Skip to content


तिमीले हिँडेका बाटोहरू हेरेर चित्त बुझाउँछु
तिमीले हिँडेका बाटोहरूलाई स्पर्श गर्छु
तिमीले नाघि गएका पहाडहरूको अभिनन्दन गर्छु ।
अब पहाडहरूलाई प्रेयसी भन्न थालेको छु
रुखलाई शिक्षक
बिरुवालाई छोराछोरी
आकाशलाई गन्तव्य ।
म मन्तिर जादिन
ईश्वर मेरो प्रतिपक्षमा छ
र, बिर्सिएको छु- आफ्नो जन्मदिन ।
रातलाई काटेर
टुक्रा टुक्रा पारेर
स्वादमा
बान्तामा
गहिरो गहिरो भोग्छु
बितेका दिनहरूको पुच्छर समाउन खोज्छु
आफ्नै वीर्यका छायाहरूसँग खेल्छु
सपनाहरूको आफमा उड्छु
मेरो रगत चाटिरहन्छन्.
अँध्याराका निरङ्कुश बिम्बहरू
मेरा खुसीहरू फ्रिज हुँदै जान्छन्
के छ र बाँकी मसँग
छ भने-
त्यही आँसुको रुमाल छ
त्यो पनि तिमीले दिएको
एक खोला आँसुले भिजेको रुमाल
एकपटक
यो आँसुको रुमाल निचोरी हेर त
जीवन कसरी खस्दछ
तह
तह
तप्
तप्
मेरो आँसुको रुमालमा
किन खस्दैन चन्द्रमा ?

तानसेन- मेहलधारा टोल १/२८
हाल- काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *