Skip to content

मुक्तक

बाहिर बर्षा बिजुली

बाहिर बर्षा, बिजुली असिनाको याद आउँछ
बिस्तारामा उनीसँग पसिनाको याद आउँछ
बर्षा ऋतु, गर्मी कोठा बेग्लै थियो मौसम
एक्लै हुँदा अर्ध-नग्न हसिनाको याद आउँछ

माया प्रेम यत्तिकैमा चुक्ला भन्ने डर

माया प्रेम यत्तिकैमा चुक्ला भन्ने डर
टिपे फूल ओइलिएर सुक्ला भन्ने डर
नटिपेरै दिर्घकालीन सुवास छर्ने चाह
राम्रो फूल देख्दा कोही टिप्ला भन्ने डर

अरुण पौडेल
गुन्जनगर-४, न्यु लाइन
चितवन ।

झुटो हुन्न काली

पिरतीमा जे बोले नि झुटो हुन्न काली
ठुलो ठुलो मौलाएको, बुटो हुन्न काली
विचार गर चोखो माया मनमा हुन्छ हेर,
घाँसको जस्तो बाँध्न मिल्ने मुठो हुन्न काली

दुई मुक्तक

मेरो मनको मझेरीमा तिमीलाई अब ठाम छैन,
मनैबाट निकाली दिएँ तिम्रो अब नाम छैन
आफ्नो सम्झी मुटु दिए, जलाई दियो पत्थर बनी,
तिमी जस्ती स्वार्थी, निर्दयी, मलाई अब काम छैन

देखेको थिएँ

घाइते व्यक्ति, एम्बुलेन्स र सडक देखेको थिएँ
जसको गल्ती उसकै तडक भडक देखेको थिएँ
निर्दोष त घाइते भयो बोल्नै सकेन
मर्छ कि त पल-पल उसलाई फरक देखेको थिएँ

समकालिक सालिक सहिदको

  • by

१. चोकबीच ठडिएको दस बोरा सिमेन्ट भा’ छ ऊ
एकबिहान जमजमाएको उद्घाटन सत्र भा’ छ ऊ
मञ्चमा छन् चम्किला केही थान होनहार अतिथिहरू
खुइलिएको टाउकोमा कपाल उमार्ने विज्ञापन भा’ छ ऊ ।

रहर

माया पाए उनकै हातले सिलाउने, थ्यो रहर
सँगै बसी उनीलाई पनि पिलाउने, थ्यो रहर
माया बीचमा अनावश्यक पलाएका झारहरू
दुबै मिली सँगसँगै जिलाउने, थ्यो रहर

तिमीलाई भुल्ने ओखती………..

तिमीलाई भुल्ने ओखती, पाए कति पिउँथेँ होला
तन यता मन उता, नभइकन जिउँथेँ होला
मनभित्र बसेकीलाई, निकालेर फाल्न मिले
चिर्थे मुटु फाल्थेँ उनलाई, २/४ टाँका सिउँथेँ होला

नेपाल बन्द हुन्छ भोलि

लोग्नेले स्वास्नी कुट्यो, नेपाल बन्द हुन्छ भोलि
पानी पिउँदा गिलास फुट्यो, नेपाल बन्द हुन्छ भोलि
पैसा देखाई हिँड्दै थियो, पल्लाघरे रामबहादुर
चोर आयो पैसा लुट्यो, नेपाल बन्द हुन्छ भोलि

मुक्तक

सपनीमा आउने गर्छु आँखाहरू लोलाउँदा
आफूलाई नै बिर्सिदिन्छु तिम्रो यादमा टोलाउँदा
भाग्यमानी ठान्छु आफूलाई साथ तिम्रो पाएँ भने
भुतुक्कै पो हुन्छु मनको दैलो खोली बोलाउँदा ।

जीवन चाहना

हाँसो खुसी बीचको भूमध्य रेखा होस् जीवन
डेबिट, क्रेडिट ठ्याक मिल्ने लेखा होस् जीवन
पाइलापिच्छे समस्यासँग लड्न सिकाएर
समस्यामा समाधानको टेका होस् जीवन

मनले चाहेमा प्रीत सधैं हुन्छ


मनले चाहेमा प्रीत सधैं हुन्छ
प्रेमीहरूको जीत सधैं हुन्छ
दुवैको चोखो माया भएपछि
प्रेमीहरूको जीत सधैं हुन्छ

कलाकारको सुन्दर कृति हौ अरे
प्रेमीहरूको सुन्दर प्रीति हौ अरे
तिमीभन्दा सुन्दर छैन केही भन्छन
परीको सुन्दर स्मृति हौ अरे

बाटो फेरिदियौ

थाहा नदिई सम्बन्धमा पाटो फेरिदियौ
मैले गल्ती के गरें र ? साटो फेरिदियौ
मेरै घरको बाटो हिंड्थ्यौ हाँसी हाँसी पहिला
किन आज-भोलि तिमी हिंड्ने बाटो फेरिदियौ