Skip to content

चूडा निर्भीक

दुख्दैछ आज यो देश

दुख्दैछ आज यो देश मेरो सिमाना बल्केर
आगोमा हात नराख वैरी जलाउला दन्केर ।

पुर्खाको चिनो स्वतन्त्र देश खानलाइ नखोज
दवाइराख्छु यो सानो राष्ट्र कहिल्यै नसोच ।

नेपाली मात्र बन्नु छ

छ सम्विधानको वात देशभित्र निरन्तर ।
पर्खी बस्दछ नेपाली बन्दैन खासमा तर ।।

आआफ्नै डम्फु ठोकेर बन्छ भन्छौ यहाँ किन ।
सम्झौता के गरी हुन्छन् फर्कदै उत्तर दख्खिन ।।

संघीयताको प्रसव पीडामा देश

नझुल्किदैमा संघियताको नौलो विहान
थपिंदै गए नेपालीका थुप्रै नयाँ चिहान
दलीय स्वार्थवीच नवीन लेख्दा विधान
खर्चेर ढुकुटीमात्र कहाँ नव सम्विधान ।

यतिवेला देश एकात्मक राज्य प्रणालीबाट संघीय वा प्रादेशिक राज्य प्रणाली तर्फ उन्मुख छ र निकट भविष्यमा यो देश भित्र थुप्रै प्रान्त बन्दैछन् । यस परिप्रेक्ष्यमा पहिला दुईवटा उदाहरण पेश गर्न चाहन्छु ।

नेपाल प्यारो छ यो

हेर्दा उत्तरमा हिमाल जुन झैं टल्कन्छ आभा भरी ।
त्यस्का मुन्तिरमा पहाड चुचुरा खापी मिलाए सरी ।।
खुल्ला दख्खिन फाँटमा त हरियो सम्मै तराई भयो ।
आहा स्वर्गसरी त यो जगतको नेपाल प्यारो छ यो ।।१।।

प्रादेशिक नेपाल र यसका सम्भाव्य प्रभावहरू

दोश्रो संविधानसभाको निर्णयबाट अब नेपाल एकात्मक राज्य व्यवस्थाबाट संघीय गणतन्त्रात्मक राज्य व्यवस्थामा परिणत भएको छ । यो एउटा अत्यन्त ठूलो र महत्वपूर्ण निर्णय हो जसलाई संविधान निर्माणको चरणमा बलपूर्वक राखिएको एउटा जवर्जस्त कदम मान्नुपर्ने हुन्छ । यसको मतका हिसावले जनताले संविधान निर्माणका लागि दिएको मतलाई आधार मान्दा ज्यादै ठूलो वहुमतले पारित गरेको निर्णय भन्न मिल्छ भने जनतालाई प्रत्यक्ष मतमा समावेश गराएर जनमत संग्रहको प्रकृया पुरा गराएको भए, सम्भवत प्रादेशिक राज्य व्यवस्था राजनीतीकर्मी वाहेक अन्य समुहका आम जनताको चासोको विषय देखिदैनथ्यो तर पनि यो एजेण्डा राष्ट्रले अन्तरिम संविधानमा नै उल्लेख गरिसकेको, देशमा माओवादी कालमा उठाइएका जातीय र प्रादेशिक अधिकार तथा क्षेत्रीयरुपमा किराँत, लिम्वु, मधेश, तामांग, गुरुङ्ग, मगर वाहुल्य क्षेत्रका जनताले राम्रैसँग मलजल गरेको र खास गरी मधेशी समुदायका धेरै व्यक्तिहरूले सहादत गरेका र राज्यसँग संघ बनाउन सहमत गराई विभिन्न मितिहरूमा गरिएका सन्धि तथा सम्झौताहरूका कारण संघीय नेपाल अनपेक्षित निर्णय नभएर अपेक्षित निर्णय भएकाले राज्यसँग वा संविधान निर्माताहरूसँग प्रादेशिक राज्य बनाउनै पर्नै वाध्यता थियो ।

प्यारो छ रे गोरखा

सेता स्वच्छ हिमाल उत्तर भयो, देखाउँदै वैभव ।
अग्ला छन् सब टाकुरा गगन झैं, नेपालकै गौरव ।।
डाँफेनाच्छ हिमाल मुन्तिर यतै, जोडी बनी जोडका ।
माया लाग्दछ धेर प्राणसरिको, प्यारो छ रे गोरखा ।।१।।

