उठान :
साहित्य कुनै समय, परिवेश, सीमा, जाति, भाषा, क्षेत्र, शैली आदिमा बॉंधिएर बस्ने वस्तु होइन। यो निरन्तर विकास भइरहने एउटा धारा प्रवाह गति हो, जो निरन्तर अघि बढ़िरहन्छ। यसैले साहित्यलाई कुनै क्षेत्र, समय र सीमामा बॉंधेर राख्न पनि सकिँदैन। यद्यपि, अध्ययनको सुविधालाई ध्यानमा राख्दै प्रस्तुत लेखमा सिक्किमेली समकालीन साहित्यको विवेचनात्मक तथा विकासक्रमिक अध्ययन गर्ने प्रयास गरिएको छ। यस क्रममा सन् १९९०-पछिका सिक्किमेली साहित्यिक गतिविधिलाई समकालीन साहित्यिक गतिविधिका रूपमा लिइएको छअर्थात समकालीन सिक्किमेली साहित्य भन्नाले १९९०-को दशकयता आजसम्मको सिक्किमेली नेपाली साहित्य बुझिनेछ।
समकालीन भन्नाले यसै समयको, आजको, वर्तमानको, समसामयिक भन्ने अर्थ बोध हुनाले सन् १९९०-को दशकयता नेपाली साहित्यका क्षेत्रमा देखापरेको प्रवृत्तिगत परिवर्तनका साथै राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, चिन्तन आदिको परिवर्तित रूपको प्रभाव र छाप के-कस्तो हिसाबमा भएको छ अनि साहित्य सिर्जनाले के-कस्तो गति लिएको छ ती सबैको अध्ययन गर्ने कोशिश यस लेखको अभीष्ट रहेको छ। सन् १९९०-को दशकको शुरुवात सॅंगसॅंगै भारतमा नेपाली भाषाको संवैधानिक मान्यताको आन्दोलन चरम सीमामा पुगिसकेको हुन्छअनि यसको नेतृत्व त्यस समय सिक्किमको कॉंधमा पनि आएको हुन्छ।