१. जन्म, शिक्षा र कवित्वको प्रारम्भ
नेपाल अधिराज्यको गण्डकी अञ्चलअर्न्तर्गत कास्की जिल्लामा अर्घौँ अर्चलेमा संवत् १९४१ मा कविशिरोमणिको जन्म भएको थियो । पिता पं. दुर्गादत्त र माता वसुन्धरादेवीबाट जन्मेका लेखनाथ पौड्याल नामअनुसार काम पनि गरेर नेपालीसाहित्यका लेखनाथ नै बने । वंश, परम्परा, प्रकृति र समसामयिक स्थितिबाट नेपालीकविताको सिर्जनप्रति उनी प्रेरित भएका थिए । उनले शुरूमा गङ्गागणेशस्तोत्र, अमरकोश, सप्तशती (चण्डी) आदि पढेर आफ्नो अध्ययनको शुरुआत गरेका थिए । साथै काका पर्ने पितृप्रसादका हप्काइबाट उनी इखिएका पनि थिए । त्यसै वेलादेखि उनले कवितालेखनप्रति उन्मुख बन्ने अस्पष्ट सङ्कल्प गरेका थिए ।

लेखनाथ पौड्याल १५ वर्षो उमेरमा काठमाडौं तीनधारा संस्कृत पाकशालामा आई भर्ना भए । त्यहाँ बसी उनी संस्कृत पढ्न थाले । लेखनाथले पाकशालामा रहँदा नै संस्कृत र नेपालीमा कविता लेख्न शुरू गरेका थिए । संवत् १९५९ सम्म काठमाडौंमा रहे र उनले त्यसैसाल संस्कृतमध्यमा जाँच दिए । त्यसपछि उनले बनारस गएर जाँच दिए । साहित्य र व्याकरणको राम्रो अध्ययन उनमा थियो तापनि न्यायमुक्तावलीको दर्शनपत्रको राम्रो अध्ययन हुन नपाउँदा सो परीक्षामा उनले सफलता पाउन सकेनन् । यत्तिकैमा उनको विद्यार्थी जीवन टुङ्गिए तापनि उनको निजी अध्ययन र लेखन दिनप्रतिदिन बढ्दै गयो । फलतः संस्कृत र नेपाली दुवै भाषामा उनले कविता लेख्तै गए । बनारसबाट निस्कने सूक्तिसुधा र कविताकल्पद्रुममा उनका संस्कृत र नेपालीका कविता छापिएका छन् । कविताकल्पद्रुममा लेखनाथ पौड्यालका दुई कविता श्रृङ्गारपच्चीसी र मानसाकषिर्णी पाइन्छन् ।

व्यवहारको चाप र सृजनासचेतताभित्र रुमलि“दै लेखनाथ पौड्याल आफ्ना पितामह राधाकृष्णको मदेस (वीरपुर छप्की)मा जीवनवृत्तिको खोजीमा पुगेका थिए । त्यस ठाउँमा उनी केही वर्षबसेका थिए । उनी त्यही“बाट कविता लेखी बनारस पठाउँथे र ती कविता सुन्दरीमा छापिन्थे । लेखनाथको काव्यप्रतिभा देखेर राममणि आ.दी. प्रभावित भए र उनको वषार्षाविचार माधवीमा छपाए । राममणि आ.दी.को हलन्तबहिष्कार अभियानलाई लेखनाथ पौड्यालले पनि र्समर्थन गरेका थिए । त्यसैले लेखनाथ र राममणिबीच पत्रमित्रता बढयो । त्यहाँ (छप्कीमा) लेखनाथ टिक्न सकेनन् र घुम्दै आसामतिर पुगेर काठमाडौं फर्के । त्यसवेला राममणि आ.दी. काठमाडौं आइपुगेर दरबार पसिसकेका थिए । केही समय काम र माम नपाउनाले लेखनाथ पौड्याल रन्थनिए तापनि उनी सदाशिव दीक्षतिकहाँ पुगे । त्यहाँ उनैमार्फत सम्पर्क भई उनी ट्युसन गर्दै भीमशमशेरका नातिहरूलाई पनि पढाउन लागे।

२. व्यक्तित्व
नेपालीभाषा र साहित्यको उत्थानको लागि संलग्न राममणिलाई लेखनाथले एकातिरबाट मद्दत गरेका थिए भने अर्कातिर आफ्नो गरीबीमा केही न केही आर्थिक सहयोग पनि लेखनाथले पाएकै थिए । त्यतिखेरसम्म लेखनाथ पौड्यालको पढाउने काम जारी नै थियो । उनी कविता, काव्य र नाटक यथासमय लेख्तै गए । लेखनाथको कवित्वबारे आशुकवि शम्भुप्रसाद ढुङ्गेलले आलोचना छपाएर प्रशंसा पनि गरे । शम्भुप्रसादको कलम जसरी चल्थ्यो, त्यसरी लेखनाथको चल्दैनथ्यो । त्यसैले आशुकविले लेखनाथको कमजोरीलाई औँल्याएको पनि देखिन्छ । शम्भुप्रसाद शहरिया र लेखनाथ गाउँले हुँदा पारस्परिक छेडछाडका कविता पनि भेट्टिन्छन् । भीमशमशेरको शासनकालमा लेखनाथले हजुरिया बन्ने अवसर पाए पनि जुद्धशमशेरको उदयसाथै दरबारको सर्म्पर्क घट्तै गएको देखिन्छ । लेखनाथको दृष्टिमा भने शारदाको उदयपछि लेखनाथको कवित्व अझ परिष्कृत र चमकदार बन्दै गएको पाइन्छ ।

२००७ सालतिर चारतारे बिल्ला लगाएर होस् वा जुगप्रभाती गाएर होस् पहिलेपहिले राणा शासकहरूको यथासमय गरेको स्तुतिको लेखनाथ पौड्यालले प्रायश्चित्त गर्दै गए । यस वेलासम्म लेखनाथको कविव्यक्तित्वले भास्वर रूप लिइसकेको थियो । प्रजातन्त्रको आगमनपछि २००८ साल असार २९ गते राष्ट्रपिता श्री ५ त्रिभुवनको शुभ जन्मोत्सवका दिन मौसूफबाट तक्मा, भत्ता र दर्जावितरणअर्न्तर्गत लेखनाथ पौड्याललाई मासिक दुई सय रुपियाँ सहित कविशिरोमणि उपाधि प्रदान गरिएको थियो ।
कविशिरोमणिको पदवी पाएपछि लेखनाथ पौड्याल मौलिक रचनातिर झन् उन्मुख बने । सभा, सम्मेलन, गोष्ठीहरूमा उनी प्रमुख अतिथि बन्न थाले र उनको प्रतिष्ठा नेपाली जनजीवनमा अझ व्यापक र विस्तृत हुँदै गयो । २०१० सालमा उनको तरुण तपसी (नव्य काव्य) प्रकाशित भएपछि उनको प्रतिभा र शिल्प, कवित्व र चिन्तनशीलताको जताततै प्रशंसा हुन थाल्यो । फलस्वरूप २०११ साल पौष शुक्ल एकादशी (लेखनाथकै जन्मदिन)मा काठमाडौंमा साहित्यकार र उच्च व्यक्तिहरूद्वारा उनको रथयात्रा गरिएको थियो । त्यसैवेला उनको अभिनन्दन पनि गरियो । साथै उनलाई रु. पाँच हजारको थैलीभेट पनि त्यसै समारोहमा चढाइयो । त्यसवेला यो रकम पनि सानो मानिँदैनथ्यो । अभिनन्दनग्रन्थ तयार गर्ने पनि निधो भयो । जीवित कविको यो सम्मान अद्वितीय थियो र नेपालीहरूको लागि पहिलो प्रसङ्ग पनि थियो । उनकै जीवनकालमा अर्थात् २०१९ सालमा लेखनाथ पौड्यालको नामचित्राङ्कित पन्ध्रपैसे हुलाकटिकट प्रकाशित भयो । यसरी एकातिर लेखनाथ पौड्यालको प्रशंसा र सम्मान बढ्दै गयो भने उनका सिर्जनामा पनि त्यतिकै परिष्कार आउँदै गयो । २०१४ सालमा उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य पनि बने । स्वदेशमै प्राणत्याग गर्ने इच्छाअनुरूप उनी नारायणी अञ्चलको देवघाटमा संवत् २०२२ सालमा विलीन भए । उनको निधनमा नेपाल अधिराज्यभर शोक मनाइयो । २०२६ सालमा उनको योगदानलाई हृदयङ्गम गरी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले सम्मानस्वरूप मरणोपरान्त भए पनि उनलाई त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गर्‍यो । भानु पत्रिकाले लेखनाथ विशेषाङ्क निकालेर सम्मान दर्शायो । त्यसपछि क्रमशः नेपालीसाहित्यकारहरू उनको जयगान मनाउँदै जान थाले । उनको नाउँमा पुरस्कार स्थापित भए, संस्था खोलिए, सालिक बने ।

३. कृतित्व
लेखनाथ पौड्याल कविता, काव्य र नाटकका क्षेत्रमा केन्द्रित छन् । उनका फुटकर रचना प्रशस्तै भए पनि पुस्तकाकारमा प्रकाशित कृतिहरू यसप्रकार छन् :
१ ऋतुविचार (काव्य) १९७३ विकसितरूप १९९१
२. बुद्धिविनोद(काव्य) १९७३ सप्तप्रश्नात्मक (प्रथमविनोद) १९९४
३. भृतहरिनिर्वेद (नाटक) १९७४विकसित रूप २०२०
४. सत्यकलिसंवाद (काव्य) १९७६
५. गीताञ्जलि (स्तुतिकाव्य) १९८६
६. पञ्चतन्त्र (अनुवाद) २००४
७. लालित्य (कवितासङ्ग्रह) २०१०, दोस्रो भाग २०१५
८. त्याग र उदयको सन्देश (स्तुतिकाव्य) २००२
९. सत्यस्मृति (काव्य) २००९
१०. मेरो राम (काव्य) २०११
११. तरुण तपसी (नव्य काव्य) २०१०
१२.गौरीगौरव (नाटक) मञ्चन २००९ मा तर अप्रकाशित
१३.अभिज्ञानशाकुन्तल (अनुवाद) २०१५
१४.गङ्गागौरी (महाकाव्यांश)
१५.गीतासार (श्रीमद्भगवद्गीताको भावसार)
उपर्युक्त कृतिहरूका अतिरिक्त थुप्रै फुटकर कविताहरू र भूतनाथ (काव्य), भवितव्य, राधाकृष्णकेलि (हिन्दीनाटक) दिगम्बरविवाह, पार्वतीपरिणय (नाटक) पनि लेखनाथ पौड्यालका उल्लेखनीय कृति हुन् । लेखनाथ पौड्यालका कृतिहरूको सूची हेर्दा गुणात्मक मूल्य महत्त्वपूर्ण मानिन्छ ।

४. कृतिगत मूल्य (प्रमुख कृतिहरूको आधारमा)
४.१. ऋतुविचार
यो काव्य शुरूमा १९७३ मा र विकसित रूप लिएर १९९१ मा प्रकाशित भएको हो । संस्कृतमा कालिदासको ऋतुसंहार पढेर लेखनाथ पौड्याल प्रेरित भएको अनुभव यस कृतिले देखाउ“छ । यस पुस्तकमा छ ऋतुको अत्यन्त प्रभावकारी रूपले वर्णन गरिएको छ । अनुष्टुप् छन्दमा अनेक समसामयिक उपमा, उत्प्रेक्षा, यमक र अनुप्रास अलङ्कार सजाउँदै रचिएको यो काव्य प्रकृतिबाटै निस्केको हो कि भन्ने भान पर्छ । उदाहरणका रूपमा दुई पङ्क्ति उद्धृत गरेर काव्यको रसास्वादन गर्नु मनासिब हुनेछ –
बाँध बाँधिदिँदा सोझै बह्यो पानी कुलाभरी
चित्त रोकी सुषुम्णामा लगेको प्राण झैँ गरी ।
(वर्षाविचार-२७)

४.२ बुद्धिविनोद
बुद्धितत्त्व लेखनाथ पौड्यालका कवितामा पाइने महत्त्वपूर्ण पक्ष हो । ‘संसार के हो ? ठूलो र सानो कसरी हुन्छ ? आत्मा कसरी जन्मन्छ ? संसारको रचना कसले गर्यो ? मर्ने जन्मने प्रक्रिया के हो ?’ आदि प्रश्नमा गहिरिएर पौड्याल बुद्धिविनोदको माध्यमबाट प्रश्न गर्छन् । उनका केही श्लोक नमूनाका रूपमा उद्धृत गर्न सकिन्छ :
असत्य संसार असत्य देह हो
असत्यको भोग असत्य नै भयो
म सत्य आत्मा फिर जन्मने किन
तँलाई मालुम् छ कि यो कुरा मन ।
(श्लोक- २३)
एक बुद्धिविनोदको रचनाले मात्र लेखनाथ पौड्याललाई सन्तुष्टि मिलेन । जीवनसम्बन्धी रहस्यलाई लिएर उनले सात प्रश्न स्थापित गरे । ती सात प्रश्नहरू राख्तै सात बुद्धिविनोद लेख्ने उनले अठोट गरेर ‘कहाँ थियो वास ?’ भन्ने प्रश्नलाई लिएर उनले बुद्धिविनोदको प्रथम विनोद १९९४ तयार पारे जो प्रकाशित पनि छ । तर अरु विनोद देखिएका छैनन् । यो बुद्धिविनोद निकै खारिएको छ र बुद्धि र मनबीचको द्वन्द्व यहाँ प्रस्तुत छ । मन तृष्णामा लुटपुटिन्छ र बाहिरी जगत्सँग सम्बद्ध रहन्छ, बुद्धि विवेकमा रमाउँछ र आध्यात्मिक चिन्तन गर्दै आत्मातर्फ उन्मुख हुन्छ । बुद्धि र मनको द्वन्द्व देखाउनु नै यस सप्तप्रश्नात्मक बुद्धिविनोदको सार प्रतीत हुन्छ । लेखनाथीय चिन्तन, सीप र भावजगत्सँग परिचित हुन एक श्लोक हेरौँ-
न साँध सीमा न त वारपार छ
गम्भीरताको न कुनै किनार छ
मडारिएको समतुल्य भैकन
तँलाई मालुम् छ कि यो कुरा मन ।
(श्लोक- ७०)

४.३ तरुण तपसी
कविशिरोमणि लेखनाथ पौड्यालको अत्यन्त खारिएको माझिएका मूर्धन्य कृतिका रूपमा तरुण तपसीको नाम लिइन्छ । यस काव्यको प्रकाशनसमय २०१० हो । तरुण तपसीका लेखकका अतिरिक्त यस काव्यभित्र दुई पात्र छन्, ती हुन् कवि र तरुण तपसी । कान्ताविरही र तपस्यातिर उन्मुख कवि अनि तरुभित्र अन्तर्निहित तपसीकै माध्यमबाट प्रस्तुत काव्यको रचना भएको छ । उल्लिखित कवि भौँतारिँदै कुनै तरुतल(र्स्वर्गद्वारी)मा पुग्छन् र तरङ्गिँदै रात परेपछि पनि त्यो रात त्यहीँ बिताउने विचार गर्छन् । त्यही एक रातको कथा तरुणतपसीभित्र छ । कवि सुध्याउने गर्छन् र तपसी आत्मकथा सुनाउँदै जान्छन् । आखिर तरुण तपसीको आत्मकथा सुनेर कविको विरहवेदना शान्त भई उनलाई तपस्याबोध राम्ररी हुन्छ र काव्य टुङ्गिन्छ । शिखरिणी छन्दमा रचित यो काव्य अत्यन्त रोचक र पदलालित्य एवं भावचयनका दृष्टिले पनि यसरी मनोहारी छ :
म खाऊँ मै लाऊँ सुख शयल वा मोज म गरू
म बाँचूँ मै नाचूँ अरु सब मरुन् दुर्बलहरु
भनी दाह्रा धस्ने अबुझ शठ देखी छक परी
चिता खित्का छाडी अभयसित हाँस्यो मरिमरी ।

