यसाे लेखिटाेपलेकाे
हे क्वैली अब गाउने सुर चले भाका भरी गाउनू
राजाका सँगमै बसेर रुखमा माया मिठो लाउनू
तिम्रो उन्नति होस् सधैं मन मिलोस् माया छचल्काउनू
मेरो प्रेम रहेन यो सययमा मैले कहाँ पाउनू ? ।।१।।
मायाले अनुरागले विरहले गुन्जाउँदैछ्यौ वन
को हो को नचिनेर हो कि किन हो उम्लन्छ तिम्रो मन
डालीमा बस गाइराख अहिले आइरहे हुन् प्रिय
आफ्नामाथि नगर्नु कहिल्यै यो व्यर्थको संशय ।।२।।
यो तिम्रो लयबाट बुझ्छु मुटुको खाटो बिझाए सरी
यद्वा स्नेह धरापमा हुन पुगी माया रिसाए सरी
मेराे याे मनभित्र ता बिरहकै अागाे लगाए सरी
बैंसालुहरुले कुनै बिरहको भाका लगाए सरी ।।
तिम्रो तान र गानका लहरमा छल्कन्छ मेरो मन
चोखो तान र गानकै लहरमा उम्लन्छ मेरो मन
केही बुझ्न सकिन्न भित्र भुँवरी पर्दैछ मेरो मन
यो बेला बुझिसक्नु छैन किन हो तड्पिन्छ मन ?
