गोधूलि यो साँझलाई आज मेरो साथमा
वच्चा जस्तै तिमीलाई राख्ने चाह काखमा
फेरि कहिले भेटने हो छैन केही तिम्रो भर
आज जानलाई जिद्दी नगर ।
मलाई तिम्रो प्रतिक्षामा राधा वन्ने मन छैन
सधैं तडपिरहनेलाई प्रेम भन्न तयार छैन
सँगै हुँदा साथलाई साथ दिने कुरा गर
आज जानलाई जिद्दी नगर ।
तिमीलाई पर्खदैमा पात्रो सबै कोरिसकेँ
प्रत्येक दिनमा चिन्हो लगाई नवुझिने वनाइसकेँ
घरका सबै मेरो चालले मानिसके अब हार
आज जानलाई जिद्धी नगर ।
मेरो चाह यत्तिमात्रै अब विछोड सह्य हुन्न
तिम्रो साथभन्दा अरु कुनै औषधीले छुन्न
यो विमारी तिम्रो साथले मात्र ठिक हुन्छ हेर
आज जानलाई जिद्धी नगर ।
मेरो रात कति बिते तिमीलाई सम्झदैमा
आँखा चिम्ली लगातार तिम्रो तस्विर हेर्दैमा
अब मेरो चाहना छ एउटै बनाउने घर
आज जानलाई जिद्दि नगर ।
सबैलाई बिहानी यो कति राम्रो लाग्छ हेर
मेरो लागि त्यै बिहानी आफैलाई काटने धार
भयो–भयो सुन्दिन म टाढा जाने बात नगर
आज जानलाई जिद्दि नगर ।
प्रभातले सोध्छ मलाई सपनीमा मिलन भो र ?
चन्द्रमाको त्यही प्रश्न दिनमा ऊ आको थ्यो र ?
आको थ्यो नि, भेट भयो भन्ने दिन आउदैन र
आज जानलाई जिद्दी नगर ।
रात हुन्छ आकाशमा तारा धेरै सँगैसँगै
एउटा लुक्छ वादलभित्र अर्को खोज्छ रमाई रमाई
मलाई पनि तिमीसँगै रमाउने मन छैन र ?
आज जानलाई जिद्दी नगर ।
न आज भो तिम्रो साथ न ग्यारेन्टी छ नै पछि
ज्यानै जान्छ जब तिम्रो जाने पाइला वढछ अघि
मेरो ज्यान वचाउनलाई तिमी आज रोकिन्नौ र ?
आज जानलाई जिद्धी नगर ।
त्यो भोलिको के भरोसा, किन भोलि भोलि भन्छौ
आजको यो भेटलाई किन लामो बनाउन्नौ
सधैं मैले मिलन पछि विछोडमै रुनू छ र
आज जानलाई जिद्दी नगर ।
विछोडमा भोलि मिलन हुन्छ भन्ने आश हुन्छ
मिलनमा भोलि हुने विछोडको त्रास हुन्छ
यो आश र त्रासलाई भगाउँदा हुदैन र
आज जानलाई जिद्दी नगर ।
– रामप्रसाद गौतम
मेचीनगर–६ झापा
हाल : राजविराज–७ सप्तरी
योग्यता : बि.एल., एम.ए., बि.एड.
मोबाइल नम्बर :–९८४२८३३३१४, ९८०४७११०३३
पिताको नाम :– विष्णुप्रसाद गौतम
माताको नाम :– स्व. विष्णुमाया गौतम
पेशा :– कानून व्यवसायी विगत १९ वर्षदेखि