साना काम
जीवनमा साना साना कामहरुको ठूलो महत्व हुँदोरहेछ । मुटु रोगका सर्जन डा. भगवान कोइराला हिजो टि.भी.मा भन्दै थिए– सानो सानो कामबाट ठूलो काम बन्छ । उनको भनाइमा मेरा पनि धेरै चिन्तन सूत्रहरू मिले । वास्तवमा समग्र रुपमा थोक कार्य काहीँपनि हुँदैन । साना साना कार्यहरुका गठजोडबाट ठूला कार्य बन्दा रहेछन् । विशाल पहाड हेरौँ, साना साना धुलीकणहरुको योगबाट नरि्माण भएको छ । सीमाहीन समुद्र हेरौँ, थोपाथोपा पानीबाट निर्मित भएको छ । हजारौँ गजकपडाको बण्डल हेरौँ सानो केसभन्दा मसिनो धागोबाट बुनिएको छ । महाभारत र रामायण विश्वका धेरै श्लोक भएका महाकाव्य मानिन्छन् । महाभारतका प्रत्येक श्लोकहरू साना साना शब्दबाट, साना साना रुपबाट, साना सानाअक्षर, वर्ण र सूक्ष्म ध्वनिहरुबाट रचना भएका छन् । यसरी सानो चिजबाटै ठूलो चिज बन्नेरहेछ, सानो कामबाटै ठूलो काम बन्नेरहेछ ।
