Skip to content

गीति कविता

खुल्ला किताब

मझेरी अनि नेटका भरी मेरा छन् विचार,
खुल्लम खुल्ला आँकेको मैले शिक्षाको प्रचार ।
निःशुल्क पढ्न सबैका लागि मेरा छन् किताब,
छैन नि कतै भलाइ गर्दा पाइने खिताब ।
तैपनि भीत्रै छुनाले गर्दा गरेको लेखनी,
पढ्नू न सबै उर्जाका लागि जसरी जेगरी ।।

RamPrasadGautam

आज जानलाई जिद्दी नगर

गोधूलि यो साँझलाई आज मेरो साथमा
वच्चा जस्तै तिमीलाई राख्ने चाह काखमा
फेरि कहिले भेटने हो छैन केही तिम्रो भर
आज जानलाई जिद्दी नगर ।

मलाई तिम्रो प्रतिक्षामा राधा वन्ने मन छैन
सधैं तडपिरहनेलाई प्रेम भन्न तयार छैन
सँगै हुँदा साथलाई साथ दिने कुरा गर
आज जानलाई जिद्दी नगर ।

ढुङ्गाे हाे कि मन तिम्राे

ढुङ्गो हो कि मन तिम्रो, बुझ्दैन भावना यो मनका
देखाऊँ कसरी भन माया सपना मेरा यी नयनका
ढुङ्गो हो कि मन तिम्रो….

म माग्ने छैन सुख नै सुख, दुखमै बाँचौंला
कति झर्लान पिएर आँशु एक छिन हाँसौंला
गोरेटोभरि काँडा नै काँडा मेरो यो जीवनका
छ बिन्ती मेरो बुझ न भावना प्रिय यो मेरो मनका
गोरेटोभरि काँडा नै काँडा ..

हजुर बिना प्राण छैन

हजुर बिना प्राण छैन, कसम हजुर
कसरी विश्वास दिलाऊँ, खसम हजुर

अरुकै बारीमा फुलेँ कि भमरासँगै झुलेँ कि
हजुरको मन दुःखाई पराईसँग भुलेँ कि
हजुर बिना चैन छैन, कसम हजुर
कसरी विश्वास दिलाऊँ, खसम हजुर

ParbatiRaut

भन्नलाई गाह्रो हुन्छ

भन्नलाई गाह्रो हुन्छ भावनाका कुरा
यिनै बन्छन् कलेजोलाई टुक्र्याउने छुरा

औशिको सूर्यलाई पनि चन्द्रमाले छेक्छ
बत्ती तलको अँध्यारोलाई कसले पो देख्छ

वैरीलाई भगाउनेछन्

अज्ञानको छ निद्रा निद्रा टुटाउने छन्
हाम्रा युवाहरूले देशै उठाउने छन् ।।

बाँझो भयो धरा यो आई यतै जुटेमा
हज्जार पाखुराले बाँझो फुटाउनेछन् ।।

बचौँ, बचौँ आफू

बचौँ, बचौँ आफू नि बचौँ कोरोनाबाट बचौँ
बचाऔँ अरुलाई नि कोरोनाबाट बचाऔँ

हात राम्ररी नधोए जानौँ कोरोना सर्छ है
राम्ररी पकाई खाए बुझौँ कोरोना मर्छ है

जसले तिमीसँग

जसले तिमीसँग अरुको कुरा काट्छ
उसले अरुसँग तिम्रो नि कुरा काट्छ

चिल्लो लगाउँदै मीठा मीठा कुरा गर्ने
कामले होइन, सधैँ गफैले पूरा गर्ने
जसले तिमीसँग अरुको नाक काट्छ
उसले अरुसँग तिम्रो नि नाक काट्छ

कोरोना छायो औँशी ल्यायो

कोरोना छायो औँशी ल्यायो पुर्ने कहिले छाउने हो
आयो शिशिर प्रकृतिमा वसन्त कहिले आउने हो

हाँस्ने चाह छ सबैको, रुने कसलाई मन छ र
मुटु नै मिची छातीमै थिची हाँस्नु पर्यो तर
कोरोना आयो आँसु ल्यायो हाँसो कहिले पाउने हो
आयो शिशिर प्रकृतिमा वसन्त कहिले आउने हो

एक चिम्टी दिन्नौँ कालापानीको

मेरो माटो एक चिम्टी दिन्न कालापानीको
लिपुलेक, लिम्पिया, सुस्ता नालापानीको ।

तिम्रो माटो एक चिम्टी लिन्नौँ स्वाभिमानी हौँ
दिन्नौँ एक चिम्टी हाम्रो सोच अभिमानी हौँ ।।

न खुलेका कथाहरू

न खुलेका कथाहरू तिमीलाई नै भन्न सक्छु
तिम्रै प्रेरणाले म धेरै बन्न सक्छु

मन कहिल्यै सङ्लेन
जति बहलाउन खोजे पनि,
रोऊ पनि कहिल्यै भएन
कहीं काडाले घोचे पनि
तर आज म तिम्रोसामु
दुखेको कुरा गर्न सक्छु,
तिम्रै प्रेरणाले म धेरै बन्न सक्छु

जल्दैछ आगो

जल्दैछ आगो शङ्काको त्यहीँ अल्झेँ सँगसँगै बल्दैछु
आफ्नो भन्नेले धोका दियो पीडामा आफै जल्दैछु ।

छातीभित्र मुटु कसैको मनमा लुक्न नसकिने रहेछ
झुठो बोल्छन् मान्छेहरू मनमै बस्ने कुरा कथा रहेछ,
मनमै कुरा लुकाउने भेटेपछि जीउँदै आज जल्दैछु
आफ्नो भन्नेले धोका दियो पीडामा आफै जल्दैछु ।

नूतन वर्षको प्रतीक्षामा

एउटै हाम्रो संसार जस्तो नापोको कागज,
वर्षीय पात्रो फाटियो हाम्रो समय घर्कियो ।
महिना पनि वर्षको जस्तो वितेको हा ! क्षण,
एघार पन्ना धुजाका धुजा मक्किई च्यातियो ।

बोकेको भारी बोझीलो ज्यादै कुप्रियो शरीर,
पात्रोमा हेर्दा पन्ना नि छैन मौलायो कोरोना ।
माछाको कीरा टल्केको हेर जाली छ बाह्रको,
आशाको नयाँ लिएर पन्ना बैशाख आउँला ।

कोरोना कहर

हे ! श्रेष्ठ जीव मानव तिमी चुक्यौ कि चुकिनौ
मृत्युको डङ्क बजेको हेर चाख्यौ कि चाखिनौ
तिम्रो त्यो दर्द कत्तिको हुन्छ मलाई थाहा छ
मेरो त्यो पीडा जत्ति नै भए तिमीले बुझिनौ

फुलले भन्थे नटिप अब मलाई दुख्दछ
बोटले पनि त्यसैनै भन्थे भोअब नकाट
देवको नाम लिएर तिमी आतङ्क फैलायौ
बलि र भोग भनेर तिमी सुगन्ध मनायौ

तिमीले साथ छोड्यौ भने

तिमीले साथ छोड्यौ भने यो जीवन अब साँच्दिन म
कोसिश गरी हेर प्रिय तिम्रो कसम बाँच्दिन म

हावामा उडाइदिन्छु देखेका ती सपनाहरू
धुकधुकीमा तिमीनै छौ त्यो मुटुलाई के गरुँ?
अरुसँग रमाएर यो जिन्दगीमा हाँस्दिन म
कोसिश गरी हेर प्रिय तिम्रो कसम बाँच्दिन म

परदेशीको दशैं

रोटे पिङ खेल्न नपाई अनि न टीका लगाई
यो दशैं पनि बित्ने भो यसै घरमा नआई

जमरासँगै आशीर्वाद दिने जननी कस्ती छन् ?
दाजुलाई सम्झी बहिनी पनि रोएकी जस्ती छन्
पियारी भोकै बसेकी होलिन् प्रसादी नखाई
यो दशैं पनि बित्ने भो यसै घरमा नआई

गरिबको दशैं

हाम्रो घरमा खुसीयाली छाए पनि हुन्थ्यो
नत्र भने जाबो दशैं नआए पनि हुन्थ्यो

ठूल्छोरालाई जाँगे छैन स्यान्छोरीलाई जामा
धोती फाट्यो किन्देऊ भन्छे छोर्छोरीकी आमा
आफूले नि सुर्बाल फेर्न पाए पनि हुन्थ्यो
नत्र भने जाबो दशैं नआए पनि हुन्थ्यो

मेरी आमाको सिउँलो पु्छिएको देखें

वैरीलाई पर परै छेक्ने कोही छैन
नेपालीको मनको बह देख्ने कोही छैन ।।

ठान्दा होलान् वैरीलाई भगाइन्छ यस्तो
सत्रहजार आफ्नै दाजु भाइ मारे जस्तो ।।

कलाकारको गाउँदा गाउँदै गलो बसेको छ
मित्रताको नाममा आज ब्वाँसो पसेको छ ।।

मित्र देख्नु पर्ने ठाउमा शत्रु लेख्न थालें
धरापमा मेरो देश मैले देख्न थालें ।।

देश थाम्ने युवा उतै ताबेदारी गर्छन्
ओखतीको थोपो बिनै आमाबाबु मर्छन् ।।

सपना पनि रगतले मुछिएको देखें
नेपालको सिउँदो मैले पुछिएको देखें ।।

लिपुनिर बाउको शिर तछारेको देखें
आमालाई माझ सडकमा पछारेको देखें ।।