Skip to content

नेपाल प्यारो छ यो


हेर्दा उत्तरमा हिमाल जुन झैं टल्कन्छ आभा भरी ।
त्यस्का मुन्तिरमा पहाड चुचुरा खापी मिलाए सरी ।।
खुल्ला दख्खिन फाँटमा त हरियो सम्मै तराई भयो ।
आहा स्वर्गसरी त यो जगतको नेपाल प्यारो छ यो ।।१।।

राता फूल गुराँसको महकता ती उच्च भूभागमा ।
बारैकाल रहन्छ मौसम मिठो त्यै मध्यको भागमा ।।
चौडा छाती तराइका लदवदी सब् अन्नले टन्न भो ।
अर्को छैन बराबरी भुवनमा नेपाल प्यारो छ यो ।।२।।

सानो देश तथापि यी विविधता हावा र पानीमहाँ ।
नेपाली पन हो मिलेर रहने देखिन्छ शान्ती जहाँ ।।
सम्मान् अर्पण अन्यमा गरिदिने हाम्रै त संस्कार हो
आफै मिल्दछ केहि छैन झगडा नेपाल प्यारो छ यो ।।३।।

कर्णाली भर देखिए जडिवुटी यार्सा र सन्जीवनी
बाबा खप्तडको गरिन्छ महिमा पढिन्छ रे जीवनी ।
जाऔं है रसुवा धरान धनुषा त्यो पोखरा रम्य भो
सौराहा मनकामना पशुपती नेपाल प्यारो छ यो ।।४।।

ठोक्दै मादल झ्याउरे लय झिकी नाच्छन् पहाडी युवा
ख्याली च्याम्रुकमा खुशी रहरले रम्छन् ति शेर्पा झुमा
रोदी नाच्छ समाइ हात गुरुङ त्यो जोडी मगर्नी भयो
फेरी यादवले सहन्छ ठकुरी नेपाल प्यारो छ यो ।।५।।

रारा मैदि र वेगनास तिलिचो फेवा रुपा ताल का ।
मेची वागमती नदी ति कमला राप्ती र भेरी निका ।।
लोत्से चोयु मकालु यी हिमचुली मोतीसरी देशको ।
यस्ता लाख चिनारिले जगतमा नेपाल प्यारो छ यो ।।६।।

राजा राज्य गरी बसे जनकले सीता दिई राममा ।
जन्मे गौतम वुद्ध चर्चित रहे त्यो लुम्विनी धाममा ।।
छोरी चीन दिएर राज्य वलियो भो अन्सुवर्मा जि को
धेरैको जब योगदान मिलिगो नेपाल प्यारो छ यो ।।७।।

ज्यादा वर्णन के गरौं र यसको हो राष्ट्र आत्मैसरी
भागी जानु कहाँ पलायन भै धिक्कार यो जिन्दगी ।।
चिथ्रा भो धरती विगारि अहिले भूकम्पको चाल हो
नेपाली सबले मिली अब गरौं नेपाल प्यारो छ यो ।।८।।

हामीले त गरे सकिन्छ शहरै बस्ती बसाई दिन
मान्छेका मनबाट झिकेर डरको पोको हटाई दिन
तन्नेरीहरु हो विकास नगरे यो राष्ट्र मुर्दा भयो
स्वर्गै बन्छ यहाँ गरिन्छ सबले नेपाल प्यारो छ यो ।।९।।

भोलीको जव घाम पूर्वतिरमा लाली चढी आउला
नेपाली धरती छ सुन्दर भनी यो विश्वले गाउला
देखें यो सपना विशाल धरती मानिन्छ सम्पन्नको
मेरो प्राणसरी सदा मुटुभरी नेपाल प्यारो छ यो ।।१०।।

1 thought on “नेपाल प्यारो छ यो”

  1. कविता धेरै मीठो लाग्यो हजुर ।
    कविता धेरै मीठो लाग्यो हजुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *