यदाकदा मेरा अफन्तहरू भन्ने गर्छन्, मेरो अनुहार ठ्याक्कै आमाको जस्तो छ । उनीहरू अँझै थप्छन् आमाका अनुहारका छोरा र बाउका अनुहारका छोरी भाग्यमानी हुन्छन् । जब आमाको सम्झनाले मन भकभकी उम्लिन थाल्छ, म ढोका बन्द गर्छु र आमाको चुल्ठो लगाएर ड्रेसिङ टेबुल अगाडि उभिन्छु । यही चुल्ठो लगाएर कान्छी फुपूको बिहेमा खिचिएका आमाका तस्विरहरू हातमा लिँदै आफ्नै अनुहारमा आमाको अनुहार खोज्न थाल्छु । अफन्तहरूका कुरमा केही सत्यता भएको आभास हुन्छ । चुल्ठोलाई घरी छाती तर्फ लर्काउँछु, घरी पिठ्युतर्फ । आफूलाई निकैबेर ऐनामा निहारेपछि अलि न्यास्रो मेटिन्छ । चुल्ठो फुकाल्छु । बाटिएको चुल्ठोबाट फुस्किएर लट्टा परेका केही कृतिम रौँहरू मसिनो काँइयोले कोरेर मिलाउने प्रयास गर्छु । अन्तमा चुल्ठो र फोटोहरू ड्रेसिङ टेबलको भित्री कुनामा लुकाउँछु । मेरा यी नितान्त व्यक्तिगत गतिविधिहरू कसैलाई थाह छैन र थाहा पाउन जरुरी पनि छैन । मसँग भएको मेरी आमाको व्यक्तिगत निसानी यही चुल्ठो, ड्रेसिङ टेबल र कान्छी फुपूका बिहेका केही फोटाहरू । कतै कतै घरका भित्ताहरूमा टाँगिएका फोटाहरू ती सबैका साझा हुन् ।

आमासँगै हुनुहुँदा म आमालाई ममु भन्थेँ । अहिले मनमनै आमा भन्न आनन्द लाग्छ तर अरुका अगाडि ममु नै भन्छु । सकेसम्म म कसैसँग आमाका प्रसँग नै उठाउन्न । कोही आफन्तहरू पनि मेरा अगाडि आमाका कुरा गर्नुहुन्न । तैपनि मन भने दिनमा आठ दश पटक आमालाई सम्झिरहन्छ । अँझ कसैले मेरो बिहेको प्रसँग उठायो भने त मनले त्यहाँ आमा खोज्न थालिहाल्छ । आमा सधैँ भन्नु हुन्थ्यो, “मभन्दा राम्री आउँछे मेरी बुहारीे ! ”

जनै पूर्णिमाको दिन घरमा तीनै जना फुपूका परिवार निम्त्याइनु भएको थियो । कान्छी फुपूको असारमा मात्र बिहे भएको थियो । कान्छा फुपाजु नयाँ हुनु भएकाले म अलि धकाउँथे । अरुसँग कुनै धक थिएन । म दश वर्षको थिए मेरी आमा तीस वर्षकी । दुई दिन अघिबाट आमाको गतिविधि फेरिएको थियो । कुनै पनि कुरा एकै छिनमा बिर्सनु हुन्थ्यो । विशेष गरी छिन छिनमा दाँत माझ्नु हुन्थ्यो, मुख धुनु हुन्थ्यो र घर बडार्न थाल्नु हुन्थ्यो । एकै छिनमा थाक्नु हुन्थ्यो र गएर ओछ्यानमा पल्टनु हुन्थ्यो । फेरि एकै छिनमा, “आहो ! यति बेलासम्म सुतिछु” भन्दै उठेर उही प्रकृया दोहोर्याउनु हुन्थ्यो । आमाका यी कृयाकलाव बडो रमाइलो लागेको थियो मलाई । कतिबेला पाहुना आउनु होला र आमाको गतिविधि थाहा पाउनुहोला भन्ने हतार थियो बिहानैदेखि । मलाई लागेको सबैभन्दा ठूलो कौतुहलता उहाँहरूको प्रतिकृया कस्तो रहला र कति हाँस्नु होला भन्ने थियो ।

पाहुनाहरू आउनु भएपछि आमाले अँझै एउटा गतिबिधि थप्नुभयो । ‘ओहो ! भिनाजु र ज्वार्इँ साबहरू आई सकिसेछ थाहै पाइन’ भन्दै छिन छिनमा बसेको ठाउँबाट उठेर फुपाजुहरूका अगाडि गई शिर निहुराएर दुई हात जोड्न थाल्नुभयो । आमाका गतिविधिहरूमा अलि अलि हाँस्दै अलि बढी गम्भीर हुनुभयो उहाँहरू । मलाई भने उल्का हाँसो उठ्न थाल्यो ।

“अचेलका कुराहरू बिर्सन थाली, पुराना कुरा सबै याद छ ।” बाबाले बताउनु भयो र आमालाई जिस्क्याउँदै भन्नुभयो, “ए देखि जेडसम्म भन त भारती” । आमा रिसाउनु भयो, “यस्ता त प्रिन्सिपल छन् ….” आमाले खररर भनिदिनु भयो । एउटै स्कुलका प्रिन्सिपल, शिक्षिका र विद्यार्थी थियौँ हामी । आमा रिसाए पनि बाबाले अँझै जिस्क्याउन छोड्नु भएन । “ ल त्यहाँबाट जुरुक्क उठ त अनि मात्रै हामी पत्याउँछौँ तिमीलाई केही भएको छैन भनेर ।” आमा आवेशमा आउनु भयो । गलैचामाथि ओछ्याइएको चकटीबाट उठ्ने प्रयासगर्नुभयो, सक्नु भएन । तैपनि अँझै हिम्मत हार्नु भएन । दुवै हात टेकेर उठ्ने प्रयास गर्नुभयो । डम्म फुलेको भद्दा शरीर र खराब स्वास्थ्यले उहाँलाई साथ दिएन, पल्टनु भयो । आमा र म हाँस्यौ तर अन्य सबै जना गम्भीर हुनुभयो । लड्दा आमाले लगाउनुभएको पातलो उनीको टोपी फुस्कियो । दुई पटक चिरिएको टाउकाको खतहरू र किमोको कारणले झरेर भर्खर पलाउन सुरु गरेका कपालहरू आमाका टाउकामा कतै कतै झुप्पा झुप्पा मात्रै थिए । मास्तिरबाट निधारतर्फ झरेका एक झुप्पा कपालले घोडाको टाउकाको झल्को दिन्थ्यो । पहिले मेरी आमाको स्वरूप यस्तो थिएन ।

आफ्नो शरीर र रुप औधी प्यारो थियो मेरी आमालाई । हुन पनि मेरी आमाको रूप, शिल–स्वभाव, र मनले जग कहलिएको थियो । स्कुलमा म आमालाई ‘मिस’ भन्थ्ये । साथीहरू ‘राम्री मिस’ भन्थेँ । साथीहरूसँग म पनि त्यसै भन्थेँ । स्कुल वा अन्यत्र कतै जानु अघि आमाले आफ्नो शृङ्गारमा निकै समय खर्चनु हुन्थ्यो । रूप र शरीर बिग्रिएला भन्नेमा निकै सचेत हुनुहुन्थ्यो । कतैबाट काँक्रो पाउनु भयो भने भन्नुहुन्थ्यो, ‘काँक्रो त कहाँ खाने चिज हो र ? लाउने पो त !’ फुर्सदमा काँक्रोलाई गोला गोला बनाएर काटिएका चानाले अनुहार ढाकेर सुत्नुहुन्थ्यो । बिहान बिहानै उठेर योगा गर्नु हुन्थ्यो । कपालमा हाल्ने तेलको जोहो आफै नरिवल कुटेर गर्नु हुन्थ्यो । तीन वटा मसिना काला सर्पहरू एकै ठाउँ लठारिएझैँ गरी बाटिएका लामो कपालको चुल्ठोलाई जतनसाथ कोर्नुहुन्थ्यो । आफ्ना चम्किलो छाला र पातला ओठहरूमा प्रयोग गरिने सौन्दर्य सामग्रीका गुणस्तरका बारे विशेष सचेत हुनुहुन्थ्यो आमा ।

एक दिन आमाका रिपोर्ट देखाउन बाबासगै म पनि पुगेको थिए डाक्टरको क्लिनिकमा । आमाको ब्रेन ट्युमरको दोस्रो पटक अप्रेशन गर्ने तयारी हुदैँ थियो । डाक्टरका सबै कुरा मैले बुझिन । एउटा कुरा चाहिं मैले पनि बुझ्ने गरी सम्झाएका थिए डाक्टरले । ‘…. जरा निकै फैलिसकेको छ । उखेल्न सम्भव छैन । माथि माथि खुर्कने हो । त्यसो गर्दा काटेर छोडेको घाँसको बुटोझैँ झनै झाङ्गिएर आउँछ ।….. पहिलो अप्रेशनले त कमसे कम दुई वर्ष काम गर्यो अब त्यति पनि धाान्दैन । …. गर्ने नै भन्नुहुन्छ भने अस्पतालमा गएर डेट लिनुस् । म गरिदिन्छु ।

आमाको दोस्रो पटक अप्रेशन भयो । किमो र रेडियो थेरापी दुवै चलाइयो । कपाल झरेर भर्खर ब्रतबन्ध गरेको बटुकको जस्तो भयो आमाको टाउको । पहिले भएको खतमा अँझै थपिएका खतहरूले धर्सै धर्सा तानिएको माटाको खुत्रुकेझै देखियो । शरीर डम्म फुलेर भद्दा भयो । त्यही बेला कान्छी फुपूको बिहे पक्का भयो । बिहेको तयारी चल्दै गर्दा आमालाई आफ्नो रूपको चिन्ता भएछ । “यस्तो मुडुलो टाउको लिएर कसरी गोडा धुनु । नक्कली कपाल खोजेर ल्याइदिनु ।”

बाबाले छोटो छोटो थाई कटवाला कपाल ल्याइदिनु भयो । आमाले छुँदै छुनु भएन ।

“…. लामा चुल्ठा भएको पाए लाउँछु । नत्र लाउन्न ।” बाबाले धेरै ठाउँ डुलेपछि बल्ल बल्ल फेला पारेर ल्याउनु भएथ्यो यो कपाल ।

जनै पूर्णिमापछि आमाको अवस्था झन झन खस्किन थाल्यो । बिस्तारै आमाले पूरै होस गुमाउनु भयो र पछि दृष्टि पनि । आमा अचेत मुडोझै लड्नुभयो । बाबुको मुख हेर्ने दिनको आसपास थुप्रै दुनामा पैसाहरू र केही टपरीमा चामल हालेर पूजा सामग्रीहरू मिलाउँदै हुनुहुन्थ्यो हजुरआमा । आठ दश जना ब्राम्हणहरूसँगै हुजुरबा आगनमा उभिनुभएको थियो । आमालाई बरण्डामा सुताइएको थियो । म स्कुल जान झोला बोकेर आँगनको डिलमा मात्र पुगेको थिए, आमाले चर्को स्वरमा बोलाउनुभयो, ‘अभियान ?’ म टक्क रोकिएँ । “खाली खुट्टा नहिड् बाबु ! ……. जुत्ता ला ।” मैले घर बाहिर खाली खुट्टा नहिडेको दुई तीन वर्ष भैसकेको थियो । म हाँस्दै स्कुलतर्फ लागेँ । म फर्कदासम्म आमालाई अस्पताल लगिसकिएको थियो ।

त्यस दिनपछि आमालाई मैले देख्न पाइनँ । तिजको दिन बाटाभरि राता पहिरन लगाएका महिलाहरूको हुल शिव मन्दिरतर्फ जाँदै थियो । हजुरआमा मलाई लिएर अस्पताल जानुभयो । हजुरआमा हरियो गाउन लगाएर आमालाई भेट्न न्युरो आइसियु लेखेको कोठा भित्र पस्नुभयो । आँखा पुछ्दै निस्कनुभएकी हजुरआमाले मलाई प्रश्नभन्दा बढी अनुरोधको शैलीमा सोध्नुभयो, “….तँ पनि जान्छस् ?” सायद मृत्युसँग पौँठेजोरी खेलिरहेकी मेरी आमाको अन्तिम दर्शन मलाई गराउन चाहनुहुन्थ्यो हजुरआमा । “… नाई ! म जान्न । …डर लाग्छ,” मैले अस्वीकार गरेँ ।

तिज सकिएर स्कुल भर्खर खुलेको थियो । मसँगै हतार हतार खाना खाएर बाबा र हजुरबा अस्पताल जानुभयो । अन्य छिमेकीहरू पनि हतारिदै थिए । म चाहिँ स्कुल गएँ । बाबाका मिल्ने शिक्षकहरू पहिलो घण्टीदेखि नै अनुपस्थित थिए । भएका शिक्षक शिक्षिकाहरू पनि मलाई हेर्दै मुखामुख गरिरहेका थिए । तेस्रो घण्टीको कक्षा सकिएपछि अचानक स्कुल छुट्टी हुँदा बज्ने लामो घण्टी बज्यो । सबै विद्यार्थी खुसी हुँदै घरतिर लागे । तर बिहानैदेखि एक तमास भएको मेरो मन रमाएन । मेरा उचालिन नसकेका पाइलाहरू जबरजस्ती घरतर्फ घिस्रिदै थिए । माथिबाट चर्किएको घामले मलाई अँझै भुइँतिर थिच्दै थियो । पछाडिबाट आएको गाडी मभन्दा केही कदम अगाडि पुगेर रोकियो । पछाडिपट्टिको झ्यालबाट टाउको निकालेर कसैले बोलायो, “अभियान ! आऊ !” बोलाउने मेरा छिमेकी थिए । मेरो मुटु फुट्ला जसरी जोडले धड्कियो । लरखराउँदै गएर गाडीमा बसेँ । गाडी आएकै दिशातर्फ फर्कियो । गाडीभित्र मेरी जेठी फुपू पनि हुनुहुन्थ्यो । म केही बोल्न चाहिरहेको थिएँ तर घाँटीमा आएर अड्किएको सासले आवाजको स्वरुप ग्रहण गर्न सकिरहेको थिएन । केही क्षणको मौनतापछि बिस्तारै फुपू बोल्नुभयो, ‘कसैले ममुलालाई के भएको भनेर तिमीलाई केही भनेको छ बाबु ?’

अब म पक्का भएँ, मेरी आमा जड हुनुभयो । अघिदेखि घाँटीमा थुप्रिएर बसेका मेरा सासहरू एकै पटक ठूलो आवाज निकालेर बिस्फोट भए ।

आमा नरहनु भए पनि आमाको यो चुल्ठो लामो समयसम्म लुगा झुण्ड्याउने ह्यङ्गरमा झुण्डिरह्यो । आवश्यकताको बस्तु नभएकाले यस्लाई कसैले चासो राखेनन् । क्रुर समय मलाई नयाँ आमा दिन तयार भयो । ‘बाउको बिहे हेर्न हुन्न छोराले…’ कसैले हकार्यो । म लुरु लुरु स्कुल गएँ । बेलुका आउँदा मेरो लागि छुट्टै कोठा तयार थियो । बाबुसँगै सुत्ने मेरो अधिकारमा पूर्णबिराम लागेको जानकारी गरायो, मलाई त्यो कोठाले । आमाको सम्झना दिलाउने त्यो ड्रेसिङ टेबल मेरो कोठामा सारिएको थियो । त्यसलाई खोलेर हेरेँ । आमाले नक्कली चुल्ठो लगाएका कान्छी फुपूका बिहेका केही फोटा चेपमा दबिएका रहेछन् । झट्ट आमाको चुल्ठो याद आयो । बिरालाको चालमा गएर त्यसलाई लिएर आएँ । त्यस रात म आमाको चुल्ठो टाउकामा लगाएर फोटो हेर्दै ड्रेसिङ टेबल अगाडि बसेर अबेरसम्म रोइरहेँ । मेरा आँखाबाट बगेका आँसुहरूले मलाई मेरा आफन्तहरूको झुण्डबाट बगाएर अन्तै कतै मिल्कायो । आफन्तहरुको झुण्ड र मलाई एक आपसमा आकर्षण गर्ने गुरुत्वको भूमिका निभाउने मेरी आमाको ठाउँमा नयाँ आमा आउनुभएको थियो । नयाँ आमामा गुरुत्वाकर्षण शून्य थियो । नयाँ आमासँग अनुहार नमिलेपछि म सदा भाग्यमानी छोरो रहिरहन सकिनँ । त्यति बेलाबाट मलाई पूर्ण आभास भयो कि मेरी आमा साँच्चै जीवित हुनुहुन्न, अब कहिल्यै यो धर्तीमा फर्केर आउनु हुन्न ।

गरिमा, पूर्णाङ्क ३९३ श्रावण २०७४

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *