माधुरी दीक्षितको डायरी


केही वर्षपहिले भारतीय सिनेतारिका माधुरी दीक्षित काठमाडौँ आएकी थिइन्। उनले नेपाललाई भारतकै प्रान्त भनेर कतै प्रतिक्रिया दिएपछि नेपालमा ठूलै होहल्ला मच्चिएको थियो। माधुरी दीक्षितले खेलेका फिल्महरू बहिष्कार गर्नेसम्मको आन्दोलनको धम्की गयो। माधुरी दीक्षितले सायद कुनै सञ्चारमाध्यममार्फत माफी मागेर समस्यालाई सामसुम पारेकी थिइन्।

भारतीय हिन्दी सिनेमाको नेपाल ठूलै बजार रहेछ भन्ने ज्ञान मैले त्यति बेला अनुभूत गरेको थिएँ। नेपालको हिन्दी सिनेमा बजार, सानो भएको भए ‘काग कराउँदै गर्छ पिना सुकिरहन्छ’ भन्ने थियो बम्बईया फिल्मीजगतले। तर नेपाली पैसाको ठूलो कुम्लो बम्बईतिर जाने भएको हुनाले हतारहतार माधुरी दीक्षितलाई फिल्मवालाहरूले प्रस्टीकरण दिन लाइहाले होलान्।

पुरानो कुरो, सायद हिजो विरोध गर्ने नेपालीको मनबाट हराइ पनि सकेको होला। मैले हिजो पनि त्यति चासो दिएको थिइनँ। त्यसैले अहिले त मेरो स्मृतिमा त्यो घटना फनफनिने कुरै भएन।

तर दसैँअगाडि दार्जिलिङ पुगेको बेला मैले एउटा अनौठो मान्छेसँग भेट्नुपर्‍यो। सञ्जीव गदाल हो उसको नाम। उसले शुद्ध नेपालीमा भन्यो – ‘दाज्यू ! आजभोलि नेपालमा नराम्रैनराम्रो मात्र हुन थालेको छ। तिनले आफ्नो परिचय, दौरासुरुवाल, कोट, टोपी छाडेका छन्। प्रधानमन्त्री र मन्त्रीहरू पनि दाम्लो नबाँधेको(यो भनेको टाई हो) सुटमा ठाँट्टिएर हिँड्छन्। नेपालमा आन्दोलनकारीहरू कविका सालिक भत्काउँछन्। राम्रो तरिका भएन दाज्यू ! यो त !’

‘तर मैले त दौरा, सुरुवाल, कोट, टोपी नै लगाएको छु – भादगाउँले टोपी र नेपाली भेलाको दौरासुरुवाल।’ मैले आफ्नो नेपाललाई जोगाउँदै भनेँ।

‘त्यै भएर त दाज्यूसँग कुरा गर्न मन लागेको।’

उसको मन खुसी भयो भन्ने लागेर मैले सोधेँ – ‘तर भाइको खास कुरा त यो होइन। केही अरू सोध्नु छ ?’

‘छैन, भन्नु छ।’ उसले आफ्नो भनाइलाई प्रश्नभित्र राखेर सोध्यो – ‘दाज्यूलाई पुरानो कुरो सम्झना छ ? माधुरी दीक्षितवाला ?’

‘उहिले छसक्क सुनेको थिएँ, अहिले त बिर्सेँ पनि।’

‘गजब!’ छक्क पर्‍यो सञ्जीव भाइ।

‘यसमा छक्क पर्नुपर्ने कुनै कुरै छैन। तीन घन्टाको हिन्दी सिनेमा हेर्ने फुर्सद मसँग नभएकै कारण सिनेमाजगतका धेरै कुरा म थाहा पाउँदिनँ। पाँचसात वर्षसम्म लगातार चलिरहने हिन्दी टेलिसिरियललाई मैले ‘क्राइम सिरियल’ भनेर न्वारान गरिदिएको छु। त्यसैले हिन्दी फिल्म या टेलिफिल्मका बारेमा मसँग तर्क नगर्नु नै बेस हुन्छ।’

‘अनौठो !’ फेरि छक्क पर्‍यो सञ्जीव भाइ – यस्तो पनि हुनसक्छ हाम्रो नेपालमा ?’

‘त्यो अनौठो पात्र यहीँ बसेको छु।’

‘माधुरी दीक्षितको नाम त सुन्नुभएको छ होला ?’

‘मज्जैले।’

‘उनलाई नेपालका नेपालीले तिरस्कार गरे भनेर पनि सुन्नुभएको छ ?’

‘अलिअलि।’

‘त्यसो गरेर हाम्रा भाइहरूले गल्ती गरे।’ उसले निष्कर्ष सुनायो।

‘गल्ती किन गर्ने ? माधुरी दीक्षितले नेपालको अपमान गर्ने ढङ्गमा बोल्नु हुँदैनथ्यो !’

‘उनले त्यसरी बोलेकै होइनन्।’ भाइ पनि अडियो।

‘गोर्खाल्यान्ड माग्ने भाइले यसरी माधुरी दीक्षितको पक्षमा बोल्नु भएन नि !’

‘लौ दाज्यू पनि ! गोर्खाल्यान्ड हाम्रो मातृभूमि हो। इतिहास, परम्परा, भाषा, संस्कृतिका हिसाबले हामी नेपालसँगै नजिक छौँ। हामीलाई कसलै शरणार्थी बनाएर यहाँ ल्याएर बसोबास गराएको होइन। पचास सालपछि पूर्व पाकिस्तान र पछिको बङ्गलादेशबाट भागेर आएका आप्रवासीहरूले झनझन अधिकारविहीन बनाउँदै लगेका छन्। त्यसैले हामी अन्यायविरुद्धको लडाइँमा लागेका छौँ। तर गोर्खाल्यान्ड माग्नेले अन्यायलाई न्याय भन्न कसरी मिल्छ ! हामी अन्यायका विरूद्धमा जुर्मुराएर उठेका छौँ। त्यसैले कसैले कसैमाथि अन्याय गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो। मलाई नेपाल मन पर्छ। दार्जिलिङ र नेपाल एउटै थिए उहिले। कुइरे फटाहा र नेपालका राणाहरूले मेची नदीमा सीमारेखा कोरिदिएर हामीलाई भारतीय बनाइदिए। हामी आफूमाथि भएको अन्यायको यसै कारण विरोध गरिरहेका छौँ भने अरूमाथि अन्याय हुँदा पनि हामीले बोल्नुपर्छ। अर्कामाथि भएको अन्यायको विरोध गरेनौँ भने हामी पनि दिल्लीवाला हुन्छौँ, कलकत्तावाला हुन्छौँ।’

मसित कुनै प्रतिक्रिया थिएन। उसैले कुरो अघि बढायो – ‘माधुरी दीक्षितको विरोध गरेर हाम्रा नेपाली दाजुभाइले नकाम गरे भन्ने प्रमाणको कागज मसँग छ।’

‘नक्कली होला।’

‘नक्कली होइन, एकदम सक्कली।’

‘कसरी एकदम सक्कली हुन्छ ? तिमीलाई कसरी थाहा भयो ?’

‘मैले माधुरी दीक्षितलाई चिनेको छु।’ उसले बोलेको सुनेर म हाँसे।

‘दाज्यू त्यसै हाँस्नुभयो।’ भाइले नराम्रो मानेन। एकछिन मेरै अनुहारमा हेरेर उसले भन्यो – ‘रन्जित दाइसँग म आठ वर्ष बसेँ बम्बईमा। धेरै कलाकारसँग चिनजान भयो। माधुरीसँग पनि भयो। त्यति बेला, जति बेला उनी नेपाल गइन्, त्यसको प्रेरणा पनि हामी बम्बईया नेपालीबाटै तिनले पाएकी थिइन्।’

पत्याउन मन नलाग्ने, नपत्याउन पटक्कै नसकिने कुरा गरेको थियो भाइले। त्यसैले मैले उसलाई बोलिरहन प्रेरित गरेँ।

‘हाम्रा नेपाली दाजुभाइले विरोध गरेको थाहा पाएर तिनले बेस्सरी चित्त दुखाइन् र एक दिन रन्जित दाइको स्टुडियोमा आएर हामीसँग भनिन्- ‘मैले नेपालको विरोध गरेकी थिइनँ, नेपालमा भ्रम परेछ। तपाईँले यदि कुनै नेपाली कथाकार भेट्नुभयो भने कृपया मेरो यो डायरी तिनलाई दिनुहोला।’ अहिले त्यो डायरी मसँग छ, तपाईँ कथाकार हुनुहुन्छ भन्ने पनि मलाई थाहा छ, त्यसैले त्यो डायरी म तपाईँलाई दिन चाहन्छु।’

भाइ र म तिनको घरबाट बाहिर निस्कियौँ। कोठामा बसेर डायरी पढिरहन उनले पनि मन गरेनन्। म त उसै पनि दार्जिलिङ घुम्न गएको, घरभित्र बसिरहने कुरै आएन।

पारिबाट भुइँकुहिरो उठेर हामीतिर आउँदै थियो। नेपाली जातीय कवि भानुभक्त आचार्यको ठूलो सालिकले मैतिर हेरिरहेछ जस्तो मलाई लाग्यो। चौरस्ताको एउटा छानामुनिको बेन्चमा थ्याच्च बसेर म त्यो डायरी पढ्न थालेँ।

अङ्ग्रेजीमा लेखिएको डायरीको नेपाली अनुवाद यस्तो छ- ‘मेरा पुर्खाहरू उत्तरप्रदेशको वाराणसीबाट मध्यप्रदेश हुँदै महाराष्ट्रमा प्रवेश गरेका हुन्। त्यसैले मलाई वाराणसीको किनारकिनार भएर बग्ने गङ्गामैयाँको झझल्को आइरहन्छ।

वाराणसीमा मुक्ति प्राप्त गर्न आउनेहरूमा उत्तरप्रदेशका बासिन्दाभन्दा बढी नेपाली र बङ्गाली हुन्छन्। त्यसैले नेपाली र बङ्गाली मलाई आफ्नै दाजुभाइजस्ता लाग्छन्। बङ्गाल त सधैँभरि भारतकै प्रान्त रह्यो। तर नेपालीहरूले किन वाराणसीलाई आफ्नो पवित्र तीर्थस्थल बनाएका होलान् ! नेपालीहरू वाराणसीमा मर्न पाइयो भने सीधै स्वर्ग जान पाइन्छ भन्ने विश्वास छ भन्ने कथा मैले उदितनारायणबाट उहिल्यै सुनेकी थिएँ।

चौचौ लागेर मैले नेपाल जाने टुङ्गो गरेँ। ऐश्वर्यले सम्पन्न मेरा लागि ट्राभल एजेन्टहरूले सबै काम मिलाइदिए।

दिल्लीबाट काठमाडौँ जाने जहाजमा यसो छेवैमा टाँस्सिएको हिमालय पर्वतमाला देखेर मेरो मन मुग्ध भयो। झन्नैझन्नै डाँडामा ठोक्किएको हवाइजहाज ढलपल नगरीकनै काठमाडौँको विमानस्थलमा ओर्लियो।

जहाजबाहिर शान्त, सुशीतल वायु बगिरहेको थियो। मैले लामो सास तानेँ। मेरो घाँटी कोक्यायो। सायद पहाडी हावाको चिसोपनले मेरो घाँटीलाई चिनेन होला।’

अध्यागमनमा पुगेँ म। मैँले अङ्ग्रेजीमा सोधेँ – ‘यो कहाँ बुझाउनुपर्छ ?’ मेरो हातमा अध्यागमनको पहेँलो कागज थियो।

दुई जना मानिसहरू फुर्तिलो भएर मेरा छेउमा आए। उनीहरूको अतिथि सत्कारले मलाई दङ्ग बनायो। मैले अङ्ग्रेजीमा सोधेकी थिएँ नेपाल पराई देश हो भनेर तर तिनले मेरो अङ्ग्रेजीलाई हिन्दीमा उत्तर दिए – ‘आइए, आइए, नेपाल में आपका स्वागत है।’

छक्क परेँ म। मैले बङ्गालमा जाँदा हिन्दीमा स्वागत पाएकी थिइनँ। केरलामा पनि हिन्दीमा स्वागत पाएकी थिइनँ। एकपल्टको सुटिङमा आसाम जाँदा त्यहाँ पनि हिन्दीमा स्वागत पाएकी थिइनँ। तर नेपाल ! नेपालमा त अध्यागमनमै हिन्दी सुन्न पाएँ मैले।

मेरा लागि विमानस्थलमै भारत-नेपाल सरकारले मिलेर स्वागतलहर उभ्याइदिएजस्तो लाग्यो मलाई। मैले हाम्रा दूतावासका कर्मचारीलाई स्वागतका लागि अङ्ग्रेजीमै धन्यवाद दिएँ। उनले पनि अङ्ग्रेजीमै ‘केही छैन, यो हाम्रो जिम्मेवारी हो भने।’ त्यसपछि मैले नेपाली पक्षका अधिकारीलाई पनि धन्यवाद भनेँ। उनले ‘ठीक है, ठीक है, आपका स्वागत है’ भनेर मलाई हिन्दीमा जबाफ फर्काए।

यस्तो त मैले कतै देखेकै, भेटेकै थिइनँ। मान्छेहरू कि त आफ्नो मुलुकको राष्ट्रिय भाषा बोल्छन् कि कुनै अन्तर्राष्ट्रिय भाषा बोल्छन्।

बाहिर मलाई होटलमा लैजाने मोटर थ्याच्च बसेको जस्तो देखिन्थ्यो। मान्छेहरू मेरो वरिपरि झुत्तिन रहर देखाइरहेका थिए। वरपरबाट केही युवाहरू ‘माधुरीजी, कैसी हैँ आप ?’ भनेर आफ्नो सद्भाव पनि जनाइरहेका थिए।

मैले सबैलाई हात उठाएर अभिवादन गरेँ। सबैको अनुहार उज्यालो भयो।

बाहिर निस्किएर बाटोमा चिप्लन थालेपछि मलाई भारतकै कुनै सहरमा गुडिरहेकोजस्तो लाग्यो। उही हाम्रै मारुती, टाटा, हुन्डे कारहरू छ्यालब्याल देखिए। दिल्लीको सडक हो कि काठमाडौँको सडक हो भनेर घरीघरी त छुट्ट्याउनै नसकिने।

‘मेडम ! यह आपकी पहलीबार है काठमाडौँ में ?’ होटलबाट मलाई लिन आएको मान्छेले सोध्यो। म झन् छक्क परेँ। ठूलाठूला होटलमा पनि हिन्दी नै बोलिँदो रहेछ काठमाडौँमा भन्ने लागे पनि मैले हिन्दी बोल्न उचित ठानिनँ। हामी भारतमै पनि सिनेमाभन्दा बाहिर प्रायः हिन्दी बोल्दैनौँ। त्यस्तो मान्छेले काठमाडौँमा हिन्दी बोल्ने कुरै आएन। त्यसैले मैले अङ्ग्रेजीमा जबाफ दिएँ – ‘हो, यो मेरो पहिलो यात्रा हो। तर मलाई नेपाल मन पर्न थालेको छ, म यहाँ बारबार आइरहन चाहन्छु।’

मैले सडकको दाहिनेदेब्रेतिर नियालेँ। ठ्याम्मै मध्यप्रदेशको कुनै सहरमा गुडिरहेजस्तो लाग्यो मलाई। धूलोमैलो, बिजुलीका खम्बा,(बिजुली होइन, बिजुलीबाट चल्ने बसका खम्बा हुनुपर्छ – लेखक)मा कतै अमितजीको पोस्टर त कतै अनिलजीको पोस्टर। सिनेमाका जति पनि पोस्टरहरू त्यहाँ टाँसिएका थिए, पाँच किलोमिटरको बाटोमा, सबै हिन्दी सिनेमाकै थिए। चार ठाउँमा पोस्टरमा त मै नाचिरहेकी थिएँ।

गजब लाग्यो मलाई। यो नेपाल भन्ने त हाम्रै प्रान्तजस्तै रहेछ भन्ने लाग्यो।

ठूलो होटल रहेछ यो नेपालको। सोल्टी त्यसको नाम रहेछ। सामान बोक्ने वेलब्वाइले सुरुमा त अङ्ग्रेजी नै बोल्यो – ‘वेलकम म्याडम !’ भनेर। तर एकछिन मेरो अनुहारमा नियालेर हेरेपछि परिचित आफन्तजसरी सोध्यो – ‘अच्छी हैं आप ?’

होटलमा पनि हिन्दी। अबचाहिँ मलाई थाहा भयो – भारत र नेपाल अलग रहेनछन् !’

सञ्जीव भाइले डायरी आफ्नो हातमा लिएर भन्यो – ‘पढ्नुपर्ने पाना यत्ति हो।’

‘भाषाकै आधारमा माधुरी दीक्षितलले नेपाललाई प्रान्त भन्न त पाउँदिनन् नि !’ मैले पनि डायरीको भाका बुझेजसरी भनेँ।

‘तर दाज्यू ! हाम्रा नेपाली भाइहरू किन हिन्दी सिनेमा भनेपछि हुरुक्क हुन्छन् ? बम्बईका नायकनायिकाहरू यहाँ सुटिङ गर्न आउँछन्। यहाँ पनि हिन्दी सिनेमा चल्छ, तर त्यो त्यतिबेला चल्छ, जति बेला यहाँ नेपाली सिनेमा हुँदैन। दाज्यू ! हामीले एउटा परालको आगो बनाएर आफ्नो संस्कृतिको रक्षा गर्ने कोसिस गर्‍यौँ। त्यो हेरी त नेपालले पाँच दर्जन परालको आगो बनाउनुपर्ने। नेपाली सिनेमा त बम्बईया सिनेमाहरू डब गरिएका जस्ता हुँदा रहेछन्। मैले बिर्तामोडमा एउटा हेरेको थिएँ, दिक्क लाग्यो।’ सञ्जीवले किचिक्क पारेर मुख बिगार्‍यो।

म प्रतिक्रियाहीन भएँ। के बोल्नु, के नबोल्नु भयो मलाई।

मेरो मौनतालाई नियालेर हेर्दै सञ्जीवले भन्यो – ‘हुन त मलाई नेपालमा बनेका सबै सिनेमाको जानकारी छैन, तर नेपालीपन, पहाडको रसिलोपन बोकेका चित्रहरू त्यता बन्न सकेका भए सायद यता पनि आउँथे होलान् !’

‘भाइ ! खालि हिन्दी सिनेमालाई आधार बनाएर नेपाललाई प्रान्त बनाउन त सकिँदैन नि !’ मैले अड्डी लिन खोजेजस्तो गरेँ। ‘

‘दाज्यूलाई जबाफ खोज्न अप्ठेरो पर्‍यो। नेपालमा हाम्रा जातीय कविहरूका सालिक भत्काइन्छन्, नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक भत्काएर मात्र चित्त नबुझेरै होला ठूलाठूला मार्तोलले हानेर कच्याककुचुक पारिन्छन्। ‘मेरो प्यारो ओखलढुङ्गा’ जस्तो मातृवन्दना लेख्‍ने सिद्धिचरण श्रेष्ठको सालिक भत्काएर त्यसको अपमान गरिन्छ। यस्ता दुष्कर्म गरेर सरकारमा बस्न पुगेका ठूला मान्छेहरू हिन्दीमा राजकीय भाषण गर्छन्। के छ दाज्यू ! नेपालमा नेपालीपन ?’

म निचोरिएको अनुहार लगाएर बसिरहेँ। बाक्लो हुस्सुले हामीलाई दुवैतिरबाट लपेट्तै थियो।

‘दाज्यू ! कथाकार दाज्यूको मन दुख्यो होला। मैले दाज्यूको मन दुखाउन यो चर्चा गरेको होइन। अरूको विरोध गर्दा आफ्नो धर्ती पनि हेर्नु पर्छ। चौरस्तामा फुलेका यी फूलहरू देखेर दाज्यूको मन रमाएको छैन ?’

भाइले चौरस्तामा ढाकाजस्तो छापमा बेरिएका साडी र चौबन्दी लगाएर यताउता हिँडिरहेका चेलीहरू देखाउँदै मसँग सोधेको थियो। मैले केही जबाफ दिइनँ।

‘हामी अहिले आफ्नो परिचयको खोजीमा छौँ। धेरै जातिका मानिसहरू यो आन्दोलनमा छौँ। तर हाम्रो परिचय एउटै छ – दौरा, सुरुवाल, कोट र टोपी। हाम्रा चेलीहरूलाई पनि अनेक थरीका लुगा लगाउन मन लाग्छ। तर चेलीको नेपालीपनका लागि उनीहरू ढाकाको चौबन्दी र गुन्यू चोली लगाएर हिँडिरहेका छन्। तर माधुरीले होटलमा, सडकमा, पार्कमा कतै पनि दौरासुरुवाल लगाएका नेपाली भेटिनन्। बम्बईमा जस्तो पोसाक देखिन्थ्यो, काठमाडौँमा पनि तिनले त्यस्तै देखिन्। आफ्ना फिल्महरूमा तिनी जस्तो भाषामा बोल्थिन्, काठमाडौँमा पनि तिनले त्यस्तै भाषा सुनिन्। भारतका सहरहरूमा जस्ता पोस्टरहरू देखिन्थे काठमाडौँमा पनि तिनले त्यस्तै देखिन्। भारतका सहरहरूमा जस्ता नायकनायिकाका होर्डिङबोर्डहरू देखिन्थे, काठमाडौँका सडकहरूमा पनि तिनले ठ्याक्कै त्यस्तै देखिन्।

दाज्यू ! रिसाएर, विरोध गरेर मात्र आफ्नो जाति बच्दैन, आफ्नो जातीयता बच्तैन। आफूले आफूलाई राष्ट्र बनाउन नचाहनेहरूको राष्ट्रियता कहिल्यै सुरक्षित हुँदैन।’ भाइ एकछिन रोकियो। उसले हामीलाई छोप्तै गरेको हुस्सुलाई फुफु गरेर पन्छाउन खोज्दै भन्यो – ‘नेपाल एउटा सार्वभौम राष्ट्र हो। त्यसले भारतबाट पृथक परिचय दिनका लागि ठूलाठूला घोषणा गरिरहनु पर्दैन। नेपालीपन र नेपाली मन हुनेबित्तिकै कुनै माधुरी दीक्षितले नेपाललाई भारतीय प्रान्त भन्नै सक्तैनन्।’

हुस्सु पातलो हुन थालेको थियो। कोट, दौरा, ढाकाको टोपी र जीन पाइन्ट लगाएका गधापच्चीसी ननाघेका आधादर्जन भाइहरू छेउको बेन्चमा बसेर गाउन थाले-

ओ, नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ….।

‘दाज्यूलाई यो गीत थाहा छ नि ?’

‘एकताका नेपालमा धेरै लोकप्रिय थियो यो गीत।’ मैले सञ्जीवले गीत गाइसकेपछि भनेँ।

गरिमा ३१५

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “माधुरी दीक्षितको डायरी”

  1. ठिस बुढा

    “नेपालीपन र नेपाली मन…”
    वाह!
    kbs सर धन्यवाद! पढ्ने मौका दिनु भो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *