Skip to content

तीन कविता गाइजात्राकाे लागि

गाइजात्राका लागि तिन कविता

१ गणतन्त्रः खसीका मुखको कुभिन्डो

केही शान्ति र चैन जो अघि थियो नासेछ यो छेदले
हाम्रो राष्ट्र अखण्ड जो अघि थियो भाँचेछ यो छेदले
धामी झाँक्री पुरेत हो मुलुकको फुक्फाक केही गर
ल्याएछन् गणतन्त्र यो मुलुकमा त्यस्बाट टाढा सर ।।

हाम्रो देश सखाप पार्छ कि कसो सारै पिराहा रछ
यो देशै सतचूर्ण गर्छ कि कसो यो ता ठिमाहा रछ
मारी सत्रहजार मानिस जसै आउँदै गरेको थियो
यो आउँदा त्यस पापीका अगतिको जूठो परेको थियो ।।

हामी देश र देशवासीहरुको अन्यायी साहु रछ
लाखौं ज्यान बली चढाउनु प¥यो पापिष्ट राहु रछ
सिङ्गै देश डढाउँदैछ यसले यो पारीकै छेद हो
यो जैरे गणतन्त्र धोती मुतुवा टुप्पो न हो फेद हो ।।

लाखौं चण्डमुसन्डका दलहरु यस्ले उमार्यो यहाँ
अर्काका सिरमा चढेर यसले तिन्लाइ सुमार्यो यहाँ
पालेछौं यसलाई केही नबुझी हाम्रै गर्यो दुर्गति
यस्को मान गरेर हामीहरुले हाम्रै गरेछौं खती ।।

यो तिम्रो गणतन्त्र जो छ खसीको मुख्मा कुभिन्डो भयो
पार्ने दाउ थियो सिधा तर मुले सारै उभिन्डो भयो
यस्को यो हुलिया बुझेर जनता हामी धकायौं अब
लैजाऊ तिमी नै पर्चन्न मुखिया हामी अघायौं अब ।।

२ सम्वाददाता एण्ड मन्त्री सम्वाद
पत्रकार
म फलाना पत्रिकाको वरिष्ठ पत्रकार
थाहा पाउँछु म यहाँको सिरपुछार
यहाँ मन्त्री मात्र नभई महामन्त्री नै पर्नु भो
उत्तर दिनुहोला
मन्त्री भएपछि केके विकास गर्नु भो ?
मन्त्री
बडो सान्दर्भिक प्रश्न गर्नुभो
वरिष्ठसम्वाददाता पर्नु भो
पुरानै खानपान र गुँडमा हुनुहुन्छ कि
नयाँ खान्की र गुँडमा सर्नुभो ?
दानापानी रामरी नै जोहो गर्नु भो ?
कि बिचैबाट कतैतिर झर्नु भो ?
सुन्नुहोस् मेरा कुरा
जा…है भुसुक्कै भएँछु
तपाईंले के पो प्रश्न गर्नु भो ?
अहिलेसम्म तपाईं कता कता चर्नु भो
सोमरस खाएर होटलको बार्दलीबाट झरेर
कतिपटक पत्रकार गर्नु भो ?
मापसेको कतिपट फेला पर्नुभो ?

भैगो उत्तर नै दिन्छु
तपाईं जस्ता पत्रकार चिन्छु
को भन्छ मन्त्रीमाथि विश्वास रहेन
म मन्त्री भएपछि किन विकास भएन ?
सूर्य पूर्ववाट आए
चैतको बेला रुखमा पुजुरा आए
पुराना पात झरेर रुखमा नयाँ पात पलाए
तपाईंकै पनि पलाए
मेरै छोराका पनि जुँगा दारी पलाए
झ्याउँकिरी जङ्गलभरि जोडजोडले कराए
युवायुवतीहरु जङ्गलमा हराए
चुनावको बेला मस्तसँग भोज खाए
मेरो स्तुतिमा चुनावको बेला मस्तसँग खैंजडी बजाए
म भन्छु पुरानो जमाना अब रहेन
लु भन्नुहोस्,
म मन्त्री भएपछि किन विकास भएन ?
कसले भन्छ मैले कनिका छरिनँ
विकासको खोलो तरिनँ
कसरी मैले विकास गरिनँ ?

पत्रकारः
हो, गर्नु भएछ गर्नु भएछ
गाउँबाट सहर सर्नु भएछ
भोटरलाई कनिका छर्र्नु भएछ
खुबै गर्नु भएछ ।
मन्त्रीः
अनि अझ पनि किन सोध्नु प¥या ?
नचाहिने प्रश्न किन ग¥या ?
अझ सुन्नुहोस् मैले विकास ग¥या ।
टोलका भुस्याहा डाँगा भए
लुते पाडाहरु हान्ने राँगा भए
रुखमा चिउला थिए हाँगा भए
मेरा विरोधीहरु नागा भए
कसले भन्छ मैेले चारो छरिनँ
कसरी मैले किास गरिनँ ?

३ जाऊ ज्वाइँ जाऊ

छिटो माथि जाऊ
जित्यौ चुनाउ
फेरि आयो दाउ
तिम्रो भयो भाउ
आज सम्म गाउँ खायौ
अब देश खाऊ ।
जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ
मोज गर्न जाऊ
भोज खान जाऊ
तर मार्न जाऊ
तिमीलाई छुन सक्ने
कस्को बाउ रु
जाऊ ज्वाइँ जाऊ
ससुराली खाएका थ्यौ
अब देश खाऊ
जाउ जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ ।
गाउँ मात्र खाएका थ्यौ
अब देशै खाऊ ।
जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ
जित्यौ चुनाउ
फेरि आयो दाउ
जनतालाई देखाउन
सम्विधान बनाऊ
बनाएकै भोलिपल्ट
सम्विधान डढाऊ ।
नसक्ने नै भएदेखि
जुलुस लिई आऊ
मुन्द्रेहरु अघि लगाई
टायर बाल्न जाऊ
सक्छौ भने चाँडो चाँडो
सम्विधान बनाऊ
सोचे जस्तो भएन कि
सम्विधान जलाऊ
जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ
जित्यौ चुनाउ
फेरि आयो दाउ
चुनावको केरा अब
बोक्रैसँग खाऊ
जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *