Skip to content

धरहराको ठूटोमा बसेर


म कविता कोर्दैछु
मेरो देशको ।
जुन भर्खर महाभूकम्पमा परी
विउँतिने कोशिस गर्दैछ ।

म नियाल्दै छु
सुदुर भविष्य
जो मर्दामर्दै वाँचेका छन्
र आकाश खोज्दैछन् वाँच्नका लागि
किनकि धरतीमा उनीहरूको वास टुटेको छ ।

म घोत्लिंदै छु जीवन खोज्न
हराएको छ नजिकैबाट
जहाँ मृत्युले पराजय भोगेको छ
वाँच्नैका लागि खण्डहर खोतलेर
कोदो र फापर निकाल्दैछिन् महिला ।

सम्पदा अवलोकन गर्दैछु
भग्नावशेष माथिको कुँडा कर्कटमा ।

कसरी रोटेपीङ्ग खेल्यो होला
शताव्दीकै महाप्रलयमा विलय हुनु अघि
ढ्याम्म वजारियो र आधा शतक जीवन स्वाप्प निल्यो अरे
उफ् कसरी पत्याउने यो तीतो यथार्थ
सत्य यही हो देखिँदैछ कुरुप थुप्रो
नपत्याए आँखा खोलेर हेर
म धरहराको ठूटोमा बसेर कविता कोर्दैछु ।

संघियराज्य नेपालको नवनिर्माण
सम्वन्धि खाका कोर्दैछु
तहसनहस सम्पदाबाट ।

के म सफल हुन्छु होला
मनमा गर्हौँ जिजीविषा पालेर
एउटा सुदुर नेपालको मानचित्र
जहाँ देख्दैछु सुन्तला झैँ केस्रैकेस्रा ।

मुख वाइरहेछन् लिपुलेकबाट दूई जोडी आँखाहरू
कतै भविष्यमा मेरो नेपाल असुरक्षित नबनोस् ।

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *