भर्खरै हुलाकीले बुझाएर गएको पोको खोलौँ या नखोलौँ भन्ने दुविधामा ऊ धेरैबेरसम्म रुमल्लिइरही । पोको हातमा लिएर वर्काई-फर्काई हेरी र तौली । पोको सानो र हलुको लाग्यो । एकापट्टि लोग्नेको नाउँ र ठेगाना प्रस्टसँग लेखिएको थियो ।अर्कापट्टि पठाउनेको ठेगाना लेखिएको र त्यो पनि छोटकरीमा भएकाले पठाउनेको पूरा नाम उसले बुझ्नै सकिन। उसलाई उत्सुकताभन्दा बढी जिज्ञासाले कुतकुत्यायो। जेसुकै होस् भन्दै टॉसिएका कागजहरू उप्काउन थाली। सबै कागज उप्काइसकेपछि एउटा सानो, चटक्क परेको चारपाटे बट्टामात्र बॉकी रह्यो। राम्रोसँग नियालेर एकापट्टिको कुनामा तान्दै बिर्को उघारी। बट्टाभित्र, स-साना रङ्गीचङ्गी जरीकागज काटेर बनाएको एउटा लामो माला, केटीको एउटा तस्बिर र मसिनो अक्षरमा लेखिएको एक पाना कागज, यी तीन चीजबाहेक अरू केही थिएन।
माला सारै राम्रो लाग्यो र धेरैबेरसम्म हेरिरही। एक मनले त लगाइहेर्न नसोचेकी पनि कहाँ हो र तर कुन्नि के ठानेर नलगाई बिस्तारै बट्टामा मिलाएर राखी। त्यसपछि उसले तस्बिर लिएर आँखा गाढी। कुईरो आँखा, चुस्स नाक, लामो कपाल, चौडा निधार र मुसुक्क हाँसेका ओठ….बोलिहाल्नेजस्ती एउटी हिस्सी परेकी तरूनी केटीको तस्बिर अझै नियालेर हेरी। त्यसको सौन्दर्यभन्दा सादा हिस्सीपनाले उसलाई चसक्क पार्‍यो। तस्बिरको अर्थ र बेलीबिस्तार बुझ्ने कौतूहलले अर्को कागज पढ्न थाली। आँखा र मानसिक तन्तुहरूलाई स्थिर गरेर पढ्दै अन्त गरी। पुछारमा नाउँको ठॉउमा रूपी दुई अक्षर देवनागरीमा लेखिएको र अङ्ग्रेजीमा लेखिएकाले अङ्ग्रेजी शब्दको वर्ण मात्रै बुझियो, अर्थ भने लगाउनै सकिन। सकेसम्म अर्थ्याउने प्रयास गर्दा पनि केही लागेन र पट्याउँदै तस्बिरसँग मिलाएर बट्टाभित्र थन्क्याउँदै बिर्को बन्द गरेर टेबुलमाथि राखी र बैठककोठाबाट निस्की।
-बाईफाले, अर्काको लोग्नेलाई तस्बिर र माला ! देखौँला…
मनमनै सराप्दै अर्को कोठामा पसी।
-फोटो मालाको मतलब…कतै….मनमा असजिलो लाग्यो अनि शङ्का र उपशङ्का तर्कना र तरङ्गमा रुमल्लिन थाली। रूपी नाउँसँगै आँखाअगाडि फोटोभित्रको अनुहार झुल्कियो। कोठाको ढोका जोडले बन्द गरी। दुवै फग्ल्याँटाका थर्कोले भित्ताको कीलामा झुन्ड्याइएको एक वर्षअघि विवाहको लगत्तैपछि खिचिएको उसको तस्बिर खन्द्र्याङ्ग भुइँमा खस्यो र ऐना झ्याम्म फुट्यो।