लेखनाथ पौड्यालरचित तरुण तपसीका सबै श्लोक उद्धृत गरे पनि उत्तिकै रोचक र स्वाभाविक देखिनेछन् । कविशिरोमणिको खारिएको कलम र विचारको उपलब्धिका रूपमा यो काव्य रहेको छ । यस काव्यभित्र पाइने खासखास विषयका रूपमा साङ्ख्य, योग र वेदान्तदर्शनको राम्रो प्रभाव र वेद, उपनिषद्, पुराण र गीतामा पाइने आदर्श यस काव्यमा पनि प्रतिबिम्बित छ । पूर्वीय दर्शनका आधारमा कविको महत्त्वपूर्ण चिन्तन पनि सगबगाएको छ। ईश्वर, मान्छे, सृष्टि, स्वर्ग, नरक, मुक्ति र सांसारिक यात्रा देखाइनाले यस कृतिमा कविको राम्रो आध्यात्मिक विश्लेषण छ भने सामाजिक विश्लेषणको पनि कमी छैन । मानववादी भावना, पूँजीवादी अर्थतन्त्रको आलोचना, धर्म र विज्ञानको आलोचना, मान्छेप्रति व्यङ्ग्य, प्रेम र गान्धीवादको केही प्रभाव जस्ता प्रसङ्ग यथास्थान देखिनाले यसमा सामाजिकतासँग कवि राम्ररी परिचित छन् । यस काव्यमा कविको वैचारिक पक्ष पनि प्रकृति, अन्तस्करण, परमात्मा जस्ता विषयमा सलबलाएको पाइनाले प्रस्तुत काव्यलाई आफ्नै पनले नेपालीसाहित्यको पृष्ठभूमिमा विशिष्ट उपलब्धिका रूपमा लिन सकिन्छ ।

४.४ अन्य कविता र काव्य
लेखनाथ पौड्यालका फुटकर कवितामध्ये केही लालित्य भाग १ र २ मा सङ्कलित छन् । यी कवितामा पनि आध्यात्मिक प्रेम र चिन्तन राम्ररी प्रकटित छ, पदलालित्य, भाव र कलाको राम्रो संयोजन छ भने यसभित्र आधुनिकता र विज्ञानको आलोचना पनि छ । परम्पराका आडमा हुर्केका कविका नसानसामा पूर्वीय दर्शन र परम्परा घुसेकाले कवितामा पनि सोही भाव प्रकट हुनु स्वाभाविक छ ।
कविका अरु काव्यकृतिहरूमा सत्यकलिसंवाद १९७६, गीताञ्जलि १९८६, त्याग र उदयको सन्देश २००२, सत्यस्मृति २००८, मेरो राम २०११ र गङ्गागौरी (महाकाव्यांश) प्रमुख छन् ।
सत्यकलिसंवाद- यो काव्य वसन्ततिलका छन्दमा लेखिएको छ । यसमा कविले सत्य र कलिको संवाद गराई हिन्दु समाजको महापतनको काव्यात्मक वर्णनगरेका छन् । प्राचीन हिन्दु परम्पराको प्रतिनिधित्व सत्यले गरेको छ भने कलियुग अर्थात् हिन्दु समाजमा मुस्लिम दबदबाले गर्दा हिन्दु आदर्श समाप्त भएको र पछि अङ्ग्रेजको प्रवेशबाट वैज्ञानिक साधन र शिक्षाको प्रचार भए पनि सत्ययुगीन आदर्श पाउन कठिन भएको कुराको उल्लेख गर्दै सत्ययुग रहन लायक ठाउँ नेपाल मात्र भएको भनेर चन्द्रशमशेरको स्तुति पनि यस काव्यको अन्तमा गरिएको छ । सत्यकलिसंवादमा डरलाग्दा (राणाविरोधी) कुरा छन् भनेर चन्द्रशमशेरकहाँ उजूर पर्दा मगाइएछ र के हुने हो भनी डराएका लेखनाथले अन्तमा चन्द्रशमशेरको उल्लेख प्रशंसापूर्वक गरेको भन्ने सुनिन्छ । माधवीको अङ्क ६-८ मा वर्षविचार छापिएको छ । उनको र्सवप्रथम प्रमुख कृति यही मानिन्छ, यद्यपि पछि आएर सबै ऋतुबारे उनले लेखे । यसैताका बुद्धिविनोद र सत्यकलिसंवाद पनि नेपालीवाङ्मयमा चम्किला कृतिका रूपमा जन्मे ।
संवत् १९७० मा श्री ५ पृथ्वीवीरविक्रम शाहको निधनमा रचिएको शोकप्रवाह काव्य पहिलो शोककाव्य र लेखनाथको पहिलो खण्डकाव्य पनि बनेको देखिन्छ । यस काव्यबारे डा. वासुदेव त्रिपाठीको भनाइ छ- “आत्म अनुभूतिको रङ्गमा जब जगतै रङ्गिन्छ, त्यतिखेर उच्चतम कविता प्रादुर्भूत हुन्छ भने ‘शोकप्रवाह’ खण्डकाव्यमा पनि हृदयतलको स्पर्शमा कविको जगत् आर्द्र बनेको छ” (लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन, पृ. ४८) । शोकप्रवाहदेखि गीताञ्जलि १९८६ सम्म पुग्दा लेखनाथ शिशुबोधिनी, गोरखाशिक्षाभित्रका बालसाहित्यसामग्री तयार गर्न व्यस्त रहेको देखिन्छ भने भर्तृहरिनिर्वेद लेखेर नाटकतिर पनि उनले आफ्नो यात्राको श्रीगणेश गरेका छन् ।
लेखनाथ पौड्यालले सेवा गरिएका मालिक भीमशमशेर श्री ३ पदमा आसीन भएपछि हर्षप्रकट गरेका थिए । त्यसै परिवेशमा उनीद्वारा ३४ श्लोकमा उपजाति छन्दमा रचिएको यो काव्य व्यक्तिस्तुति भए पनि भाव, शिल्प र कवित्वका दृष्टिले एक उपलब्धि नै मानिन्छ-
सुचारु चन्द्रोदयबाद फेरि,
बालार्क जस्तो प्रभुलाई हेरी
समग्र नेपाल छ आज दङ्ग ।
(श्लोक: ६)

चक्रपाणि चालिसेले महाभारतको गद्यमा सङ्क्षिप्त सार उल्लेख गरेर सङ्क्षिप्त महाभारत र लेखनाथले सङ्क्षिप्त श्रीमद्भगवद्गीता लेखेर संयुक्त रूपमा १९७५ मा र्सवप्रथम प्रकाशित गरेको देखिन्छ । गीतासार मीठो गद्यमा प्रस्तुत गर्न सक्ने लेखनाथ पौड्यालको पाण्डित्य गीतासारमा पनि प्रकटित भएको छ । उनको नैतिक निष्ठा र हिन्दु आदर्शप्रतिको अनुरक्ति पञ्चतन्त्रको अनुवादले पनि देखाएको छ ।
त्याग र उदयको युगल प्रकाशकाव्यद्वारा राजषिर् जुद्धशमशेर र नवोदित पद्मशमशेरको स्तुति गर्ने लेखनाथ पौड्यालले अमरज्योतिको सत्यस्मृति काव्य (२००८) लेखेर महात्मा गान्धीका विचारहरू कवित्वका सा“चामा ढाल्दै गान्धीप्रति पनि श्रद्धाञ्जलि अर्पित गरे । मात्राछन्दमा रचित यो काव्य दुई भागमा रचित छ- पूर्वस्मृति र उत्तरस्मृति गरेर । पुर्वस्मृतिमा गान्धीका शोकप्रसङ्गको प्रत्यक्ष वर्णनगरिएको छ भने उत्तरस्मृतिमा गान्धीका कर्ममय विचारलाई आफ्नो कवित्वका साँचामा ढाल्दै कविले व्याख्या गरेका छन् ।
रामकथालाई लिएर धेरै कविले आफ्नोआफ्नो पारख देखाएका छन् । लेखनाथ पौड्यालले पनि मेरो राम (२०११) लेखेर रामप्रति आफ्नो भक्तिभाव प्रकट गर्नुका साथै आफ्ना कवित्वको प्रदर्शन पनि गरेका छन् । फुटकर कविताका माध्यमबाट पनि लेखनाथको कवित्व अत्यन्त देदीप्यमान छँदैछ । अझ जीवनको उत्तर वयमा रचित तर अधुरै छाडिएको गङ्गागौरी महाकाव्य पनि लेखनाथका महत्त्वपूर्ण कृतिमध्ये एक मानिन्छ ।
लेखनाथको अन्तिम योगदानका रूपमा गङ्गागौरी महाकाव्यांशलाई अगि सार्न सकिन्छ । यस महाकाव्यको योजना बृहत् भए पनि रचना चाहिँ पाँच र्सगमै सीमित रहयो । र्स्वर्गबाट पृथ्वीतलमा गङ्गा आएको र समस्त आर्यावर्तलाई पवित्र पारेको कथानक (पौराणिक) लिएर पनि आधुनिक शैली र भावले सजाउनु लेखनाथको लेखनसाधना जँचे पनि ठाउँठाउँमा अझै परिष्कार हुनुपर्ने कविको इच्छा भएको र सो पूरा नभएको देखिन्छ ।

४.५ नाटककार लेखनाथ
कविताको पारख नाटकमा हुन्छ, सफल नाटककार नै वास्तविक कवि हो भन्ने कुरा लेखनाथ पौड्यालले पनि बुझेका थिए । ‘काव्येषु नाटकं रम्यम्’ भन्ने पूर्वीय चिन्तन बुझने लेखनाथ पौड्यालले नाटक लेख्न धेरै प्रयास गरे र लेखे पनि । उनका प्रमुख नाटकहरूमा भर्तृहरिनिर्वेद र लक्ष्मीपूजा हुन् । अनुवाद एवं हिन्दीमा लेखिएका समेत गरेर त जम्माजम्मी ७ नाटक लेखनाथ पौड्यालका कृतित्वभित्र फेला पर्छन् । लेखनाथको नाटककारिताको वर्गीकरण मौलिक, अनूदित र नेपालीभाषेतर गरी तीन प्रकारबाट गर्न सकिन्छ । उनका मौलिक नाटकहरूमा भर्तृहरिनिर्वेद र लक्ष्मीपूजा प्रमुख हुन्, अनूदितमा अभिज्ञानशाकुन्तल हो भने अरु नाटकमा भवितव्य र राधाकृष्णकेलि (हिन्दी नाटक) दरबारिया रङ्गमञ्चका लागि तयार गरिएका थिए । त्यस्तै दिगम्बरविवाह, पार्वतीपरिणय र गौरीगौरव नाटकमा कवित्वशिल्पभन्दा रङ्गमञ्चविधामै ध्यान दिइएको पाइन्छ ।
उनका त्रिवेणी, भर्तृहरिनिर्वेद, लक्ष्मीपूजा र अभिज्ञानशाकुन्तल नाटकबारे चाहिँ केही उल्लेख नगर्नु अधुरो नै हुनेछ । किनभने ती कृति नाटककार लेखनाथका स्मरणीय उपलब्धिका रूपमा लिइन्छन् ।

४.६ भर्तृहरिनिर्वेद
यो नाटक भर्तृहरिको जीवनचरित्रको आधारमा प्रदर्शन गर्न राममणि आ.दी. का आज्ञाअनुसार लेखनाथ पौड्यालले वि.सं. १९७४ मा तयार पारेका थिए । यो नाटक गद्यात्मक शैलीमा छ । यही नाटक उनको जीवनको अन्तिम चरण अर्थात् २०२० सालमा परिष्कृत रूप लिएर प्रकाशनमा आयो । त्यसैले लेखनाथको साधना केलाउ“दा यस नाटकले आफ्नै प्रकारको भूमिका कायम गरेको छ । यस नाटकको गद्यभाग राममणि रिसालले र पद्यभाग लेखनाथ पौड्यालले लेखेका हुन् भन्ने उल्लेख कतैकतै पाइन्छ तापनि सरसल्लाह र परिष्कार राममणि रिसालको भए पनि मूल कृति चाहिँ लेखनाथ पौड्यालकै हो भन्ने पुष्टि भइसकेकाले विवाद गर्ने ठाउँ छैन । लेखनाथकै कृति नभए परिमार्जन गरेर लेखनाथले निकाल्नुपर्ने जरूरत थिएन । भाषा, शैली, कवित्व र विषयप्रस्तुतीकरणका दृष्टिले पनि यो महत्त्वपूर्ण छ ।
४.७ लक्ष्मीपूजा
लेखनाथ पौड्यालको दोस्रो नाटक तर सामाजिकताका दृष्टिले चाहिँ एक मात्र उल्लेखनीय नाटक हो लक्ष्मीपूजा । यो नाटक पनि भास, कालिदास, भवभूति जस्ता संस्कृतका नामी नाटककारका नाटक झैँ गद्यपद्यमय (मिश्रति) शैलीमा लेखिएको छ तर विषय चाहिँ नेपाली समाजकै सेरोफेरोमा आधारित छ । पूर्वीय नाटकपरम्परामा रचिएको यस नाटकभित्र नारीजीवनका विवशता, तात्कालिक समाजका दोस्रा आडम्बर, जुवा र विलासले मलिन समाज एवं गरीबीले सताइएको जनजीवन देखाउँदै आध्यात्मिक चेतना प्रकट गर्न खोजिएको यस नाटकका भाव, विषय र विश्लेषण प्रभावकारी प्रतीत भए पनि नाटकीय सङ्गठनका दृष्टिले फितलो देखिन्छ । जे होस्, यसभित्रका कविता चाहिँ मनोरम छन् र सामाजिक अवस्था र नैतिक मर्यादा सम्झाउँछन्; यसरी-
दुराचारी भारी अधम शठ होस् तापनि पति
उसैलाई जानी सरस मनले जीवनगति
जती गर्छन् श्रद्धा प्रणय कुलनारीजन उति
रुँदी हुन् वा पृथ्वी मनमन हुँदी हुन् खुश अति !

४.८ अभिज्ञानशाकुन्तल (नाटक)
भनिन्छ, काव्यमा नाटक, नाटकमा कालिदासको अभिज्ञानशाकुन्तल अत्यन्त मनोहर छ । त्यसैले होला यस नाटकको अनुवाद नेपालीमा गर्न मोतीराम, पहलमान, शम्भुप्रसाद, खड्गमान प्रभृति जुरमुराए । त्यस्तै जुरमुराउनेहरूमा लेखनाथ पनि भए । अझ शम्भुप्रसाद ढुङ्गेलले यस नाटकको अनुवाद गरी उनको अनुवाद लोकप्रिय भएपछि त्यसभन्दा राम्रो अनुवाद गर्ने उद्देश्यले लेखनाथले यो पुस्तक तयार गरेका थिए (माधव घिमिरेबाट प्राप्त जानकारी) ।
शम्भुप्रसादसमकक्ष होस् वा त्यसभन्दा कमबढी जे होस्, लेखनाथ पौड्यालले अभिज्ञानशाकुन्तल नाटकको अनुवाद गरेर नेपालीभाषामा दिए । उनको खारिएको अनुभव र माझिएको कवित्व यस नाटकमा कालिदासले संस्कृतमा झैँ नेपालीमा लेखनाथ पौड्यालले पनि सोही भाव उतार्न प्रयास गरेका छन्, अनुवादक्षेत्रमा यो कृति उपलब्धिपूर्ण नै ठहर्छ ।
पहाडको एउटा कुनामा जन्मेर कविशिरोमणि पदवीले सुशोभित हुँदै स्वदेश र विदेशमा नेपाली कविता र काव्य, नाटक र एकाङ्कीका पाठकहरूलाई प्रभाव दिलाउ“दै एक तपसी वृक्ष झैँ एकासी हिउँद खाएर स्वदेशमै बिलाउने लेखनाथ पौड्यालको कविव्यक्तित्व धन्य छ:
प्रत्येक पुष्पको रूप रङ्गरेखा अनेक छ
तर सौर्न्दर्यको ज्योति तिनमा भित्र एक छ
अदना त्यो चरीलाई त्यो स्वर्गीय ‘सरीगम’
सघाउने विधाताको धन्य हो त्यो परिश्रम ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “कविशिरोमणि लेखनाथ पौड्याल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *