Skip to content


असाध्यै मन परेपछि
चुम्बन
चुचुरामा गरे पनि हुन्छ
खोंचमा गरे पनि हुन्छ ।
कति राम्ररी पढिरहन जानेकी
बादलु जाले
फापर, कोदो र कागुनुका बारीहरूमा
फिजायौ कि कसो
रङ्गरङ्गका पोतेहरू
सुलुत्त परेको नाकमा
हिमानी बुलाकी झल्केपछि
सुनफूल होइन हिमफूल
निधारभरि टल्केपछि
रिसाए रिसाएजस्तो गर्दै मुसुक्क हाँसेपछि
खित्का छोडेर हाँस्दाहाँस्दै
बलिन्द्र धारा आँसु बगाएपछि
कसरी रित्तै बसिरहन सक्छ र
न्यानो मेरो अँगालो ?
कतिले फोहोरी भने तिमीलाई
मैले तिम्रा ककराहरूबाट शिलाजीत पिएँ
कतिले ‘तिती’ र ‘टर्री’ भने तिमीलाई
मैले तिम्रा अङ्गअङ्गबाट
कटुकी र पाखनवेदको उज्यालो पिएँ
यार्चागुम्बाको नदी बगाइरहेकी तिमीलाई
कसरी ठिङ्ग उभिरहेकी ढिस्को मात्र ठाने अरूले
म त तिम्रो जुन अङ्गको स्पर्शले पनि
तात्दैतात्दै चढिरहेछु ।
कहिले पो हुन्छ र अप्ठेरो
आमाको काखमा
कहिले पो हुन्छ र पीडा
प्रेयसीको अङ्गालोमा
धूलो, धूलो होइन
त्यो अंश हो अलिकति आमाको
काँडा, काँडा होइन
हेर्दैछन् खोला छेउका धूपीहरू ।
कहाँ फुर्सद छ र तिमी र मलाई
क्षणक्षणमा प्रेममा कुतकुतिन
तर यी गाउँका मान्छेहरूका लागि त छ
सधैँ प्रेम पर्न
रङ्गीन छ दुनियाँ गाउँहरूका लागि
नसालु छ संसार उनीहरूको लागि
दोभानमा उभिएर
निस्तब्ध पहाडहरूसँग सोधिरहेँछु
त्यतातिरको तिम्रो खबर ।

-काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *