Skip to content

पद्य कविता

पूर्वस्मृति

  • by

हे मेरो प्रिय बन्धु ! आज तिमिले जो लेखका खातिर
लेख्यौ सा–दर पत्र, त्यो सब पढें केही झुकाई शिर ।
ठेगानातिर हेरदा नयनमा देखा पर्यो ‘पोखरा’
जो देख्दा मनमा मिहीं स्मरणका लाखौं फुटे आँकुरा ।।

पैह्ला अङ्कुरमा हिमाल हँसिलो अग्लो अगाडी सर्यो-
साथै पर्वत-शृङ्खला विपुल त्यो चौतर्फि देखा पर्यो ।
लंबा संथर फाँट तालहरुको झल्क्यो ठुलो चक्चकी
फेरी त्यो गडुवा, विजेपुर खुदी, सेती बगेकी लुकी ।।

सम्झना

जब पृथिवीमा बादल आउँछ
    जीवनमाथि विषाद
जब बर्षन्छन् आँसु झरी
    उरमा शुष्क उजाड
जब सब तर्क बिलौना बन्छन्
    पीडा मनका याद
भूकम्पपछिका स्वप्न शहर
    सम्झनु अौंसी रात

मेरो गाउँ

कोराको कछाड पुवाको भांग्र, घान्द्रुकको समाचार
कोदोको ढिडो गुन्द्रुकको तिउन, टुसाको अचार
त्यो लाली गुराँस हिमाली बुटी, मग्मगी बासना
स्वदेशी अनि बिदेशी पाहुना, दिन दिनै आसन ।

फेरि आयो वहार !

  • by

वन-उपवन फुल्दै, रङ्ग छर्ने वहार ।
पवन मन-मझेरी, दङ्ग छन् गीत हार ।।
मधुकर-तर मारी, पुष्प-माधुर्य चुस्छन् ।
भ्रमर-सरसजाई, वाटिकाभित्र घुस्छन् ।।१।।

धन्य हो राजधानी !

  • by

वरिपरि गिरिगर्खा बीचमा सम्म धर्ती
जंगल् घर महल्को कत्ति नि छैन पर्ती
फलफूल जीवजन्तु नुन औ अन्नपानी
बाहिरैबाट आए धन्य हो राजधानी !

नियति

  • by

लाग्यो बादल अन्धकार हुन गो पूर्वीय आकाशमा
सारा वैभव, एकता सहमति स्वाहा भयो भासमा ।
गर्छौं नाटक संविधान रचना फोस्रा भए भाषण
कुर्सी खेलमहाँ बित्यो समय नै सिन्को नभाँचिकन ।।

जीवन

  • by

बिउँझी रोदनमा कलिलो
   मधुरो उषाको मोहनीमा ।
      बैंस-वसन्त विहार सपना
         कुसुमाकरको ध्वनिमा ।।

प्रेम चकोर, जुनेली जादू,
   शराब नशामा, चमक नजरमा ।
      सुन्दरमा सब, विशाल विलासी
         सुखमा, कोमल स्पन्दनमा ।।

साहित्यको फुटबल

  • by

भाषा छ विशाल चौर समा गर्दै ठुलो तर्खर
भै केही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर ।
खेल्दै छौं फुटबल बालक सबै साहित्यको बेसरी
हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ।।

पल्टन

ढरर ढम्म ढरर ढम्म
ढ्वाङ् ठोक सारा !
आज जानुपर्छ नानी
देशनिंति प्यारा !

लेऊ हात हात लाठी
लाम लाग सारा ।
मार्न जाऊ देश शत्रु
पोख्न रगत धारा ।।

LaxmiPrasadDevkota_Kopila

पाप लाग्छ

  • by

नटिप्नु हेर कोपिला !
नचुँड्नु पाप लाग्दछ ।
नच्यात्नु फूल नानि हो !
दया र धर्म भाग्दछ ।।

नछोप्नु है चरी बरी
सराप आँसु लाग्दछ ।
नमार्नु जन्तु है कुनै
बसेर काल जाग्दछ ।।

LakxmiPrasadDevkota_SunkoBihan

सुनको बिहान

  • by

सुनको दिन एक उदाउँछ रे
यस देश खुलीकन आउँछ रे
रँगिल सब बादल छाउँछ रे
जल चंचल भैकन गाउँछ रे !

चिडया बिउँझेर कराउँछ रे
सब मन्दिर घंट बजाउँछ रे
र हवा पनि बास उडाउँछ रे
दिल फूल सबै बिउँझाउँछ रे !

दुनियाँ सब चार्दछ धाउँछ रे
र हिमाल उँचा झलकाउँछ रे
जलविन्दु सुशीतल ल्याउँछ रे
सब उन्नत झल्ल तुल्याउँछ रे !

किसान

  • by

मलाई मेरै रचना मिठो छ
हलो र नाम्लोसित गाँसिएको
मलाई मेरै घरमा पिठो छ
आफ्नै पसीनाहरूले भिजेको

म फोर्छु अग्ला चुचुरा हजार
र छर्दछू बीज नयाँ-नयाँ म
म भर्छु खाली असली बजार
र लिन्छु आफ्नै श्रमको इनाम

बादल

  • by

हामी सन्तति हौं अगाध जलका
ग्रीष्मर्तुको जन्म हो,
हाम्रो जन्म हुँदा महोत्सव थियो,
सारा उज्यालो सफा,
हाँस्थे सूर्य र छालमा उछलिंदा
टल्पल् गरी नाच्तथे,
टाढासम्म हावा निमन्त्रित थिए,
चल्थे बडा तेजले ।

घाँसी

  • by

सुन्दर युवक सुतेका रुखमनि
थकित शिलाको तकियामा ।
यौटा घाँसी धार लगाई
बसीरहेको हँसियामा ।।
वनको मीठो गान घुसेको
यौटाको मृदु सपनामा ।
यौटाको दिल स्वर्ग उडेको
निर्मल जीवन बिपनामा ।।

LaxmiPrasadDevKota_Bhikari

भिखारी

  • by

हेर भिखारी अडि आयो
करुण दृष्टिले नजर उठायो ।
गाढा दु:खको मौन प्रकाश !
झीना आशा-तार बजायो ।
घाम उज्यालो आँगन पास !
एक बिन्दुमा गोल खसायो
जीवनको इतिहास ।

हेर, हेर ती झुत्रा, चिथरा
हाय ! हे समय निष्ठुर !
जीवनपथमा बिचरा पथरा !
काँपिरहेका थुरथुर !
झल्लर झोली बढाउँछ बबुरा ।
करले अस्थिर, कातर !

नारी

  • by

जीवन साथी नभए नारी व्यवहार चल्दैन
माटोमा पानी नमिली अन्न कहिल्यै फल्दैन
वर्षन्न त्यसै वर्षामा झरी नभए बादल
दुइटा हात नमिली राम्रो बज्दैन मादल

उपकार गर ! भन !

एक मौन महावाणि मनमा गुञ्जियो किन ?
जसका शब्दले सोध्छन् बारम्बार सताउन –

‘तँ कवि ? कविता लेख्छस् ? भाव ख्वै ? शब्दका कुरा ?
भो नगर ! क्यै लछार्दैनस् ! हुती छैन ! बरु छुरा
चला आफ्नै मनैमाथि ! अरुमा दोष देख्दछस् ?
तँ लाछी ! शब्दले मात्र मनका भाव पोख्दछस् !’

गरुँ के ? नगरुँ के के ? द्विविधामा भयो मन
छ जवाफ कसैमा लौ उपकार गर ! भन !

२०६७ फागुन १८

20110326_LaxmiPrasadDevkota_Garib

गरीब

  • by

गरीब भन्छौ ? सुखको म झैं धनी
     मिल्दैन संसारभरी कतै पनि ।
विलासको लालस-दास छैनँ म
     मीठो छ मेरो रसिलो परिश्रम ।

प्रयासको पत्थरमा नदीसरि
     बहन्छु हाँसी म तरङ्गले भरी ।
म पोखरी झैं उहि ठाउँ जम्दिनँ
     छ शुद्ध यो जीवनको सबै कण ।