‘हेर्नोस् त मिस ! हामीले यो फूलबारी कति राम्रोसँग गोड्यौँ।’ विनयले आफ्नो समूहका अरू तीनजना बालकसहित रमिलाको अगाडि गएर भन्यो।

‘ए, हो ? खोइ हेरूँ त !’ रमिला मिस बालगृहको प्राङ्गणमा रहेको फूलबारीनेर पुगिन् र भनिन् – ‘ओहो ! कस्तो राम्रो गोडेर सफा बनाएछौ ! कति राम्रो देखिएको छ।’

त्यति नै खेर नोर्बुले पनि रमिलाको छेऊमा आएर भन्यो- ‘मिस ! हामीहरूले पनि कुखुराको खोर सफा गरेर अन्डाहरू जम्मै डालामा राखेका छौँ।’

‘ल ल, जाओ तिमीहरू, ज-जसले आफ्नो काम सक्यौ, हातमुख धोओ।’ रमिलाले भनिन् – ‘त्यसपछि खाना खानुपर्छ। अनि केहीबेर आराम गर्नुपर्छ।’

स्कुलमा मीनपचासको लामो बिदा सुरु भएयता बालगृहमा बस्ने बत्तीस जनाजति बालक यस्तै विभिन्न कार्यक्रममा व्यस्त भएका थिए। कहिले काठमाडौँका अनेकौँ ऐतिहासिक र रमणीय स्थल घुम्ने, कहिले खेल्ने, कहिले चित्र बनाउने, कहिले कथा र कविता लेख्‍नेजस्ता गतिविधिमा ती बालकहरू सहभागी हुने गरेका थिए। यी चारदेखि आठनौ वर्षका बालकहरू कोही सडकबालक थिए, कोही पाटीतिर फेला परेका थिए भने कोही आफ्नै जन्मदातृ माताद्वारा त्यागिएका पनि थिए। तीमध्येका धेरैजसो बालक प्रतिभाशाली भएको कुरा उनीहरूले गरेको कामबाट प्रमाणित भएको थियो।

मुग्लिनबजारको ‘होटल आँखीझ्याल’ अगाडि एउटा यात्रुबस आएर अडियो। यात्रुहरू बसबाट ओर्लेर धमाधम होटलभित्र पसे।

‘ल, छिटोछिटो खानाको अडर ली है कान्छी !’ साहुनीले उज्यालो अनुहार लगाएर भनी।

लगभग बाह्रतेह्र वर्षकी, खिरिलो शरीर भएकी केटी एउटा अधबैँसे मानिस बसेको टेबुलछेउ गई र ‘तपाईँलाई के ल्याइदिऊँ ?’ भनेर सोधी।

‘मलाई त तिमीलाई खानु छ कान्छी ! खाऊँ ?’ त्यो मानिसले आफ्नो टाउको कान्छीतिर लाँदै भन्यो।

‘आब्बुइ ! के गर्नुभएको ?’ कान्छी तर्सेर पछाडि सरी।

‘किन डराएकी ? म बाघभालु होइन। आऊ न आऊ, मेरो नजिक आऊ !’ त्यस मानिसले कान्छीको पाखुरा समातेर उसलाई आफूतिर तान्यो।

त्यसप्रकारको अप्रत्याशित बर्तावले गर्दा कान्छी आतङ्कित भई र बलपूर्वक उसको हातबाट आफूलाई छुटाएर दगुर्दै भान्साकोठातिर गई।

‘ए साहुनी, कान्छी त भागी नि ! उसैको हातमा खाना पठाऊ है। उसको हातले ल्याएको खानाको स्वादै भिन्नै।’ भन्दै त्यो मानिस ठूलो स्वरमा हाँस्यो।

भान्साकोठामा दुवै हातले आफ्नो अनुहार छोपेर कान्छी चित्त दुखाईदुखाई रुँदै थिई। त्यत्तिकैमा झुत्रे लुगा लगाएको एउटा सातआठ वर्षको केटो कान्छीको नजिकै आयो र उसको कुममा हात राखेर भन्यो – ‘के भो दिदी ? कल्ले पिट्यो ? किन रोकी ?’

आफ्नो एकमात्र सानो भाइबाट स्नेहपूर्ण शब्द सुन्नासाथ कान्छीले भाइलाई गम्लङ्ग अँगालो हाली र हिक्कहिक्क गर्दै रुन थाली।

‘ए ! तिमीहरू दिदीभाइ त यहाँ अँगालो मारेर बसेका छौ ? उता ग्राहक भने कराइरहेका छन् !’ साहुनी रिसाउँदै भान्सामा आएर कराउन लागी। ‘जा छिटो गएर खाना दे। अनि, तँ फुच्चे ! तँ पनि अब त जग र पानी बोकेर जानुपर्दैन दिदीलाई सघाउन ! त्यो बिचरो रामेले कताकता भ्याओस् !’

कान्छीले हत्केलाले आँसु पुछी र आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयास गर्दै उठेर ग्राहकहरू भएतिर लागी। त्यो फुच्चे केटो पनि सकी नसकी पानीको जग उठाएर दिदीको पछिपछि हिँड्यो।

दिनभरिको व्यस्ततापछि पनि राति अबेरसम्म त्यो केटी कहिले भाँडा माझ्ने, कहिले तरकारी काट्ने र कहिले ग्रहकहरूको मागअनुसार खाना टेुबुलमा पुर्‍याने काममा लागिरहन्थी। आफ्नो शरीर र उमेरले धान्न नसक्ने परिश्रम गर्दा पनि ऊ आफूलाई सुरक्षित अनुभव गर्दिनथी। ऊ राति राम्ररी निदाउन पनि सक्तिनथी। उसको भाइ सानो हुनाले ओछ्यानमा पर्नासाथ निदाइहाल्थ्यो तर प्रायजसो मध्यरातमा ऊ झस्कँदै, चिच्च्याउँदै वा कहालिँदै ब्यूँझन्थ्यो। कान्छीले भाइलाई थुमथुम्याउने र सुताउने प्रयास गर्दागर्दै रात बित्थ्यो।

एक बिहान त्यो सानो केटो उठ्ता उसकी दिदी होटलमा थिइन। निकैबेर दिदीलाई होटलमा नदेखेपछि उसले अधीर भई साहुनीलाई सोध्यो – ‘दिदी खोइ ?’

‘मैले तेरी दिदीको ठेक्का लिएकी छु र मलाई थाहा हुने तेरी दिदी कहाँ गई भनेर ? हिरोइन हुन गई कि पोइल गई, मलाई के थाहा ?’ साहुनी च्याँट्ठिई।

आफूलाई एकाएक दिदी छोडेर गई भन्ने सुनेर त्यो सानो केटो हतास हुँदै ‘दिदी, दिदी !’ भन्दै लेघ्रो तानेर रुन थाल्यो।

‘ए केटा ! बिहानबिहानै यसरी लेघ्रो तानेर अलच्छिन नला है। तेरी दिदी अब कहिल्यै फर्केर आउँदिन। हामी भने दुःख पाएर, गाउँघर छोडेर आएका केटाकेटीलाई बस्नेखाने मेसो मिलाईदिन्छौँ। उनीहरू भने दुईचार दिन बसेपछि मात्तिएर भाग्छन्। जे भयो भयो, अब के गर्छस् ? यहीँ बस्, सकेको काम गर्, खा। तँ रोएर तेरी दिदी फर्कने होइन।’ साहुनीले भनी।

त्यसपछि त्यो केटो त्यहीँ आफूले सकेको सानोतिनो काम सघाएर बस्यो।

तीनचार महिनापछिको कुरा हो। एक दिन एकजना ग्राहक भात खान ठिक्क परेका बेला उसलाई पानी दिने क्रममा त्यो केटाको हातबाट जग खस्यो र भातको थालमा बजारियो। केटाले के भयो भनेर सोच्न नभ्याउँदै ग्राहकले उसको कलिलो गालामा जोडसँग झापड लगायो र भन्यो – ‘कुकुर ! पानी दिन पनि सोमत छैन तँलाईँ?’

झापडले झनझनाएको टाउको समाएर त्यो केटो थचक्क भुइँमा बस्यो। साहुनी त्यो ग्राहकको अघि गएर अनुनय गर्न थाली – ‘के गर्ने हजुर ! केटो सानो छ, काम गर्न त्यति जान्दैन। म अर्को खाना लगाउँछु।’

‘होइन, तपाईँ यस्तो कामै नजान्ने केटालाई किन राख्‍नुहुन्छ बेकारमा ?’ ग्राहक आँखा तर्दै थियो। उसको रिस मरेको थिएन।

‘के भन्ने र ! केही कुरो भन्यो भने बरू मूढो बोल्ला, यो बल्दैबोल्दैन। सास फेरेको छ, त्यसैले मान्छेजस्तो छ, नत्र मान्छे पनि होइनजस्तो भइसक्यो।’ साहुनी भन्दै थिई। रामेले तात्तातो भात र मासु ल्याएर ग्राहकको अगाडि टेबुलमा राखिदियो। ग्राहक सपासप भात खान थाल्यो।

साहुनीले भनी – ‘ए फुच्चे ! ल पानी पनि दे, नपोखीकन।’

त्यो सानो फुच्चेले पानी भरिएको जग ल्याएर ग्राहकले भात खाँदै गरेको स्टिलको खन्डेथालमा एकाएक जोडसँग बजारिदियो। थाल उछिट्टियो र खानेकुरा त्यो ग्राहकको अनुहार र कपडामा छरपस्ट भयो। आफूले कल्पनै नगरेको घटना भएकामा त्यो मान्छे पनि क्षणभरका लागि स्तब्ध भयो। उसले देख्यो, त्यो सानो फुच्चे आँखामा घृणाको भाव बोकी उसको अगाडि निर्भयपूर्वक ठिङ्ग उभिएको थियो। सानो केटाको दुस्साहसबाट क्रुद्ध त्यस मानिसले उसलाई समात्न हात बढाएको मात्र के थियो, त्यो केटो बिजुलीको गतिमा होटलबाहिर दगुर्‍यो। त्यसपछि निकैबेरसम्म उसलाई खोजियो तर ऊ फेला परेन।

होटलबाट दौडेर त्यो फुच्चे नकै वर आई एउटा अड्याइराखेको बसभित्र गई लुकेको थियो। एकछिनमा बस काठमाडौँतिर हान्नियो।

साँझ लगभग चार बजेको थियो। चियानास्ता गरिसकेपछि सबै बालक बालगृहको आँगन र मैदानमा विभिन्न खेलमा रमाइरहेका थिए। केही बालक गोठछेउ ठुङ्गा, माटो पराल लिएर सानासाना नमुना घर बनाउँदै थिए। कृष्ण, शम्भु, युगल, रोसनहरूचाहिँ अलि पर बसेर आआफ्ना कापीमा चित्र कोर्दै थिए भने अन्य बालकहरू अलि पर चौरमा फुटबल खेल्दै थिए। बालगृहका सञ्चालिका अम्बिका जोशी र सदस्यहरू रमिला मिस, दामोदर सर र गोविन्द सर आँगनको एउटा कुनामा बसी कुनै विषयको छलफलमा व्यस्त देखिन्थे।

अचानक नजिकै ठूलो कोलाहल सुनियो। केही बालक कसैलाई लखेट्दै यता र उता दगुर्दै थिए। उनीहरूका पछिपछि पाले दाइ पनि ‘के भयो ? के भयो ?’ भन्दै दौडँदै थिए। त्यस हल्लाले सबैको ध्यान उतै तानियो। दामोदर सरले एकजना बालकको पाखुरा समाती सोधे – ‘के भयो ? तिमीहरू किन यसरी दगुरादगुर गरेका ?’

‘हेर्नुस् न सर ! हामीले कति दुःख गरी बनाएको घर त्यसले भताभुङ्ग पारिदियो।’ त्यस बालकले परतिर देखाउँदै रुन्चे स्वरमा भन्यो।

‘कसले, के भत्काइदियो ?’ रमिला मिसले उत्सुकतापूर्वक सोधिन्।

‘अरू कसले हुन्थ्यो, त्यही कुमारले हो नि हाम्रो घर भत्काइदिएको। त्यसले जहिले पनि हामीले बनाएको घर भत्काइदिन्छ, चित्र च्यातिदिन्छ। अनि सबसँग निहुँ खोज्छ, झगडा गर्छ। केही बोल्दैन एक्लै बस्छ, मिलेर खेल्दैन। त्यलाई यहाँ राख्‍नुहुँदैन, खेदिदिनुपर्छ।’ नौबर्से वर्णले गम्भीर स्वरमा भन्यो।

‘त्यसो भन्नुहुँदैन। ऊ पनि तिमीहरूको साथी हो। उसले नराम्रो गर्‍यो भन्दैमा हामीले पनि उसलाई नराम्रो गर्नुपर्छ भन्ने होइन। उसलाई माया गरी सम्झाइबुझाइ गर्नुपर्छ। अनि त ऊ पनि तिमीहरूजस्तै ज्ञानी भइहाल्छ नि ! कति भयो र ऊ यहाँ आएको ! भर्खर बीसबाइस दिन न भयो। सुरुसुरुमा यहाँ आउँदा यहाँको नौलो वातावरण बस्नुपरेपछि सबैले यस्तै केके गर्छन् नि ! पछि सब ठीक हुँदै जान्छ।’ रमिला मिस बालकहरूलाई सम्झाउन खोज्दै थिइन्।

दामोदर सरले थपे – ‘हो, रमिला मिसले ठीक भन्नुभयो। तिमीहरू सबै असल र ज्ञानी बालकहरू हौ। तिमीहरूको सङ्गतले ऊ पनि तिमीहरूजस्तै असल हुनेछ। भैगो, अहिले तिमीहरू खेल।’

त्यस दिन कुमारलाई सम्झाइबुझाइ गरे।

यो घटना भएको लगभग हप्ता दिनपछिको कुरा हो। बेलुकाको खानपिन सकी सबै बालक सुत्‍ने तरखरमा थिए। अचानक बाहिर पाले दाइ चिच्याएको सुनियो – ‘आगो लाग्यो, आगो !’

सबैजना हस्याङफस्याङ गर्दै बाहिर निस्के। गोठमा दनदनी आगो बलेको थियो। पाले दाइले गोठका दुइटा भैँसीको दाम्लो खोलिसकेका रहेछन्। सबै मिस-सर बाल्टी बोकेर आगोमा पानी खन्याउन थाले। एकछिनपछिको प्रयासपछि उनीहरू आगो निभाउन सफल भए।

‘आगो कसरी लाग्यो ?’ गोविन्द सरले पाले दाइसँग जिज्ञासा राखे।

‘खोइ, म त यताउता गर्दै थिएँ। अचानक गोठबाट उज्यालो देखियो। आगो लागेको रहेछ। म त भैँसी फुकाउन लागेँ।’

त्यही बेला सातबर्से अङ्कितले प्याच्च भन्यो – ‘सर ! कुमारले आगो लगायो होला।’

‘किन त्यसो भनेको अङ्कित ? तिमीले कसरी थाहा पायौ ?’

‘ऊ जहिले पनि आगो लगाइदिन्छु भन्छ।’

‘खोइ त कुमार ?’

सबैका आँखाले कुमारलाई खोजे। कुमार कतै पनि देखिएन। सबैजना उसलाई धुइँधुइँती खोज्न लागे।

‘बाबु त भोगटेको रूखपछाडि पो लुकिराखेका रहेछन् त !’ पाले दाइले एकछिनपछि बालगृहको ठूलो हलमा कुमारलाई डोर्‍याउँदै ल्याए र भने – ‘आउनै मानेका थिएनन्, बल्लबल्ल ल्याएँ।’

‘कुमार ! तिमी किन लुकेको ?’ रमिला मिसले सोधिन्।

‘तिमीले हो गोठमा आगो लगाएको ?’ रमिला मिसको कुरा नसकिँदै दामोदर सरले सोधे।

कुमार घोसे मुन्टो लगाएर उभिइरह्यो।

‘हेर, यति राम्रो मान्छे भएर पनि यस्तो नराम्रो काम गर्नु हुन्छ ? यहाँ हामी सबैले तिमीलाई कति माया गर्छौँ। तिमीले स्कुल पढ्न पाएका छौ, राम्रो खान पाएका छौ, साथी पाएका छौ। यति हुँदाहुँदा कसैको कापी, चित्र च्यातिदिने, कसैले बनाएको घर भत्काइदिने, झगडा गर्ने र हुँदाहुँदै त आज गोठमा आगो लगाउने आँट गर्‍यौ तिमीले ? तिम्रो कसले के बिगारिदिएको छ र ? किन त्यसो गरेको भन त ? अलि हप्काएझैँ गरी दामोदर सरले प्रश्न गरे।

कुमारले केहीबेरसम्म स्थिर दृष्टिले सरको अनुहारमा हेरिरह्यो।

‘हामीले पनि उनीहरूको के बिगारेका थियौँ र ? हाम्रा बालाई गोली हानेर मारे अनि आमालाई चुल्ठो तान्दै लछार्दै लगे, घरमा आगो लगाइदिए। हामीले के बिगारेका थियौँ र ?’ शताब्दीऔँदेखि सुषुप्त ज्वालामुखी अचानक विस्फोट भएझैँ फुच्चे बालकको मुखबाट शब्द आगोका ज्वालाझैँ बनेर निस्के। वातावरणमा एकाएक मसानस्तब्धता छायो।

एकछिन त्यहाँ भएका सबैजना अवाक् भई त्यस बालकको अनुहार हेरिरहे। त्यसपछि बिस्तारै पाइला चाल्दै रमिला मिस अघि बढिन् र कुमारको अगाडि घुँडा टेकेर बसिन्। त्यस क्षण उनका आँखामा आँसु टलपलाउँदै थियो। उनले बिस्तारै आफ्नो हात फैलाएर त्यस बालकलाई आफ्नो छातीमा टाँसिन्। उनी शब्दको माध्यमद्वारा उसलाई सान्त्वना दिन चाहन्थिन् तर हृदयभित्र उर्लेको पीडाको ज्वारभाटाले उनको गला अवरुद्ध गरायो। उनी सुँक्कसुँक्क गर्न थालिन्।

अचानक कुमार ‘दिदी…..! दिदी …..! ‘ गर्दै कङ्कलास्वरमा रुन थाल्यो। त्यहाँ भेला भएका बालकहरू र सरहरू सबै कुमारको नजिक पुगी रानी माहुरीलाई अरू माहुरीले घेरेझैँ घेर्न लागे।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *