कविशिरोमणि लेखनाथ पौड्याल
१. जन्म, शिक्षा र कवित्वको प्रारम्भ
नेपाल अधिराज्यको गण्डकी अञ्चलअर्न्तर्गत कास्की जिल्लामा अर्घौँ अर्चलेमा संवत् १९४१ मा कविशिरोमणिको जन्म भएको थियो । पिता पं. दुर्गादत्त र माता वसुन्धरादेवीबाट जन्मेका लेखनाथ पौड्याल नामअनुसार काम पनि गरेर नेपालीसाहित्यका लेखनाथ नै बने । वंश, परम्परा, प्रकृति र समसामयिक स्थितिबाट नेपालीकविताको सिर्जनप्रति उनी प्रेरित भएका थिए । उनले शुरूमा गङ्गागणेशस्तोत्र, अमरकोश, सप्तशती (चण्डी) आदि पढेर आफ्नो अध्ययनको शुरुआत गरेका थिए । साथै काका पर्ने पितृप्रसादका हप्काइबाट उनी इखिएका पनि थिए । त्यसै वेलादेखि उनले कवितालेखनप्रति उन्मुख बन्ने अस्पष्ट सङ्कल्प गरेका थिए ।
