Skip to content

मुक्तक

आफन्तले छोडेपछि

आफन्तले छोडेपछि पिउन पर्दो रहेछ
नचाहँदा नचाहँदै जिउन पर्दो रहेछ
इच्छा छैन तर पनि उध्रिएको मुटुलाई
सियो धागो लिएर सिउन पर्दो रहेछ

तिम्रो याद

तिम्रो याद यो मनबाट, भागेन किन किन
तिर्खा पनि भोक पनि, जागेन किन किन
अनलाइन आउँछ्यौ भनेर, पर्खें राति अबेरसम्म
आइनौ तर निद्रा मलाई, लागेन किन किन

कहिले त रानी भन्यौ

कहिले त रानी भन्यौ, त्यही आँखाकी नानी भन्यौ
बिहे गरौँ भन्दाखेरी, म छु अँझै सानी भन्यौ
आगो दन्क्यो पिरतीमा, अतालिएको थिएँ म
निभाउन भन्दाखेरी, छैन कतै पानी भन्यौ

खन्दैमा भुईं जहाँ सुकै खानी भेटिन्न

खन्दैमा भुईं जहाँ सुकै खानी भेटिन्न
भोकले मर्दा मान्छे अन्न-दानी भेटिन्न,
घाम-पानी भोग्दै जीवन मरुभूमि पुग्दा
प्राण धान अँजुलीभर पानी भेटिन्न ।

हैरान भएँ

अँध्यारोमा भेटिएको याद आएर हैरान भएँ
यौवनको प्यास मेटिएको याद आएर हैरान भएँ
वस्त्र थिए तिम्रा मेरा छरिएका भुइँभरि
अङ्ग अङ्ग रेटिएको याद आएर हैरान भएँ

तिमी पूर्वको लाली किरण


1.तिमी पूर्वको लाली किरण, म पश्चिमको रातो घाम,
तिमी धनी बाउकी छोरी रे, म त गरिबीले जल्दो नाम
खै कसरी सम्भव होला र ? तिम्रो र मेरो मिलन अब ?
तिमी ई-मेल, जी-मेल, फेसबुक, ट्वीटर, म दूर कर्णालीको खाम

तीन मुक्तक (सहमति कहिले हुन्छ ?)

  • by


एउटा कुरा भन नेता सहमति कहिले हुन्छ
सहमतिको सुगाँ रटाई बिमति नै जहिले हुन्छ
किन जनता ढाँट्छौ भन चिप्ला कुरा गरी सधैँ
भन्छौ अरे छिमेकीले चाह्यो भने अहिले हुन्छ

तीज

  • by

रातो रङमा सजिएर घर- आँगनमा छाउँथ्यो तीज
अत्याचार मिल्काउन पीडा-गीत गाउँथ्यो तीज
संस्कारलाई गहनामा किन्दै महिनौं भोजमा डुल्ने
पुरुष नाच्ने जात्रा जस्तो हिजो कहाँ आउँथ्यो तीज ?

तीन मुक्तक

  • by


के गर्ने गरिबको चिसो चुह्लो बाल्नै पर्यो
बालबच्चाको मुखमा माड हाल्नै पर्यो
कस्ले सुन्छ र आवाज निमुखाको
केही नलागेपछि खाडीतिर पाइला चाल्नै पर्यो

तीन वर्ष पनि बिते

दिन, हप्ता, कयौं महिना बिते, तीन वर्ष पनि बिते
लेखिएन संविधानका धारा न त हारे न त जिते
गुरु नै गतिला नभएपछि चेला के गतिलो होला
दशक पनि यसरी बिताउन भावी पुस्ताले सिके

“दुइ मुक्तक”

(१)

मान्छे उही हो, यहाँ खाली बसाई फेरिन्छ,
अनुहार उही हो, यहाँ खाली हसाई फेरिन्छ,
कति बगोस् निर्दोस् गोर्खाको रगत ,
हतियार उही हो, यहाँ खाली कसाई फेरिन्छ !!

(२)

जसले बोल्छ बोल्नदेउ,
मन खोल्नेलाई खोल्नदेउ,
दुइ दिनको चोला जिन्दगी,
बाँच अनि बाँच्नदेउ !!

— समीर “गोर्खा” छेत्री —

तीन मुक्तक

कहिले रुन्छ कहिले हाँस्छ, कहिले गुन्गुनाउँछ मान्छे
सुख खोज्न कहिले यता, कहिले उता धाउँछ मान्छे ।
सुख सयल मोज भन्नु केवल मृगतृष्णा रे’छ,
मजा खोज्दा-खोज्दै एक दिन, मृत्युलाई पाउँछ मान्छे ।

दुई मुक्तक (रगत मेरो, बनायो)

चुँडाएर नसा सबै पोख्छु भन्छ रगत मेरो
देशलाई बग्दै लानी कोशी रोक्छु भन्छ रगत मेरो
खुम्च्याएर राष्ट मेरो धावा बोल्ने माथि
ज्यानको बाजी राखी अब ठोक्छु भन्छ रगत मेरो

गयौ तिमी टाढा

हाँस्दै हाँस्दै रुवाएर गयौ तिमी टाढा
सँग-सँगै भन्दा-भन्दै भयौ तिमी टाढा
इच्छा त थियो मसँग एक भएर बाच्ने
म छु आज तानसेनमा रह्यौ तिमी टाढा ।

दुई मुक्तक (यस्तो लाग्यो यो घामको राप)


यस्तो लाग्यो यो घामको राप तिमीसँग छ
मेरो हरेक प्रश्नको जवाफ तिमीसँग छ
हेर्छौ मात्र न त बोल्छौ, बोलाउँछौ मलाई
हे ! जून यही रुपको, रवाफ तिमीसँग छ