Skip to content


मलाई मेरै रचना मिठो छ
हलो र नाम्लोसित गाँसिएको
मलाई मेरै घरमा पिठो छ
आफ्नै पसीनाहरूले भिजेको

म फोर्छु अग्ला चुचुरा हजार
र छर्दछू बीज नयाँ-नयाँ म
म भर्छु खाली असली बजार
र लिन्छु आफ्नै श्रमको इनाम

यै मृत्तिकाको रस माधुरीमा
पौरन्छु-पौरन्छु खुसी-खुसीले
छ जिन्दगी नै मृदु मृत्तिकामा
म लेख्छु खाली हरिया मसीले

तराइमा धान बनेर नाच्छु
पहाडको जौ र मकै म नै हूँ
निराशमा आश बनेर हाँस्छु
जीवन्तताको मधु-मन्त्र मै हूँ

नदी र नाला रमणीय फाँट
पाखाभरी फुल्दछ यो चमेली
उठ्दै छ मेरो शिर गाउँबाट
हियाभरी पौरखका तरेली

जलैथलै कल्कल प्यून सक्छु
छ घामछायासित प्रेम मेरो
सधैं धरामा दिल रोप्न सक्छु
हो सिर्जना नै सुनको कटेरो

अनादिदेखी कमनीय रेखी-
कोर्दै धरामा दगुरीरहेछु
छन् ठेस, ठेसैहरुमाथि टेकी
माटो उचालेर उठीरहेछु

त्यै देशको एक म हूँ किसान,
किसान नै हुन्छ जहाँ महान
त्यै देशको एक म हूँ बिहान,
बिहान नै हुन्छ जहाँ महान

२५ मार्ग, २०२५
हंसपुर, कास्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *