Skip to content

उफ्फ कस्तो पीडा


शान्त स्निग्ध चलिरहेको जीवन,
जहाँ सम्पूर्ण जीवहरू आल्हादित थिए,
रम्दै थिए, वसन्तको वहारमा ।
उखुम कतै थिएन,
चिसो धुम्म परेको त्यो दिन,
लाग्दैथ्यो शिशिर तर्फ फर्कदैथ्यो,
मानवहरू माघका कपडा उन्दैथिए,
सायद प्रकृतिले रुप परिवर्तन गरेकी थिइन् ।

कैयौं व्यक्तिहरू शनिवारको छुट्टि मनाउँदै व्यस्त,
कैयौँ स्नानागारमा मस्त
केही आरामले भोजन ज्युनारमा अलमस्त
किसान मकैबारीमा उकेरा लगाउँदै गर्थे,
व्यवशायी व्यवशायमा नै अलमस्त थे,
गोठालाहरू चौरमा चौपायाहरू सम्भाल्थे,
गृहिणीहरू चूलाचौकामै रम्दै थिए,
विद्यार्थी फुटवल र क्रिकेट व्याट समात्थे,
रोजगारमा संलग्नहरू बिदाको मनोरन्जनमा व्यस्त बन्दैथे ।

वहत्तर वसन्त वैशाखको दिनाङ्क वार,
मध्यान्ह वार वज्नै लागेको मात्र थियो,
एक्कासि ! अकस्मात ! चरक्क ! फनफन !!
धिकधिक !! पट्टपट्ट !! सृष्टि खल्बलियो,
धूलो उड्यो जमिन फाँट्यो थरररर्र् काँप्यो भूमि
विधाता क्रूर बनेर, जीवन बलजफ्ती खोस्न थाल्यो ।

ताण्डव नाच !
यो शताव्दीकै भयानक दृष्य !!
धरतीको यो रौद्ररुप ?
हा ! हा ! धिपधिप !! गुहार !! गुहार !!का आर्तनाद,
सुरक्षाका लागि बनाइएका वासस्थान, चिहानमा परिवर्तन ।
फलामे किल्ला मानिएका हिमाल सिन्का मानिए,
बस्ती बसालेर अन्न फलाउने पहाड तृण ठानिए,
जीवन दिलाउने र मौलाउने फाँटहरू बगर बने,
सुन्दर शहर र चित्ताकर्षक गाउँहरू खण्डहर ।
सभ्यताको पहिचान कला र संस्कृति
भूगर्भमै समाहित हुन पुगे ।
मेरो देशका धरोहर मनमोहक स्तम्भ,
गर्लम्म परेर मानव रक्त पिउन निहुरियो ।

हे प्रकृति ?? हा धरती !!
तिमी पृथ्वी हौ कि संसार ?
धरातल हौ कि रसातल वा चराचर ??
सम्पूर्ण जीवनदायिनी एकमात्र शक्ति ;
सृष्टिकी एकमात्र पहिचान सौन्दर्यकी परिचायक ;
शान्त स्निघ्द र अटल सौम्य मूर्ति ।
आज तिमी नै उग्ररुप लिएर,
संहारमा उत्रिएकी छौ माता !
जीवन निल्दै, आगो उकेल्दै, शरिर कमाउँदै,
कटकटी दारा किट्दै, बङ्गारा उद्याउँदै, प्रहार गर्दै ।

उफ्फ कस्तो पीडा !!
न समय दिन्छयौ, आउँदैछु भनेर !
न चुपचाप गइदिन्छयौ, अब पुग्यो भनेर,
न हल्लाउन छोड्यौ यी जीव डराए भनेर,
न भत्काउन छाड्यौ, यी गरिबले बनाउन सक्दैनन भनेर ।

हिजो अस्ति, कुन्नि कुन समय देखि हो खोई ?
मानवबाट नै मारिन्थे, यो देशमा मान्छे
सहमतिको नाटकले आक्रान्त थलो भो लामो समय,
बेचिए फेरि विश्वमा यसै देशका बलिया युवा र उर्वर युवती,
तिन्कै रगत पसिनाले अलिकति धिपिधिपिदियो बल्दैथियो,
झ्याप्प निभायो, विशाल हडकम्पले,शक्तिशाली भूकम्पले ।

भो ! भो ! अब पुग्यो,
कृपया अब नसताउ,
जति लग्नु थियो लगिसक्यौ, अब आमाहरूका काख नखोस,
बाबाहरूका आस्था र भरोसा नछिन,
वालकलाई अँझै टुहुरा नबनाउ,
गरिबलाई टहरोमा अँझै त्रास नदेखाऊ ।
विन्ती छ अब तिमी काल बनेर मेरो देशलाई अंकमाल नगर,
विन्ती देशलाई छियाछिया र टुक्राटुक्रा नपार संघियतामा बाँडेजस्तो ।

तिमी अब गईदेऊ
कहिल्यै नआउने गरी
आउनै मन लागे सुस्तरी
बिस्तारै चालमार्दै आउनु
डराएर सुतेको बाला निदाएको छ छैन भनी केवल गाला सुम्सुम्याउनु
अनि थपथपाएर आफ्नै बाटो लाग्नु तर निद्रा भंग नगर्नु ।
धरती आमा अब मानव आफैले निर्माण गरेको र गर्ने टहरोमा
फुसफुस निदाउन चाहन्छ निर्धक्कसँग निष्फिक्रीसँग र ढुक्कसँग ।
कहाँ भाग्ने र तिमीले तर्साएको भागेपनि तिमीमै बसेपनि तिमीमै
कमाउने पनि तिमी भगाउने पनि तिमी र आश्रय दिने पनि तिमी
तिम्रो सदा जय होस् सदा विजय होस् र सदा कल्याण होस् ।

चूडा निर्भिक
मिति २०७२ जेष्ठ ९ शनिवार विहान

Leave a Reply

Your email address will not be published. Required fields are marked *