ऊ झसङ्ग तर्सी। हातखुट्टा थरर्र काँपे। ढोका र ऐनाको शब्दले भन्दा बढी कुनै अर्कै मानसिक डरले तर्सिएकी थिई ऊ। नजिकै गएर तस्बिर उठाई । ऐना टुक्रा-टुक्रा भएर छरिएको, फ्रेममा तस्बिरमात्र रहेको थियो र पनि दुवै काँधबाट सर्लक्क अगाडि झरेका कपालका दुई चुल्ठा, चौडा निधारमाथि सोझो सिउँदोभरि पुरिएको रातो धर्सो, गाजले कोस, भरिलो अनुहार, पोते र तिलहरीले खुलेको नयाँ दुलहीको सौभाग्य मनमा केस्रा-केस्रा केलाउँदै हेर्न थाली । तस्बिरमा कतै खोट थिएन । आफ्नो मनमा पनि त खोट भेटिन ।
-हेराइ र गुनाइ फरक त नहुनुपर्ने हो, तैपनि अर्काको आँखा र मनको कुरा….मनलाई ढाडस दिन खोजी ।
-अनि किन त तस्बिर र माला… ? कतै नाउँ त खोटको कारण….रूपी, मुना…सोच्दै ऐनाका टुक्राहरु टिप्न थाली । टिप्दाटिप्दै आँखा रसाएर टिलपिल भैसकेको उसलाई पत्तै भएन ।
यत्तिकैमा ढोका घिरिक्क उघ्रियो । झसङ्ग तर्सिएर ढोकातिर हेरी । कोठाभित्र लोग्ने फुत्त पस्यो । टाउको बिस्तारै निहुर्‍याएर नजानिँदो गरी आँखा पुछी ।
-के भयो ?…स्वास्नीतिर हेर्दै उसले सोध्यो । ऊ चुपो लागेर ऐना टिपि नै रही । फुटेको ऐना, स्वास्नी र तस्बिर झुन्ड्याउने कीलातिर पुलुक्क हेर्‍यो र ढोकाछेउमा जुत्ता फुकालेर अलिक पर गई कपडा फेर्न थाल्यो ।
एउटा कागजमा ऐनाका टुक्राहरु राखेर फ्रेमको तस्बिर झ्यालनेर ठड्याई कूचो लिएर स्वास्नी कोठा बढार्न थाली । लोग्ने नजिकै पलङमा पल्टिएर स्वास्नीको काम हेरिरह्यो ।
बढारिसकेर कूचो थन्क्याई अघिको तस्बिरलाई पूर्ववत् कीलामा झुन्ड्याउने प्रयास गरी । लोग्नेले हेरि नै रहेथ्यो ।
– ऐना कसरी फुट्यो ?
– खसेर, छोटो उत्तर दिई ।
– त्यति जाबो फुट्दैमा रुनुपर्छ त अर्को ऐना हाले भैहाल्छ ।
– अरू नै फोटोलाई ऐना हाल्नू नि…रुन्चे स्वरले जवाफ दिई र कीला ठोक्न थाली ।
– भैगो, ऐना नभएको तस्बिर नझुन्ड्याऊ, मैलिन्छ।
– कुन रूपीको फोटो हो र राम्रो देखिनुपरोस् पर्दैन ऐनासैना, यसै झुन्ड्याउँछु, रुखो जबाफ दिएर तस्बिर झुन्ड्याई कोठाबाट बाहिर निस्की । स्वास्नीको कुराले उसलाई उदेक लाग्यो र स्वास्नी गएपट्टि हेरिरह्यो ।
– भाउजू नरेश आयो ? बाहिर साथीको स्वर सुन्यो ।
– म आइसकेँ विमल, भित्र आ’न पलङबाट उठ्दै भन्यो र कोठाबाट बाहिर बरन्डामा निस्कियो ।
– हैन, आज चिया ख्वाउँदिनौ कि क्या हो ? स्वास्नीतिर फर्केर भन्यो र साथीसँगै बैठक-कोठाभित्र पस्यो । कोठाभित्र पस्नासाथ टेबुलमाथिको बट्टामा आँखा परे । सरासर गएर बट्टा उघार्‍यो ।
– मुना यता हेर त । स्वास्नीलाई बोलायो । स्वास्नी ढोकामा देखा परी ।
– यो पार्सल कुन बेला ल्याइदियो हँ ?
– अघि नै हुलाकीले दिएर गएको । आँखा निहुर्‍याएर स्वास्नीले जबाफ दिई ।
– यो यस्तै आएको कि तिमीले खोलेको ?
– ……….केही जवाफ आएन । ढोकातिर हेर्‍यो । स्वास्नी गैसकेकी थिई । बट्टा उघारेर त्यसभित्रको सबै चीज टेबुलमाथि थुपार्‍यो ।
– के हो यो ? निकै चिटिक्क परेकी पो रहिछ त । फोटो हेर्दै साथीले सोध्यो ।
चिठी पढ्न थालेकाले उसले केही जवाफ दिएन ।
– ल हेर । पढिसकेको चिठी साथीको हातमा दिदैँ उसले भन्यो ।
– वाह रे लम्फू ! सात समुद्रपारि साइनो गाँसिछस् । चिठी पढिसकेर साथीले भन्यो । टेबुलमाथिको माला टिपी वर्काई-फर्काई हेर्न लाग्यो । केहीछिन हेरेर उसको टाउको निहुर्‍याउँदै साथीले उसलाई माला लाइदियो । घामको किरणमा मालाको टलक कोठाभरि छरियो ।
– यो कुइरीसँग कसरी साइनो गाँसिस् हँ ? साथीले चिठी पट्याउँदै सोध्यो ।
– यो धेरै अघिको कुरा हो… ढोकामा पैतालाको शब्द सुनिएकाले कुरा बीचमै रोकी पुलुक्क उता हेर्‍यो । दुइटै हातमा चियाको गिलास समातेर स्वास्नी भित्र आई, लोग्नेको घाँटीमा झुण्डिएको मालातिर पुलुक्क हेरी र टेबुलमाथि गिलास राखेर फर्की ।
– सात समुद्रपारि साइनो… धेरै अघिको कुरा… स्वास्नीले योभन्दा बढी सुन्न नपाएकीले बाहिर निस्कँदा उसका खुट्टा झन्डै लरबराएथे । आफूलाई संयम गराउन हो वा कुरा सुन्न हो हातमा कूचो लिएर बरन्डामा सुस्तरी बढार्न थाली ।
– अँ… अनि… सबै भन्, सारै कौतूहल पो लाग्न थाल्यो । साथीले चिया खाइसकेपछि सोध्यो ।
– झन्डै सात वर्षअघि… प्राथमिक तहबाट माध्यमिक तहको स्वीकृति भर्खरै पाएको हाम्रो पहाडको गाउँले स्कुलमा शिक्षकको व्यवस्था भइनसकेकाले मैले पढाउने काममा श्रमदान गरेको थिएँ । जाडोको छुट्टी पन्ध्र दिनअघि नै भैसकेथ्यो र त्यस दिन म स्कुलको चौरमा पार तापिरहेथेँ… ।
– नमस्ते… तपाईँको शुभनाम नरेश… !
– हजुर ! मेरो नाम नरेश नै हो ।
काँधमा दुई-तीनओटा झोला तन्द्र्याङतुन्द्रुङ झुन्ड्याएकी, पिठ्यूँमा सानो गुन्टा बोकेकी, घुँडासम्म दोब्र्याएको पैन्ट र छालाको लामो बुट जुत्ता लगाएकी एउटी कुइरीले मेरा पछिल्तिरबाट आएर सोधी र मैले जबाफ दिएँ।
– मेरो नाम मेरी लिन्डा हो। सजिलाको लागि मेरी मात्र भने पनि हुन्छ। तपाईँ यहाँको स्कुलको मास्टर हैन त ! उसले उभिएरै सोधी।
– हो ! भन्नोस्, के गर्नुपर्‍यो ? उसको अनुहार हेरेर मैले भनेँ।
– म यहाँ बस्न सक्छु ? उसले अनुमति चाही।
