उसले धेरै जनाको मुखबाट धेरै ठाउँमा र धेरैपटक सुनेको छ- मुलुकमा गणतन्त्र आयो, अब त सर्वसाधारण जनताको पनि पहुँच सिंहदरबारमा पुग्यो । अब भने नेपाली जनता साँच्चैका सार्वभौम भएका छन् ।

उसको मनमा उसले सुनेका ती कुराहरू एकाएक गुञ्जिए । उसले सोच्यो- हो त नि म पनि त नेपाली जनता । आज भने सिंहदरबार पसेर मज्जाले हेर्ने हो । रहर पुग्ने गरी ।

मनमा यस्तो कुरा सोच्दासोच्दै ऊ सिंहदरबारको पश्चिमतर्फ अविस्थत मूलगेटमा पुगिसकेको थियो । ऊ सरासर भित्र छिर्न खोज्यो तर मूलगेटमा पहरा दिएर बसेका राष्ट्रसेवकले उसलाई रोक्दै भने- ए दाइ ! कहाँ जान लाग्नु भा’को ? यहाँबाट मान्छे छिर्न मिल्दैन ।

उसलाई अचम्म लाग्यो- मान्छे छिर्न नमिल्ने भए केका निमित खोलिएको हो त यत्रो यामानको गेट हँ भाइ ?- उसले प्रश्न गर्‍यो ।

चुप लागेर उताबाट जानुस् न, मिल्दैन भनेपछि । पहरा गणले अलि रुखो स्वरमा जवाफ फर्काए ।

ठीक त्यसैबेला उसको अगाडिबाटै ३-४ वटा सरकारी गाडीहरू सरासर गेटबाट भित्र छिरे । उसले देख्यो- ती गाडीहरूभित्र पनि मान्छे नै सवार थिए । ऊ असमञ्जसमा पर्‍यो । मान्छे छिर्न नमिल्ने गेटबाट सरासर छिर्ने ती को थिए त ? उसले आफैँलाई प्रश्न गर्‍यो ।

उसले धेरैबेर निधार खुम्च्याएर सोच्यो र एउटा निष्कर्षमा पुग्यो । वास्तवमा अबचाहिँ हामी सर्वसाधारण नेपाली जनता पनि वास्तविक ‘मान्छे’ भएछौँ, मुलुकमा गणतन्त्र आएपछि । त्यसैले त मान्छे छिर्न पाइने गेटबाट छिर्न पाइएन नि ।

के सोचर हो कुन्नि, ऊ फिस्स हाँस्यो र अर्कोतिर मोडियो मान्छे हुनुको नियति बोकेर ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *