज उही नै सिंहासनैमा चढी
सत्ता बाँड र फाँड गर्न अहिले नेता भएको छ रे ।।
बन्डापत्र गरेर देश त्यसले टुक्र्याँउदै गो जब
दाजु भाइ र इष्टमित्र बिचमा झुक्याउँदै गो अब
बस्ती गोठ र गाउँमा जब थियो दाम्रो परेको थियो
किर्नो झैं अथुलो भएर अहिले नेता भएको छ रे ।।
भोको बस्न तयार जो अघि थियो ऐले फुलेको छ रे
सत्ताको गतिलो मुलायम झुला माथि झुलेको छ रे
जस्को जीवनमा विरोध नगरी पच्दैनथ्यो भोजन
उस्कै गान झुकेर गर्न अहिले नेता भएको छ रे ।।
हे मेरा प्रिय देशभक्तगण हो तिम्रो र हाम्रो दशा
फिर्ने सोच जहाँ थियो अब त्यहाँ हाम्रै भयो दुर्दशा
फर्की आउन सक्छ फेरि अघिकै बोकेर नौलो भ्रम
राजा बन्न तयार लाग्दछ उही नेता भएको छ रे ।