राम्रो फुल्छ गुराँस भीर पहरा, देख्दै अहा सुन्दर ।
छाँगोभै जसरी झर्छ छहरा, कल्कल् वगी तल्तिर ।।
माथीबाट रंगीन खस्छ झरना, देखिन्छ क्या फोहरा ।
मेरो जन्म भयो सखे अघि यहीँ, प्यारो छ रे गोरखा ।।२।।

भूकम्प एक विम्ब अनेक

वारपाकलाई केन्द्रविन्दु बनाएर गएको महाभूकम्प ; बहत्तर साल, ऋतुराज वसन्तको वैशाख शनिवारको, बाह्र बजे, नेपालका लागि कालोदिन, विपद मडारिएको विपरित समय, सङ्कटको विद्रुपक्षण, यस क्षेत्रमा बस्ने यस पुस्ताको मानवका लागि सबैभन्दा भयानक र दर्दनाक दिन । करिव आधिकारिक रुपमा नौ हजार मान्छेको ईहलीला समाप्त भएको र वीसौहजार व्यक्तिहरू घाईते बनाएको शक्तिशाली भूकम्पको पीडादायी कम्पनबाट नेपालका एघार जिल्ला प्रत्यक्ष प्रभावमा परि क्षतविक्षत बन्नपुगे भने करिव २५ जिल्ला प्रभावित हुनपुग्यो ।

सहमति र भैँचालो उस्तै

के सुन्दैछु म
एउटा नाटकको पटाक्षेप
राष्ट्रिय समाचार
कान छेड्ने सहमति शव्द
अब साकार हुने रे ।
भैँचालोले हल्लाएकै हो त
नेताका टाउकामा भएको गिदी ।

मेरी आमा र नेपाल आमा उस्तै उस्तै

मेरी आमा
कहिले कता कहिले कता
वासस्थान खोजी भौँतारिदैछिन्
आफ्नै मूर्ख सन्ततिका अघि हात पसार्दै
जर्जर परेको बुढो शरिर लिएर
बाँकिरहेको सास कहाँ बिताउने भनी ।

धरहराको ठूटोमा बसेर

म कविता कोर्दैछु
मेरो देशको ।
जुन भर्खर महाभूकम्पमा परी
विउँतिने कोशिस गर्दैछ ।

म नियाल्दै छु
सुदुर भविष्य
जो मर्दामर्दै वाँचेका छन्
र आकाश खोज्दैछन् वाँच्नका लागि
किनकि धरतीमा उनीहरूको वास टुटेको छ ।

चार मुक्तक (महाकम्पन)


महाकम्पन तैंले सम्पदा गर्भभित्र गलाइस्
पराकम्प ठूला पठाइस अन्य धेरै ढलाइस्
के गरेका थिए र यी निर्जीव संरचनाले
यसकै चेपुवामा पारेर मान्छे धेरै चलाइस् ।

उफ्फ कस्तो पीडा

शान्त स्निग्ध चलिरहेको जीवन,
जहाँ सम्पूर्ण जीवहरू आल्हादित थिए,
रम्दै थिए, वसन्तको वहारमा ।
उखुम कतै थिएन,
चिसो धुम्म परेको त्यो दिन,
लाग्दैथ्यो शिशिर तर्फ फर्कदैथ्यो,
मानवहरू माघका कपडा उन्दैथिए,
सायद प्रकृतिले रुप परिवर्तन गरेकी थिइन् ।

विनासक भूकम्प

आयो कम्प ठुलो हरे थर हरी पारेर त्यो गै गयो
ज्यादै सुन्दर देश् निमेष भरमा देख्दै खरानी भयो ।
फट् आवाज गरेर गो पटपटी सिन्का टुटेका सरी
मान्छेका घर भत्कियो दशदिशा रुन्थे विलौना गरी ।।

कोही मानिस त्राहित्राहि डरले भाग्दा किचीई परे
क्वै आफ्नै परखालले र घरले ढल्दा थिचीई मरे ।
कस्तो रैछ त दुर्दशा शहरको गाऊँ पुरै शुन्य भो
थ्यो नेपाल हराभरा छिनमहाँ कस्तो मशान् तुल्य भो ।।

स्वास्थ्य सन्देश

खानु अनार केरा भो, अमला आँप अङ्गुर,
सुन्तला स्याउ अम्वा ती, फलजो हुन्छ सुग्घर

रायो मेथी मुला काँक्रो, चना केराउ गाँजर,
राम्रो मानिन्छ खाना जो, मिलाएर लिने गर

दाइजो शुन्य गरौं

कमाई गरी खाउ आफ्नै वुतामा,
दुखेसो गरी वाँच लौ पाखुरामा
न सोचौं पराई धनै दाइजोको,
न खोजौं कसैले यसै पाइएको ।

छ पीडा विदाई गरी छोरिलाई,
झनै पीर लाग्ने परे मूर्खलाई
हुनेहौ सदस्यै पछी त्यो घरैको,
दुखायौ त आत्मा छहारी परैको ।

अविचलित पहाड सबै थोक हो

पहाड स्वाभिमान हो
जुन तन्किन सक्दैन
तर ठिङ्ग भएर
शानले ठडिन्छ
विना कसैको आड लिएर ।
प्रत्येक पहाड स्वतन्त्र र स्वाधीन छ ।
अग्लो छ जस्तो कि सगरमाथा
होचो जस्तो कि स्वम्भूको डाँडो ।
यिनीहरू एक्लाएक्लै भएर पनि
उँचो शिर सगरसम्मै स्पर्श गरिरहेछन् ।

असमानता

१) जे देखियो

गाडी पार्किङ देखियो महलमा, प्राडो पजेरो कतै,
मान्छे फेरि देखिए सडकमा, नाङ्गै सुतेका कतै ।
हीरा औ सुनका हजार गहना, राखिन्छ टन्नै कतै,
खानाको अभावमा लसुनको, खोजी हुने भो कतै ।।१।।

यौटा सुत्छ चौधतले निजी भवनमा, एसी लगाई पुरा,
अर्को सुत्छ मुनी कठै सडकमा, साथ्मा मगन्ते भुरा ।
यौटा वर्ग असाध्य सम्पति लिई, सम्पन्नता भोग्दछ,
दोस्रो वर्ग पिडीत भै कठिनले, बाँच्ने कला खोज्दछ ।।२।।

स्वास्थ्य शिक्षा

वाच्नेछौं रहि स्वस्थ हामी सबनै, सोची भलो जीवन,
गर्नु हुन्न कुनै खराव चिजको, सेवन् मनैमा गुन ।
खाने गर्नु छ है शरीर वलियो, पार्ने ती खानाहरू,
मैलो भो नलगाउ गन्ध त दिने, फोहोर नानाहरू ।।१।।

धोई सावुनले पखाली कर ती, खानू छ खानेकुरा,
बस्ने ठाउँ सफा गरेर घरका, फाल्नू झिंगा माकुरा ।
मीठो स्वाद हुनेछ भनेर मुखको, खाना निकम्मा लियौ,
निम्तो कालमहाँ गरेर तिमीले, त्यो मन्द विषै पियौ ।।२।।

हाय मेरी दिदी (लघुकथा)

आज ऊ जेलमा बसेर छट्पट्टिरहेको छ । उसले सम्झियो ।

सबैजना मिलेर गाउँघरमा भाइटीकाको रमाइलो गरिरहेका थिए । पीङमा पनि उत्तिकै रमाइलो देखिन्थ्यो । उसको घरमा एक्ली दिदी एक्लो भाइलाई टीका लगाउन आएकी थिइन् । दिदीको गलामा ठूलो हार सहितको सेटका अन्य गहनाहरूले गर्दा मुहार धपक्कै बलेको देखेको थियो । मलाई समस्या छ पैसाको तर दिदी भने छपक्कै गहनाले पुरिएर माईत आएकी छ । भिनाजुले कहाँबाट ल्याउँछन् होला यत्तिका सम्पति कारको सवारमा आउनेजाने र महंगा कपडाले सजिएकी दिदीको साजसज्जाबाट नै ऊ भिनाजुको आयश्रोतको अन्दाज लगाउन खोज्दथ्यो ।