– हुन्छ, हुन्छ बस्नोस् न ! मैले आग्रह गरेँ। भुइँमा आफ्ना झिटीझाम्टा बिसाएर ऊ थचक्क बसी र एउटा सानो झोला उघारेर केही खोज्न थाली।
– सहरबाट यति टाढा दुर्गम ठाउँको गाउँमा एउटी विदेशी आइमाई यसरी एक्लै आईपुग्नुभन्दा बढी उसले बोलेको शिष्ट र शुद्ध नेपाली उच्चारणप्रति मलाई आश्चर्य लाग्यो । उदेक मानेर घरी उसको अनुहार र घरी उसले खोतलेका झोलातिर हेर्न थालेँ ।
– दुइटा बन्दी खाम झोलाबाट झिकेर मलाई दिई । मैले पालैपालोसँग दुइटै खाम खोलेर भित्रको चिठी पढेँ । समाजशास्त्रमा विद्यावारिधि गर्ने सिलसिलामा समुद्रपारबाट सिफारिस लिदैँ आएकीले कुनै गाउँले समाजमा बसी शोधपत्र तयार गर्न पाउने व्यवस्था मिलाइदिनका लागि विश्वविद्यालयले जिल्ला शिक्षा निर्देशकका नाउँमा लेखेको एउटा चिठी र सोहीबमोजिम सघाउ गरी बस्ने र खाने प्रबन्धसमेत गर्न र शिक्षकको खाँचो परेमा निजको मन्जुरी लिएर पढाउन लगाउने भन्ने जिल्ला शिक्षा निर्देशकले हाम्रो स्कुलको प्रधानाध्यापकको नाउँमा लेखेको अर्को चिठी रहेछ । पढिसकेर दुवै चिठी पट्याउँदै खाममा हालेँ र अनुहारमा हेरेँ ।
– शिक्षा निर्देशकले तपाईँको नाम टिपाउनुभएको हो । समाजशास्त्रमा ‘मानव र सम्बन्ध’ मेरो शोधको विषय हो, तपाईँले सहयोग गर्न सक्नु नै हुनेछ ।
– अवश्य गर्नेछु र तपाईँले सोचेभन्दा बढी नै सहयोग गर्नेछु । मैले जबाफ दिएँ।
– तब त मेरो सौभाग्य नै हुनेछ । ऊ अति नै खुसी भई । उसको थकाइ मरिसकेपछि मेरो घरनजिकै एउटा घरमा बस्ने प्रबन्ध मिलाइदिएँ ।
– म यहीँको बासिन्दाजस्तै भएर बस्नेछु र यो समाजमा भिजेर नबसेसम्म मेरो शोधमा यथार्थता आउन सकोइन । मेरो प्रयास त्यसप्रति नै हुनेछ । बरु फुर्सतमा तपाईँसँगै भेट हुँदै गरोस् । सामानहरू मिलाउँदै उसले भनी ।
-त्यस गाउँको भौगोलिक, आर्थिक र सामाजिक परिचय दिएँ। ‘कुनै जरुरी परेमा मलाई बोलाउनू’ भन्दै औँल्याएर आफ्नो घर देखाइदिएँ। टाढा सहरबाट पढाउन आएकी मास्टर्नी भनी छरछिमेकमा चिनाएँ। जातियताको कुरामा कतै धार्मिक पूर्वाग्रहको विवाद पो उठ्ने हो कि भन्ने डर मनमनै लागिरह्यो।
-एक सातासम्म त ऊ त्यस गाउँमा चर्चाकी विषय भई। उसको पहिरन नै नारीसमुदायमा बढी चर्चाको विषय भयो। उत्ताउली, बाइफाले, नकच्चरी, चुच्चीजस्ता उपमा दिन नारी समुदाय किन पछि पर्थ्यो र ?
– समय बित्तै गयो। बिस्तारै उसको चर्चा हराउँदै गयो। उसको नम्रता, शिष्टाचार र मधुरो हाँसो नै विजयको साधन भएछ र त्यस्तै आत्मीयताले सोझा गाउँलेहरू रत्तिइहाले। अनि बिस्तारै समाजमा भिज्दै गई र दुई महिना पुग्दा नपुग्दै ऊ छिमेककी गोरी दिदी हुँदै अभिन्न अङ्ग हुन पुगी।
-गाउँले खाना आफ्नै हातले बनाएर खानु, कपालमा चापचिल्लै तेल हालेर दुई चुल्ठा बाट्नु, खाँडीको चौबन्दी चोलो र गउनको फरिया लगाएर कम्मरमा पटुका बाँधेकी मेरी गाउँले नारीझैँ बिहानै गाग्रो बोकेर पधेँरातिर जान्थी। उसले एउटा बाख्रो पनि पालेकी थिई र हातमा हँसिया लिएर बारीका कान्लातिर गई घाँस काटेर ल्याउँथी। रातो माटोले कपाल नुहाएको र उमालेको खरानीपानीमा लुगा पकाई मुङ्ग्राले पिटेर धोएको कुरा उसले डायरीमा लेखी देखाएकी थिई। गाउँलेहरूलाई आफ्नो नाम रूपी भनेर सुनाएकी थिई। उसले झ्याउरे गीत, असारे भाका मालसिरी मीठो लय हाल्दै मलाई धेरैपल्ट सुनाएकी हो। ऊ छिमेकको विवाहमा रत्यौली खेल्न पनि जान्थी रे। भाइबहिनी, काका-काकी, आमाबा, दाजुभाउजूजस्ता नाताले सबैलाई बाँधी र साइनोको पवित्रतामा जातित्वको साँगुरो तगारो र पूर्वाग्रह देखिन पाएकै थिएन। गोरो छाला, उँचो जातिको लक्षण मान्ने गाउँलेले उससँग जात र खानदान सोध्नै खोजेनन् भन्ने मैले लिएथेँ। त्यस वर्षको बडादसैँमा घर-घर घुमेर उसले टीका थापेकी थिई र तिहारमा एउटा लङ्गडो केटालाई भाइ बनाएर भाइटीका पनि लगाएकी थिई।
-यी बच्चा र यिनले ठूलाप्रति देखाएको अनुशासनको मूल्याङ्कन गर्ने हो भने विश्वकै एउटा नमुना पो हुनेछ त। शोधपत्रको सिलसिलामा उसले मसँग एकपल्ट भनेकी थिई।
-हामी त हाम्रा बच्चाहरूलाई अरूभन्दा सभ्य र अनुशासित ठान्दैछौँ। तर साँचाको झुप्पो लिएर कारखानाबाट आमाबाबु फर्कने आसमा गल्ली, सडकछेउमा रात नछिप्पिएसम्म बाटो हेरी बस्ने छोराछोरीलाई मेसिनसँग दिनभरि पौँठेजोरी खेली थाकेर फर्केका आमाबाबुले तिनको स्याहार, शिक्षा र खानपिनमा कत्ति पो दृष्टि पुर्‍याउन सक्लान् र ! ससाना कुरामा लोग्नेस्वास्नी छुट्टिन्छन् र पारपाचुकेकै कारणले छोराछोरीको भविष्य हेरिँदैन। आमाबाबुको माया र स्याहार त परै जाओस् टुहुराजस्तै अनाथालयमा पालिनुपर्ने हुन्छ। भाषाको शब्द र आमाबाट व्यवहारको पहिलो पाठ बाबुबाट सिकिन्छ भन्ने मान्यता हामीमा पनि छ, तर काँचो उमेरदेखि नै एक्लै सडक र गल्लीमा उभिएर बाटो हेर्ने हाम्रा बच्चाले आफ्ना आँखाले जो देख्छ त्यही सिक्छ। अनि उसले सही ज्ञान, सभ्यता र अनुशासन सिक्न र पाउन सकेको छ-छैन कसले हेर्ने ? उसले आफ्नो भनाई यसरी छर्लङ्ग पारी।
-विज्ञानको प्रगति हुँदैमा भोलि यहाँ पनि त्यस्तो नआउला भन्न सकिन्न। उसको कुरामा मैले यसरी समर्थन गरेँ।
-त्यसो नभन्नोस्। मान्छेको आहारा अन्न हो। कुनै धातु खाएर त मान्छे बाँच्नै सक्दैन। अन्न उम्रे फाँटमा मेसिन ठड्याई, यी निर्दोष र पवित्र मुटुलाई फलामले ढालेर कठोर बन्ने दिन त आउँदै नआओस् बरू। ऊ संवेदित हुँदै गएकी थिई।
-हामीले अरूको दाँजोमा प्रगति र उन्नति गर्न नपाउने त ? मैले प्रतिरोध गरेर भनेँ।
-उन्नति नगर्नोस् भनेको होइन। मान्छे एउटा संवेदनशील प्राणी हो। नौनीभन्दा नरम उसको मन हुँदो रहेछ। उसभित्र माया र आत्मीयताको ठूलो भण्डार हुँदो रहेछ। मैले यहीँ आएर यो अनुभव गरेँ। मेसिनलाई प्रगति र उन्नति नठान्नोस्। मेसिनले त मान्छेलाई कठोर बनाउने, घृणा सिकाउने, घमन्डी र स्वार्थी बनाउने कुरा तपाईँले सोचेकै छैन। यो त हामीले भोगिसकेका छौँ। हामी हरेक रात मृत्युको सन्त्रास लिएर सुत्दछौँ भने हाम्रो जीवन सारै असुरक्षित पो छ त।
-त्यो त हो, तर मानवीयताको रक्षा गर्न मेसिन त चाहिन्छ नै। म आफ्नो विचारमा अडिग रहेँ।
-यहाँ जेजस्तो छ त्यसलाई परिमार्जित गर्नुहोस्। प्रगति, उन्नति र मानवीयताको रक्षा यो पो हो त। मेसिनचाहिँ कदापि होइन। यहाँ त बच्चा जन्मन्छ, आमाको काखमा स्याहार हुन्छ। आमाबाबुकै रेखदेखमा हुर्कन्छ। बोली अनुशासन आमाबाबुबाटै पाउँछ। ठूलो हुन्छ, घरजम गर्छ, आमाबाबुकै निर्देशन अगुवा हुन्छ। गल्ती सुधार्छ र दोहोरिनै पाउँदैन। आमाबाबुको मृत्यु हुँदा काजक्रिया गर्छ र वर्ष दिनसम्म शोक मनाउँदै बरखी बार्दछ। आमाबाबु नभए पनि वरिपरिका छिमेकी र समाज उसलाई सहयोग गर्न तम्तयार रहन्छन्। उसले आफूलाई टुहुरो ठान्नै पाउँदैन। तीन-तीन पुस्तासम्म सँगै बस्ने यो संयुक्त परिवार, अनाथ, दुःखी, टुहुरा सबै यसमा पालिन्छन्। कतै भेद छैन, रिस र स्वार्थ पनि छैन। कति रमाइलो संसार र मानवीयताको जिउँदो उदाहरण छ यहाँ। नरेशजी ! हामी मेसिनबाट वाक्क भएर एकैछिन भए पनि शान्तिपूर्ण जीवनको स्वर्गीय कल्पना गर्दछौँ भने यहाँ त त्योभन्दा पनि माथिल्लो तहको स्वर्ग र वास्तविकता देखेँ र भोगेँ मैले। यहाँको कुनै एउटा मात्र व्यक्ति हामीकहाँ जाओस् त उसले एकैछिन पनि मुख बोल्ने साथी पाउने छैन। सबै बेफुर्सदी। वहाँ बच्चाको स्याहार र उपचार मेसिनी तरिकाले गरिन्छ। आमाबाबुको मृत्युशोक एक दिनको प्रार्थनाले सकिन्छ। छरछिमेक र समाजलाई केही वास्ता रहँदैन। सत्र वर्ष पुगेपछि छोराछोरी छाडा हुन्छन्। आमाबाबुको र अविभावकको नियन्त्रणबाट फुक्का हुन्छन्। त्यो कुनै परिपक्व उमेर त होइन। काँचो उमेरमा छाडा भएका ती बाच्छाबाच्छी भोलि कस्तो बाटोमा हिँडेका हुन सक्छन्, सोच्नोस् त। यहाँ त त्यसो छैन। म त यहाँ बिग्रने बाटो नै देख्तिनँ। पुरुषको पथमा नारी सहभागी भएर साथ दिनु योभन्दा अर्को स्वर्ग कहाँ होला नरेशजी ! तपाईँहरू सारै भाग्यशाली हुनुहुन्छ। यो संसार र स्वर्गलाई जोगाएर राख्नोस्। भोलि मेसिनले यसलाई निठुरी बनाउँदै छ्यान्नब्यान्न पार्न नपाओस्। दुर्गम ठाउँको एउटा गाउँको परिवेश भोगेर उसले आफ्नो शोधपत्रको विषयगत दृष्टिलाई यसरी टुङ्ग्याएकी थिई। उसले आफ्नै पाराले देखेको र बुझेको सत्य यही नै थियो।
ऊ त्यस गाउँमा झन्डै दुई वर्ष बसी। जाने अघिल्लो दिन घरघरै घुमेर बिदा लिई। आफूले पालेको बाख्राको बथान त्यै लङ्गडो केटालाई चिनो दिइछ। जाने दिन बिहान ऊ बसेको घरमा आइमाईको घुँइचो भयो। सबै आँखाभरि आँसु लिएर थुप्रिएथे।
-नरेशजी ! म आज यो स्वर्गबाट जाँदैछु। मेरा लागि यो परदेश हो र म पनि आफ्नै घरबाट निकालिँदैछु जस्तो लागिरहेछ। तपाईँको गुन कहिल्यै बिर्सन्नँ। यो मेरो भाइको हेरविचार गरिदिनुहोला। चिठी अवश्य लेख्‍नुहोला। आँगनमा उसले यतिमात्र भन्न सकी। उसको आँखा रसाउँदै गएथ्यो। केटाकेटी, आइमाई सबै परसम्म सँगै गएर बिदा गर्‍यौँ। दुई जना केटा सहरसम्म पुर्‍याउन साथै गए। खल्लो मनले हात हल्लाउँदै ओरालो लागी, देखुन्ज्याल हेरिरह्यौँ। सबैका आँखा रसिला र मन खल्लो थियो।
-मेरी रूपी भएर थोरै दिन बसी र पनि रिझाएर र रत्याएर आत्मीयताको परिवेश रचेर समाजमा भिजेकी थिई। गाउँमा धेरै दिनसम्म उसको चर्चा चल्यो। कतिलाई त फेरि आउँछे भन्ने विश्वास पनि थियो। त्यसपछि मसँग पत्राचार मात्र हुन्थ्यो र वहाँ पुगेपछि मलाई भाइ भनेर चिठी लेख्‍न थालेकी हो। वहाँ पुगेर बिस्तारै हाम्रो भाषा बिर्सन थालिछ र सबै मेसिनले खायो भनेर वर्षौँ अघि लेखेकी थिई। गाउँ छोडेर यहाँ आएपछि हरेक वर्षको क्रिसमसमा आफ्नो तस्बिर र माला पठाउने गरेकी छ। रूपी भन्ने दुई अक्षरमात्र बिर्सन बाँकी रहेछ। त्यो मात्रै हैन अब हामीलाई पनि बिस्तारै बिर्सिहाल्छे।
-जेसुकै होस्, तर आइमाई भएर त्यति टाढादेखि आएर यहाँ त्यसरी जमेर बस्न सक्नु कम होइन बुझिस्। हाम्रो ठाउँका आइमाई त्यति गर्न सक्छन् त, तैँ भन् न ! साथीले भन्यो।
-भो यिनको कुरा नगर्। उसले भन्यो। बाहिर ढोकाको छेउबाट एउटा छाया लुसुक्क अर्को कोठातिर गएको जस्तो लाग्यो। उसले पुलुक्क त्यता हेर्‍यो।
-मुना ! केही खाजा बनाइनौ ? उसले स्वास्नीलाई बोलाउँदै भन्यो।
-बनाउनै लागेँ। बरन्डाको पल्लो छेउबाट स्वास्नीको स्वर आयो।
खाजा खाइसकेर साथी आफ्नो बाटो लाग्यो र ऊ कोठाभित्र पस्यो। भित्र कोठामा स्वास्नी कागजमा केही बेर्दै थिई।
-के बेर्न लागेको नि ! स्वास्नीपट्टि हेरेर सोध्यो।
-तस्बिरमा ऐना हालेर ल्याउने भनेको होइन ! मुसुक्क हाँसेर भनी।
-कुन रूपीको तस्बिर हो र ऐना हाल्नु ! बरु अर्कै तस्बिरमा पो ऐना र फ्रेम हाल्नुपर्ला। जिस्क्याइलो पाराले उसले जबाफ दियो।
-हुन्छ नि ! त्यसमा पनि फ्रेम हालेर ल्याइदिए दुइटा सँगै झुन्ड्याउने थिएँ। बरु चाँडै गए हुन्छ, अर्को कीला पनि ठोकिराख्छु….हुँदैन ? हँसिलो अनुहारले जबाफ दिई।
अघिको ठासठुस र शब्द सम्झेर स्वास्नीभन्दा बढी एउटी नारीलाई चिन्न खोजेझैँ लोग्नेले स्वास्नीको अनुहार र आँखामा एकतमासले हेरिरह्यो।

गरिमा (वैशाख २०५७)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *