मेरी आमा
कहिले कता कहिले कता
वासस्थान खोजी भौँतारिदैछिन्
आफ्नै मूर्ख सन्ततिका अघि हात पसार्दै
जर्जर परेको बुढो शरिर लिएर
बाँकिरहेको सास कहाँ बिताउने भनी ।
मेरो देश नेपाल
कहिले सुस्तामा लुटिन्छिन्
कहिले लिम्पियाधुरामा पापीहरूबाट
भौतिक सीमा खोजी भौँतारिदैछिन
आफ्नै सन्तानका वीच हात थाप्दै राष्ट्रियताको
लुछिएको जर्जर नक्शा लिएर
बाँकिरहेको जमिन कसरी जोगाउने भनी ।
तसर्थ लाग्छ मलाई मेरी आमा र नेपाल आमा
उस्तै उस्तै हुन कपुत सन्तानबाट अभिशप्त ।
मेरी आमा
वैँशमा अत्यन्त सुन्दर थिइन् रे
आज लाली हराउँदै गएर फुङ्ग उडेको छ अनुहार
त्यसमाथि खोज्दैछिन् मानवीयता सन्तानमा
कसैले आफ्नो उद्धारको जोखिम उठाउला कि भनी
पीडामा छिन वर्षौँ पहिलेको दर्जन सुत्केरी व्यथाभन्दा
सुस्केरा हाल्दैछिन् अब भैँचालो पछिको बर्खालाई सम्झिएर ।
मेरी नेपाल आमा
ईतिहासमा अत्यन्त मजवुत थिइन रे
टिष्टादेखि काँगडामा फैलिएर रमाउँथिन् रे
आज खुम्चिएर चिथोरिंदैछिन मेची महाकाली भित्र
खोज्दैछिन् सत्तामा सपूत देश हाँक्ने देशभक्त
जसले जोखिम उठाएर सबल नेपालको सीमास्तम्भ तयार गरोस्
त्यही स्तम्भमा ठडिएर नवनिर्माणको खाका कोरोस्
उज्वल नेपालको अनि वास्तविक सार्वभौमिकताको ।
तर हाल नेपाल आमा पीडामा छिन्
लिपुलेकको चोटबाट रगतसँगै पीप बारिएर टन्टनी
कालापानीको परेड सम्झिदै हक्कानिदैछिन्
चौटा अँझै लुछिएलान् कि भनी शंकाले हेरेर
सुस्केरा हाल्दैछिन मुटूमै प्रहार गरेको भैँचालोको पीडा बाँकी छ
अँझै बर्खामा पहिरो जाने र मारिने सन्तानका आँकडा सम्झिएर ।
तसर्थ
तसर्थ लाग्छ मलाई मेरी आमा र नेपाल आमा
उस्तै उस्तै हुन भैँचालो र बर्खाको भेलबाट अभिशप्त ।
मेरी आमाले स्याहारिन्
हुर्काइन् बढाइन् पढाइन् आफू गुलाम बनी
सपना सजाइन् वुढेसकालको सहारा बन्नेछन्
नेपालमा मात्र होइन मेरा सन्तान विदेशका चिनारी बन्नेछन्
आफू अशक्त भएको अवस्थामा हातहातै सजाउनेछन्
सयपत्रीका मालासरी गलामा उनेर आदर र प्रेमले लगाउनेछन्
तर तिम्रो भाग्य गर्ल्याम्म ढलेको छ वस्ने थलो थला परेको छ ।
लट्ठीको सहारामा कामेको तिम्रो जीउ
मुजामुजा भै चाउरेको अनुहारमा धर्सैधर्सा थोपरेर
प्रकृतिले भासमा धकेलेको छ तर सन्ततिले देख्दैनन्
तिमी बिनाको परिवारमा लट्ठ भै सम्पत्तिमा रमेर अन्धा बनेका छन् ।
नेपाल आमा तिमीले
वास दियौ गाँस दियौ पढायौ विद्वान बनायौ
तर तिमीलाई नै केहीले धिक्कार्दै मुग्लान अँगालेका छन्
केहीले तिम्रो धरतीमा अन्धकार मात्र देखेर विदेश उज्यालो देखेका छन्
कतिलाई त राज्यले नै बेचेको छ रेमिट्यान्समा
कति रुँदैरुदै पलायन भएका छन् वाध्यताले
र अँझै कति त फर्किएर आउँछन् बन्द वक्शा भित्र तिमीमा समाहित हुन
तिमीलाई लाग्दो हो नेपालमा जन्मिएर सुन फलाउनेछन्
विश्वको सुन्दर धरतिलाई सजाएर स्वर्गै तुल्याउनेछन्
नेपाल आमाको चरणको माटो सम्झिएर शिरमा सजाउनेछन्
तर तिम्रो मुटू हल्लिएको छ छाती चिरिएको छ धुजाधुजा भै
उसै त भद्रगोल बनाईएको तिम्रो अनुहार चिराचिरा पारेको छ
प्रकृतिले भासमा धकेलेको छ छाती धराप भएको छ
मेरी आमाको जस्तै
सन्ततिले देख्दैनन् पालमा र राहतमा पनि लुछाचूँडी छ
कहिले पीडीतको पालो कहिले पीडकको कसले आफैलाई बढी राख्ने भनी ।
तसर्थ फगत तसर्थ
लाग्छ मलाई मेरी आमा र नेपाल आमा
उस्तै उस्तै हुन चिरचिरा र धुजाधुजामा अभिशप्त ।
हेर्छु आमाको मलिन अनुहार ग्लानिले पानीपानी बन्छु
देख्छु नेपाल आमाको मुहार शर्मले खरानी हुन्छु
आखिर दुवैका उद्धारमा मेरो भूमिका के हो
मैले खुट्याउन सकिरहेको छैन केवल छाती पोलिरहन्छ
विपनामा मात्र होइन सपनामा पनि यिनै दूई अनुहार बोलिरहन्छ
मलाई बचाऊ मलाई बचाऊ दुष्टता र छुद्रताको जालबाट भन्दै आँशुको भेलबाट ।
दुवै वेसहारा दुवै जर्जर अनि दुवै अभिशप्त
अथाह स्रोत र साधनमा पनि वाँच्न पर्ने वाध्यतामा छोपिएका
तसर्थ लाग्छ मलाई मेरी आमा र नेपाल आमा
उस्तै उस्तै हुन स्नेह सद्भाव र करुणामा अभिशप्त ।
वास्तवमै आफ्नै सन्ततिबाट तिरष्कृत र अभिशप्त ।
