गद्य कविता
जूका
यो दुनियाँ अचम्म लाग्छ
हेर्दाहेर्दै,
देख्छु यहाँ जूकै जूका छन।
हेर्दा न मुख देखिन्छ
न नाक अनि आँखा नै,
लुकेर आउछ सल्बलाउदै
टप्प टासिन्छ थाहै नपाई
शरीर रगताम्य पार्दै
आफ्नो भोक मेटाई रहेछ
शायद पेट्भरेपछी
शरीर को काम हुने छैन
तरपनि ,
छोड्दैन शरीर
किनभने यो त जूको हो
न सोच्न सक्छ
न बुझ्न नै
एउटा परजीबी।
न चुस्न छोड्छ
न बास्थान नै
यो जूकै जूकाको दुनियाँ
यहाँ त उनिहरुकै रजाइँ चल्छ
न्याय पाउन यहाँ उनीहरु संगै चुसिनु पर्छ
तुलहरूको देशमा
बस्तीको साझा चौतारीमा
अर्को तुल झुण्डयाउन नपाईने चेतावनी लेखेर
भर्खर झुन्ड्याइएको छ
सहअस्तीत्वको नाममा एउटा अर्को नयाँ तुल
गिट्टीसँग कुटिएका हातहरूले
चियाका मुनासँग चटक्क टिपिएका यौवनहरूले
भोकमरीले थाकेका पेटहरूले
कहिल्यै भेटन नसक्ने उचाइमा
झुण्डिरहेका हुन्छन्
हात, यौवन र पेटका पक्षमा लेखिएका तुलहरू
सावधान प्रिन्टरहरू
प्रिन्टरले संकेतका भरमा
निर्देशन र सुचनाहरू चुपचाप छापिरहन्छ
प्रिन्टरले अक्षरहरू पढ्दैन अथवा वुझदैन
मात्र निर्देशन फटाफट छाप्छ
किनकि शव्दहरू सँग
उसको कुनै सम्वन्ध हुँदैन
उसका आफ्ना शब्दहरू पनि हुँदैनन्
त्यसैले प्रिन्टरको
शब्द प्रति कुनै मोह हुदैन
प्रिन्टर सँग छाप्न हुने वा नहुनेको
कुनै विवेक विन्दु हुदैन
