हिजो आज,
मेरो टोलको नाइट ड्युटी परेको छ
डे ड्युटीमात्र गर्ने बानी,
सुत्न सक्दैन दिउँसो
चैते हुरीसँग मन बत्तिन्छ
तुवाँलो आकाशको,
कहिले फाट्ला भन्दै
हाई काड्दै पर्खिबस्छ
अनि, समसाँझै उङ्न थाल्छ ।
बत्ती छैन, टिभी-कम्प्युटर चल्दैन
मनोरञ्जनमा भुल्दैन
अचेल मेरो टोल भलादमी पल्टेको छ,
दिनभरिको आलस्य त्यागेर
रात गुलजार पार्छ
हल्लाखल्ला, कोकोहोलो मच्चाउँछ,
डान्सबार दोहरी रेस्टुरेन्ट
यतै सरेको झल्को दिलाउँछ,
टोल एघारबजेपछि निस्फिक्री व्यस्त हुन्छ ।
मोटर, हाते कल
एक्स्टेन्सन सेटहरू रेडी पार्छ,
पानीको प्रतीक्षामा काकाकुल मेरो टोल
घरिघरि नाडीघडी अथवा
मोबाइलसेटमा टाइम हेर्छ
खै! अझै आएन ? टुटी छाम्छ
कान धारामा लगेर जोत्छ
र ढुँग्रोको धोद्रे स्वरलाई
आगमनको शुभसंकेत मान्छ,
मायालुको पर्खाइमा
अधैर्य प्रेमीझैं
ब्यग्र, ब्याकुल र चञ्चल बन्छ ।
प्रोफेसर शर्मा नाइट ड्रेसमै
अह्राउन थाल्छन् सानेलाई
बरा, उठ्छन्
मान्दैन मन ओछ्यानमा पल्टेर बस्न
बाहिर त्यस्तो रमझम छाएको बेला,
डाक्टर झा आफैं
जोड्न थाल्छन् मोटरको प्लग बिजुलीको सकेटमा
लुँगी कुर्कुच्चादेखि लगेर कम्मरमा दोब्य्राउँछन्
र सिगार सल्काउँछन्
पेटी कस्दै नाइटगाउनको
डाक्टरनी सा’ब टमीलाई नभुक्न फकाउँछिन्
भन्छिन्, अहा! कस्तो रमाइलो होसपूर्वक जागेको रात छ !
सबैको आ-आफ्नो सोंच छ
प्रत्येकलाई स्थितिबोध छ,
कटुवालनी बजैको कम्मरमा
चोखोपानीले भरिन
तामाको गाग्री तम्तयार छ,
च्याङवाकी बूढीको
दुईटा प्लास्टिक बाल्टिन निम्ठो भर्ने दाउ छ
बूढा रमतेललाई
एउटा दस लिटरे जर्किन झुसी पार्ने मन छ
जुलुम ततालाई
अन्डरग्राउन्ड ट्याङ्की फूल पार्नु छ
त्यत्रा बहालवालालाई पानी जो पुर्याउनु छ
बिन्देश्वरलाई बस्
रातका लागि दुईगोटा ठूलो पेप्सीको बोतलमा
पानीको जोगाड गर्नु छ ।
यो चहलपहलमा
मेरो टोलले
अनेकतामा एकता सिद्ध गरेको छ,
बुद्धिजीवी, श्रमजीवी
घरबेटी, सुकुम्बासी
पेट्रोलचोर, ढुकुटीचोर
फेरिवाला, कारवाला
सबैलाई एउटै सूत्रमा बाँधेको छ,
बासमती चामल ज्यूनार गर्ने
थर्डक्लास मन्सुली पचाउने
सबै सबैको,
प्यास एउटै भन्ने बुझाएको छ ।
यसपालि कसैले
ट्याङ्करको पानी किनेर
दिनैपिच्छे,
दीनदुःखीलाई बाँड्छ भने
संविधान लेखिभ्याएपछि
मेरो टोलले उस्लाई
निर्विरोध मन्त्री बनाउने अठोट गरेको छ ।
-काठमाडौं ।