Skip to content

विज्ञान साहित्य र रुढ बोक्ने नेपाली समालोचक

  • by

पहिले शास्त्रीय समालोचकहरुको बारेमा केही भनूँ उनीहरु त्यस्ता सूत्रहरुको बलमा आफ्नो वर्चश्व कायम राख्न चाहन्छन् जो आजको स्थितिमा वेकामे र मृत छन् । विज्ञानको उदय नै नभएको विज्ञान के भौतिकता नै आध्यात्मिकताको उरालमुनी दविएर रहेको स्थितिको उत्पादित र कैयूँ त हज्जारौँ वर्ष पुराना जीर्ण सूत्रहरुले उनीहरु हाम्रा आजको स्थितिसम्मत विज्ञान साहित्यहरुको मूल्यांकन गर्न खोज्दछन् । परिणाम के होला ? बाबु बाजेको पालाको मानापाथीले आज आविस्कृत अणुपरमाणुको नपना कसरी हुन्छ परिणामतः त्यो हज्जारौँ वर्ष पुरानो कसीहरुबाट ती नापिन्नन् । तिनमा भएका सूत्रहरुले कामै गर्दैनन् अनि या त उनीहरुका सामू पस्किएका विज्ञान साहित्यलाई पाख नपुगेको सृजना मानेर उपेक्षा गरेको नाटक रच्नु पर्यो वा होइन भने हात उठाएर भाग्नै पर्यो । शीष्ट भाषामा यसलाई सुनियोजित उपेक्षा हो कि भन्ने आशंका गर्न सकिन्छ तर शीष्टाचारको हिसावमा नभन्नॆ र सोझो हिसावमा भन्ने हो यो उनीहरुको सुनियोजित भगौडेपन हो । अझ निर्लज्ज भगौडेपन भने हुन्छ ।

मलाई लागेसम्म विज्ञान साहित्यको लागि हामीसँग पाठकको कमी छैन । नयाँ पुस्ता यसको फ्याननै भएको पाएको छु । हामीमा कमी भनेको यस क्षेत्रमा समालोचकहरुकै हो । हामीसँग समालोचकहरु बढीमा शास्त्रीय मान्यताका वाहकहरु छन् । विशेष परम्परागत हज्जारौँ वर्ष संस्कृत साहित्य र तीनका सूत्रहरु पढेर बनेका समालोचकहरु यसमा हावी छन् । परम्परागत पश्चिमे साहित्य पढ्नेहरु पनि छन् तर उनीहरुको वर्चश्व अलि कमै छ । पुराना बनिबनाउ शास्त्रीय सूत्रहरुका रुढ बोकेर आडम्बरपूर्ण ढंगमा प्रस्तुत हुने यस्ता शास्त्रीय समालोचकहरु आफ्ना ढीँड सूत्रहरुको कसीमा नयाँ पुराना कुनैपनि साहित्यहरुलाई बुझेर होस् वा नबुझेर परख गरेका नक्कल गरिरहेका छन् र नेपाली साहित्यका न्यायाधिश बनी बसेका छन् । विडम्वना त यो छ कि धेरैजसो यस्ताखाले समालोचकहरु स्कूल वा विश्वविद्यालयका पेशेवर अध्यापक वा प्राध्यापकहरु रहेका छन् र ती संस्थाहरु मार्फत उनीहरुले आफ्नै प्रतिलिपिको उत्पादन गरिरहेका छन् । वस्तुतः समालोचकहरु उत्पादन गर्ने मूल उद्योग नै रुढीग्रस्त छ । त्यसैले यसको उत्पादनबाट धेरै आशा राख्न सकिँदैन । पख्नुहोस्, मैले रुढीवादी समालोचकहरुको संख्याको कुरा गरेको होईन । त्यो रुढ सत्तामा रहेको चिन्ता पोख्दै छु म । व्यक्ति स्वयं निरिह छ । सवै सोचेजस्ता विद्रोही वा क्रान्तिकारी हुन सक्दैनन् । हाम्रो जस्तो पछिपरेको समाजमा धेरैजसो व्यक्ति विवशताको शिकार हुन्छन् । व्यक्ति प्रगतिशील हुँदाहदै पनि उसले नचाहँदा नचाहँदै पनि वेतनको लागि सत्तासीन रुढप्रति आफूलाई समर्पित गर्न उ विवश छ । अर्थात रुढीहरुलाई जित्ने वा त्यसको विरुद्ध उठेर समालोचना गर्ने विद्रोही तथा प्रगतिशील समालोचकहरु यहाँ नभएका होइनन् तर उनीहरुका विद्रोह तथा प्रगतिशीलता घरमा पुर्याउनुपर्ने चामलमा गएर हावा खाइरहेको छ । तथापी आफ्नो स्वतन्त्रता पनि केही हो, चामलै सवै कुरा होइन भन्ने स्वाभिमानी समालोचकहरु यहाँ छैनन् भन्ने मेरो भनाइ होइन । छन् नगन्य मात्रामा भएपनि छन् । त्यस्ता समालोचकहरु स्वयम शास्त्रीय सूत्रहरु कै चीरफार गर्दै मैदानमा उत्रिएका छन् । शास्त्रीय सूत्रहरुका सकारात्मक पक्षहरुलाई आफ्ना आधारशीलामा व्यवस्थित गर्दै ती होनहार समालोचकहरु आधुनिक वा पुरातन सबैखाले विषयहरुप्रति उदार र खुलस्त छन् । यस्ता समालोचकहरुमा विज्ञान सहित्यप्रति नकारात्मक भाव छैन र छैन शास्त्रीय ढर्रा र नखरा । सबै आफूले जानेका छौँ र आफूले जानैकै मात्र सत्य हुन् वा उनका शास्त्रले नओथारेका कुनैपनि पक्ष सत्य होइनन् वा हुनै सक्दैनन् भन्ने मान्यता पनि उनीहरु राख्दैनन् । उनीहरु हाफूलाई वाकिंग इन्साइक्लोपेडिया वा आदर्शका श्रोत भनेर ढोँग रच्दैनन् । आफुले नजानेको क्षेत्रमा इमानसाथ आफ्नो अनभिज्ञता प्रकट गर्ने महानता राख्छन् । अनभिज्ञता प्रकट गर्न लगाउँदैनन् र यसलाई लज्जाको विषय मान्दैनन् । तथापि जनसंख्या नै कम रहेको हुँदा उनीहरुको योगदान नगन्य छ । तथ्य यो पनि छ उनीहरु स्वयं नै शास्त्रीय मारबाट पीडित छन् । उनीहरुको विद्रोहले सत्तालाई प्रभावित पार्न सकिरहेका छैन । मान्नु पर्ने वास्तविकता यो पनि छ प्रगतिशील प्रतिपक्षिस्वर नै उनीहरुको अभीष्ट रहेको हुँदा स्वभावतः जनताबीच उनीहरुको बजार गरम छ । शीर उनीहरुकै ठाडा छन् । विज्ञान सहित्यलाई बुझ्ने आधारभूत ज्ञान नरहेको कारणले उनीहरु यसतर्फ नआएका हुन् । कुनै उपेक्षा गर्ने नियत वा लज्जाले होइन ।

यीनै बजार पक्रने समालोचकहरुबीच त्यही हाराहारीमा अर्काखाले समालोचकहरु पनि छन् जो शास्त्रीय साहित्य नपढिकनै नेपाली साहित्याकाशमा चम्किएका छन् । शीर ठाडा पारेका छन् । पुराना शास्त्रीय रुढहरुबाट अलग स्वरुची र स्वअध्ययनबाट साहित्य क्षेत्रमा आएका उनीहरु धेरै मानेमा माथि भनिएसरह नै प्रगतिशील छन् र छन् खुल्ला इमान्दार पूर्वाग्रहहीन । म विश्वस्त छु बजार यीनैको हो ।

कसैले विज्ञान साहित्य पढ्दैनन् कि भन्ने प्रश्नमा पनि मेरो सुझ छ समालोचक भइखाने नै हो भने उनहरुले ती पढ्नै पर्छ र लुकेरै भए पनि पढिरहेका हुन्छन् । विज्ञान साहित्य भन्नुस् वा आजको यथार्थवादी साहित्य भन्नुस् यो विज्ञान र प्रविधिले डंका पिटेको युगमा- यो युगको भेलमा उनीहरु बग्न वाध्य छन् । त्यसैले विज्ञान साहित्यलाई बुझेपनि वा नबुझेपनि पाएसम्म पढ्छन् नै रुची नभएपनि पढ्छन् । त्यही विज्ञानको छहारी मुनि बाँच्न विवश मात्र होइन अभ्यस्त भइसकेका उनीहरु परम्परागत सोच हुँदाहुँदै पनि टेलिफोन, टिभि, कम्प्युटर, गतिवान बाहनका दास भइसकेका उनीहरु आफ्ना मूलप्रवृत्तिकै कारण यस्ता विज्ञान साहित्यमा आँखा लाउँछन् नै । आफै त्यस प्रवाहमा छैनन् र पनि प्रवाहमा कति पछाडि परियो या आफ्नो स्थिति कहाँ छ भनेर जान्न पनि पढ्छन् । भेलको शिकार भएको व्यक्तिले भेललाई नचाहँदा नचाहँदै पनि गहिराइ वा गति नापि नै रहेको हुन्छ । जीवन संघर्षको लागि ती पढ्न उनीहरुलाई एककिसिमको वाध्यता नै छ ।

यहाँ म ती साथीहरुको लागि अपमानजनक शव्दहरु पर्गेल्दै छुइनँ । त्यस्तो लाग्छ भने पनि म माफि चाहन्छु र मेरो उद्देश्य त्यो होइन । वस्तुगत स्थितिको वर्णन गर्दै एउटा स्वाभाविक नियमको वखान गर्दै छु ।

यही स्वभाविक नियमको कुरा गर्दै छु म । पूर्वतिर रातो आभा छरिइसकेको छ । रुढीवादी समालोचकहरुको अन्ध पक्ष अवकाश हुने अवस्थामा छन् । सत्तामा उनीहरु अन्तिम घडी गनिरहेका छन् । सत्ता सुखमा रहँदारहँदै पनि वास्तविक संक्रमणको विडम्वनामा आफूलाई हेल्न विवश छन् । भेलमा उनीहरु बगिरहेछन् । भेलसित भिड्न सक्दैनन् उनीहरु भेलकै प्रवाहमा बग्न उनीहरुलाई सजिलो छ । उनीहरु मर्ने नै हो बाचुन्जेलसम्मको लागि उनीहरुको जीवन मोह हो । घुटुघुटु पानी निल्दैपनि उनीहरु अन्तिम लडाई लडिरहेछन् जीर्ण सूत्रहरुको बखान गर्दै…॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *