वरिपरि गिरिगर्खा बीचमा सम्म धर्ती
जंगल् घर महल्को कत्ति नि छैन पर्ती
फलफूल जीवजन्तु नुन औ अन्नपानी
बाहिरैबाट आए धन्य हो राजधानी !
घरवन सब छोडी दौडिँदै कोही आए
भ्रमित मन भएका बेचिई कत्ति आए
नियतवश कोही-कोही केही नजानी
अनपढ सबै ज्ञानी धन्य हो राजधानी !
सहर बीच घुम्छन् गोजी पैसा न पानी
पहिरन कति नौलो लाज कत्ति नमानी
अर्धनग्न हिँड्ने यौवना मस्त नानी
कति बगली कट्या छन् धन्य हो राजधानी !
सबतिर महँगीको मारले च्यापिएको
त्रसित छ असुरक्षाको भारले च्यापिएको
प्रदूषित जलवायु, प्रदूषितै छ पानी
प्रदूषित जनस्वास्थ्य धन्य हो राजधानी !
धर्म र अर्थ शक्तिकेन्द्र यहीँ भएको
कूटनीति, जनस्वास्थ्य केन्द्र यहीँ भएको
विचलित जननेता सुध्रिया’ छैन बानी
महल त हुन पर्ने धन्य हो राजधानी !
नगरबधुहरूको बन्दव्यापार चल्ने
सबतिर मद मांसाहार संहार चल्ने
कलुषित कति धन्दा द्रव्य नै ध्येय ठानी
सुखसमृद्धि हरायो धन्य हो राजधानी !
कृत्रिम गीतहरूका बोलीले गुञ्जिएको
जटिल छ जीवनवृत्ति चाहना अल्भिएको
प्रतिदिन छ निराशा छाइयो हार मानी
तर पनि सुकिलै छन् धन्य हो राजधानी !
निषिदिन नवक्रान्ति शान्तिको कल्पनामा
पुन:पुन: कति क्रान्ति क्रान्तिकै सम्झनामा
कति सहिदहरूका मूर्ति थापी बखानी
खूब छ सहिद-खेती धन्य हो राजधानी !
नेपाल साप्ताहिक ४४४
