मान्छे हुनुको अर्थमा

  • by


मान्छे हुनुको अर्थमा
भोक र अभावमा बाँच्नु होइन भने
मानबहादुरले एक पेट खान पाउनुपर्छ
मानबहादुरले एक आङ लाउन पाउनुपर्छ
र मान्छे हुनुको अर्थमा-
आफ्नै देशमा शरणार्थी हुनु होइन भने
मानबहादुर मर्दा, कम्तीमा
उसको मृत शरीर सुताउन पुग्ने
एक टुक्रा जग्गामा,
मानबहादुरको हक लाग्नु पर्छ ।
जीवनयात्राका अन्तरालमा
मानबहादुरले धेरै हिउँद देखिसकेको छ
र, प्रत्येक वर्ष खापिने
योजनाका पानाहरूमा
आफ्नो नाउ सरेको
मानबहादुरले पनि सुनेको छ
यद्यपि
आजपर्यन्त बनेका योजनाहरूमा
मानबहादुरले भाग पाएको छैन
मानबहादुरलाई थाहा छैन ।
मान्छे हुनुको अर्थमा
र, यता आएर
सार्वभौम नागरिक हुनुको अर्थमा
मानबहादुरले!
सधैँ भोक, अभाव र अन्यायमा बाँच्नुपर्छ भने
त्यसै त मानबहादुर,
ठक्कर खाँदाखाँदा
पहलमानजस्तै भएको छ
फलामजस्तै भएको छ
सहनुको सीमा नाघेपछि
मानबहादुरले पनि योजना बनाउन सक्छ
मानबहादुरले पनि हतियार उठाउन सक्छ ।
समय छँदै-
देशलाई काँधमा राख्ने
मानबहादुरजस्ताको निम्ति
सोच्न सकिएन भने
मान्छे हुनुको अर्थमा
र मान्छे जस्तो बाँच्नुको अर्थमा
मानबहादुरले पनि समयलाई आफ्नो बनाउन सक्छ
मानबहादुरले पनि इतिहास बनाउन सक्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *