सगरमाथा चुली पनि चुरेजस्तो लाग्छ ।
अगस्तीले सबै थोक तुरेजस्तो लाग्छ ।।
जागी सुख हुन्थ्यो कहाँ सुती सुख हुन्थ्यो ?
कानैनिर कुम्भकर्ण घुरेजस्तो लाग्छ !
ढल्यो भन्ने रात झनै झाँगिएझैँ देख्छु ।
उदाउँदो घाम भने लुरेजस्तो लाग्छ ।।
बिहानीको पखाईमा सधैँ साँझ पर्छ
बिहानी चैँ कुहिराले पुरेजस्तो लाग्छ ।।
बाघ मार्यौं भनी के को मख्ख पर्नुछ र ?
ब्वाँसोलाई गाई बाख्रा जुरेजस्तो लाग्छ !
गुलाफको, गुराँसको लेख्न तम्सिएको
गजल त विद्रोहको फुरेजस्तो लाग्छ ।।
हिजो आएको आँधीले फोहर थुपारे छ
मुलुकले अर्को आँधी कुरेजस्तो लाग्छ ।।
-भैरवा
