Skip to content

विनासक भूकम्प


आयो कम्प ठुलो हरे थर हरी पारेर त्यो गै गयो
ज्यादै सुन्दर देश् निमेष भरमा देख्दै खरानी भयो ।
फट् आवाज गरेर गो पटपटी सिन्का टुटेका सरी
मान्छेका घर भत्कियो दशदिशा रुन्थे विलौना गरी ।।

कोही मानिस त्राहित्राहि डरले भाग्दा किचीई परे
क्वै आफ्नै परखालले र घरले ढल्दा थिचीई मरे ।
कस्तो रैछ त दुर्दशा शहरको गाऊँ पुरै शुन्य भो
थ्यो नेपाल हराभरा छिनमहाँ कस्तो मशान् तुल्य भो ।।

ज्यादै सुन्दर जो थियो धरहरा गर्ल्याम्म पल्टी गयो
पुर्खाका दरवार् र देवल सबै भाँच्चेर ढल्दो भयो ।
बारम्वार गयो र कम्प बलियो सातो सबैको लियो
आमाबावु मरे धराप घरमा क्वै काख नै रित्तियो ।।

कालो काल पसेर चप्प मुखले तान्यो र लग्यो सबै
हज्जारौँ छिनमा मरेर टुहुरा ती बाल भए तवै ।
पाखो नै बगिगो कतै त पहिरो डाँडा र खोला दुवै
हाहाकार भयो कहाँ कतिमरे जान्दैन कोही सवै ।।

अँध्यारो ढपको र मध्य पखको वारै बजेको छिन
वैशाखै महिना वसन्त रितुको बारै गतेको दिन ।
सालै हो जहिले वहत्तर नयाँ वर्षै फिरेको छ नि
नेपाली जनको खुनी तरहको कालो दिवस् भो पनि ।।

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *