चित्र फ्रेम गर्नुपर्दा


कलाकारहरू प्रायः नै भावुक हुन्छन्, सारै सेन्टिमेन्टल। त्यसैले उनीहरूसितको हरेक बातचीत वा व्यवहारमा खूब सचेत हुनुपर्छ र सावधानी राख्‍नुपर्छ। हुन पनि कलाकारहरूले समाजबाट अरू के पो पाएका छन् र ! सधैँ आर्थिक कमजोरी औ सामाजिक उपेक्षामा रहेका यी कलाकारहरूले प्रशंसाका दुई शब्द र सद्व्यवहारको अपेक्षा गर्नु स्वाभाविक नै छ।

हाम्रो गाउँमा एक बडे असल चित्रकार दाइ आएर बस्न लागेको केही वर्ष भएको छ। उनले यस कलाको निम्ति धेरै त्याग पनि गरेको तथ्य गाउँमा प्रायः सबैले जानेका छन्। राम्रो नोकरी गर्थे, तर आफ्नो कलाको विकासमा अवरोध बनिदियो भनी उनले नोकरीबाट राजीनामा लिए। त्यस समय उनलाई ठूलाबडा सबैले सम्झाएका हुन्, तर उनी कसैको भनाइमा लागेनन्। उनको त्यस कार्यले सबै अवाक् बनेका हुन्। त्यसैले म आज पनि उनको अपरिमित कलाप्रेमको उदाहरणको श्रद्धापूर्ण सम्झना गर्छु अनि हृदयले नै उनलाई प्रशंसा गर्छु, तर कतिले भने उनलाई सनकी सम्झिन्छन्।

कलाकार दाइलाई अभाव नभएको होइन, अभाव छ। जीवनको वास्तविक जटिलतालाई उनले कसरी सामना गरिरहेका थिए त्यो भन्नु गाह्रो पर्थ्यो, तर पनि कलाकारहरूमा पाइने आत्मसम्मान र मर्यादाको गुण उनमा प्रशस्त छ। सानो परिवार भए पनि उनले एक छोरी र एक स्वास्नीको सम्मानसाथ पालना गरेका छन्। उनीहरूलाई हेरचाह गर्नु, उनीहरूको सबै इच्छा र चाहना पूरा गर्नु उनको उत्तरदायित्व छ। उनले कसरी सो दायित्व निभाएका छन् त्यो बुझ्न सकिँदैन। उनी एक विशेष प्रकारको व्यक्ति भएकाले मलाई उनको व्यक्तित्वले आकर्षित गरेको छ औ समय-समयमा उनको विषयमा यसरी सोच्ने मलाई आवश्यकता अनुभव हुन्छ।

एकदिन बेलुकी घर फर्कँदा संयोगवश कलाकार दाइसित भेट भयो। हामी कुरा गर्दै आयौँ। आफ्नो चित्रहरूको प्रदर्शनी गरेको, तर साधारण आत्मिक सन्तोषबाहेक केही अरू उपलब्धि नभएको, एउटै चित्र बिक्री नभएको तथ्य बताएर उनले दुःख प्रकट गरे। त्यसै प्रसङ्गमा मैले उनलाई सल्लाह दिएँ – ‘बढी मोल नपर्ने, साधारण मानिसले आँट्न सक्ने ससाना चित्रहरू बनाएर आफ्नै गाउँका साथीभाइहरूबीच बिक्री गर्ने एउटा अभियान गर्नुहोस्। उनले मेरो सुझावलाई कुन प्रकारले लिए त्यस समय बुझ्न सकिनँ। घर आइपुगेपछि हामी आफ्नोआफ्नो बाटो लाग्यौँ।

केही समय बितिसकेको थियो अनि उक्त घटना विस्मृतिमा विलुप्त भइसकेको थियो। त्यस्तै समय एक दिन कलाकार दाइ केही चित्रहरू लिएर मेरोमा आए। बसेर एकक्षण यता-उताका कुराहरू भएपछि उनले केही चित्रहरू देखाएर भने – ‘भाइले अस्ति दिनुभएको सल्लाहअनुसार ई, केही चित्रहरू कोरेको छु। भाइले एउटा ता किनिदिनुहुने नै छ।’ सबै चित्रहरू हेरेपछि मैले एउटा छानेँ औ चाँडै फ्रेम गरेर कोठामा टँग्याउने निश्चय गरेँ। मोल लिएर दाइ हिँडि पनि हाले, एउटा आत्मसन्तोष बोकेर।

त्यस घटनापछि फेरि केही महिना बिते। मलाई त्यो चित्र फ्रेम गर्नुपर्ने कार्यको सम्झना भयो। चित्र लिएर बजार गएँ। ठीक आकार र रकमको फ्रेम छानेर चित्र फ्रेम गर्न लगाएँ। दोकानेले चित्र हातमा लिएर हेरे अनि तलमाथि र ओर्काईफर्काई गर्न लागे। उनी असमञ्जसमा परेको अनुभव गरी मैले भनेँ – ‘ के भयो भाइ ? किन ओर्काईफर्काई गर्नुभएको ?’

उनले मेरो अनुहारमा हेर्दै र चित्रतिर पनि हेर्दै भने – ‘दाइ ! यसको माथिल्लो भाग कता पर्‍यो ? कसरी मिलाउनु ?’

मैले छक्क परेर भनेँ – ‘ल्याउनुहोस् यता ! यो चाहिँ माथि, यताचाहिँ तल।’ तर यसरी बताएर फेरि चित्र राम्ररी हेर्दा आफैँ पनि अलमलिएँ। त्यो माथिलाई तल पारेर हेर्दा पनि उस्तै लाग्यो। केही क्षणसम्म मिलाउँदा पनि भएन। दोकानमा भएका अन्य ग्राहकहरूको ध्यान यतैतिर आकर्षित भयो। उनीहरूले पनि चित्र हेरेर टुप्पो र फेद छुट्याउने कोसिस गरे तर भएन। कसैले यता टाउको पर्‍यो भन्छन् कसैले उता। अन्तमा विचार गरेँ – ‘अब चित्रकार दाइलाई नै सोध्नुपर्‍यो।’ त्यसपछि फ्रेम र चित्र अलग-अलग बोकेर नै घर फर्केँ।

अर्को दिन दाइकहाँ गएर सोधौँला भन्ने विचार थियो, तर राति सम्झना आयो, उनी कति भावुक छन्, कतै अनादर गरेको भन्ने त सम्झदैनन् ? कसरी सोध्ने ? सानो कुराले पनि कलाकारहरू चित्त दुखाइहाल्न सक्छन्। चित्रको टाउको र पुच्छर पनि छुट्याउन नसक्नेले कलाको मर्म के बुझ्छ ! अनि त्यो कोठामा टँग्याउने कार्यचाहिँ कति मिथ्या कति देखावटी भन्ने स्पष्ट बन्दैन त ! तब त उनलाई नसोधेर बरु अरू नै तरिकाले चित्रको माथिल्लो र तल्लो भागको निधो गर्ने निश्चय गरेँ। अरू चित्रकारहरूलाई सोधेर पत्तो लगाउने विषयमा पनि सोचेको हुँ, तर त्यसरी ता कुनै दिन आफ्नो अज्ञानताको भण्डाफोर हुने सम्भावना थियो।

यसरी चित्रको शिर र पुच्छर खुट्याउन सकिएन। चित्रलाई फ्रेम गर्न पनि सकिएन। चित्र हेरेर, बुझेर निधो गर्ने कतिपल्ट कोसिस गरेँ, तर सफल हुन सकिएन। घरकाहरूले पनि कोसिस गरे, घरमा आएका साथीभाइले पनि बुद्धि लडाए, तर चित्तबुझ्दो निष्कर्ष निस्किएन। आफ्नो जीवनलाई धिक्कार सम्झेँ – एउटा चित्रकारको चित्रलाई बुझिदिनु, व्याख्या गर्नु वा समालोचना गर्ने भन्ने त कता हो कता, चित्रको टाउको र फेद पनि छुट्याउन नसक्नु कस्तो लाचारी !

यस्तै भएर धेरै दिनसम्म चित्र त्यसै रह्यो – न फ्रेम गर्नु सकियो न भित्तामा टँग्याउन सकियो। कथङ्काल अन्दाजमै चित्र टँग्याएको खण्डमा उल्टो परेको कलाकार दाइले देख्‍नुपरे ता उनी झन दुःखित बन्लान्। उनलाई खुसी बनाउन त कता हो कता झन् दुःखित र क्रोधित पनि बनाउन गइए कस्तो अवस्था होला भन्ने सम्झेर त्यत्तिकै बसेँ।

एक दिन चित्रकार दाइ नै केही कामले घरमा आएछन्। उनी आएको खबरले म सोचमा परेँ- अब कसो गर्ने हो ? केही निधो गर्न नसकी उनलाई भेट्न बैठक कोठामा गएँ। नमस्कारको आदानप्रदान भयो। म भने मनमनै जटिल समस्याको समाधान खोजिरहेथेँ। अनायासै त्यहीँ मनमा एउटा उपाय आयो अनि मुखबाट यी वाक्यहरू निस्के –

‘दाइ ! अस्तिको चित्र सबले खूब मन पराए। मैले तपाईँलाई वचन दिएअनुसार चित्रलाई फ्रेम गराउन भनी सब ठीक गरेँ, तर फ्रेम गर्नुअघि चित्रमा राम्ररी हेरेको त तपाईँको हस्ताक्षर रहेनछ। भुल्नुभएको हो कि भनी घरैमा आएर हस्ताक्षर गराई फ्रेम गरौँला भन्दै थिएँ, संयोगले तपाईँ नै आउनुभएछ। कृपया हस्ताक्षर गरिदिनुहोस् न !’

स्वतः यस्तो उपाय निस्केकामा आफैँ पनि छक्क परेँ। प्रतिक्रियामा दाइ मुस्कुराए औ भने – ‘यो सानो खाल्को, भाइकै सल्लाहअनुसार बनाएको। त्यसैले हस्ताक्षर गरिनँ। अलि आर्थिक दृष्टिकोण मात्र राखेर बनाएको अनि के हस्ताक्षर गर्ने भन्ने विचार थियो ! हुन त निकै बिक्री भयो, तर अहिले सम्झँदा हस्ताक्षर हुनुपर्ने रहेछ हगि ! सानो भए पनि ठूलो भए पनि आखिरी मेरै कला त हो ! सबैमा गर्नुपर्ने रहेछ हगि ? हुन सक्छ अरू कति कलाप्रेमी मानिसहरूले पनि तपाईँलेझैँ फ्रेम गर्नु नपाइरहेका होलान्। ल्याउनुहोस् म गरिदिन्छु।’

उनले मनलाई राम्ररी पढ्न सकेनन् होला ! कलाकारहरू कति सरल हुन्छन् त्यस दिन अनुभव गरेँ। भित्र गएर चित्र र फ्रेम लिएर आएँ। उनले हस्ताक्षर गरेर फर्काएपछि हेर्दा चित्रको टुप्पो-फेद पनि पत्ता लाग्यो। राम्ररी हेरेँ, ल्यान्डस्केप रहेछ, आकाशमा बादल, तल पहाडहरू…..

कलाकार दाइ गएपछि चित्रलाई फ्रेम गरेर टँग्याएँ। त्यसपछि दुई-चारचोटि उनी मेरो घरमा आइसके औ कोठामा सजाइएको आफ्नो कलालाई आफैँ हेरेर कति मुग्ध बने। उनको आत्मसन्तोष र आनन्दको आभास दिन्थ्यो उनका चम्किला मुहार र आँखाहरूले, तर मलाई भने सन्तोष लागेको छ उनको चित्त नदुखाई कसरी चित्रको टुप्पो र फेद मैले थाहा गर्न सकेँ भन्ने कुराले।

गरिमा २०९

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “चित्र फ्रेम गर्नुपर्दा”

    1. YO KATHA SAYAD KOI KASAIKO
      YO KATHA SAYAD KOI KASAIKO JENDAGE SANGA MILNA JALA.
      TARA SAMGRAMA BHANNU PARDA KATHA SARAI RAMRO LAGYO
      AAJHA YASTAI KATHAKO AASA RAKHACHU.
      ANI HAMRO RACHANALAI PANE THAUDEN SAKNU HUNCHA KE
      PLZ VANNE DENU HOLA.
      MAIL BATANAI GARDA PANE HUNCHA HOLS JASTO LAGCHA
      TAIPANE MAIL GAREDENU HOLA.
      Mero mail id [email protected]

      thanks

Leave a Reply

Your email address will not be published. Required fields are marked *